क्रिकेट कुम्भले जगाएको आशा
कीर्तिपुर मैदानमा नेपाली क्रिकेटको महामेला सोमबार सुरु भएको छ। व्यावसायिक फ्रेन्चाइजका रूपमा नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सुरु हुँदा नेपाली क्रिकेटकै उचाइ बढेको छ। एनपीएल आयोजनाकै लक्ष्यसहित कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानले मुहार फेर्न पाएको छ। १० हजार क्षमताको स्थायी र ३ हजार क्षमताको अस्थायी प्यारापिट निर्माण भएको छ। राति पनि खेल्न मिल्नेगरी फ्लडलाइट जडान भएको छ। यो पूर्वाधार नेपाली क्रिकेटका लागि ठूलो र महत्वपूर्ण पूर्वाधारका रूपमा कोसेढुंगा साबित भएको छ। पक्कै पनि खेलकुद पूर्वाधार विकासमा यसले नयाँ आयाम थपेको छ। यसले भविष्यमा यस्तै ठूला प्रतियोगिता आयोजना गर्न नेपाल सक्षम छ भन्ने सन्देश पनि दिएको छ।
एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रै ‘हाइप’ पाएको छ। यो केवल खेलाडी र आयोजकको मात्रै मेहनतको फल होइन, समस्त नेपाली क्रिकेटप्रेमीको अथाह माया र समर्थनको प्रतिफल पनि हो। यसले विश्वसामु नेपालको क्रिकेट क्षमता प्रदर्शन गर्ने अवसर दिएको छ। नेपाल ७ टिममा खेल्न विदेशी खेलाडी पनि आएका छन्। त्यसबाट नेपाली क्रिकेटको अन्तर्राष्ट्रियस्तर बढाएको छ। र, अन्तर्राष्ट्रिय ध्यानाकर्षण पनि गराएको छ।
विश्वमञ्चमा नेपाली क्रिकेटको उपस्थिति दरिलो बनाएको छ। विश्व चर्चित खेलाडीको सहभागिताले खेलको स्तर बढाउने नै छ। नेपाली खेलाडीलाई विश्वस्तरीय खेलाडीसँग खेल्न, सिक्न र आफ्नो कौशल सुधार्न यो प्रतियोगिताले योगदान दिनेछ। खेल केवल मनोरञ्जनमात्रै होइन। यही एनपीएलले नेपाली समाजमा व्याप्त निराशा चिर्न ठूलो योगदान दिएको छ। राजनीतिक अन्योल र अस्थिरताबीच आयोजित खेलले नेपालीको एकतालाई बलियो बनाएको छ। राष्ट्रियताको डोरी कसिलो पारेको छ। धेरै नेपाली र विशेषतः युवा पंक्ति उत्साहित भएको छ।
अर्काेतिर अर्थतन्त्रका लागि एउटा ठूलो आशाको किरण हो। विश्वका चर्चित खेलाडीको आगमन, ठूला व्यापारिक घरानाको लगानी र अन्तर्राष्ट्रियस्तरको व्यवस्थापनले यसलाई थप आकर्षक बनाएको छ। नेपाल क्रिकेट संघ (क्यान) आफैंले यसपाली ३५ करोडभन्दा बढी आम्दानीको लक्ष्य राखेको छ। यो रकम नेपाली खेलकुदको इतिहासमै ठूलो हो। नेपाली खेलकुदको इतिहासमा एनपीएल महत्वपूर्ण मोड हो। क्रिकेट नेपालीमाझ असाध्यै लोकप्रिय हुँदै आएको यो द्योतक पनि हो। यसले सफलता पायो भने अन्य खेलका लागि पनि प्रेरणा दिएको छ।
खेलकुदमा लगानी किन जरुरी छ भन्ने हेक्का पुर्याउन नीतिनिर्मातालाई पनि यसले चेत खुलाएको हुनुपर्छ। दसौं राष्ट्रिय खेलकुद राज्यले आयोजना गर्नुपर्ने दायित्व भएका बेला एनपीएलले प्रेरणा भरेको छ। एनपीएल सुव्यवस्थित र सुरक्षित तवरले सम्पन्न गराउन सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्छ। यो देशका लागि ठूलोअवसर पनि हो।
प्रतिक्रिया दिनुहोस !