लाटोकोसेरो : रातको पहरेदार
नेपालमा २३ प्रजातिका उल्लु छन्। सबैलाई ‘उल्लु’ भनेर चिनिए पनि स–साना प्रजातिलाई लाटोकोसेरो र अलि ठूलो प्रजातिलाई हुचिल, हाप्सिलो, भुन्द्रुङ आदि नामले चिनिन्छ।
दिउँसो सबै सक्रिय भएको बेला चुप लागेर एकोहोरो हेरिरहने। झोक्रेर बसेजस्तो देखिने। उड्न नखोज्ने चरा। अर्थात्, उल्लु। जसलाई लाटोकोसेरो सम्बोधन गरिए पनि प्रकृतिमा यो उपयोगी एवं बाठो चरा हो। शब्दकोशमा ‘उल्लु’ शब्दको अर्थ मूर्ख, बेवकुफ, उरेन्ठेउलो हुन्छ। यहाँ अल्छी, काम नगर्ने, बाठो नभएको मानिसलाई गाली गर्नुपर्दा उल्लु भनिएको हुन सक्छ।
विश्वभर १० हजार प्रजातिका चरा छन्। जसमध्ये नेपालमा ९ सय २ प्रजातिका पाइन्छन्। यिनै भित्रको लाटोकोसेरो एक हो। अन्टार्कटिका महादेशबाहेक संसारभर पाइने २ सय २५ प्रजातिका लाटोकोसेरोमध्ये नेपालमा हालसम्म २३ प्रजातिका भेटिएको अभिलेख छ। सबैलाई ‘उल्लु’ भनेर चिनिए पनि स–साना प्रजातिलाई लाटोकोसेरो र अलि ठूलो प्रजातिलाई हुचिल, हाप्सिलो, भुन्द्रुङ आदि नामले चिनिन्छ। शारीरिक संरचना र विशेषता : लाटोकोसेरो अर्थात् उल्लु प्रजातिका चरालाई स्ट्रिगिफम्स वर्गमा राखिएको छ।
यी वर्गमा पर्ने चराका आँखा अगाडि फर्केका, गोलाकार अनुहार, बलिया तिखा नंग्रा एवम् चुच्चो भएका, यी सिकारी प्रजातिका चरा उड्दा आवाज आउँदैन। यिनको नरम प्वाँख र उड्दा पखेटाको बाहिरी भाग काइयो जस्तै फिँजारिएर घर्षण कम पर्ने हुनाले आवाज कम सुनिन्छ। राति सक्रिय कोचलगाड लाटोकोसेरो दिउँसो पनि सक्रिय हुन्छ। यिनलाई दुई परिवारमा विभाजन गरिएको छ :–
(२) स्ट्रिगिडे– गोलो अनुहार, पहेंलो वा सुन्तला रंगका आँखा र टाउकोमा जुरो भएका हुन्छन्। यिनीहरूलाई ट्रु/टिपिकल अउल पनि भनिन्छ। जस्तै: हिमाली हाप्सिलो।
सबैभन्दा सानो लाटोकोसेरो एल्फ हो, जुन ५ इन्च लामो र ३० ग्राम वजन भएको हुन्छ। यो नेपालमा पाइँदैन। ठूलो प्रजातिमा ४ केजी वजन र ६ फिट अग्लोसम्म हुन्छ। जस्तै: हिमाली हाप्सिलो जुन नेपालमा पाइन्छ।
हिमालदेखि तराईसम्म पाइने यी लाटोकोसेरोहरूको रंग आफ्नो बसाइअनुसार फरक हुन्छ। यी शान्त र एक्लै पनि बस्न रुचाउने हुन्छ। पञ्जा र चुच्चो बलियो हुने, एउटा खुट्टामा तीनवटा नंग्रा अगाडि र एउटा पछाडि हुन्छ। टाउको एकै दिशामा २७० डिग्रीसम्म घुमाउन सक्छन्। जबकि मानिसले ९० डिग्रीसम्म मात्र घुमाउन सक्छन्। टाउको घुमाउँदा पनि रक्तसञ्चार ओहोरदोहोर भइरहन्छ। आँखा खोपिल्टोमा अवस्थित हुने र मांसपेशी धेरै नहुन भएको हुँदा यताउता घुमाउन गाह्रो भएको कारणले पनि आँखा नघुमाइकन टाउको घुमाउन सक्ने हुन्छ। टाउको घुम्न सक्ने कारण घाँटीमा लचकदार १४ वटा हड्डी हुन्छन्। घाँटी र टाउको बीच एउटा पाइभोट वलले जोडिएको हुन्छ। जबकि मानिसको घाँटीमा ७ वटा हड्डी र पाइभेट वल २ वटा हुन्छन्।
अँध्यारोमा देख्न सक्ने क्षमता : लाटोकोसेरोको आँखामा रड कोषिकाको संख्या कोण कोषिकाको तुलनामा १० देखि १३ गुणासम्म बढी हुन्छ। रड कोषिकाले थोरै प्रकाशमा पनि देख्न सक्छ तर कोण कोषिका कम भएको कारण वस्तुको रंग छुट्ट्याउन गाह्रो हुन्छ। आँखाको नानी ठूलो भएको हुँदा पनि दिउँसो धेरै प्रकाश छिरेर देख्न गाह्रो हुने हो। हामी उज्यालो घामबाट अँध्यारो कोठामा पुग्दा देख्न गाह्रो भए झैं यिनीहरूलाई पनि दिउँसो उज्यालोमा देख्न कठिनाइ हुन्छ। हुन त औंसीको अँध्यारो रातमा पनि देख्न अप्ठ्यारो नै पर्छ।
देख्न र सुन्ने क्षमता तीव्र भए पनि नजिकको वस्तुभन्दा टाढाको वस्तु देख्न यिनलाई सजिलो हुन्छ। जसका दुवै आँखा मानिस जस्तै अगाडि फर्केका जबकि अन्य चराको आँखा दायाँबायाँ दुईतिर फर्केका हुन्छन्। लाटोकोसेरोको आँखामा तीनवटा परेला हुन्छन्। माथिल्लो परेलामा फोहोर नपरोस् भनेर झिम्काइरहेको हुन्छ। आँखाको छेउतिर भएको निक्सिएटिङ मेमब्रानले आँखा रसिलो पार्न र सफा गर्न मद्दत गर्छ। तल्लो परेला राति सुत्ने बेलामा माथि लाने गर्छ। यिनीहरू कुनै वस्तुको लम्बाइ, चौडाइ र उचाइ (थ्री डी इमेज) एकैपल्ट देख्न सक्छन्।
लाटोकोसेरोको आँखा नजिकै कान हुन्छ, जुन भुवा, रौंले छोपिएको हुन्छ। आवाज कुन कानबाट आएको हो सो सुन्न र निश्चित गर्न थालजस्तै गोलो अनुहार दायाँ–बायाँ गरिरहेको हुन्छ। यिनीहरूले मानिसभन्दा १० गुणा मसिनो आवाज पनि सुन्न सक्छन्। बासस्थान, प्रजनन र आयु : यिनीहरू आफ्नो गुँड नबनाई अरूको गुँडमा बस्ने, रूखका टोड्का, भुइँ, चट्टानको काप, पहरा, पुराना घरका प्वाल, खापा, मठमन्दिरका टोड्का, वन क्षेत्रका पुराना रूख आदिमा बस्छन्। नेपालमा पाइने भासोलुक प्रजातिले मात्र गुँड बनाउँछ यिनले दुम्सीको पनि सिकार गर्छ। हाप्सिलो प्रजाति प्राय: एउटै गुँडमा बस्छन्।
प्रजननको बेला पोथीलाई फकाउन आहारा खोजिदिने, कराउने, शरीरको हाउभाउ देखाउँछन्। यो समय यिनीहरूको आवाज १.६ किलोमिटर टाढासम्म पुग्छ। धेरैजसो प्रजातिमा जीवनभर अनि केहीमा एक प्रजननकाल मात्र एक जोडी कायम रहन्छ। बसाइसराइ गर्नेहरूको सिजनपिच्छे फरक जोडी हुन्छन्। गोठे लाटोकोसेरोले भने जीवनभर सँगै समय बिताउँछन्। भाले वा पोथीमध्ये कुनै एकको मृत्यु भए अर्कोले विरहमा खाना नखाई ज्यान गुमाउन सक्छ। पहाडतिर पाइने कैलो पहाडी उलकको पनि जीवनभर एउटै जोडी हुन्छ।
गुँड बनाउने वा बच्चा हुर्काउने बेलामा हानि भए यिनले मानिसलाई पनि आक्रमण गर्न सक्छ। भालेले आहाराको जोहो गर्ने, पोथीले बच्चा कोरल्ने र हुर्काउने गर्छ। कहिलेकाहीँ आफ्नै कमजोर दाजुभाइलाई अर्को बलियोले पनि खाने गर्छ। यिनीहरूले १ देखि १४ वटा वा २ देखि ५ वटासम्म फुल पार्छन्। फुल एकैपल्ट नपार्ने, पारेको फुल करिब एक महिना जति ओथारो बसेपछि चल्ला निस्कन्छ। सुरुमा पारेको अन्डाबाट पहिले चल्ला निस्कन्छ भने त्यसपछि २–३ दिनको फरकमा अरू चल्ला निस्कन्छन्। अन्डाबाट कोरलेको एक महिनासम्म आँखा आउँदैन र दुई महिनापछि गुँडबाट उड्न सक्ने हुन्छ। करिब एक वर्षपछि यी प्रजननका लागि योग्य हुन्छन्। नेपालमा बाहेक अन्यत्र पाइने १० प्रजातिमा अन्तरप्रजातिबीच पनि प्रजनन हुने तर फुल नपारेको अभिलेख छ।
लाटोकोसेरोको आयु ४ वर्षदेखि २७ वर्षसम्मको भएको अध्ययनले देखाउँछ। सबैभन्दा कम आयु हुने चित्री उलुक ४ वर्ष ४ महिना र सबैभन्दा बढी आयु हुने लामाकाने लाटोकोसेरो २७ वर्ष ९ महिना पाइएको छ। हिमाली हाप्सिलोको आयु २४ वर्ष ९ महिना हो र गोठे लाटोकोसेरोको आयु १७ वर्ष १० महिना पाइएको छ।
आहारा, किसानको साथी, पर्यटनमा महत्त्व : यिनीहरूको मुख्य आहारा सर्प, भ्यागुता, मुसा, छुचुन्द्रो, गँगटो, गड्यौला, किराफट्यांग्रा, माछा, माउसुली, छेपारो, ससाना चरा, चमेरा, माकुरा, शंखेकिरा, लोखर्के, फ्याउरो, मलसाप्रो, खरायो आदि हुन्। खरायो, फ्याउरो, स्यालको बच्चा हाप्सिला र हुचिलले खाएको तथा कैलाली जिल्लामा हुचिलले बंगुरको पाठो खाएको कुरा ‘फ्रेन्डस अफ नेचर’ संस्थाको अध्ययनले बताउँछ। हिमाली भेगमा उल्लुले किरा फट्यांग्रा र गोठे लाटोकोसेरोले मुसा, छुचुन्द्रा बढी खान्छन्।
आफ्ना आहारलाई बलिया नंग्रा र चुच्चोले समात्न सक्ने र दाँत नभएको कारण निल्न सक्ने आहारा पूरै निल्छन् भने नपचेका हड्डी, प्वाँख, भुत्ला आदि ओकलेर फाल्छन्, जसलाई पेलेट भनिन्छ। कृषकका घर वरपर र बालीनालीमा आएका मुसा, भ्यागुता, छुचुन्द्रा, सर्प, माउसुली आदि खाएर हाम्रो सुरक्षा वा पहरा दिन्छन्। पक्कै पनि लाटोकोसेरोले कृषकको फलफूल, अन्नबाली नोक्सान गर्दैन बरू ती खान आउनेलाई आफ्नो आहारा बनाउँछ। लाटोकोसेरो भएको ठाउँमा सर्प आउँदैन किनभने सर्पले खाने आहारालाई लाटोकोसेरोले खान्छन् र सर्पलाई पनि बाँकी राख्दैन। यी आहारा प्रजाति एवम् लाटोकोसेरो आफैं पनि बूढो भएर मर्दछन् र लाटोकोसेरोले ओकलेको नपचेको हड्डी, प्वाँख आदि माटोमा कुहिएर माटो उर्वर बनाउँछन्। एक अध्ययनअनुसार गोठे लाटोकोसेरोले अण्डा पारेर बच्चा हुर्काउन्जेलसम्म २०००–३००० मुसा खाने गर्छ। यसरी लाटोकोसेरोले कृषकलाई मद्दत गर्छन्।
नेपालमा विभिन्न चरा प्रजाति सँगै लाटोकोसेरो अध्ययन, अनुसन्धान एवम् अवलोकन गर्ने अनुसन्धानकर्मी र पर्यटकहरू वृद्धि भएको पाइन्छ। एक अध्ययनअनुसार ५ देखि ८ प्रतिशत पर्यटकहरू चरा हेर्न आउने गरेको तथ्यांक छ। अपराध बढ्दो, संख्या घट्दो : लाटोकोसेरो तथा अन्य चराबारे व्रायन हड्सनले सन् १८२४–१८४४ मा अध्ययन गर्दा १८ प्रजातिको लाटोकोसेरो अभिलेख गरेका थिए। हाल नेपालमा २३ प्रजातिको लाटोकोसेरो अभिलेखमा छ। उनले अभिलेख गरेको गोठे लाटोकोसेरो परिवारकै ओरिएन्टल बे अउल हाल नभेटिएको तथा दुई प्रजातिबारे पछिल्लो जानकारी छैन। देशका विभिन्न स्थलमा अवलोकन भ्रमणमा रहँदा बूढापाका, कृषकहरूले पहिलेजस्तो लाटोकोसेरोको आवाज सुनिन छाडेको हुँदा यिनको संख्या घटेको हो कि भन्ने कुरा व्यक्त गरेका छन्।
यद्यपि नेपालमा लाटोकोसेरोको अध्ययन अनुसन्धान अत्यन्तै कम भएकाले पनि भएका प्रजातिको संख्या, वासस्थान र संरक्षणबारे तथ्यांकको अभाव छ नै। नेपालमा अवैध व्यापार तथा घाइते हुने लाटोकोसेरोमा हुचिल, हाप्सिलो, महाकौशिक, भासोलुक, उलुक कालपेचक, मलाहा, गोठे लाटोकोसेरो भएको कुरा फ्रेन्ड्स अफ नेचर संस्थाको अध्ययन प्रतिवेदनमा छ। काठमाडौं जिल्ला वन कार्यालयको आव २०७० देखि २०७६ सम्मको तथ्यांक हेर्दा १४ उल्लुका विभिन्न प्रजाति अपराधको क्रममा बरामद भएका र सोही संख्यामा उद्धार गरिएको छ।
२०७७ सालदेखि हालसम्म अपराधका कुनै घटना छैनन् तर उद्धार भएका संख्या १७ छन्, जसमा गोठे लाटोकोसेरो, हाप्सिलो र लाटोकोसेराका बच्चा। उपत्यकाको भक्तपुर जिल्ला वन कार्यालयको पछिल्लो दुई वर्षसम्म अपराध र उद्धार नभएको तथ्यांक छ भने ललितपुर जिल्ला वनको पछिल्लो दुई वर्षमा अपराधको कुनै तथ्यांक छैन तर उद्धार संख्या तीन छ। छिमेकी मुलुकतर्फ सन् २००८ मा चीन पठाउन लागेको पाँच प्रजातिका नौ सय संख्यामा मरेका लाटोकोसेरोलाई मलेसियाबाट नियन्त्रणमा लिइएका थियो। यिनै कारण राष्ट्र र अन्तर्राष्ट्रिय तहमा यी निशाचर प्राणीका आखेटोपहारका लागि अपराधका घटना बढ्दो छ। बढ्दो अपराध र घट्दो संख्याका विविध कारण निम्न छन् :–
(१) अन्धविश्वास, लोभलालच, चोरी निकासी :
औषधि, झारफुक, तान्त्रिक शक्ति, प्वाँख, हड्डीलगायतका अंग प्रयोग गर्दा फलिफाप हुने अन्धविश्वास छ। स्वदेश एवम् विदेशमा ठाउँअनुसार लाटोकोसेरोबारे फरकफरक नकारात्मक धारणा पाइन्छ। लाटोकोसेरोलाई ऐना अगाडि राखेमा यसको प्रतिविम्ब नदेखिने, यसले आँखा झिम्काए लगाएको ताला खुल्ने, जिउ वा टाउकोमा बेसार वा अबिर हालिदिँदा खरानी वा सेतो हुने, यसको आँखामा टर्च बाल्दा टर्चको बल्ब नै फुट्ने, तामाको तारले बाँधेमा फुस्कने, नंग्राले सिसा काट्नेजस्ता वैज्ञानिक आधार नभएका विश्वास बोकेका समाज पनि पाइन्छ।
वैज्ञानिक सत्यता नभएका ती परम्परागत अन्धविश्वासले नै यी जीवहरू माथि संकट उत्पन्न गराएको छ। जिउँदै वा शरीरका पखेटा, नङ्ग्रा, आँखा, हड्डी प्रयोग गर्दा राम्रो हुने विश्वास, मासु सेवन गर्दा रोग निको हुने, चीनमा पूरै शरीर रक्सीमा डुबाएर खाने चलन छ। भारतमा तिहारको बेला लाटोकोसेरोलाई रक्सी खुवाई बलिदिने चलन त्यहाँका धामीझाँक्री, तान्त्रिकमा रहेको पाइन्छ। त्यसैले स्वदेश एवम् विदेशमा यसको अवैध माग बढेको र सो बेचेर राम्रो रकम आर्जन गर्न सकिन्छ भन्ने लोभका कारण अवैध व्यापारमा लाग्ने र कानुन नजानेको निर्दोष गाउँलेलाई ओसारपसार गर्न र समात्न प्रयोग गर्ने जस्ता विविध कारणले अपराधका घटना बढिरहेको पाइन्छ। फ्रेन्डस अफ नेचर संस्थाले ४६ जिल्लामा गरेको अनुसन्धानले वार्षिक झन्डै दुई हजार लाटोकोसेरो चोरीनिकासी हुने वा मारिने तथ्यांक छ।
(२) विषादीको प्रयोग : करेसाबारी, घर, कृषि क्षेत्रमा चरा, मुसा, साङ्ला, किरा मार्न विषादीको प्रयोग व्यापक छ। एक अध्ययनअनुसार चार बिघा जमिनमा १४२ ग्राम विषादी प्रयोग हुने तथ्यांक छ। विष खाएर मरेका वा विष सेवन गरेका मुसा, छुचुन्द्रा वा अन्य चराचुरुंगी खाँदा पनि लाटोकोसेरो मर्ने वा यिनीहरूको प्रजननमा असर पर्ने अध्ययनले बताउँछ।
(३) बासस्थान नासिँदै जानु : सहरी क्षेत्रको जनसंख्या वार्षिक ३.१ प्रतिशत बढ्दै गएको र वन विनाश १.७ प्रतिशतले घटेको तथ्यांक नियाल्दा अवैज्ञानिक रूपमा वनजंगल कटान, सुकेका बुढा रूख कटानी गर्ने, घर वरिपरिका रूख, बाटो, खेतवारी छेउका रूख कटानी गर्ने, रैथाने प्रजातिका रूखका ठाउँमा टिक, मसलाजस्ता रूख रोप्ने चलन बढेको छ। वन डढेलो अनि मठमन्दिर सफा गर्ने निहुँमा गुँड फालिदिने, अण्डा, बच्चा झरेर काम नलाग्ने
हुने, आधुनिकताको नाममा प्राकृतिक सुहाउँदा भवन विस्थापन भई कंक्रिट भवन निर्माण हुने कारणले पनि संकट उत्पन्न भएको छ।
(४) कमजोर सरोकारवाला समूह : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ११ मा लाटोकोसेरो तथा अन्य वन्यजन्तुको सिकार गर्न नपाइने व्यवस्था छ। दफा २६(५) ले २० हजारदेखि ५० हजार रुपैयाँको जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजायको प्रावधान भए पनि यो सजाय वर्तमान समयमा परिमार्जन हुन सकेको छैन। यही ऐनमा चील, डाँफे, मुनाल, खर मयूर, सानो खर मयूर, धनेश, कालो भुँडीफोर, सेतो भुँडीफोर, सारसलगायत ९ वटा चरालाई संरक्षणको सूचीमा राखिए पनि संकटापन्न अवस्थामा रहेका लाटोकोसेरोको प्रजातिलाई समेट्न सकिएको छैन।
यही कारण लाटोकोसेरोको अवैध व्यापारमा लागेकाहरू बिक्री गर्दा लाखौं रुपैयाँ पाइने लोभ र सजाय पाइएमा २०–४० हजार त हो नि भन्ने मानसिकताका साथ अवैध व्यापारमा संलग्न छन्। उल्लु त हो नि भनेर हेलाँको दृष्टिकोणले उचित उद्धार, उपचारको व्यवस्था हुन सकेको छैन। जवकि बेलायतमा ७० वटा जति लाटोकोसेरोको उपचार केन्द्र छ। हाम्रोमा स्रोत, साधन अपुग भएको ठानेर अनुगमनमात्र होइन, समन्वयमा समेत कमजोरी छ। देशमा १५ भन्दा बढी मिनी चिडियाघरमा विभिन्न प्रजातिका दर्जनका संख्यामा लाटोकोसेरो प्रदर्शनीमा राखिएका छन्।
ती प्रत्येक वर्ष मृत्युका सिकार भएका हुन्छन्।
(५) मौसम परिवर्तन : अन्य जीवजस्तै यी जीवमा पनि अत्यधिक तापक्रम वृद्धिले बाँच्न संघर्ष गर्नुपर्ने अवस्था, समग्र खाद्य जालोका तहमा पर्ने असरका कारण यिनको बासस्थान, खाद्य, प्रजनन स्वास्थ्यमा असर पर्छ। यति मात्र होइन, मौसम परिवर्तनका कारण बढ्दो रोग एवम् परजीवीका कारण र नकारात्मक उत्परिवर्तनले समेत यी जीवमा असर पर्छ।
(६) अन्य विविध कारण : केटाकेटी वा वयस्कहरूले रमाइलोको लागि बसिरहेको लाटोकोसेरोलाई गुलेली, ढुंगाले हान्ने, अण्डा फुटाइदिने, गुँड भत्काइदिने, वनजंगल जाँदा मारेर पोलेर खाने, प्वाँख निकालेर छाडिदिने, ठूलाठूला भवन, बिजुलीका तारमा ठक्कर खाएर घाइते हुने, रमाइलोका लागि पाल्ने आदि निहुँमा ती पुराना अन्धविश्वास नयाँ पुस्तामा हस्तान्तरण गर्ने काम भएको छ। अनुसन्धानकै क्रममा यिनका बासस्थान, गुँड आदिलाई असर पार्ने काम गर्ने, उद्धारकर्मीहरूले समात्ने वा प्राकृतिक बासस्थानमा छोड्दा ध्यान नपुर्याउने, दिउँसो काग, अन्य चरा वा बाँदरले घाउचोट पारेर घाइते बनाउने, हेलाँको दृष्टिकोणले उद्धार, उपचार, स्याहार एवम् अनुसन्धानजस्ता कार्यमा प्राथमिकतामा नपर्ने भएका छन्। विकास वा समृद्धिका नाममा चाडपर्व, उत्सव आदिमा अनावश्यक झिलिमिली बत्ती बाल्ने, पटका पड्काउने आदि पनि छन्।
लाटोकोसेरोप्रति समाजको धारणा : समाजमा लाटोकोसेरोबारे फरकफरक धारणा पालेको पाइन्छ। नकारात्मक धारणाभन्दा पनि सकारात्मक धारणालाई प्रकाश पार्नु बुद्धिमानी हुन्छ । प्राचीन युनानीअनुसार बुद्धिकी देवी ऐथन उल्लुको रूप लिएर पृथ्वीमा आएको विश्वास गरिन्छ। ठूला आँखा हुने यी बुद्धिमानीको प्रतीक मानिन्छ। न्युजिल्यान्डबाट स्वतन्त्र भएको देश समोवा राष्ट्रमा लाटोकोसेरोलाई मानिसको पुर्खा मानिन्छ। जापानको घरमा विपत्ति आयो भने लाटोकोसेरो अंकित सामग्री घरको चारै कुनामा राखिन्छ।
स्कटल्यान्डमा लाटोकोसेरोमार्फत नवदम्पतीलाई औंठी दिएमा सौभाग्य हुने विश्वास छ। प्राचीन रोम र जापानमा बुद्धि र सुरक्षाको प्रतीक मानिन्छ। हिन्दुधर्मको वेदमा दु:खको संवाहक मानिने, महाभारतमा रात्रीकालिन युद्ध कौशल सिकाउने, रामायणमा संगीत सिकाउने प्रतीक मानिन्छ। बौद्ध धर्ममा प्वाँखको पूजा गरिन्छ। अरबमा इस्लाम धर्मावलम्बीले मानिस मरेपछि लाटोकोसेरोको जुनीमा प्रवेश गर्ने विश्वास गर्छन्। क्रिश्चियन धर्मावलम्बीहरूले प्रभु यशुको ज्ञानको प्रतीक ठान्छन्। पश्चिमा मुलुकले हालोविन पर्वमा लाटोकोसेरोलाई जीवित र मृतकहरूबीचको सन्देशवाहकको रूपमा लिने विश्वास गरिन्छ।
संरक्षणका प्रयास : अफ्रिकी मुलुक एवम् मलेसियामा लाटोकोसेरोको कृत्रिम गुँड बनाएर कृषि उब्जनी बढाएको उदाहरण छ। मलेसियामा लाटोकोसेरोको संग्रहालय छ। बेलायतमा एक दर्जनभन्दा बढी लाटोकोसेरोको उद्धार केन्द्र स्थापना गरिएको छ। अमेरिकामा २००६ देखि लाटोकोसेरोको उत्सव मनाइन्छ अनि यिनको आवाज निकाल्ने प्रतियोगिता पनि गराइन्छ। इटालीमा पनि उत्सव मनाइन्छ। राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा लाटोकोसेरोको संरक्षणको सञ्जाल समन्वय कायम छ। विभिन्न पत्रपत्रिका, लेखमार्फत जनचेतनाका कार्यक्रम सञ्चालनमा छन्। चीनले ३३ प्रतिशत लाटोकोसेरो संरक्षण सूचीमा राखेको छ र लाटोकोसेरो अवैध कारोबार गर्नेलाई १० वर्ष जेल सजायको प्रावधान गरेको छ। राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चोरी निकासी हुने लाटोकोसेरो बरामद गरेर अवैध कारोबारलाई निरुत्साहित गर्ने उदाहरणीय काम भएका छन्।
नेपालमा सन् २०१२ देखि फ्रेन्ड्स अफ नेचर भन्ने संस्थाले लाटोकोसेरो महोत्सव आयोजना गर्ने, संरक्षणकर्मीहरूलाई पुरस्कार दिने, अस्थायी संग्रहालयको व्यवस्था गर्ने, रेडियो कार्यक्रमजस्ता विविध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्। जिल्लास्थित वन कार्यालय, प्रहरी निकाय, निकुञ्ज, संरक्षण क्षेत्रबाट पनि संरक्षणका पहल भएका छन्। वन तथा भू–संरक्षण विभागले १० वर्षे लाटोकोसेरो तथा हुचिल संरक्षण कार्ययोजना (सन् २०२०–२०२९) लागू गरेको छ। निजीस्तरमा जनचेतना, पत्रपत्रिका, लेख, अध्ययन, अनुसन्धानका कार्य जारी छन्।
अन्त्यमा, चकमन्न रातमा ठूलाठूला आँखा, भिन्न प्रकारको आवाज, टाउको घुमाइरहेको दृश्यले अनौठो लागेर मानिसमा डर, भय उत्पन्न हुन सक्छ। संयोगले रातमा कतै घटना हुँदा यो निशाचर प्राणीको उपस्थिति, आवाजलाई दोष दिनु भनेको रुढिवादीग्रस्त समाजका कमजोर हृदय भएको जमात बुझ्नुपर्छ। रात्रिकालीन समय, हामी मस्त निद्रामा भएको बेला घर नजिकैको खेतबारीमा मुसा, सर्प, भ्यागुता खान आएको र हामीलाई पहरेदारी गर्ने यी उपयोगी, बुद्धिमानी प्राणी हो भन्ने आमधारणा राख्नु नै राम्रो हो।
यसैले प्रकृतिमा यी निशाचर प्राणीको संरक्षण गर्न व्यक्ति, समाज र राष्ट्रको उत्तिकै दायित्व छ भन्ने ठान्नुपर्छ। यसका लागि वर्तमानमा भएका ऐन, कानुन, नीतिनियमलाई परिमार्जन गर्ने, विज्ञहरूको राय सल्लाह लिने, घाइते लाटोकोसेरोको उपचारका लागि दक्ष चिकित्सकको व्यवस्था गर्ने, उद्धार तथा पुनर्स्थापना केन्द्रको स्थापना गर्ने, अनाधिकृत रूपमा लाटोकोसेरोलाई चिडियाखाना मार्फत प्रदर्शनीमा राखिने कार्यलाई निरुत्साहित गर्ने, शैक्षिक संस्थामा संरक्षणका पाठ्यक्रम समावेश गर्ने गर्नुपर्छ।
अध्ययन अनुसन्धानमा जोड दिने, संरक्षण कार्यमा समन्वयात्मक भूमिका अपनाउँदै लाटोकोसेरोप्रति भएका नकारात्मक धारणाको अभिलेखीकरणभन्दा उपयोगितामा जोड पनि दिनुपर्छ। यी निशाचर प्राणीहरू जीवित अवस्थामा प्रकृतिका लागि अत्यन्त महत्त्वपूर्ण भएकाले, मृत अवस्थामा तिनका अंग प्रयोगले कुनै लाभ नदिने कुरा आत्मसात् गर्दै, यस्ता जीवहरू लोप हुन नदिन संरक्षण र जनचेतना अत्यावश्यक छ।
प्रतिक्रिया दिनुहोस !