भोजपुरमा फस्टाउँदै व्यावसायिक अकबरे खेती

भोजपुरमा फस्टाउँदै व्यावसायिक अकबरे खेती
भोजपुर नगरपालिका–५ बोखिमस्थित स्थानीय आयुषा कृषि फर्मबाट उत्पादन भएको अकबरे खुर्सानी काठमाडौं पठाउनका लागि खुर्सानी टिप्दै कृषक।

भोजपुर: पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजित राई सफल युवा कृषक हुन्। उनले व्यावसायिक अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। 

कृषि कर्मबाट सफल उद्यमी बन्ने लक्ष्यले ४२ रोपनी जग्गामा करिब ३२ हजार बोट खुर्सानी खेती लगाएका छन्। आफ्नै ठाउँमा कृषिबाट उदाहरणीय बन्ने धोकोले उनको मेहनतले साकार पाएको छ। राईले आठ वर्षअघिदेखि निरन्तर मौसमी र बेमौसमी दुवै प्रकारका खुर्सानी खेती गर्दै आएका छन्।

‘खुर्सानी खेतीबाट वार्षिक ५५ देखि ६० लाख रुपैयाँ आम्दानी हुन्छ, पोहोरसाल ५० लाख जतिको आम्दानी गरेँ,’ उनले सुनाए। खुर्सानी खेतीकै लागि उनले वार्षिक दुई लाख तिरेर ६५ रोपनी जग्गा लिजमा लिएका छन्। 

यो वर्ष खेतीका लागि करिब १२ लाख रुपैयाँ लगानी गरेको उनले बताए। युवाहरूको विदेशप्रति मोह बढिरहेका बेला आफ्नै बारीमा व्यावसायिक कृषि कर्म गरिरहेको उनी बताउँछन्।
राईजस्तै पछिल्लो समय भोजपुरका किसानहरू व्यावसायिक खुर्सानी खेतीमा आकर्षित बन्दै गएका छन्। लगानी र परि श्रमअनुसारको प्रतिफल र आम्दानी मनग्गे हुने भएपछि किसानहरू खुर्सानी खेतीमा लागेका हुन्। भोजपुर नगरपालिका बोखिमका स्थानीय अनिल श्रेष्ठले पनि दैनिक १ सय ५० किलोभन्दा बढी खुर्सानी उत्पादन गर्छन्। 

उनको कृषि फर्ममा उत्पादित खुर्सानी स्थानीय बजारलगायत जिल्ला बाहिर पनि बिक्रीका लागि निर्यात हुने गरेको छ। स्वदेशमै वैदेशिक आम्दानी हुने भएकाले व्यावसायिक रूपमा खेती गर्न सकिने उनको भनाइ छ। ‘खुर्सानीमा धेरै सम्भावना देखेको छु र गर्नसके यसबाटै मनग्गे आम्दानी पनि गर्न सकिन्छ,’ श्रेष्ठले थपे, ‘पैसा कमाउन विदेशै जानुपर्छ भन्ने मानसिकता हटाएर यतातिर लाग्ने हो भने जीवन चलाउन त्यति गाह्रो पनि पक्कै छैन, युवा पुस्तालाई यहीँ प्रशस्त सम्भावना छ।’

राई र श्रेष्ठले गाउँका मानिसलाई समेत रोजगारीसमेत दिएका छन्। सडक पहुँच राम्रो भएकाले उत्पादन भएको खुर्सानी घरमै बिक्री गर्न सहज भएको उनीहरू बताउँछन्। भोजपुरमा उत्पादित खुर्सानी धरान, इटहरी, विराटनगर, झापा र काठमाडौंसम्म बिक्रीका लागि पठाइन्छ।
भोजपुर नगरपालिका, पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिकाका विभिन्न क्षेत्रमा अहिले किसानहरूले व्यावसायिक रूपमा अकबरे खुर्सानी गर्दै आएका छन्।

व्यावसायिक खुर्सानी खेती अहिले किसानको मुख्य आम्दानीको स्रोत बनेको छ। यता पौवादुङमा गाउँपालिकामा किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोगका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राई बताउँछन्। 
‘अकबरे खुर्सानी हाम्रो गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत बनेको छ,’ अध्यक्ष राईले थपे, ‘हामीले कृषि क्षेत्रमा लगानी बढाउँदै भुगोल सुहाउँदो खेतीमा जोड दिएका छौँ।’

गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरेरै स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पु¥याउँदै आएको छ। खुर्सानी खेतीको विस्तारका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले ७ सय ५० कृषकलाई करिब ७० लाख रुपैयाँबराबरको मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए।

गाउँपालिकाले सञ्चालन गरेको सहयोगात्मक कार्यक्रमका कारण यस वर्ष खेती विस्तार बढेको उनले बताए। अहिले पौवादुङमा गाउँपालिकाका करिब पाँच सय हेक्टर क्षेत्रमा करिब नौ सय कृषकले व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्दै आएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.