क्रिकेटको भव्य मेला, भव्य रंगशाला

क्रिकेटको भव्य मेला, भव्य रंगशाला

काठमाडौं : पछिल्लो समय नेपाली खेलकुद क्षेत्रमा चर्चामा रहेको खेल हो, क्रिकेट। यो खेलले नेपालमा जति चर्चा बटुलेको छ, नेपालीको मनमनमा क्रिकेटको बास छ। नेपालमा सर्वाधिक चर्चा बटुल्दै आएको क्रिकेटको महामेला फेरि फर्किएको छ।

नेपाली क्रिकेटकै प्रतिष्ठित र लोकप्रिय नेपाल प्रिमियर लिग (एनपीएल)  (आज) सोमबारबाट सुरु हुँदैछ। विश्व क्रिकेटमा फरक पहिचान बनाएका चर्चित खेलाडीको आगमन, अन्तर्राष्ट्रियस्तरको र ठूला व्यापारिक घरानाको लगानीले एनपीएलकोे चर्चा चुलिएको हो।

एनपीएल नेपालसँगै संसारभरका क्रिकेटप्रेमीले पनि निकै प्रतीक्षाका साथ हेर्ने नेपाल क्रिकेटका संघका प्रवक्ता छुम्बी लामा बताउँछन्। ‘एनपीएल नेपाल क्रिकेट संघको ‘ड्रिम प्रोजेक्ट’ हो। समस्त नेपाली क्रिकेटप्रेमीको सपना हो। यसलाई संसारका उत्कृष्ट लिग बनाउन हामी दिनरात लागिपरेका छौं’, प्रवक्ता लामा भन्छन्, ‘यसले सुरु भएको दोस्रो वर्षमा नै नेपाली क्रिकेट इतिहासमा आफ्नो नाम लेखाइसकेको छ।’null

एनपीएलले निकै राम्रो ‘हाइप’ पाएको छ। सिजन–वानको भन्दा पनि अझै ठूलो ‘हाइप’ यसले पाएको छ। एनपीएलको राप नेपालमा मात्रै होइन, संसारभर गर्माएको छ। यो सबै तपाईं हामी सबैको मेहनतको प्रतिफल हो’, अध्यक्ष चन्द भन्छन्, ‘हामीले दोस्रो संस्करणको आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेका छौं। यो क्यानको गौरवको योजना हो। यसले नेपाली क्रिकेटलाई निकै उचाइमा पुर्‍याउने छ।’ 

मुहार फेरिएको त्रिवि मैदान
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको मुहार फेरिएको छ। पहिलो संस्करणमा चिसो मैदान र रुखमा झुन्डिएरसमेत खेल हेरेका दर्शकले सिटमै बसेर क्रिकेटको मज्जा लिन सक्ने छन्, त्यो पनि फ्लडलाइटको उज्यालोमा। त्रिवि मैदानमा १० हजार क्षमताको प्यारापिट निर्माण भइसकेको छ।

यसैगरी भीआईपीतर्फ तीन हजार क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ। त्यसैले त्रिवि मैदानमा १३ हजार दर्शकले खेल हेर्न सक्ने छन्। दर्शक व्यवस्थापनका लागि विभिन्न जोनको व्यवस्था गरेको छ। त्यसैले पहिलेजस्तो यसपटक भीडभाड नहुने क्यानका सचिव पारस खड्का बताउँछन्।

कडा सुरक्षा व्यवस्था 
एनपीएलको दोस्रो संस्करणमा सुरक्षा व्यवस्था अत्यन्त चुस्त बनाइने क्यानका सचिव पारस खड्काले जानकारी दिए। ‘हामीले पहिलो संस्करणबाट धेरै कुरा सिकेका छौं। त्यसैले यसपटक पहिले भएका गल्तीहरू यसपटक हुँदैन। विशेषः सुरक्षालाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चासो गरिएको छ।

त्यसैले पहिलेभन्दा यसपटक सुरक्षा व्यवस्था चुस्त हुन्छ’, सचिव खड्काले भने। उनले जनपथ, सशस्त्रसँगै सिभिल सुरक्षा दस्तालाई पनि खटाइने बताए। रंगशाला प्रवेशका लागि यसअघि दुईवटा मात्रै प्रवेशद्वार रहँदै आएकोमा यसअपटक पाँच वटा प्रवेशद्वार बनाइएको र प्रवेशद्वारअनुसार विभिन्न ‘जोन’ को व्यवस्था पनि गरिएको बताए। 

महिला विश्वकप छनोटका लागि कोशेढुंगा
क्यानका सचिव पारस खड्काले दोस्रो संस्करणको एनपीएल आगामी वर्ष हुने महिला टीटेन्टी विश्वकपको ग्लोबल क्वालिफायरको तयारीका रूपमा रहेको बताए। ‘अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले एनपीएलको सुरक्षा व्यवस्थाको मूल्यांकन गरेपछि मात्रै नेपालमा हुने कि नहुने भन्ने टुंगो लगाउने बताएको छ। त्यसैले सुरक्षा व्यवस्थापनका लागि हामीले धेरै नै ध्यान दिएका छौं’, सचिव खड्काले भने, ‘त्यसैले यस प्रतियोगितालाई जतिसक्दो सभ्य र भव्य रूपमा सम्पन्न गर्न सक्छौं, आईसीसीले पनि त्यति नै विश्वास गर्ने छ। यसैले प्रतियोगिता अवधिभर संयमित भएर खेल हेरिदिन सबैलाई आग्रह गर्दछु।’

उनले आफू खेलाडी हुँदा सन् २०१० मा नेपाली समर्थकले त्रिवि मैदानमा ढुंगामुढा गर्दा दुई वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट बञ्चित हुनुपरेको उदाहरण दिँदै संयमित भएर खेल हेर्न आग्रह गरे। 

३५ करोड बढी आम्दानीको लक्ष्य
नेपाली खेलकुदकै बहुप्रतिक्षित नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा क्यानले ३५ करोडभन्दा बढी रकम आम्दानी गर्ने लक्ष्य राखेको छ। क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले प्रायोजक, फ्रेन्चाइज टिम, ओटीटी राइट, टेलिभिजन राइट र टिकट बिक्रीबाट ३५ करोडभन्दा बढी आम्दानी हुने जानकारी दिए।

उनका अनुसार प्रायोजकबाट १५ करोड ३० लाख, आठ फ्रेन्चाइज टिमबाट ९ करोड, टिकट बिक्रीबाट आठदेखि १२ करोड, ओटीटी अधिकारबाट ५ करोड ३० लाख र टेलिभिजन अधिकारबाट १ करोड रुपैयाँ आम्दानी हुनेछ। जेन–जी आन्दोलनपछि नेपालको सबैभन्दा ठूलो यो प्रतियोगितामार्फत तरल अवस्थामा रहेको आर्थिक क्षेत्रलाई पनि चलायमान बनाउने विश्वास उनको छ। null

फ्लडलाइटमा अधिकांश खेल
एनपीएलका अधिकांश खेल साँझको समयमा फ्लडलाइटमा खेलाइने क्यानले जनाएको छ। दोस्रो संस्करणलाई थप भव्य बनाउन पछिल्लो ५ महिनादेखि निकै मेहनत गर्दै आएको र त्यही मेहनतका कारण फ्लडलाइटमा खेलाउन सफल भएको क्यानका सचिव पारस खड्काले बताए।

‘दोस्रो संस्करणलाई भव्य बनाउन हामीले लामो समयदेखि तयारी गरेका थियौं। त्यो मेहनत छिट्टै साकार हुँदैछ’, सचिव खड्काले भने, ‘हामी फ्लडलाइटमा खेल गराउन सफल भएका छौं। फ्लडलाइटको परीक्षण पनि भइसकेको छ। घरेलु मैदानमा पहिलो पटक फ्लडलाइटमा खेल हुँदैछ।’ उनले एनपीएललाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सहयोग पुर्‍याउने सबैप्रति आभार पनि व्यक्त गरे।null

विजेतालाई १ करोड १० लाख
दोस्रो संस्करणको उपाधि विजेताले पनि १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। क्यानका सचिव पारस खड्काले पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणका विजेताले नगद पुरस्कार पाउने जानकारी दिए। ‘पुरस्कार रकम पहिलो संस्करणको नै हुनेछ। हामीले पुरस्कार रकम पनि केही बढाउने योजना बनाएका थियौं। तर, देशको पछिल्लो घटनाक्रमका कारण बढाउन सकिएन’, सचिव खड्काले भने।

पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो। यस्तै उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको चितवन राइनोजले २५ लाख र चौथो स्थान हासिल गरेको कर्णाली याक्सले १५ लाख रुपैयाँ पुरस्कार पाएको थियो। 
उद्घाटनको सम्पूर्ण टिकट बिक्री

क्यानका सचिव पारस खड्काले सोमबार साँझ हुने उद्घाटन खेलको सम्पूर्ण टिकट बिक्री भइसकेको जानकारी दिए। ‘सोमबार हुने उद्घाटन खेलको सम्पूर्ण टिकट बिक्री भइसकेको छ।

सोमबारबाट एनपीएलको दोस्रो संस्करण सुरु हुँदैछ। त्यसैले उद्घाटनका दिन टिकट नपाउनु हुनेले टेलिभिजन वा ओटीटी प्लेटफर्म हेर्नु हुन र दोस्रो, तेस्रो दिनमा आएर हेर्नु हुन हार्दिक अनुरोध गर्दछु’, सचिव खड्काले भने। उनका अनुसार उद्घाटनका दिन ९ हजार ४ सय ५० टिकट बिक्री गरिएको छ। 

उनले एनपीएलले दर्शकको अपार साथ र माया पाउने आशा व्यक्त गरे। ‘पहिलो सिजनभन्दा अहिले एनपीएललाई दर्शकले अझै बढी माया र साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु। आम दर्शकले हामीप्रति गरेको आशालाई हामी पनि सकेसम्म पूरा गर्ने छौं’, सचिव खड्काले भने।

यस्तो छ टिकट दर
क्यानले गत बिहीबार एक विज्ञप्ति जारी गर्दै टिकट दर निर्धारण गरेको थियो। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनको खेलका लागि टिकट दर सार्वजनिक गरेको हो। उद्घाटन र शनिबारसँगै अन्य दिनको खेलका लागि साधारण टिकटको मूल्य ५ सय रुपैयाँ तोकिएको छ। यस्तै प्लेअफ र फाइनलका लागि भने साधारण टिकटको मूल्य १ हजार रुपैयाँ राखिएको छ।

यसैगरी उद्घाटन र शनिबारको खेलका लागि प्रिमियम टिकटको मूल्य १ हजार ५ सय रुपैयाँ तोकिएको छ। अन्य दिनका लागि भने  प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ राखिएको छ। यस्तै प्लेअफ र फाइनल खेलका लागि भने प्रिमियम टिकटका लागि २ हजार रुपैयाँ तिर्नुुपर्ने छ। क्यानले प्रतियोगिताभरका लागि सिजनल‌ पासको पनि व्यवस्था गरेको छ। प्रतियोगिताभरका लागि‌ सिजनल पासको मूल्य १५ हजार रुपैयाँ तोकिएको छ। 

जनकपुर र काठमाडौं उद्घाटनमा भिड्ने 
साविक विजेता जनकपुर बोल्ड्स र काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको उद्घाटन खेलमा भिड्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार आज (मंसिर १ गते) सोमबार जनकपुर र काठमाडौंले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

सिंगल राउन्ड रोबिनमा खेल
मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपीएलका खेल सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ। एनपीएलको लिग चरणमा कुल २८ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाउने छन्। जहाँ पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर खेल हुनेछ। यस खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन्।

एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ। यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल मंसिर २७ गते हुनेछ। 

यी हुन् ८ टोली
पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्दै छन्। जसमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स र लुम्बिनी लायन्स छन्। null

विदेशी खेलाडीको आकर्षण
एनपीएल आकर्षणको केन्द्र बन्नुको अर्को कारण हो, विदेशी खेलाडी। विश्व चर्चित खेलाडीहरू एनपीएलको हिस्सा बनेका छन्। एनपीएलको प्रावधानअनुसार एक टोलीले अधिकतम ६ जना विदेशी खेलाडी राख्न पाउनेछन्। तीमध्ये अधिकतम ४ विदेशी खेलाडीलाई भने सुरुवाती ११ मा राख्न पाइने छ। सोही प्रावधानबमोजिम टोलीले आफ्नो आवश्यकताअनुसार विदेशी खेलाडी भित्र्याइरहेका छन्।

अहिलेसम्म तीन दर्जनभन्दा बढी विदेशी खेलाडी नेपाल आउने निश्चित भइसकेको क्यानका अध्यक्ष चन्द बताउँछन्। ‘अहिलेसम्म तीन दर्जनभन्दा बढी विदेशी खेलाडी आउने निश्चित भइसकेको छ। धेरैजसो खेलाडी त नेपाल आइसकेकै पनि छन्’, अध्यक्ष चन्द भन्छन्, ‘विश्वका चर्चित खेलाडीसँग खेल्न पाउँदा हाम्रा खेलाडीको स्तर पनि निकै बढ्नेछ भने नेपाली दर्शकले पनि संसारका चर्चित खेलाडीको खेल आफ्नै देशमा हेर्न पाउने छन्। यसले नेपाली खेलकुदसँगै देशको आर्थिक समृद्धिमा पनि सहयोग पुर्‍याउने छ।’

एनपीपलमा सबैभन्दा धेरै अमेरिका, अस्ट्रेलिया र इङ्ल्यान्डका खेलाडी अनुबन्ध भएका छन्। यी देशबाट ५/५ जना खेलाडी अनुबन्ध भएका छन्। यस्तै स्कटल्यान्ड र दक्षिण अफ्रिकाका तीन/तीन, न्युजिल्यान्डका दुई तथा नेदरल्यान्ड्स, पाकिस्तान, भारत, श्रीलंका, युगान्डा, नामिबिया, बार्बाडोसलगायतका खेलाडी पनि एनपीएलमा जोडिने भएका छन्। काठमाडौं र विराटनगरले नियमअनुसार सर्वाधिक ६ विदेशी खेलाडीको कोटा पूरा गरिसकेका छन्। 

अहिलेसम्म अनुबन्ध भएका सबैभन्दा ठूलो नाम दक्षिण अफ्रिकाका पूर्वकप्तान फाप डुप्लेसिस हुन्। उनी विराटनगर किङ्समा आबद्ध भएका छन्। उनी सम्मिलित चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) उपाधि पनि जितेको थियो। यस्तै दक्षिण अफ्रिकाका अनुभवी स्पिनर इमरान ताहिर र वायन पार्नेल भने जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन्। इङ्ल्यान्डबाट विश्वकप जितिसकेका डाविड मलानसँगै रवि बोपरा पनि एनपीएलमा जोडिएका छन्। यसैगरी पाकिस्तानका सोहेल तनभिर र अफगानिस्तानका पूर्वकप्तान गुलबदिन नैव, न्युजिल्यान्डका मार्टिन गप्तिल पनि एनपीएलमा देखिने छन्।

नेपाली खेलाडीले पाउँछन् २० लाखसम्म
एनपीएल खेलेबापत नेपाली खेलाडीले दुई लाखदेखि २० लाखसम्म रकम पाउने छन्। ८ टोलीका मार्की खेलाडीले २० लाख रुपैयाँ पाउँछन् भने ‘ए’   श्रेणीका खेलाडी १० देखि १५ लाखसम्ममा बिक्री भएका छन्। यस्तै ‘बी’   श्रेणीका खेलाडीले ५ देखि १० लाख र ‘सी’   श्रेणीकाले दुईदेखि ५ लाख रुपैयाँ पाउने छन्। विदेशी खेलाडीको पारिश्रमिक भने अहिलेसम्म कुनै पनि टोलीले खुलाएका छैनन्।

देशैभर ट्रफी टुर 
एनपीएलको माहोल बनाउन क्यानले देशैभर ट्रफी यात्राको कार्यक्रम सञ्चालन गरेको थियो। देशको पूर्वदेखि सुदूरपश्चिमसम्म भव्यरूपमा ट्रफी टुरको आयोजना गरिएको थियो। यसले एनपीएलको माहोल बढाउनुका साथै क्रिकेटप्रेमीले नजिकबाट ट्रफी नियाल्ने अवसर पाएका थिए। ट्रफी टुरमा हरेक टोलीका एम्बेस्डरहरू पनि सहभागी भएका थिए।

कलाकार र खेलाडीको पनि आकर्षण
एनपीएलमा नेपालका चर्चित कलाकार र विभिन्न खेलका खेलाडी पनि जोडिएका छन्। पछिल्लो समयकी चर्चित अभिनेत्री स्वस्तिमा खड्का पहिलो संस्करणको एनपीएलमा कर्णाली याक्ससँग जोडिएकी थिइन्। उनको आगमनसँगै कर्णाली याक्सको चर्चा पनि चुलिएको थियो। यसपटक स्वस्तिमा कर्णाली याक्समा जोडिएकी छन् कि छैनन् भने घोषणा टोलीले गरिसकेको छैन।

यसैगरी पछिल्लो समयका चर्चित कमेडियन सुमन कार्की लुम्बिनी लायन्समा आबद्ध भएका छन्। खेलकुदमा समेत रुचि राख्ने उनको आगमनले लुम्बिनीले राम्रै चर्चा बटुल्ने विश्वास टोलीको छ। सुमन पनि एनपीएलसँगै लुम्बिनीको प्रचारमा लागिरहेका छन्। यसैगरी अर्का कमेडियन सन्दीप क्षेत्री पोखरा एभेन्जर्ससँग आबद्ध छन्। उनी एनपीएलको पहिलो संस्करणबाटै पोखरामा जोडिएका हुन्। 

सुदूरपश्चिम रोयल्सले तेक्वान्दो स्टार दीपक विष्टलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ। दक्षिण एसियाली खेलकुदको लगातार चार संस्करणमा स्वर्ण पदक जित्दै इतिहास निर्माण गरेका विष्ट पहिलो संस्करणदेखि नै सुदूरपश्चिमसँग जोडिएका हुन्। उनले सुदूरपश्चिम रोयल्सका अधिकांश कार्यक्रमहरूमा सक्रिय उपस्थिति पनि जनाइरहेका छन्। काठमाडौं गोर्खाजले १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी   श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी   श्रेष्ठ, फुटबलका विकेश कुथु, तेक्वान्दोकी सीता तामाङ र भलिबलकी पुनम चन्दलाई गुडविल एम्बेस्डर बनाएको छ। उनीहरू ट्रफी टुरलगायतका कार्यक्रममा सक्रिय रूपमा सहभागी पनि भइरहेका छन्।

एनपीएलको साविक विजेता जनकपुर बोल्ट्सले महिला राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई ‘फेस द बोल्ट्स’ घोषणा गरेको छ। यू–१९ क्रिकेट टोलीकी कप्तानसमेत रहेकी पूजाले पनि टोलीको प्रचार–प्रसारमा सहयोग पुर्‍याइरहेकी छन्। यसैगरी विराटनगर किङ्सको ब्रान्ड एम्बेस्डर चर्चित गायिका रचना रिमाल छिन्। उनले सामाजिक सञ्जाललगायतका प्लेटफर्मबाट विराटनगर किङ्सको प्रचार गर्दै आएकी छन्। यस्तै अहिलेकी चर्चित नायिका नीति शाह रनेपाली राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मा चितवन राइनोजका ब्रान्ड एम्बेस्डर छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.