दूरसञ्चार क्षेत्रको खस्कँदो साख

दूरसञ्चार क्षेत्रको खस्कँदो साख

दूरसञ्चार केवल प्रविधिको प्रश्न होइन, शासनको पनि प्रश्न हो। नियमन कति विश्वसनीय छ ? कति पारदर्शी छ ? कति परिणाममुखी छ ? आज प्रविधिभन्दा बढी सत्य यो हो।

नेपालको दूरसञ्चार क्षेत्र विगत दुई दशकमा राज्यको सीमित लगानी र निजी क्षेत्रको जोखिम वहनका कारण विस्तार भएको क्षेत्र हो । तर अहिले यस क्षेत्रको नियमन र संस्थागत नेतृत्व कमजोर भएको, नीतिगत स्पष्टता अभावमा परेको र प्राथमिकता भत्किएको संकेत बारम्बार देखिन थालेका छन् । पछिल्लो केही समयदेखि नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) सम्बन्धी विषयले यति धेरै प्रश्न खडा गरेको छ । अहिले यस क्षेत्रको सामान्य प्राविधिक छलफलभन्दा पनि शासन, अखण्डता, पारदर्शिता र नेतृत्वको विश्वसनीयताका विषय अग्रस्थानमा आएका छन् ।

सबैभन्दा पहिला ग्रामीण दूरसञ्चार विकास कोषका रकमहरू विकासका लक्ष्य पूरा गर्न नसकेर बैंकमा मुद्दती राखेर ब्याज उठाउने तयारी गरिएको समाचारले देशभर चर्चा पाएको छ । जुन निकै लज्जाजनक विषय हो । विकासका लागि संकलित कोष विकासमै खर्च नहुञ्जेल राज्य र नागरिक दुवैका लागि ठूलो र दीर्घकालीन घाटा हुनेछ । सूचना प्रविधिको विकास जनस्तरसम्म पुग्न ग्रामीण कनेक्टिभिटी अनिवार्य सर्त हो ।

प्राधिकरणले कोषको रकम खर्च गर्न असमर्थ भएको स्वीकार्दै बैंक तथा वित्तीय संस्थाबाट मुद्दती निक्षेपका प्रस्ताव माग्छ, योभन्दा अर्को विडम्बना के हुन्छ ? ६ महिनादेखि एक वर्ष अवधिसम्मका लागि कोषको रकमलाई बैंकमा जाम गरेर ब्याज कमाउने सोच विकासको अवधारणाप्रति लज्जाजनक कदम हो । यसरी कोष परिचालन

‘वित्तीय व्यवस्थापन’मा सीमित हुनु कत्तिको उपयुक्त हो ?

दूरसञ्चार सेवाबाट दिने संस्थाहरूबाट वार्षिक आम्दानीको २ प्रतिशत अनिवार्य रूपमा जम्मा हुने प्रावधानबाट कोष बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८१/०८२ मा यो रकम ३ अर्ब १२ करोड रुपैयाँ नाघिसकेको छ । यो अघिल्लो वर्षभन्दा झन्डै एक अर्ब बढी । तर यसको परिणाममा ग्रामीण क्षेत्रमा प्रत्यक्ष प्रगति देखिँदैन । कति विद्यालय इन्टरनेट जोडिए ? कति स्वास्थ्य चौकी डिजिटल बने ? कति स्थानीय तहमा सूचना सेवा प्रभावकारी भयो ? कति गाउँलेले डिजिटल बैंकिङ प्रयोग गर्न पाए ? यी प्रश्नहरूको ठोस उत्तर छैन ।

यसकारण प्रश्न उठ्छ, के प्राधिकरण दायित्व बिर्सिँदै ‘ब्याज कमाउने संस्थान’ बन्ने संस्था हुने बाटोमा त छैन ? यतिमात्रै होइन, प्राधिकरणको नेतृत्व नियुक्तिमा पनि गम्भीर त्रुटि र विवाद देखा परेका छन् । अध्यक्ष भूपेन्द्र भण्डारीले नियुक्तिका लागि पेस गरेका दुईवटा अनुभव प्रमाणपत्र एउटै समयावधिमा फरक–फरक कम्पनीमा कार्यरत भएको देखिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अध्यक्षका लागि प्रमाणपत्र ओभरल्याप भएको दाबीले नियुक्ति प्रक्रियालाई नै शंकाको घेरामा पारेको छ । नेतृत्वको विश्वसनीयता नै प्रश्नमा छ भने संस्थाको नियन्त्रण, निरीक्षण, नीति निर्माण र दुरुपयोग रोकथाम के आधारमा हुन्छ ? भण्डारीको नियुक्तिमा तत्कालीन मन्त्री र मन्त्रालयकै भूमिकाप्रति पनि शंका र बहस उब्जाएको छ ।

तत्कालीन सञ्चारमन्त्री रेखा शर्माको सिफारिसमा भण्डारी प्राधिकरणको अध्यक्ष बने । उनलाई पहिले सरकारले मन्त्रालयको ‘दूरसञ्चार तथा सूचना प्रविधि सल्लाहकार’ बनाएको थियो, अनि प्राधिकरणबाटै तलबभत्ता पाउने व्यवस्था मिलाइयो । यो प्रवृत्ति सामान्य प्रशासनिक अभ्यासभन्दा पृथक्मात्र होइन, नियमन संस्थामा व्यक्ति केन्द्रित नियुक्ति संस्कृति र घुसपैठको संकेत पनि हो भन्ने प्रश्न उब्जिएको छ । यसअघि पनि प्राधिकरणको विश्वसनीयता कमजोर बनाउने घटना भएका छन् । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम खरिद प्रकरणमा पूर्वअध्यक्ष दिगम्बर झा र अध्यक्ष पुरुषोत्तम खनाल विशेष अदालतबाट दोषी ठहर भएका थिए । राष्ट्रिय सम्पदाको व्यवस्थापन तथा ठेक्का प्रक्रियामा देखिएको अनियमितता र आपराधिक गतिविधिसँग नाम जोडिनु स्वयं संस्थाको लागि ठूलो धब्बा हो ।

नियमन किन कमजोर छ ?, आजको वास्तविक प्रश्न हो । पहिलो, नेतृत्वमा स्पष्टता र नैतिक बलको अभाव र अध्यक्ष नियुक्तिमै विवाद हुँदा प्रणालीमा भरोसा घट्छ । दोस्रो, प्रक्रियागत पारदर्शिताको कमी, ठेक्का प्रक्रिया प्रस्ट छैन, हित–संघर्ष घोषणा अनिवार्य छैन, तेस्रो–पक्षीय नजिर प्रकाशन गर्दैन । तेस्रो, नीतिगत अस्पष्टता, स्पेक्ट्रम नीतिमा दीर्घकालीन दृष्टि छैन । फाइभजी विस्तारबारे दुविधा देखिन्छ । कर शुल्कका साथै रोयल्टी संरचनामा स्पष्टता छैन । चौथो, प्राधिकरणभित्रको निर्णय प्रक्रियामा स्थिरता र पारदर्शिता छैन ।

यसैबीच, टेलिकम क्षेत्रको अर्थतन्त्रमा योगदान पनि घटेको तथ्य प्रकाशित छ । विज्ञ मनोहरकुमार भट्टराईले मोबाइल उद्योग डिजिटल अर्थतन्त्रको आधारभूत बल भए पनि हाल योगदान ३.६ प्रतिशतबाट १.८ प्रतिशतमा झरिसकेको कार्यक्रममा टिप्पणी गरे । ९० प्रतिशत क्षेत्रमा फोरजी कभरेज भए पनि नियमित डेटा प्रयोगकर्ता मात्र २० प्रतिशत जति हुनु, प्रविधि पहुँच र प्रयोगबीचको दूरी कत्तिको गहिरो छ भन्ने प्रमाण हो । निजी क्षेत्रले सेवा विस्तारमा ठूलो लगानी गर्दै आएको छ । तर नियमनको अस्थिर वातावरण र प्रतिफल–अनिश्चितताले व्यावसायिक जोखिम बढाएको छ । राज्यलक्षित ठोस भौतिक पूर्वाधार नबन्नु, ग्रामीण बजारमा सेवाको माग–प्रयोग कम हुनु र नीतिगत निर्णय ढिलो हुनु आदिले बजार विस्तार रोकिरहेछ ।

दूरसञ्चार क्षेत्र कतै अनिश्चिततामा होमिँदै त छैन ? आजको सबैभन्दा ठूलो सवाल हो । यदि नेतृत्वको नैतिकता र विश्वसनीयता सुनिश्चित भएन भने ठेक्काको शासन पारदर्शी भएन भने, ग्रामीण कोष परिणाममुखी परिचालन भएन भने, स्पेक्ट्रम नीति दीर्घकालीन परिप्रेक्ष्यमा बनेन भने न त उद्यमी आउँछन् न त उपभोक्ताले गुणस्तरीय सेवा पाउँछन् । त्यसैले आजका प्राथमिक कर्तव्यहरू स्पष्ट छन् ।

पहिलो, भण्डारीको अनुभव प्रमाणपत्र विवादमा छानबिन छिटो, निष्पक्ष र पूर्ण पारदर्शितासहित हुनु आवश्यक छ । ढिलो हुनु भनेको संस्थाको नैतिक अधिकार खुम्चिनु हो । दोस्रो, ठेक्का शासन सुधार अनिवार्य छ । स्वच्छ प्रतिस्पर्धा खुला गर्ने, प्रतिस्पर्धा पारदर्शी बनाउने, मूल्यांकन खुला गर्ने र तेस्रो–पक्षीय अनुगमन सुनिश्चित गर्ने । एमडीएमएस प्रकरणको पाठ यही हो । तेस्रो, नीतिगत स्पष्टता—दीर्घकालीन स्पेक्ट्रम मार्गचित्र, फाइभजी–केन्द्रित नीतिगत प्रयोग, कर शुल्क, रोयल्टी एकीकृत संरचना, तथा उद्योगसँग नियमित संवाद । चौथो, ग्रामीण कोष परिणाममुखी परिचालन । विद्यालय, स्वास्थ्य केन्द्र, स्थानीय तह लक्ष्यित कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याई, प्रगति सूचकांक सार्वजनिक गर्दै, अनुगमनलाई कडा बनाउनु जरुरी छ ।

दूरसञ्चार केवल प्रविधिको प्रश्न होइन, शासनको पनि प्रश्न हो । नियमन कति विश्वसनीय छ ? कति पारदर्शी छ ? कति परिणाममुखी छ ? आज प्रविधिभन्दा बढी सत्य यो हो । यदि नियमन विश्वसनीय, नैतिक र उत्तरदायी छ भने, प्रविधिको विस्तार आफैं सहज हुन्छ । यदि नियमन अविश्वसनीय छ भने, ठूलो लगानी भए पनि विकास र प्रयोग दुवै अवरुद्ध रहन्छ । गाउँगाउँको कनेक्टिभिटी, डिजिटल शिक्षा, स्थानीय सेवा र सूचना–अधिकारका लागि जिम्मेवार संस्थाले मात्र ब्याज उठाउने लोभमा नलागेर वास्तविक सेवा उन्मुख काम गर्नुपर्ने हो । आज प्राधिकरणका सबै निर्णयहरू, नेतृत्वका सबै कृत्यहरू र प्रक्रियाका सबै पाइलाहरू प्रश्नको घेरामा छन् ।

नियामकको विश्वसनीयता कत्तिको बलियो छ ? र, यसको उत्तर नेतृत्वको पारदर्शिता, छानबिनको निष्पक्षता तथा कोष परिचालनको परिणाममुखी पद्धतिमै खोजिनुपर्छ । यदि यहाँ असफल भयौं भने दूरसञ्चार उद्योग अनिश्चिततामा अल्झिन्छ, निजी लगानी पलायन हुन्छ, उपभोक्ता सेवा बिग्रन्छ । र नेपाल डिजिटल युगको प्रतिस्पर्धामा पछाडि पर्छ । पहिलो, कुनै विलम्ब नगरी अध्यक्ष भण्डारीसम्बन्धी ‘अनुभव प्रमाणपत्र’ विवादमा अख्तियारको छानबिनले ठोस निष्कर्ष निकालेर सार्वजनिक गर्नुपर्छ । यसले व्यक्तिलाई ‘क्लिन चिट’ वा ‘दोषारोपण’को अवस्थाबाट दूरसञ्चार प्राधिकरणजस्तो संस्थाको आधिकारिकता र विश्वसनीयता फर्काउन सघाउनेछ । साथै भण्डारीविरुद्ध उजुरीमा उठेका ‘ओभरल्याप’ तथ्यका विषयमा स्वतन्त्र प्रमाणीकरण (विदेशी कम्पनीमा काम गरेको भनिएका मिति, पद, र जिम्मेवारी) गरी प्राधिकरणले समेत आफ्नै वेबसाइट वा प्रेस–नोटमार्फत जानकारी दिनुपर्छ ।

दोस्रो, प्रक्रियागत सुधारअन्तर्गत एमडीएमएस प्रकरणले देखाएको ‘प्रोक्योरमेन्ट–गर्भनेन्स’का कमजोरी सुधार गर्न ठेक्का मापदण्ड, हित–संघर्ष घोषणा, मूल्यांकन पारदर्शिता र तेस्रो–पक्ष नजिर प्रकाशन गर्नु आवश्यक छ । 

तेस्रो, नीतिगत स्पष्टता र उद्योग सहजीकरण । स्पेक्ट्रम दीर्घकालीन रोडम्याप (३–५ वर्ष), फाइभजी ‘सिटी–फस्र्ट’ मोडेलमा पाइलट–व्यावसायिक चरण छुट्याउने स्पष्ट नियम, र कर–शुल्क–रोयल्टीको एकीकृत संरचना आवश्यक छ ।

चौथो, आरटीडीएफको परिणाममुखी परिचालन गर्नु । ग्रामीण दूरसञ्चार विकास कोषबाट ‘स्कुल–हेल्थ–स्थानीय सरकार’जस्ता प्राथमिक क्षेत्रमा सिधा नतिजा दिने परियोजनाहरू—उदाहरण, विद्यालय ब्रोडब्यान्डमा ‘सेवा–स्तर–सम्झौता’सहितलाई पहिलो चरणमै टेकेर, अनुगमन/उत्पादनशीलता–आधारित किस्ताबन्दीमा रकम छुट्ट्याउने व्यवस्था हुनुपर्छ । गत वर्षदेखि आइरहेको ‘कोष छ तर नतिजा कमजोर’ भन्ने आलोचना हटाउन प्राधिकरणले प्रगति सूचकांकसहित त्रैमासिक रिपोर्टिङ खुला गर्न सक्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.