प्रहरीका हतियार खोस्ने आपराधिक पृष्ठभूमिका

प्रहरीका हतियार खोस्ने आपराधिक पृष्ठभूमिका

काठमाडौं : भोजपुर दोभान घर भएका इन्द्रबहादुर राई महाराजगन्ज वृत्तका असई मिलन राय र उत्तम थापाको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। शनिबार सामाखुसीमा निस्किएको एक र्‍यालीमा सहभागी भएका राईले २४ गते जेन—जी आन्दोलनका दिन लगाएको कजारिया लेखिएको टिसर्ट लगाएका थिए। प्रहरीले फेला पारेको फुटेजमा राईले उक्त टिसर्ट लगाएर प्रहरीद्वय राय र थापालाई निर्मम तरिकाले भाटाले कुटेका थिए।

काठमाडौंको एक मासु पसलमा काम गर्ने राईको साथबाट प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल बरामद गरिएको छ। ३६ वर्षीय राईको कोठा खानतलासी गर्दा प्रहरीको टाइप ५४ पेस्तोल, उक्त म्यागेजिनमा ७ राउन्ड गोली र आन्दोलनको दिन लगाएको कपडा तथा जुत्तासमेत बरामद गरिएको थियो। उनीविरुद्ध यसअघि नै ज्यानसम्बन्धी कसुरमा मुद्दा चलेको थियो।

ooo
सिराहाका २२ वर्षीय सैफ सिद्धिकी हाल प्रहरी हिरासतमा छन्। उनले २४ गतेको जेन—जी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड, लुटपाट, प्रहरीमाथि कुटपिट गरेका थिए। काठमाडौं आलोकनगरबाट पक्राउ परेका सैफको कोठा खानतलासी गर्दा २ थान अ श्रुग्यास सेल, ल्यापटप र मोबाइल बरामद गरेको छ।
ooo
यस्तै अछाम मल्लेक घर भई हाल कपन बस्ने अमृत साउद पनि प्रहरीबाट लुटिएको हतियारसहित पक्राउ परेका छन्। प्रहरी प्रभाव कपनबाट लुटिएको हतियार तरवार, प्रहरीको बुट १ जोर, बर्सादी १ जोर र प्रिन्टर, कम्प्युटर पनि बरामद भएको छ।
ooo
काठमाडौं टेकुमा बस्ने सुजन श्रेष्ठ र अमर शाही हतियारसहित पक्राउ परेका छन्। चेकजाँचको क्रममा उनीहरूको साथबाट अवैध ब्राउन सुगर र ३२ हजार नगद फेला परेको थियो। उनीहरूको कोठा खानतलासी गर्दा मेड इन यूएसए लेखेको रिभल्वर, गोली २ राउन्ड, एसएसआर हतियारको गोली र पेस्तोलमा लाग्ने गोली फेला परेको छ।

ooo

यी त भए केही उदाहरण। काठमाडौं उपत्यकामा अहिले हरेक दिन हतियारसहित विभिन्न व्यक्ति पक्राउ परिरहेका छन्। हतियार सँगै पक्राउ परेका व्यक्तिहरूको आपराधिक रेकर्ड हेर्दा अनुसन्धान गर्ने प्रहरी नै चकित परिरहेको छ। पक्राउ परेकामध्ये अधिकांश आपराधिक घटनामा जोडिएका छन्। यसअघि पनि विभिन्न अपराधमा जोडिएका व्यक्ति प्रहरीको हतियार खोस्ने समूहमा छन्। प्रदर्शनमा गएका सामान्य व्यक्तिले हतियार बुझाइसकेका छन्। तर अझै पनि पाँच सय बढी प्रहरीका हतियार भेटिएका छैनन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवन भट्टराईका अनुसार, हतियारसहित पक्राउ परेका अधिकांश पटके अपराधी छन्। कोही कर्तव्य ज्यान, कोही लागुऔषध, कोही ठगी, लुुटपाट तथा विभिन्न मुद्दामा संलग्न भएका रेकर्ड भेटिएको छ।

सूचना अधिकारी भट्टराई भन्छन्, ‘काठमाडौं उपत्यकामा मात्रै प्रहरीबाट लुटिएका २५ वटा हतियार बरामद गरिएको छ। अन्य हतियार चार थान बरामद गरिएको छ। आगजनी, तोडफोडमा संलग्न १ सय ८१ जना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले यी हतियार फेला पारेका हुन्। हतियारसहित फेला पर्नेविरुद्ध प्रहरीले हातहतियार तथा खरखजाना ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।

हतियार खोज्नको लागि प्रहरीले पहिलो प्राथमिकता राखेर नै काम गरेको बताउँदै सूचना अधिकारी भट्टराई भन्छन्, हतियारसँगै पक्राउ परेकाहरू कोहीले त लुटेको हतियार नै बेचिसकेको अवस्थामा फेला परेका छन्। 

केही दिनअगाडि स्वयम्भूमा पक्राउ युवकमध्ये प्रहरीको हतियार एउटाले ६० हजारमा बिक्री गरेको, उसले पुनः एक लाख लिएर बिक्री गरेको प्रमाण भेटिएको थियो। प्रहरीको पेस्तोल बेचेर एक लाख नगद लिँदै गर्दा उनलाई पक्राउ गरिएको थियो। कतिपय फरार कैदीबन्दीसँग पनि हतियार फेला परेको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका सूचना अधिकारी प्रवीण धितालका अनुसार, उपत्यका होस् या जिल्ला सबै प्रहरी कार्यालयले लुटिएका हतियार फिर्ता गर्न र फरार कैदीबन्दी पक्राउ गर्नको लागि काम गरिरहेको छ। उनी भन्छन्, काठमाडौंबाट लुटिएको हतियार कैलालीबाट पनि बरामद भइरहेको छ। कोही जनकपुर पनि पुर्‍याइएको छ। विशेषता प्रहरीबाट लुटिएका साना हतियार विभिन्न जिल्लामा पुर्‍याएको हुन सक्ने दाबी उनको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.