पढ्नेछ्यौ तिमीले पनि
किताब सम्झिएथेँ मैले जीवन
त्यही खाली पानाहरू सुम्सुम्याउँदै
बरालिँदैछन् हातका औँलाहरू
मसी पोख्ने रहरमा अजनवी सहरमा।
कहीँ आँसुले कहीँ मुस्कानले
म लेख्दै जान्छु¸
कोरिएका चित्रहरूमा
पीडा र आनन्दका अनुभूतिका
रंगहरू छर्दै जान्छु¸
संगीतका झन्कारहरूले
शब्दहरू भर्दै जान्छु।
धर्ती र आकाशले सुनेपनि
तिमीले नसुने¸ नपढेसम्म
थाहा छ अधुरै रहनेछन्¸
मेरा कथाहरू मेरा कविताहरू
छरपस्ट ती मुक्तकहरू
कहीँ संगीत भरिएका
गीतहरूले जिस्काइरहनेछन्¸
खिसिट्येरीका लयहरूमा
अधुरो रहने भयहरूमा।
तर ढुक्क छु¸
त्यसैले त रोकिएका छैनन्¸
मेरा कलम पनि
थाहा छ एकदिन
मेरो किताब पनि
तिम्रो हातमा हुनेछ¸
पढ्नेछ्यौ तिमीले पनि
कहीँ मलाई पढ्ने रहरमा
कहीँ आफैंलाई पढ्ने रहरमा
भन्छन् सँच्चा मनले खोज्यो भने
भेटिन्छ रे अमृत पनि जहरमा।
प्रतिक्रिया दिनुहोस !