४ वर्षपछि एमालेमै रामकुमारी झाँक्री

४ वर्षपछि एमालेमै रामकुमारी झाँक्री

काठमाडौं : २०७८ भदौमा एमाले फुटाएर माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी बनाउने प्रमुख पात्र थिइन्, रामकुमारी झाँक्री। भदौ ९ गते निर्वाचन आयोगमा नेपालको हात नै समाएर उनले नयाँ पार्टी दर्ता गराएको तस्बिर भाइरल नै भएको थियो। तीनै झाँक्री ४ वर्षपछि एमालेमा फर्किएकी छन्।

अनेरास्ववियुकी पूर्वअध्यक्ष झाँक्री सुरुवातदेखि नै अध्यक्ष केपी शर्मा ओलीको तिखो आलोचक थिइन्। एमालेमा रहँदा पनि ओलीको आलोचकका रूपमा उनलाई चिनिने गरिन्थ्यो। तर, एकीकृत समाजवादीका अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकता गरेपछि झाँक्री असन्तुष्ट बनिन्। ओली नेतृत्वको एमालेमा फर्किइन्।null

झाँक्रीसहित एकीकृत समाजवादीका नेता कृष्णप्रसाद श्रेष्ठ (किसान) पनि एमालेमा फर्किएका छन्। एमालेले सोमबार भव्य समारोहको आयोजना गरेर उनीहरूलाई पार्टीमा फर्काएको हो। एमाले फर्किनेमा पिताम्बर तिम्सिना (सुनसरी), गम्भीरलाल श्रेष्ठ (सिन्धुपाल्चोक), राजाराम स्याङतान (मकवानपुर), नवराज पौडेल (सिन्धुपालचोक), अर्जुन राई (धनकुटा), ध्रुव विष्ट (भक्तपुर), बबि चाम्लिङ (खोटाङ) लगायतका छन्। 

एमालेको ‘घर फर्क’ अभियानको क्रममा आयोजित कार्यक्रममा झाँक्री भावुक भएकी थिइन्। झाँक्रीले विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि आफूलाई स्वीकार्य भएको बताएकी थिइन्। ‘मेरातर्फ सयौं क्यामेरा तेस्र्याइएका छन्। तपाईंहरूले पक्कै मलाई विगत र आज दाँजेर ट्रोल गर्नुहुन्छ होला। तर, मलाई स्वीकार्य छ, उनले भनिन्, ‘फागुन २१ मा चुनाव भए पनि नभए पनि अब यस्तै सभाहरूमार्फत यस्तै सन्देशहरू जनताको बीचमा जानुपर्छ। अहिलेको अवस्थामा भरोसा र जनताको रक्षक एमाले नै हो।’

उनले चार वर्षअघिको परिस्थिति जे–जस्तो भए पनि अहिले बिना सर्त एमालेमा फर्किएको बताइन्। ‘४ वर्षअघि अलग भएका थियौं। तर, आज बिना सर्त एमालेमा फर्किएका छौं। मसहित थुप्रै नेताहरू पनि फर्किएका छौं,’ उनले भनिन्। उनले आफू एमालेमा फर्किँदा थुप्रै जिज्ञासाहरू उब्जिए पनि आगामी दिनमा समयले प्रमाणित गर्ने बताइन्।

एमालेमा फर्किएका तत्कालीन सांसद श्रेष्ठले विगतमा पार्टी फुटाउनु जीवनकै सबैभन्दा ठूलो भुल भएको बताए। उनले भने, ‘एमालेले देशलाई संविधान दिएको छ, संघीयता र लोकतन्त्रलाई दिशा दिएको छ, र आजको कठिन आर्थिक तथा राजनीतिक अवस्थाबाट देशलाई निकाश दिने सामथ्र्य पनि एमालेसँगै छ, त्यसैले एमालेमा फर्किएका हौं।’

एमाले अध्यक्ष ओलीले झाँक्री, श्रेष्ठलगायत नेता कार्यकर्ताहरूले पार्टीमा फर्किनका लागि आफूसँग कुनै पद नमागेको स्पष्ट पारे। ‘हामीले आह्वान गरेका हौं। तर, जोड गरेर आउन आउँ भनेर फकाएर ल्याएको होइन। हाम्रो आग्रहले होइन, उहाँहरूको अनुभवले फर्किनुभएको हो,’ ओलीले भने, ‘हामीले केही पनि दिन्छु भनेका छैनौं। उहाँहरूले पनि यो चाहियो भन्नुभएको छैन। घर फर्किने मात्रै भन्नुभएको हो।’

उनले एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा घर फर्किएको बताए। ‘मैले उहाँहरूलाई मनभित्र कताकता लोभ त राखेको छैन भनेर सोधें, उहाँहरूले भन्नुभयो, केही छैन,’ ओलीले भने, ‘उहाँहरूले कुर्सी नभए चकटीमा बसौंला, चकटी नभए भुइँमा बसौँला, केही छैन। गन्तव्य हेरेर हामी आएका हौं भन्नुभएको छ। त्यसलाई पार्टीले कदर गर्छ।’

एमालेका युवा फेसबुकमा होइन, घर–घरमा 
एमाले अध्यक्ष ओलीले एमालेका युवा फेसबुकमा नभएर घर–घरमा भएको बताए। ‘एमालेसँग युवाको ठूलो पंक्ति छ। फेसबुकको युवा होइन। घर–घरको युवा एमालेसँग छ, उनले भने, ‘फेसबुकमा त एमालेसँग केही पनि छैन, रित्तै भइसक्यो। तर त्यस्ता पोस्ट्हरूमा ‘झुट’ लेख्नुपथ्र्यो। हामीले त्यति गर्न सकेका छैनौं।’ 

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा आएका सत्यलाई सत्य र अफवाहलाई अफवाह भनेर नेता–कार्यकर्ताहरूले भन्नुपर्ने आवश्यकता रहेको बताए। उनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनाव नगराउने दाबी गरे। ओली तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्री कार्की भेट्न अनिच्छा जाहेर गरेकोमा टिप्पणी गर्दै भने, ‘चुनावको रट लगाउने यो सरकार राजनीतिक पार्टीका नेताको अनुहार हेर्न, देख्न, भेट्न कुरा गर्न मन छैन भन्छ। अनि यिनले चुनाव गराउँछन् भनेर हामीले पत्याइ दिनुपर्ने ?’

ओलीले जेन–जी आन्दोलन कुनै क्रान्ति नभएको भन्दै उपद्रव मात्रै भएको बताए। उनले एमालेले टोल–टोलमा युवा दस्ता बनाउने पनि घोषणा गरे। उनले प्रतिनिधिसभा पुनस्र्थापनाले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने स्पष्ट पारे। ‘प्रतिनिधिसभा पुनस्र्थापित गरेर मात्र देशलाई ट्रयाकमा फर्काउन सकिन्छ। हामीले राष्ट्रिय राजनीतिको यथार्थ चित्र स्पष्टसँग राखेका छौं’, उनले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्रका लागि संविधान चाहिन्छ। संविधानका लागि प्रतिनिधिसभा पुनस्र्थापित हुनुपर्छ।’ उनले प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र विकल्प भएको बताए। 

‘अरूले बोल्न सकेनन् भनेर हामी एक्लै पर्‍यौं भन्ने चिन्ता गर्नुपर्दैन। सत्यको पछाडि विस्तारै जनमत बन्दै जान्छ। हामी जनमत बनाउनेतिर नै अग्रसर हुनुपर्छ’ उनले भने, ‘हामीले सही नीति लिएका छौं, त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्नुपर्छ। त्यसैले देशभरका पार्टी कमिटी, संगठन, पेसागत संघ–संगठनलाई अलमलमा नपरी, द्विविधा नराखी प्रतिनिधिसभा पुनस्र्थापित अभियानमा जुट्न आग्रह गर्दछु।’

ओलीले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति आक्रोश पोखे। ‘कहिले राजदूत फिर्ता गरेको छ, फिर्ता नगर भनेर अदालतले भन्छ, धम्क्याएर तुरन्त त्यही टिकटमा नआउने भए टिकटको पैसा पनि आफैं तिरौला, कुन्नी के पनि गरौंला, यहाँ आएर हाजिर हुनु', उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.