युवतीहरूसँग सल्केलान् भनेर घरबाट जात्रा जान नमिलेको क्षण होस् वा तरकारी किन्ने पैसा नहुँदा काठमाडौंमा ज्वानोको झोलसँग भात हसुरेको बेला ! तिनलाई मार्मिक रूपमा बुनिएका परिघटना सोचमग्न बनाइदिन्छ।
युवावस्थामा चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने क्षमता हुनु नै हरेक मान्छेको जीवनमा एक शक्तिशाली उत्प्रेरणा हो। यही सत्य नेपाली पर्यटन क्षेत्रमा निरन्तर खटेर अनुभवहरूलाई मनमोहक कथनको रूपमा प्रस्तुत गर्ने एक ऊर्जाशील युवा पर्यटन उद्यमी राजन सिम्खडाको किताब ‘हिँडे पुगिन्छ’मा झल्किन्छ। निरन्तर परिवर्तनशील गाउँले परिवेशमा हुर्केका सिम्खडा कलिलै उमेरदेखि पर्यटन क्षेत्रमा लागेका हुन्।
नेपालको सामाजिक, आर्थिक तथा वातावरणीय परिदृश्यमा पथप्रदर्शकको रूपमा काम गर्दा आफूले सामना गरेका चुनौतीलाई अवसरमा रूपान्तरण गर्न लेखकले अपनाएका हरप्रयासलाई यस पुस्तकमा अत्यन्तै प्रेरणादायी तरिकाले प्रस्तुत गरिएको छ। त्यसैले, यो पुस्तक परिवर्तनशील नेपाली पर्यटन व्यवसायमा उनीजस्ता उद्यमीको साहित्यिक प्रवेश र उपस्थितिले हरेक मान्छेले आफ्नो जीवन जिउँदै गर्दाका अनुभव र त्यसैमा जोडिने व्यावसायिक ज्ञान एक रूपान्तरणकारी कडी बन्न सक्छ भन्ने प्रमाण हो। लेखक स्वयंको दृढता र दूरदृष्टि नै पुस्तक लेखनको मुख्य आधार भएकाले पुस्तकमा उल्लेख भएका सन्दर्भ समयक्रममा लेखकले प्राप्त गरेका सफलताहरूको उत्सव पनि हो। यस प्रक्रियामा पाठकलाई साधारण लाग्ने कतिपय कुराले सजिलै सुन्दरता प्राप्त गरेका छन्।
गंगाजमुनाको मेला, देवीस्थाने जात्रामा झाँक्रीहरूले ढ्यांग्रो ठोक्दै नाच्ने परम्परा, बारीका ठूला पाटामा गोरु जुधाउने मेला, दार्खाली दसैं, सोरठी र मारुनी नाचलगायत झट्ट सुन्दा साधारण लाग्ने तर गहिरो सांस्कृतिक महŒव बोकेका नेपाली परम्परालाई लेखकले मौलिक शब्दमार्फत संरक्षण दिएका छन्। त्यस्तै, मुस्ताङतिर बाटो बिराएर ओढारको बास पर्दा बुझिएको उज्यालोको महŒवदेखि स्विट्जरल्यान्डको सुन्दरताका सन्दर्भहरू सम्झँदै सिम्खडाले आफ्नो व्यावसायिक जीवनमा भेटेका पात्रहरूसँगको स्मरणीय क्षणहरू र उनीहरूकै जीवनलाई पुस्तकमा स्थापित गरेका छन्।
पंक्तिकार पनि आफ्नो युवावस्थालाई नेपाली पर्यटन क्षेत्रमै असाध्यै रमाएर व्यतीत गरेको मान्छे भएको हुँदा यो पुस्तकको नाम सुन्नेबित्तिकै ध्यानाकृष्ट भएँ। एक युवा उद्यमीको उल्लेखनीय कृति ‘हिँडे पुगिन्छ’ यसकारण ध्यानकेन्द्रित भएको कुरो स्वीकार गर्दै यस कृतिमा प्रस्तुत गरिएका प्रत्येक क्षणहरूलाई मनन गरेपछि पाठकमाझ जान हतार गरेको हुँ। पुस्तकलाई सरसर्ती पाँच खण्डमा विभाजन गरिएको छ, जसमा प्रत्येक खण्डले लेखकको यात्राका विशिष्ट उपलब्धि र विषयवस्तुमा ध्यान केन्द्रित गरेको छ। जसमा लेखकका प्रारम्भिक पाइलाहरूले महŒवपूर्ण मोडहरू पार गर्दै माध्यमिक विद्यालयबाट कलेजतर्फको यात्रा र एक सफल उद्यमी बन्ने आकांक्षाबारेको संक्षिप्त चर्चा काठमाडौंमा बिताएको रूपान्तरणकारी समय लगायतका सन्दर्भहरू पनि झल्किएका छन्।
त्यसपछि, कथा हिमाल, पहाड र पर्यटनको विस्तृत विवरणतर्फ फैलिन्छ, जसमा सिम्खडाले त्यतिबेला प्राप्त गरेका अनुभव र अन्तर्दृष्टिहरूलाई विस्तारमा प्रस्तुत गरिएको छ। भेटघाट, व्यावसायिकता र घुमफिरका हरेक क्षणलाई पुस्तकमा महŒव दिएर बुनिएका छन्। हिमाल, पहाड, नदीनाला र हिउँका सन्दर्भहरू जसरी ल्याइएको छ, त्यसले नेपाली गाउँठाउँको जीवन्त दृश्य देखाइदिन्छ। पुस्तकमा समयसान्दर्भिक प्रसंग र जीवनोपयोगी संवादहरू प्रसस्त छन्। लेखकले अत्यन्त सरल भाषामा आर्थिक विषयवस्तु र प्रगतिलाई सामाजिक र नैतिक मुद्दाहरूसँग जोडिदिएका छन्। युवतीहरूसँग सल्केलान् भनेर घरबाट जात्रा जान नमिलेको क्षण होस् वा तरकारी किन्ने पैसा नहुँदा काठमाडौंमा ज्वानोको झोलसँग भात हसुरेको बेला ! तिनलाई मार्मिक रूपमा बुनिएका परिघटनाहरूले जो कोहीलाई सोचमग्न बनाइदिन्छ।
चुम्बनमा रमाएका पर्यटक जोडीको प्रेमलीला, होटेलवालीहरूका चिप्ला कुरा, माथिल्लो मुस्ताङतिर बाटो भुलिँदा परेको ओडारको बासलगायत यात्राक्रममा देखिएका धौलागिरी र गणेश हिमालका मनोरम दृश्यको चित्रण प्रभावशाली पारामा गरेका छन्। साँझको उज्यालोमा टल्किने हिमाल र सूर्याेदयमा सास फेर्दै गरेका पहाडहरूमा सबैभन्दा बढी चमक देखिन्छ, जहाँ प्रकृति शक्तिशाली रूपमा प्रस्तुत भएको छ। लेखकले सुझाएका आन्तरिक पर्यटन, प्याकेज तथा र्याफ्टिङ प्रवद्र्धन नेपालका लागि समय सान्दर्भिक छन्।
जबजब म पानाहरू पल्टाउँदै जान्छु, तब तब कैयौं अर्थअनर्थहरू मेरो मनमा गुञ्जिन्छन्। एकाएक हुँडलिने विचारहरू केवल पानामा मात्र फस्टाउँदैनन्, बरु तिनै तरंगहरूले मस्तिस्कमा सहानुभूति उमारिदिन्छन्, गहिरा सम्झनाहरू जगाइदिन्छन्। पुस्तक पढ्ने क्रममा प्राय : आफ्नै यात्राका प्रतिध्वनिहरू, आनन्द, संघर्ष र सहनशीलताका क्षणहरू प्रशस्त भेटिन्छन्। धेरै प्रसंग, पात्र तथा परिस्थितिहरू अचम्मलाग्दो रूपमा परिचित लाग्छन्, मानौं कि कथाभित्र कतै म आफैं, मेरै घर समुदायका वा मैले नजिकबाट नियालेका मानिसहरूको जीवन छिरेका छन्। जसरी मेरा विद्यार्थीहरूका अनुभव र अनुसन्धानले थुप्रै अरू पाठ्यपुस्तकको सिर्जना गर्छन्, त्यसरी नै यस पुस्तकका लेखक कटहरफेदे साइँलाको छोरा राजनले जीवनको विभिन्न सन्दर्भमा भोगेका उतारचढावहरूको सूक्ष्म साक्षी बन्न पाउँदा खुसी लागेको छ।
पुस्तकमा पोखिएका कतिपय सन्दर्भले तपाईं जीवनमा भोगेका वा वरिपरि देखेका अनुभवहरूलाई पनि प्रतिविम्बित गरिदिन्छन्। प्रकृतिसँगको निकटता, साइक्लिङ, रनिङ, योग, ध्यान, माया, ममता, मितभाषी तथा सकारात्मक र स्वस्थ सोचले समेत मान्छेको जीवनलाई कसरी आनन्दित बनाइदिन्छ भन्ने सन्दर्भहरू पनि पुस्तकमा पटकपटक आएका छन्। बीचतिर कताकता कुराकानी राजनीतितर्फ मोडिँदा पुस्तकको कलात्मक गहिराइ भने हराएको छ। तैपनि, नेपाली घरगाउँ, खोलानाला, पहाडलगायत सामान्य जीवनबाट टिपिएका कथानक, सावधानीपूर्वक चयन गरिएका छोटाछरिता र अर्थपूर्ण भाषाले भरिएका यस कृतिलाई एउटा मनमोहक यात्रा कहानीको रूपमा समेत बुझ्न सकिन्छ, बाँकी यहाँहरूको जिम्मा। पुस्तक पढ्नु भनेको आफूले ग्रहण गरेर अरूलाई पनि पढ्न प्रेरित गर्नु हो।
प्रतिक्रिया दिनुहोस !