थुप्रियो विदेशी मुद्रा, २९ खर्ब ७९ अर्बको सञ्चिति

थुप्रियो विदेशी मुद्रा, २९ खर्ब ७९ अर्बको सञ्चिति
फाइल तस्बिर

काठमाडौं : सर्वसाधारणको क्रयशक्ति कमजोर भइरहेकै बेला जेन–जी आन्दोलनपश्चात् समग्र आन्तरिक अवस्था अझै खस्किएको छ। मुलुकको बाह्य क्षेत्रका सूचक प्रायः सकारात्मक देखिए पनि आन्तरिक अवस्था भने माथि उठ्न नसकेको तथ्यांकले पनि पुष्टि गर्छ। यसैबीच नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति असोजसम्मको तथ्यांकले पनि यस्तै संकेत गरेको छ। 

एकातर्फ वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै रेमिट्यान्समा पनि महिनैपिच्छे वृद्धि भएको छ। अर्कोतर्फ पूर्वाधार जस्ता विकास निर्माणका गतिविधिले खासै गति लिन नसक्दा यस्ता वस्तुको आयात कम छ। यसले समग्र आयात उपभोग्यवस्तुबाहेक अरूमा खासै बढ्न सकेको छैन। परिणामस्वरूप यस्तोमा खर्चिने विदेशी मुद्रा नबढ्दा विदेशी विनिमय सञ्चिति थुप्रिएर २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादनसँगको अनुपातमा अनुपात ४८.८ प्रतिशत हो। 

गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भएको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २१ अर्ब २१ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा २६ खर्ब ६७ अर्ब ७० करोड र बैंक तथा वित्तीय संस्था ३ खर्ब १२ अर्ब १० करोड कायम छ। उक्त सञ्चितिले वर्ष २०८२/८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ।

यसै क्रममा राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल सञ्चिति वृद्धिको मुख्य कारण रेमिट्यान्स बढ्नु रहेको औंल्याउँछन्। सञ्चिति बढे पनि पुँजीगत खर्चहरूलगायत अन्य क्रियाकलाप नहुँदा सधैं सञ्चिति मात्रै थुप्रिएर बस्नु राम्रो नहुने विज्ञहरूको तर्क छ। तथापि राष्ट्र बैंकले यसरी थुप्रिएको सञ्चितिलाई अन्तर्राष्ट्रिय बजारमै लगानी गर्ने गर्दछ। नेपाल राष्ट्र बैंकको आम्दानीको मुख्य अंश नै विदेशी मुद्राको सञ्चितिलाई लगानी गर्नु हो। गत आर्थिक वर्षमा राष्ट्र बैंकले नेपाल सरकारलाई करिब ४२ अर्ब रुपैयाँ (नाफाको ठूलो अंश) बुझाएको थियो। 

रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि
आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो। असोजमा मात्रै २ खर्ब १ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंक तथ्यांकमा उल्लेख छ। जबकि गत वर्षको सोही महिनामा १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो। 

आन्तरिक तथा आधारभूत चुनौतीहरू गहिरो
पछिल्लो समय नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र र समष्टिगत सूचकहरू केही सकारात्मक देखिए पनि आन्तरिक तथा आधारभूत चुनौतीहरू गहिरो रूपमा रहेको अर्थविद् डा.डिल्लीराज खनाल विश्लेषण गर्छन्। राष्ट्र बैंकको पछिल्लो तीन महिनाको तथ्यांकअनुसार रेमिट्यान्स बढिरहेको बताउँदै उनी भन्छन्, ‘रेमिटेन्सले नेपालको गरिबी घटाउन केही मात्रामा सहयोग गर्नुको साथै यसले उपभोगमा खर्च भई तत्कालीन रूपमा अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गरेको छ।’ अर्थविद् डा. खनालका अनुसार समष्टिगत तथ्यांकहरू ठीकै वा सकारात्मकै देखिए पनि, क्षेत्रगत (क्षेत्रगत) र सूक्ष्म तहमा समस्या र चुनौतीहरू विद्यमान छन्। 

‘बजारमा मूल्य अहिले ज्यादै बढेको छ र वस्तुहरू छोइसक्नु छैन। तथ्यांकले एक औसतमा मुद्रास्फीति देखाए तापनि अहिलेको मूल्यवृद्धि अघिल्लो वर्षको न्यून स्तरको तुलनामा बढेको देखिन्छ,’ डा. खनालले अन्नपूर्णसँग भने, ‘चिन्ताको विषय के छ भने अर्थतन्त्रको उत्पादनशील क्षमता बढाउने पुँजी (कुल पुँजीको सञ्चय) यसबीचमा घटिरहेको छ।’

नेपाल राष्ट्र बैंकका प्रवक्ता पौडेल पछिल्लो तीन महिनाको अर्थतन्त्रको अवस्थाबारे विस्तृत जानकारी दिँदै हालको मुद्रास्फीति एकदमै लोएस्ट पोइन्टभन्दा अलिकति कम रहेको दाबी गर्छन्। उनी भन्छन्, ‘तथ्यांकअनुसार मुद्रास्फीति दर १.४७ प्रतिशत देखिएको छ। यसमा विभिन्न फ्याक्टरहरूको भूमिका रहेको छ। तुलनात्मक रूपमा भारतको अक्टोबर २०२५ को मुद्रास्फीति ०.२५ प्रतिशत रहेको छ।’

व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि 
चालु आवको ३ महिनासम्ममा कुल वस्तु व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भई .३९५ अर्ब ३० करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो घाटामा ४ प्रतिशतले कमी आएको थियो। यस अवधिमा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड पुगेको छ। यस्तै, कुल वस्तु आयात १९.८ प्रतिशतले वृद्धि भई ४ खर्ब ६८ अर्ब ८ करोड पुगेको छ। 

शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा
नेपालबाट बाहिरनेभन्दा भित्रिने विदेशी मुद्रा अधिक हुँदा चालु आवको ३ महिनामा शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा छ। गत वर्षको सोही अवधिमा शोधनान्तर १८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो।

यस्तै, चालु खाता पनि २ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा छ। यस अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको छ भने १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। 

कर्जा प्रवाह अपेक्षाअनुसार बढेन
बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले वृद्धि भई ५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ। जबकि गत वर्षको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ। 

यसैबीच केन्द्रीय बैंकका प्रवक्ता पौडेलले वास्तविक रूपमा हेर्दा, यो तीन महिनाको अवधिमा कर्जा प्रवाह घटेको बताए। यसको कारणबारे प्रस्टयाउँदै भन्छन्, ‘तुलनात्मक रूपमा यस अवधिमा एनपीएल (निष्क्रिय कर्जा) बढेको छ। असार मसान्तमा यो ४.६ प्रतिशतको हाराहारीमा रहेको थियो, तर अहिले ५ प्रतिशत वा सोभन्दा माथि पुग्ने अवस्था देखिएको छ।’ नाफा पनि घटेको छ, यसको मुख्य कारणहरू एनपीएल वृद्धि हुनु र कर्जा प्रवाह अपेक्षित रूपमा बढी हुन नसक्नु भएको प्रवक्ता पौडेल बताउँछन्।

पुँजीगत खर्च १९ अर्ब १८ करोडमा सीमित 
सरकारले विकास (पुँजीगत) खर्च खासै बढाउन सकेको छैन। यस अवधिसम्म पँुजीगत खर्च १९ अर्ब १८ करोडमा सीमित छ। यद्यपि सरकारको कुल खर्च ३ खर्ब ६४ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। जसमा चालु खर्च २५६ अर्ब ८१ करोड, पँुजीगत खर्च १९ अर्ब १८ करोड र वित्तीय व्यवस्था खर्च ८८ अर्ब ६० करोड छ। 

यस अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २४९ अर्ब ५ करोड पुगेको छ। यसअन्तर्गत कर राजस्व २३४ अर्ब ३३ करोड र गैरकर राजस्व १४ अर्ब ७२ करोड परिचालन भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.