मधेश प्रदेश सरकार गठन : सात राजनीतिक दलहरूले गरे जनकपुरधाममा विरोध प्रर्दशन
काठमाडौं : मधेश प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले बुधबार पनि विरोध प्रदर्शन जारी राखेका छन् । मधेश प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको भन्दै मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले बुधबार पनि मधेश भवन अगाडि विरोध प्रदर्शन गर्दै धर्नामा बसेका हुन् ।
उनीहरूले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै खारेज गर्नुपर्ने मागसहित नाराबाजी गरेका छन् । समाजवादी पार्टी नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिस यादवले आफूहरूको विरोध प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताए।

प्रदेश प्रमुखलाइ केन्द्र सरकारले पदमुक्त गरिसकेको अवस्थामा मुख्यमन्त्रीलाई समेत बर्खास्त गर्नुपर्ने उनले बताए। मधेश प्रदेश सरकार गठनबिरुद्धको मुद्दा सर्वोच्चमा रहेकाले सर्वोच्चले संविधान अनुसार निर्णय गर्ने उहाले विश्वास व्यक्त गरे।
यसअघि मंगरबार मुख्यमन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरिरहेको बेला मधेश भवन अगाडि ७ दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरूले विरोध जनाएका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गर्दा केहि नेताहरू घाइते भएका थिए ।

उक्त घटनापछि सात दलीय गठबन्धनले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएका थिए । ७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !