एआईबाट सम्भव छ सामाजिक परिवर्तन
कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) अर्थात् एआई भन्नेबित्तिकै धेरैको दिमागमा च्याटबट अथवा सामाजिक सञ्जालमा राखिएका नयाँ तरिकाले सिर्जना गरिएका फोटो तथा भिडियोहरू आउन सक्छन्। तर, जे होस्, आजभोलि समसामयिक प्रविधिको रूपमा एआईको प्रयोग निकै नै बढेको देख्न सकिन्छ। आधुनिक जीवनमा धेरैमध्ये एआई डिजिटल युगको अर्को संवाहक बन्दै छ। यो केवल प्रविधिमै सीमित छैन, यस प्रविधिकै कारणले धेरै सामाजिक क्षेत्रहरूमा बहुआयामिक, बहुउपयोगी तरिकाले समाजमा परिवर्तन ल्याइरहेको छ। यो हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ।
धेरै राम्रा र केही गलत प्रयोगकै कारणले नयाँ प्रकारका समस्याहरू पनि ल्याइरहेको छ। प्रविधिको पछिल्लो विकाससँगै यसको सही सदुपयोग गरेमा मानव जीवनले धेरै सहजता पाउने निश्चित छ। एआई, रोबोट र मेसिन लर्निङ जस्ता विषय एकअर्कासँग सम्बन्धित हुनुका साथै विभिन्न तरिकाले एकआपसमा जोडिएका छन्। जसले हाम्रो जीवनलाई सरल, प्रभावकारी र सुरक्षित पनि बनाइरहेका छन्। एआई कति महत्वपूर्ण बन्दैछ भन्ने विषय संयुक्त राज्य अमेरिकामा ट्रम्पको आगमनसँगै ५ सय अर्ब डलरको स्टारगेट पूर्वाधार विकासका लागि गरिएको घोषणाबाट पनि आँकलन गर्न सकिन्छ।
साथै माइक्रोसफ्टको ४८० अर्बको डेटा केन्द्र योजना, यसको उदाहरण हो साथै, नयाँ नियमले नवप्रवर्तनलाई प्राथमिकता दिएको छ। त्यसैगरी, युरोपेली संघले एआई विकासका लागि संरचित नियम र रणनीतिक लगानीमा जोड दिएको छ। २०२४ मा लागू गरिएको एआई नीतिमार्फत उच्च जोखिम प्रणालीमा कडा नियमन गरिएको छ। इनभेस्ट एआई (कृत्रिम बुद्धिमत्तामा लगानी) अन्तर्गत २०० अर्ब युरो लगानी, गिगाफ्याक्ट्री निर्माण र पेरिसमा एआई अनुसन्धान केन्द्र स्थापना गरी नवप्रवर्तन र नैतिक विकासलाई प्रोत्साहन गरिएको छ। विविध तरिकाबाट विभिन्न क्षेत्रमा यसको प्रयोग र विकास अत्यन्त तीव्र गतिमा साथै यसको प्रयोग विभिन्न तरिकाले भइरहेको छ। सँगसँगै विभिन्न क्षेत्रमा बढ्दो पनि छ। केही उदाहरणका लागि स्वास्थ्य सेवामा, एआईले रोग पहिचान, उपचार योजना र औषधि विकासमा क्रान्ति ल्याएको छ, जस्तै डिप माइन्डले आँखाको रोग पत्ता लगाउन प्रविधि विकास गरेको छ। शिक्षामा, विभिन्न विश्वविद्यालयजस्ता संस्थाहरूले विद्यार्थीलाई व्यक्तिगत शिक्षा अनुभव दिन एआई प्रयोग गर्छन्। कृषिमा ब्लु रिबर टेक्नोलोजीले खेतका बिरुवाहरूको स्वास्थ्य जाँच गर्न एआई प्रविधि विकास गरेको छ। ब्यापार तथा वाणिज्यमा, अमेजनले ग्राहकहरूलाई उनीहरूको रुचिअनुसार उत्पादन सिफारिस गर्न एआई प्रयोग गर्छ।
मनोरञ्जन क्षेत्रमा, नेटफ्लिक्सजस्ता कम्पनी तथा एपहरूले प्रयोगकर्तालाई मनपर्ने चलचित्रहरू सिफारिस गर्न एआई प्रविधि अपनाएको छ यसरी, एआई विश्वका धेरै क्षेत्रमा प्रभाव पार्दैछ। एआईले हाम्रो दैनिक जीवनका धेरै क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याइरहेको छ। विकसित देशहरूमा स्वचालित गाडीहरू, जस्तै टेस्ला, ट्राफिक चिह्न र बाटोको अवस्था पहिचान गरी सुरक्षित यात्रा सम्भव बनाइरहेका छन्। नेपालमा अहिले यो प्रविधि व्यापक रूपमा प्रयोगमा नआए पनि भविष्यमा यसको आवश्यकता बढ्दै जाने देखिन्छ। नेपालमा सडक पूर्वाधार र यातायात प्रणाली सुधार हुँदै गएकाले सम्बन्धित निकायहरूले एआई प्रविधिलाई समावेश गर्दै लैजानु जरुरी देखिन्छ। स्वास्थ्य क्षेत्रमा पनि एआई प्रविधिले ठूला सुधारहरू गरिरहेको छ। आईबीएमको वटसन हेल्थजस्ता प्रणालीहरूले रोगको प्रारम्भिक पहिचान गर्न मद्दत गरिरहेका छन्, जसले गर्दा उपचार छिटो, सस्तो र प्रभावकारी बन्न सक्छ। नेपालमा पनि केही अस्पतालहरूले एआई प्रविधि अपनाउँदै गरेका छन्, जसले भविष्यमा अझ राम्रो स्वास्थ्य सेवा उपलब्ध गराउन सक्छ।
त्यस्तै, स्मार्ट सहायकहरू, जस्तै एप्पलको सिरी, अमेजनको एलेक्सा र गुगल असिस्टेन्ट, हाम्रो दैनिक जीवनलाई सहज बनाउन प्रयोग भइरहेका छन्। यी प्रविधिले मौसम जानकारी दिने, अलार्म सेट गर्ने, तथा स्मार्ट उपकरणहरू नियन्त्रण गर्ने जस्ता काम गर्छन्। नेपालमा अझै सबै ठाउँमा स्मार्ट सहायकहरूको व्यापक प्रयोग नभए पनि, बिस्तारै प्रविधिमा अभ्यस्त हुँदै जाँदा यसको लोकप्रियता बढ्दै गएको छ। ई–कमर्स क्षेत्रमा पनि एआई प्रविधिको प्रयोग बढ्दो छ। अमेजन र दराजजस्ता अनलाइन व्यापारिक प्लेटफर्महरूले ग्राहकहरूको रुचिअनुसार उत्पादन सिफारिस गर्न एआई प्रयोग गर्छन्, जसले अनलाइन किनमेललाई सहज बनाएको छ। कृषिमा एआई र ड्रोन प्रविधिले किसानहरूलाई माटोको गुणस्तर जाँच, मल तथा पानी व्यवस्थापन र बालीको उत्पादन सुधार गर्न सहयोग गरिरहेको छ। नेपालजस्तो कृषिप्रधान देशमा पनि प्रविधिको सही उपयोग गर्न सकेमा उत्पादन वृद्धि हुने सम्भावना धेरै छ। साइबर सुरक्षामा, बैंक तथा वित्तीय संस्थाहरूले अनधिकृत पहुँच रोक्न र ह्याकिङ प्रयास पत्ता लगाउन एआई प्रविधिको उपयोग गरिरहेका छन्। नेपालमा पनि बैंकिङ प्रणाली डिजिटल बन्दै गएकाले साइबर सुरक्षामा एआईको भूमिका झन् महत्वपूर्ण हुँदै गइरहेको छ। यसरी, एआई प्रविधि विश्वभर मात्र होइन, नेपालमा पनि विस्तार हुँदै गइरहेको छ।
विभिन्न क्षेत्रमा यसको प्रभाव देखिन थालिसकेको छ, जसले भविष्यमा हाम्रो जीवनलाई अझ सहज, सुरक्षित र प्रभावकारी बनाउनेछ। एआईले सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारिरहेको छ। सकारात्मक रूपमा, यसले व्यक्तिगत सामग्री सिफारिस प्रणाली सुधार गरेर प्रयोगकर्ताहरूलाई उनीहरूको रुचिअनुसार पोस्ट, भिडियो र समाचार देखाउने काम गर्छ। साथै, यसले फेक न्यूज पहिचान गर्न, आपत्तिजनक सामग्री हटाउन र ग्राहक सेवा सुधार गर्न सहयोग पुर्याएको छ। तर, नकारात्मक रूपमा, गलत सूचना फैलाउने, डीपफेक भिडियोहरू सिर्जना गर्ने तथा सामाजिक सञ्जालको एल्गोरिदमले एकपक्षीय विचारधाराको विस्तार गर्ने खतरा बढेको छ।
साथै, नक्कली खाता तथा स्प्याम बोटहरूमार्फत गलत प्रचार गर्ने, मानिसहरूलाई भावनात्मक रूपमा प्रभावित पार्ने र निजताको हनन गर्ने समस्याहरू पनि देखिएका छन्। तसर्थ, एआईको जिम्मेवार प्रयोग, उचित नियमन र सचेतना आवश्यक छ। नेपालजस्ता विकासशील देशहरूमा एआई केवल प्रविधि मात्र नभई आर्थिक, सामाजिक र प्राविधिक उन्नतिको प्रमुख साधन बन्न सक्छ। यसको प्रभावकारी प्रयोगले शिक्षा, स्वास्थ्य, कृषि, यातायात र व्यापारजस्ता क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन सक्ने सम्भावना छ। सही नीति, पूर्वाधार विकास र दक्ष जनशक्ति तयार गर्न सकेमा एआईले नेपाललाई डिजिटल युगमा नयाँ उचाइमा पुर्याउन सक्छ। शिक्षा क्षेत्रमा, डिजिटल प्रविधिको प्रयोगले दुर्गम ठाउँका विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने अवसर सिर्जना गरिरहेको छ। अनलाइन पाठ्यक्रम र आभासी शिक्षकहरूले व्यक्तिगत शिक्षण अनुभव प्रदान गरिरहेका छन्। स्वास्थ्य क्षेत्रमा, एआई आधारित टेलिमेडिसिन सेवाले दुर्गम क्षेत्रका बिरामीहरूलाई सहज परामर्श र उपचार उपलब्ध गराइरहेको छ। एआई प्रविधिको मद्दतले रोग पहिचान प्रणालीहरू विकास गर्न सकिन्छ, जसले स्वास्थ्य सेवाको प्रभावकारिता बढाउँछ। रोजगारीका अवसरहरू पनि एआईको प्रभावमा छन्।
यद्यपि, केही पारम्परिक कामहरू हराउन सक्छन्। नयाँ प्रकारका रोजगारीहरू सिर्जना भइरहेका छन्। जस्तै, डेटा विश्लेषण, एआई विकास र प्रविधि व्यवस्थापन। नेपालमा पनि एआईसम्बन्धी तालिम तथा सीप विकास कार्यक्रम सञ्चालन गरेर रोजगारी वृद्धि गर्न सकिन्छ। कृषि क्षेत्रमा, एआई प्रविधिको प्रयोगले स्मार्ट खेतीको अवधारणालाई
अघि बढाउन सक्छ। माटोको परीक्षण, जल व्यवस्थापन र मलको उचित प्रयोग व्यवस्थापन गर्न एआई प्रयोग गर्न सकिन्छ। नेपालजस्ता कृषिप्रधान देशहरूका लागि यो प्रविधि निकै लाभदायक हुन सक्छ।
प्राविधिक विकास र साइबर सुरक्षा पनि एउटा महत्वपूर्ण क्षेत्र हो। जसमा नेपालजस्ता मुलुकहरूमा एआईको प्रभावकारी प्रयोगका लागि डिजिटल पूर्वाधार आवश्यक छ। इन्टरनेट पहुँच, डेटा केन्द्र र क्लाउड सेवाको विकास अनिवार्य छ। नेपाल सरकारले डिजिटल प्रविधिमा लगानी गरेर एआईको सही उपयोग सुनिश्चित गर्न आवश्यक छ। साइबर सुरक्षामा, एआई प्रणालीहरूले अनधिकृत पहुँच तथा ह्याकिङ प्रयासहरू पत्ता लगाएर डिजिटल सुरक्षा सुधार गर्न मद्दत गर्छन्। डिजिटल कारोबार तथा अनलाइन सेवाप्रदायकहरूलाई सुरक्षित वातावरण उपलब्ध गराउन एआई महत्वपूर्ण भूमिका खेल्न सक्छ।
एआईका कारण नयाँ रोजगारी सिर्जना हुने साथै हालको रोजगारीमा केही चुनौतीपूर्ण परिस्थिति उत्पन्न हुने सम्भावनाबारे आम चासो देखिन्छ, जुन स्वाभाविक पनि हो। एआई प्रविधिको विकासले नयाँ रोजगारी सिर्जना गर्ने अवसर ल्याए पनि परम्परागत रोजगारीमा केही चुनौती निम्त्याउन सक्छ। स्वचालित प्रणालीको प्रयोगले उत्पादन उद्योग, बैंकिङ, ग्राहक सेवा, यातायात र खुद्रा व्यवसायमा मानव श्रमको आवश्यकता घटाउन सक्छ, जसले कतिपय पुराना कामहरू प्रतिस्थापन हुन सक्छन्। तर, यसको सकारात्मक पक्ष हेर्ने हो भने, एआईले डाटा साइन्स, मेसिन लर्निङ, साइबर सुरक्षा, रोबोटिक्स र डिजिटल मार्केटिङजस्ता नयाँ क्षेत्रमा रोजगारीको अवसर सिर्जना गरिरहेको छ। यस्तो परिवर्तनलाई सहज बनाउन, सीप विकास, प्रविधिसँग सहकार्य र प्रभावकारी नीतिगत व्यवस्थापन आवश्यक छ। यदि नेपालले प्रविधि अपनाउने मात्र नभई आवश्यक सीप विकासमा ध्यान दिएमा एआईले बेरोजगारी घटाएर समग्र आर्थिक वृद्धिमा टेवा पुर्याउन सक्छ।
एआईको प्रभावकारी प्रयोगले नेपाललाई मात्र होइन, सम्पूर्ण विकासशील राष्ट्रहरूलाई आर्थिक र सामाजिक रूपान्तरणको नयाँ युगतर्फ डोहोर्याउन सक्छ। प्रविधि तीव्र गतिमा विकसित भइरहेकाले यसलाई सही रूपमा अवलम्बन गर्नु अहिलेको आवश्यकता हो। यदि नेपालले एआईलाई व्यवस्थित रूपमा विकास गर्न सक्यो भने यसले शिक्षा, स्वास्थ्य, यातायात, कृषि, व्यापार र साइबर सुरक्षाजस्ता विभिन्न क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्छ। नेपालमा अहिले निजी क्षेत्रका केही प्रविधि विज्ञ तथा स्टार्टअपहरूले एआईको प्रयोगमा अग्रसरता लिइरहेका छन्। साथै, नेपाल सरकार पनि राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१ को मस्यौदामा कार्यरत छ, जुन एआई प्रविधिको रणनीतिक विकासका लागि सकारात्मक पहल हो। तर, यसलाई अझ प्रभावकारी बनाउन नीति निर्माणलाई तीव्रता दिनुका साथै विज्ञहरूसँग व्यापक परामर्श गरी छिटो कार्यान्वयन गर्नु आवश्यक छ।
नेपालले एआईलाई दिगो रूपमा विकास गर्न तीनवटा प्रमुख पक्षमा ध्यान दिनुपर्छ– पूर्वाधार निर्माण, मानव संसाधन विकास र नीतिगत स्पष्टता। पहिलो, एआई सम्बद्ध प्रविधिहरू सञ्चालन गर्न आवश्यक डिजिटल पूर्वाधारलाई सुदृढ गर्नुपर्छ। दोस्रो, विश्वविद्यालयहरूमा प्रविधि शिक्षाको विस्तार गर्दै एआई सम्बन्धी पाठ्यक्रम विकास गरिनु आवश्यक छ, जसले दक्ष जनशक्ति तयार पार्न मद्दत गर्छ। तेस्रो, सरकारले प्रभावकारी नीति निर्माण गर्दै अनुसन्धान, लगानी र नवाचारलाई प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्नुपर्छ।
यदि, यी पहलहरू सफलतापूर्वक कार्यान्वयन गरिएमा नेपालले एआई प्रविधिको उपयोग गर्दै डिजिटल रूपान्तरणलाई तीव्रता दिन सक्नेछ। एआईको सही प्रयोगले देशको समग्र विकासलाई गति दिँदै नेपाललाई प्रविधिमा आत्मनिर्भर राष्ट्र बनाउने दिशामा अघि बढाउनेछ। अब आवश्यक कुरा भनेको इच्छाशक्ति, सही योजना र तीव्र कार्यान्वयन हो।
प्रतिक्रिया दिनुहोस !