अब रेल चढेर चीन!

भिजनरी नेता र अनुशासित जनता भएपछि देश समृद्घ। देश बनाउन नेतामात्रै होइन, पहिला जनता नै असल हुनुपर्छ भन्ने बोध भयो।

अब रेल चढेर चीन!

एयर चाइनाको जहाजले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भुइँ छाडेपछि आँखाले बानेश्वरको अँगार बनेको संसद् भवन खोज्यो। संसद् भवन, सिंहदरबारसहितका आगोको लप्काले खाएका ऐतिहासिक धरोहर देखिए। मनमा चिसो पस्यो। के ती छड, सिमेन्टले बनेका संरचना साँच्चिकै तानाशाह थिए त ? भदौ २४ गते जलेका ऐतिहासिक संरचनाबाट निस्किएको धुवाँको तमालले काठमाडौं छाडेको थिएन। त्यही तमाल पन्छ्याउँदै जहाज गन्तव्यतर्फ मोडियो।

सेनाको कडा सुरक्षाले सम्साँझै होटलमा ‘नजरबन्द’ भएका हामी अर्को दिन साँझ अरनिकोले सजाएको गाउँ चीनको बेइजिङ पुग्नु थियो। चीन भ्रमणको उत्साह २३ र २४ गतेको जेन–जी आन्दोलन र आगजनीले मत्थर पारेको थियो। तैपनि पहिलो पटक बेइजिङको यात्रामा आँखाले नयाँ दृश्य खोजिरहेका थिए। पाँच वर्षअघि वुहानबाट कोरोनाले विश्व चियाउँदा म चीनकै पूर्वराजधानी सियान थिएँ। सियान पुगेको पाँच वर्षपछि छेन्दु विमानस्थलमा चिनियाँ अध्यागमनले पासपोर्टमा चिनियाँ टाँचा हान्यो। छेन्दुमा सास फेर्ने फुर्सद हामीलाई थिएन, विशाल विमानस्थलमा आन्तरिक जहाज भेट्टाउन दौडिनै पर्‍यो। देशमा हुँदा ढिलो गर्ने छुट भए पनि विदेशमा सुध्रिनुपरेको थियो। छेन्दुदेखि बेइजिङको जहाज पाँच मिनेट अगावै उड्यो।

बेइजिङ फरेन ल्याङ्ग्वेज विश्वविद्यालय, थेनचिनको नानकाई विश्वविद्यालयको निमन्त्रणामा नेपाल र चीनबीचको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले हाम्रो १२ जनाको टोली बेइजिङ ओर्लिएको थियो। विमानस्थलमा नानकाई विश्वविद्यालय स्कुल अफ फिलोसोफीका प्रोफेसर चाओ वन हाम्रो स्वागतमा आइसकेका थिए। ‘हेल्लो, चुरामनि!’ प्रोफेसर चाओले पूर्वचिरपरिचित जस्तै बोलाउँदा म दंग। उनले फोटो हेरेरै लगभग सबैको अनुहार चिनिसकेका रहेछन्। ‘नि हाओ लाओ श्।’ मैले हल्काफुल्का जानेको मण्डारिनमा आफ्नो चिनियाँ नाम छाटिहाले, ‘व श् पाओ श्’। हाम्रो समूहमा १० जना जेन–जी पुस्ताका थिए। जसले भर्खर काठमाडौंमा भइरहेको आन्दोलनको खबर बाँडिरहन्थे। चीनमै मेडिसिनमा पीएचडी गरेका डा. सागर न्यौपाने हाम्रो समूहका नेतृत्वकर्ता भएकाले चीनमा हामीलाई भाषाको समस्या थिएन। अंग्रेजी अनुवादक पनि साथमा थिइन्।

चीनको पहिलो राजधानी सिआन भ्रमण रोचक थियो। जुन सहर इसापूर्व २०७ देखि इसाको ९०७ सम्म चीनको राजधानी थियो। हान र ताङ राजवंशको शासन यही चल्यो। त्यसपछि चीनको राजनीतिक केन्द्र क्रमशः कैफेङ, नान्जिङ हुँदै अन्ततः बेइजिङ सर्‍यो। मिङ राजवंशको पालामा राजधानी नान्जिङ थियो, सम्राट योंगले सन् १४२१ मा राजधानीलाई बेइजिङ सार्ने आधिकारिक घोषणा गरे। ट्रान्स हिमालय युथ कन्फ्रेन्सका मुख्य संयोजक प्रा. चाओले नै अबको सात दिन हामीलाई चीनका गतिविधिमा सहभागी गराउने कार्यक्रम तालिका हात पर्‍यो। दुई देशका युवाले बौद्ध दर्शन, कला संस्कृति, दुई देशबीचको सम्बन्ध तथा आधुनिक प्रविधिका सन्दर्भमा रहेर कार्यपत्र प्रस्तुत गर्ने र त्यसैमाथिको छलफललाई हाम्रो जमघट भएको थियो। बेइजिङको पहिलो बिहान पहिलो पटक चीन पुगेका साथीहरू ब्रेकफास्टको प्लेट समातेर ‘के के खान मिल्छ, प्रश्न गरे। मासु, सागपात र फलफूलले भरिएको तारे होटलको रेस्टुरेन्टमा खाने के भन्ने नै अन्योल। ‘जे जे नयाँ देख्नुहुन्छ, त्यही चाख्नुस्, मैले सुझाएँ।

बेइजिङ फरेन स्टडी युनिभर्सिटीका भाइस डिन प्रोफेसर वाङ जनपेङले लिखित मन्तव्यले सेमिनारको उद्घाटन गरे। सबैजना आफ्नो नेमप्लेट अगाडि बसिरहेका थिए। डिन सरासर आए। नमस्कार गरे। प्रोफेसर चाओले एक मिनेटमा स्वागत गरे, लगत्तै डिन बोले। फोटो सेसन भयो। सकियो उद्घाटन कार्यक्रम। स्वदेशमा लम्बेतान भाषणबाजी देखिरहने हामीहरू वाल्ल पर्‍यौं। हो, जे उद्देश्य थियो, काम सकियो।

नेपाल चीन सम्बन्धको ७०औं वर्षगाँठ धूमधामसँग चलिरहेकै छ। हामीले प्राचीन सम्बन्धलाई कोट्यायौं। प्रागऐतिहासिक कालदेखि नै बौद्ध शिक्षाले नेपाल र चीनलाई जोडेको छ। इसाको पहिलो शताब्दीमा बुद्ध शिक्षा चीन प्रवेश गर्‍यो। नेपालमा जन्मिएका बुद्धको शिक्षा चीन पुग्नु नै पहिलो सम्बन्ध थियो। यसर्थ चीनको भूगोलमा नेपालको ज्ञान २४ सय वर्षअघि नै पुगेको थियो। बौद्ध शिक्षालाई बलियो गरी चीन पुर्‍याउने कपिलवस्तुका भिक्षु बुद्धभद्रको प्रसंग छुटाउने विषय नै भएन।
इसाको ४०८ मा उनी चीनको चाङआन पुगे। त्यहाँको दाछिङ सान मोनास्ट्रीमा बसेर अवतंसक सुत्त संस्कृतबाट चिनियाँ भाषामा अनुवाद गरे। विनयको खोजीमा भारतवर्षको यात्रामा चाङआनबाट विनय पिटकको खोजीमा बुद्धस्थलतर्फ हिँडेका फासियानसँग बुद्धभद्रको बाटोमै भेट भयो। पछि उनीहरू दुवैको सहकार्यमा महासांघिक विनय, महापरिनिर्वाण सुत्त र तथागतगर्भ सुत्त अनुवाद भए। विद्वान्हरूले बुद्धभद्रबाट १५ वटा विभिन्न सुत्त तथा ग्रन्थहरू चिनियाँ भाषामा अनुवाद भएको बताउँछन्।

फासियान, ह्वेनसानहरूको नेपाल भ्रमणले पनि चीन र नेपाल उहिलेदेखि नै जोडिएको देखाउँछ। फासियान नेपाल आउने पहिलो चिनियाँ मानिन्छन्। उनीहरूले लेखेको यात्रा वर्णनले नै अहिले लुम्बिनी नेपालको रूपन्देहीमा पर्छ भन्न सकिएको छ। तिलौराकोट, रामग्रामसहित अनोमाघाटलाई समेत यात्रा वर्णनमा लेखेका छन्। तर दक्षिणको छिमेकले अझै आफ्नै देशमा पर्छ भन्न छाडेको छैन। असर तिलौराकोट विश्वसम्पदा सूचीकृत हुनबाट रोकियो। भृकुटी, अरनिको कला र संस्कृति जस्तै हिमालले पनि नेपाल र चीनलाई चम्किलो धागो स्वरूपमा जोडेको प्रसंग सुनाउँदै मैले आफ्नो प्रस्तुति सकें। त्यसपछि चिनियाँ र केही नेपाली साथीले कार्यपत्र प्रस्तुत गरे। विश्वविद्यालयको विशाल क्यान्टिनमा खानपिन प्रबन्ध थियो। त्यो क्यान्टिन नेपालको कुनै तारे होटलको रेस्टुरेन्टभन्दा कम थिएन। चीनका विश्वविद्यालयमा विद्यार्थी र शिक्षकहरूलाई सहुलियतसहितको गुणस्तरीय क्यान्टिन, राम्रो आवास, विश्वविद्यालयकै स्टार लेभलका होटल हुनु नौला विषय थिए। जुन हाम्रो देशमा अहिलेसम्म बन्न सकेका छैनन्।

क्याम्पस यात्रा सुरु गर्दाताका बेइजिङ ओलम्पिकको खबर रेडियोमा सुनिन्थ्यो। टीभीको सहज पहुँच थिएन। बेइजिङ पुगेको दोस्रो दिन त्यही ओलम्पिक मैदानमा पुगियो। साँझको समय, रंगीन बत्तीहरूले ओलम्पिक मैदान यत्ति झकिझकाउ थियो कि रातिको ९ बजेको पत्तै भएन। मनमोहक स्थानलाई आँखाले हेरेर आनन्द लिनुभन्दा पहिले फोटो खिच्नै पर्ने हामीहरू फोटोमै रमायौं। ‘समसाझै सुत्छ बुटवल’ झन्डै दशकअघि मैले लेखेको स्टोरीको शीर्षक। बुटवलमात्रै होइन रहेछ, बेइजिङको अधिकांश सहर रातको १० नबज्दै सुनसान हुन्छ भन्ने अनुमान मलाई थिएन। प्रशासनिक केन्द्र भएकाले बजार छिटो बन्द हुन्छ भन्ने लख कटियो। सियान सिटी भने रातभर जाग्राम हुन्थ्यो। हामी रातिको २ बजेसम्म सडकमै रमिता हेरिरहन्थ्यौं। बेइजिङले त्यो मौका दिएन।

‘नमस्कार, सीसीटीभीको स्टुडियोबाट स्वागत छ, अर्को दिन स्टुडियोमा यही भन्दै भिडियो खिच्ने मौका मिल्यो। सरकारी यो टेलिभिजनको विशाल नेटवर्क, उपकरण, आधुनिक स्टुडियो हेर्दा दंगै पर्ने थियो। कला, संस्कृति, खानपानका भिडियो स्टोरी निर्माण, सम्पादन र प्रवर्द्धन गर्न कसरी सकिन्छ भन्ने विषयमा त्यहाँ अधिकारीहरूले बताए, हामीले सुन्यौं। 

चीनमा परम्परा, संस्कृति, पुरातत्त्वहरूलाई गज्जवले संवद्र्धन र प्रवद्र्धन गरिएको छ। त्यही भएर नै बेइजिङको मुटु फुछङमनमा नेपाली युवा अरनिको सानदारले उभिएका छन्। हामी तेस्रो दिन उनै अरनिकोलाई भेट्न फुछङमन पुग्यौं। गेटमा पुग्दा ५ बजेर ५ मिनेट गएको थियो। प्रवेशद्वार ५ बजे नै बन्द हुँदोरहेछ। सबैको अनुहारमा मलिनता छायो। प्रोफेसर चाओको अनुहारमा पनि निराशा छुपेको थिएन। सायद नेपाली पाहुनालाई अरनिको भेटाउन सकिएन भन्ने चिन्ता उनलाई थियो। गल्ती हाम्रै थियो। समयको पालना नगर्ने बानीले धोका दियो। मुख्य गेट छेवैको कफी दोकानको छतमा पुगेर श्वेतचैत्यलाई काँधमा पारी तस्बिर खिच्यौं। तैपनि ८ सय वर्ष पुरानो चैत्यभित्र प्रवेश नपाउँदा मन अघाएन।

प्रोफेसर चाओको मेहनतपछि अन्ततः बाहिरिने द्वारबाट हामी स्तूपा परिसरमा भित्रियौं। प्रतिव्यक्ति २० युयान टिकट शुल्क भए पनि नेपालीलाई निःशुल्क प्रवेश छ। भित्र पसेपछि छुट्टै आनन्द। ढाका टोपी, दौरा सुरुवालजस्तै कपडा लगाएका अरनिको टक्क उभिएका। हामीलाई देखेपछि सायद ‘नेपालतिर ठीकठाक छ नि ?’ भनेर सोधे होलान्। सेतो प्यागोडाको ठीक तल उनको पूर्णकदको मूर्ति छ।

सुप्रसिद्ध कलाकार अरनिको सन् १२६० मा चीन पुगेका थिए। नेपाली कलालाई चीनमा पुर्‍याए। उनले सुखावतीदेवस्वरूप कलाशैलीलाई प्रवर्तन गरे। आफ्नो जीवनकालमा तीनवटा विशाल चैत्य, नौवटा बौद्ध विहार र अनगिन्ती मूर्ति र चित्रहरू बनाए। य्वीयान् वंशको राजधानी तातुको श्वेत स्तुपा जुन अहिले नेपालीको मुख्य पहिचान र दुई देशबीचको सेतुको रूपमा रहेको छ। जसलाई चिनियाँ मियाओयिङले पुकार्छन्।

श्वेतस्तूपा हिमाली बुद्धिजमको गेलुग्पा सम्प्रदाय अन्तर्गत पर्दछ। ५१ मिटर अग्लो स्तूपा पूरास्वरूप हेर्न कफी सप नै उपर्युक्त स्थान रहेछ। यसले ८ सय १० वर्गमिटर क्षेत्र ओगटेको छ। अरनिकोलाई बीचमा पारेर १३ जना नेपालीको तस्बिर भाइ प्रशान्तले खिचिक्क पारे। श्वेतस्तूपा परिसरमा प्राचीन शैलीकै विहारहरू रहेछन्। संग्रहालय पनि छ तर हेर्ने मौका पाएनौं। पक्कै अरनिकोले ‘संग्रहालय हेर्न अर्को पटक आउनू’ भन्दै पठाए। ‘बेइजिङ पुग्ने हरेक नेपालीमात्रै होइन, विदेशी र स्वदेशीहरू पनि श्वेत प्यागोडा हेर्न पाउँदा रमाउँछन्’, प्रोफेसर चाओले भने।

अरनिको श्वेतस्तूपा घुमेपछि हामी तीन (डा. सागर, रमेश पन्थी र म) नेपाल–चीन संस्कृति आदानप्रदान केन्द्र पुग्यौं। जहाँ चिरपरिचित लि पो दाइले कुरिरहेका थिए। यो दिन संयोग नै मान्नुपर्छ, चीन पुगेर पनि नेपाल नै घुमेजस्तै भइरह्यो। केन्द्रको मुख्य भवनमा छ सगरमाथा होटल। बेइजिङको महŒवपूर्ण स्थानमा नेपाली अक्षरमै लेखिएको होटल पाउनु दुर्लभ नै हो।

सगरमाथा होटलभित्र साँच्चिकै नेपाली पहिचान छ। दुई नेपाली भाइ रिसेप्सनमा भेटिए। ‘नमस्कार, सञ्चै हुनुहुन्छ, एक जनाले भने। काठमाडौंको काष्ठकलाले सजिएको होटलको रिसेप्सन हेर्दा काठमाडौंकै कुनै होटल हो जस्तो लाग्यो। ठीक पारि काठमाडौंकै बौद्ध स्तूपा भित्तो ढाकिने गरी कोरिएको छ। प्रत्येक पिल्लरमा नेपालका कला र ऐतिहासिक क्षेत्रका तस्बिर। भीआईपी टु लेखिएको लुम्बिनी रेस्टुरेन्ट। लुम्बिनीको मायादेवी मन्दिर, लुम्बिनी बौद्ध विश्वविद्यालय र थुप्रे विहारका तस्बिर। होटलले नेपाली परिकार पस्किन्छ भन्ने सुन्दा मन नै गद्‌गद्। प्रवेशद्वारको छेउमै ठूलो सिसामा ठूलो अक्षरले लेखिएको छ, बुद्ध वाज वर्न इन् नेपाल।

चिनियाँहरू जसले नेपाल पढेका छन्, यिनीहरूमा नेपालप्रतिको छुट्टै माया देखिन्छ। ‘चीन जहिले पनि नेपाल शान्त, विकसित र आत्मनिर्भर रहोस् भन्ने चाहन्छ, हाम्रो स्वागतमा विश्वविद्यालयका डिनले भनेका थिए। बीआरआईको उद्देश्य पनि सबैको हित र शान्ति हो भन्ने उनको जोड थियो। हामी बेइजिङ पुग्नु सात दिनअघि झन्डै ३० देशका राष्ट्रप्रमुखलाई चीनले थ्यानमन स्क्वायरमा जापानसँगको युद्ध जितेको सम्झनामा चीनको सैन्य परेड प्रदर्शन गरेको थियो। रुसका पुटिन, भारतका मोदी, नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि त्यही थिए। त्यही जानेगरी सगरमाथा होटल नजिकैबाट मेट्रो रेल चढेर थ्यानमन स्क्वायर घुम्यौं। टेलिभिजनमा देखिएजस्तै विशाल र मनमोहक थियो। चीनमा बत्तीको प्रयोगलाई खुबै जोड दिने भएर पनि सहर झिलिमिली नै देखिन्छन्। त्यस्ता दृश्य काठमाडौंको ठमेलमा कही कतै देख्न सकिन्छ।

रेलको उडान, मन चंगा : चीन पुगेपछि हाई स्पिड ट्रेन त चढ्दै पर्‍यो। बिहानै स्टेसन पुग्यौं। हालै सांघाई शिखर सम्मेलन भएको स्थान नानकाई विश्वविद्यालय थेन्जिनसम्म हाम्रो यात्रा। रेल के भन्नु, प्लेजस्तै। झन्डै चार सय प्रतिकिलोमिटर प्रतिघण्टा गुड्नेलाई उड्ने रेल पो भनौं कि ? सिटमा बस्नुभन्दा पनि रेलको भरपूर अनुभव लिन म रेलभित्रका सबैजसो डब्बामा वरपर गरिरहें। बुटवलदेखि नारायणगढ पुगे जति १२० किमि दूरी ३० मिनेटमै पुगियो। थेन्जिन केन्द्र शासित सहर हो। युरोपियन शैलीका स्ट्रिट, व्यापारिक पहिचान बोकेको। विश्वका १२८ देशमा व्यापार गर्ने थेन्जिन पोर्ट। जहाँ चालकबिनै कन्टेनर बोकेर ट्रकहरू कुदिरहेका थिए। पानीजहाजमा आएका सामानहरू यहाँबाट चीनका विभिन्न स्थानमा पुग्छन् र चीनबाट विशेषगरी युरोपियन यही पोर्टबाट मुलुकमा निर्यात हुन्छ। रोबर्टबाट सम्पूर्ण काम हुन्छ। यस्तो पोर्टको अवलोकन हाम्रा लागि पहिलो थियो।

प्रोफेसर चाओको नानकाई विश्वविद्यालय। जसको निमन्त्रणामा हामी पुगेका थियौं। स्कुल अफ फिलोसोफीको अत्याधुनिक सेमिनार हलमा बाँकी साथीले कार्यपत्र प्रस्तुत गरे। नेपाली गीत र नृत्यहरू, चिनियाँ चिया संस्कृतिको प्रदर्शनी। जे उद्देश्य थियो, त्यो सबै सकियो। विशाल विश्वविद्यालयको हरियाली, सौन्दर्यकरण र अनुशासन सबै सिक्नलायक थिए। कक्षाकोठामा रातिको १० बजेसम्म विद्यार्थीहरू पढिरहेका थिए। प्रोफेसरहरूलाई भेट्न छुट्टै कक्ष। विद्यार्थीको सिकाइका लागि तल्लीन प्राध्यापकहरू। सीसी क्यामेराको निगरानी। गेटमा सबैको डिजिटल रेकर्ड। तस्बिर खिचिएपछि मात्रै प्रवेश। विश्वविद्यालयकै सुविधासम्पन्न होटलमा दुई रात बिताएपछि हामी अर्को सहर छेन्दु पुग्यौं।

छेन्दु अर्थात् पाण्डाको सहर। नेपालसहितका विश्वका केही देशको प्याभेलियन। त्यही प्याभेलियनमा थियो, केरुङदेखि काठमाडौं अनि लुम्बिनी र पोखरा पुग्ने रेलको रुट। सिगात्सेसम्म आइपुगेको रेललाई लक्षित गर्दै नानकाई विश्वविद्यालयमा इन्टरनेसनल रिलेसन विषयका एक प्रोफेसरले हामीलाई भनेका थिए, ‘तपाईंहरू अहिले हवाईजहाजमा आउनुभयो। सन् २०३० मा तपाईंले च्वाइस पाउनुहुन्छ, रेल।’ उनी विश्वस्त देखिन्थे तर हामी शंकालु। के साँच्चिकै उत्तरको रेल पाँच वर्षपछि काठमाडौं आउला त ?

आठदिने चीनको यात्रामा सबै चीन देखिने कुरै भएन। सेमिनारमा चिनियाँ, तिब्बती कला, संस्कृति बुझ्यौं। सहरहरू घुम्दा चिनियाँ नागरिकमा देखिएको अनुशासन गज्जब थियो। देश बनाउन नेता मात्रै होइन, पहिला जनता नै असल हुनुपर्छ भन्ने बोध भयो। भिजनरी नेता र अनुशासित जनता भएपछि देश समृद्ध। अरूको खासै चिन्ता र चासो नराख्ने चिनियाँहरू आफ्नो काममा कटिबद्ध। समयको सच्चा पालक। अरूप्रतिको मैत्रीपूर्ण भावना।

देश झल्किने र देखिने बसपार्क, होटल र रेस्टुराँ, विश्वविद्यालय, एयरपोर्ट नै हुन्। बाहिरबाट आउनेले सबै कुरा देख्न सक्दैनन्। चीनमा यी सबै निकै व्यवस्थित। आठ दिनमा कुङमिङसहित चार मुख्य सहर पुग्दाका पाँच हवाई उडान, एक ट्रेन र मेट्रो तथा ट्याक्सीको यात्रामा देखिएका चीनको प्रविधियुक्त व्यवस्थापनले साँच्चिकै लोभ्यायो। हवाईजहाजबाट देखिएका गगनचुम्बी भवन मात्रै होइन, हरिया फाँट, अक्टोपससहितको खानाले फेरि चीन घुम्ने इच्छालाई ज्युँदै राखिदियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.