होसियार ! गाउँसम्म फैलिँदैछ एसएमसी ठगीको जालो
काठमाडौं : साथीहरू भन्थे– घरमा बसीबसी लाखौं लाख कमाई हुन्छ । दुःख गर्नै पर्दैन ।’ अनि, उदयपुरका सनम राई (नाम परिवर्तन) पनि साथीभाइको कुरामा लोभिए । एसएमसी एप मोबाइलमा डाउनलोड गरे । उक्त कम्पनी औपचारिक रूपमा दर्ता गरेको दस्तावेज नै प्राप्त गरेपछि उनमा थप विश्वास जाग्यो । एसएमसी कम्पनीले भनेअनुसार तेस्रो लेभल (के३) का लागि ३३ हजार ८ सय रुपैयाँ जम्मा गरे ।
जुन स्किमअनुसार दिनमा १५ वटा अनलाइन विज्ञापन हेरेबापत १ हजार १ सय ४० रुपैयाँ कमाइ हुन्छ भनिएको थियो । त्यसअनुसार महिनामा करिब ३० हजार बसीबसी कमाई हुने सुन्दा उनको मन पनि लोभियो । आफूले त पैसा जम्मा गरे नै, एपमा रिचार्ज गर्न अरू साथीभाइलाई पनि पैसा सापटी दिए । गाउँघरका पाका मान्छे भए पनि हालको प्रविधिसँग चिरपरिचित नहुँदा गाउँकै भाइभतिजाले उनको एप चलाइरहेका थिए ।
राई केही दिनअघि काठमाडौं आए । तर, काठमाडौं आएको रात नै कम्पनी बन्द भयो भन्ने जानकारी पाए । कम्पनी ‘फ्रड भएको र धेरैलाई फसाएको’ भन्ने पीडितहरू धेरै भए । काठमाडौंमा पनि धेरै नै जना फसेको थाहा पाएर कात्तिक २४ गते पीडितको भेला राखियो । अनि, कम्पनीविरुद्ध उजुरी दिने भेलाको सल्लाहअनुसार कात्तिक २५ गते उनले पहिलो उजुरी दिए । उनले ४ लाख रुपैयाँ अनलाइन ठगी भएको भन्दै एसएमसीविरुद्ध नेपाल प्रहरीको ब्युरोमा उजुरी दिएका छन् । उदयपुरका अधिकांशले यस एपमा लगानी गरेको उनको भनाइ छ ।
खोटाङ घर भएकी, काठमाडौंमा बसेर अध्ययन गरिरहेकी सीता विक (नाम परिवर्तन)ले पनि आफू एसएमसीको सिकार भएको बताइन् । एसएमसीबारे आफ्नै परिवारका सदस्यबाट थाहा पाएर उनी यसको सदस्य बनिन् । १ लाख १० हजार रुपैयाँ तिरेकी उनले त्यहाँबाट रिटर्न भने पाइनन् । उल्टो ९ हजार कर तिरेकी उनलाई पुनः १६ हजार कर तिर्नु भनेपछि मात्रै आफू ठगिएको महसुस गरेर साइबरब्युरोमा उजुरी दिन आइपुगेको बताइन् । एसएमसी ठूलो नेटवर्कमा सञ्चालन भइरहेको ठगी धन्दा हो ।
ooo
यही कात्तिक २५ गते साइबर ब्युरो काठमाडौंमा अनलाइनबाट ठगिएको भन्दै केही व्यक्ति उजुरी दिन पुगे । उदयपुरका पदम राई करिब ४ लाख रुपैयाँ अनलाइन एप एसएमसी नेपालबाट ठगिएको भन्दै उजुरी दर्ता गराउन साइबर ब्युरो पुगेका थिए । पहिलो दिन केही मात्रामा उजुरी दर्ता भएका थिए । तर , त्यसबाट ठगिनेको संख्या बढ्दै गएपछि हाल ४९ जनाले एसएमसीले ठगी गरेको भन्दै ब्युरोमा उजुरी दर्ता गरेका छन् । कम्तीमा ५० हजारदेखि ६४ लाखसम्म उक्त अनलाइनबाट ठगिएको भन्दै ब्युरोमा उजुरी परेका छन् ।
देशभित्र मात्र नभई देशबाहिर रहेका नेपालीले पनि यो एपमा पैसा लगानी गरेको साइबर ब्युरो काठमाडौंका प्रहरी उपरीक्षक एवं प्रवक्ता दीपककुमार अवस्थी बताउँछन् । साउदी अरेबियामा कामको सिलसिलामा गएका एक जना नेपालीले पनि एसएमसी स्क्याममा परेको अनलाइनबाट उजुरी दर्ता गराएका छन् । उनले १ लाख ३५ हजार रुपैयाँ ठगिएको उजुरी दिएका छन् ।
कसरी बन्यो एसएमसी समूह ?
इलाममा बाढीबाट क्षति पुगेपछि राहत बाड्न ब्यानरसहित एसएमसी समूह पुगेको थियो । प्रहरीले उक्त समूहबारे सोधखोज गर्यो । तर, इलाममा दर्ता भएको पाइएन । त्यसपछि उक्त समूहले बनाएको एसएमसी एप फेक हुनसक्ने भन्दै साइबर ब्युरो काठमाडौंले तिहार अघिबाट अनुसन्धान सुरु गर्यो । साइबर ब्युरोलाई ‘स्क्याम’ हो भन्ने थाहा हुँदाहुँदै पनि कतैबाट एप्सबारे उजुरी परेको थिएन ।
नोभेम्बर ११ अर्थात् कात्तिक २५ गतेबाट भने यो एप्सबाट ठगिएको र स्क्याम भएको भन्दै ब्युरोमा उजुरी पर्न थाले । ‘हामीले पहिलेदेखि नै अध्ययन गरेका थियौं । तर, कारबाहीका लागि अघि बढ्न हामीसँग प्रमाण थिएन,’ साइबर ब्युरोका प्रवक्ता अवस्थीले भने, ‘प्राकृतिक विपद्मा पीडितहरूलाई राहत वितरण गरेको पाइयो । जिल्ला प्रशासनमा सोध्दा सूचीकृत नभइकन गरिएको जस्तो देखिएको थियो । शंकास्पद देखिएको थियो ।
- इलाममा बाढीबाट क्षति पुगेपछि राहत बाँड्न ब्यानरसहित एसएमसी समूह पुगेको थियो । प्रहरीले उक्त समूहबारे सोधखोज गर्यो । तर, इलाममा दर्ता भएको पाइएन ।
- देशभित्र मात्र नभई देशबाहिर रहेका नेपालीले पनि यो एपमा पैसा लगानी गरेका छन् ।
- यो एप्स खोल्दा सबै वैधानिक र सरकारी प्रक्रियाअनुसार कम्पनी सञ्चालन भएको देखिन्छ ।
- नयाँ लगानीकर्ता बनाएअनुसार ९ हजार ५ सयदेखि ११ लाख रुपैयाँसम्म मासिक तलब हुने ग्यारेन्टीको लोभ देखाइन्छ ।
- अमेरिकादेखि खैरहनी नगरपालिकामा दर्ता भएको प्रमाण पेस गरिएका छन् ।
- बैंकिङ च्यानल प्रयोग हुने भएकाले राष्ट्र बैंकसँग समन्वय गरी यसबारे अनुसन्धान गर्न छलफल भइरहेको साइबर ब्युरोले जनाएको छ ।
उनीहरूको विज्ञापनमा केही खाताको नाम र त्यसलाई कसरी प्रयोग गर्ने भन्ने पनि बुझाइएको थियो । ती खाताहरूको केवाइसीलगायत विवरण हेरेर बुझिरहेका थियौं । हाम्रो अध्ययनले पनि यो ठगी ‘स्क्याम’ हो भन्ने देखियो । हाल त नागरिकहरूको उजुरी पनि आउन थाल्यो ।’
घरपरिवार सबै राम्रो चलिरहेको थियो । काठमाडौंमा आफ्नो व्यवसाय गरेर परिवारसँग बस्दै आएकी सीता ढुंगाना (नाम परिवर्तन) गत अगस्ट २८ (भदौ १२ गते) बाट यो एपमा जोडिन पुगिन् । उनले के ३ लेबलबाट यो एपमा रिचार्ज गरिन् । नेपालीभन्दा पनि अंग्रेजी, हिन्दी फिल्मका १ मिनेटदेखि ५ मिनेटसम्म ट्रेलर हेरे वापत दैनिक १ हजार १ सय ४० रुपैयाँ पाउने भएपछि कसले लगानी नगर्ला ? डिग्री गरेकी उनी यसमा कसरी फसेँ ? भनेर आफैं अचम्मित छिन् । लगानी पछि उनले करिब १ लाख रुपैयाँ कमाइन पनि । ३३ हजार ८ सयबाट एक लेबल बढेर के४ मा पुग्दा १ लाख १० हजार रिचार्ज गरिन् । सेयर बचेर ३ लाख ५ हजार तिरेर के ५ लेबलसम्म गइन् । तर, त्यसपछि रिर्टन आएन ।
हालसम्म आफ्नो ४ लाख रुपैयाँ यसमा फसेको उनले बताइन् । कात्तिक २४ गते एप्समा कर तिर्ने भन्ने सूचना देखियो, त्यसपछि भने यो ‘स्क्याम’ हो भन्नेमा आफू स्पष्ट भएको उनले बताइन् ।
किन नफसुन त सर्वसाधारण ?
यो एप्स खोल्दा सबै वैधानिक र सरकारी प्रक्रियाअनुसार कम्पनी सञ्चालन भएको देखिन्छ । एप्समा दिइएको प्यान नम्बर हालेर हेर्दा आन्तरिक राजस्व विभागमा कर तिरेको पनि देखिन्छ । काठमाडौं कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको देखिन्छ । चितवन खैरहनी नगरपालिकामा यो कम्पनी दर्ता भएको सरकारी कागजात पनि भेटिन्छ ।
साइबर ब्युरोमा अहिले एसएमसीबाट ठगिएको भन्दै सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । अन्य अनलाइनभन्दा यसमा ठगिएको भन्दै उजुरी बढी पर्न थालेको ब्युरोका अधिकारीहरू बताउँछन । ‘एसएमसी ठगिका उजुरी अध्ययन गर्दा र रकम पठाएको बैंक खाता रोक्का पत्र पठाउँदैमा दिन बित्न थालेका छन्,’ ब्युरोका एक अधिकारीले भने, ‘एक जना व्यक्तिले ७१ वटा खातामा पैसा बुझाएको पाइएको छ ।’
ललितपुर बस्ने चरिमाया गुरुङ (नाम परिवर्तन) ले एप्समा रकम रिचार्जका लागि ७१ वटा खातामा रकम पठाएकी छिन । साइबर ब्युरोमा उजुरी दर्ता गराउने क्रममा भेटिएकी उनले रकम बुझाउन प्रयोग गरेको खाता देखेर ब्युरोका कर्मचारी नै आंतकित बने । विभिन्न समयमा गरी उनले करिब ४ लाख रुपैयाँ उक्त कम्पनीका लागि भुक्तानी गरेकी छिन् ।
एप्समा लगानीकर्ताहरूले कुनै एक बैंकको खातामा मात्रै रकम जम्मा गराएका छैनन् । वाणिज्य बैंकदेखि विकास बैंकसम्मका खातामा पीडितले रकम जम्मा गरेका छन् । खातावालाको नाम दिँदा पनि ब्युरोले अनुसन्धान थालेन भन्ने उजुरीकर्ताहरूले गुनासो गरेका छन् । तर, ब्युरो भने उजुरीकर्ताले कम्पनीको खातामा नभई व्यक्तिको खातामा रकम बुझाएको हुँदा कसलाई कारबाही गर्ने भन्ने अन्योलमा छ । फेरि एउटा ठगिएको व्यक्तिले अर्को ठगिएको व्यक्तिलाई रकम पठाउने गरी च्यानल
बनाएको हुँदा कारबाही कसलाई गर्ने भन्ने अन्योल भएको ब्युरोको भनाइ छ । ब्युरोले अहिले यसका बारेमा गहन रूपमा अध्ययन गरिरहेको प्रवक्ता अवस्थीले जानकारी दिए ।
अमेरिकादेखि खैरहनी नगरपालिकामा दर्ता भएको प्रमाण
एसएमसी नेपाल एडभरटाइजिङ मिडिया कम्पनी अमेरिकामा दर्ता भएको प्रमाण एप्समा राखिएको छ । अमेरिकाको न्युयोर्क राज्यमा बिजनेस कानुनअनुसार कम्पनी दर्ता भएको दाबी गरिएको छ । नेपालमा भने एसएमसीएन एड्भरटाइजिङ सर्भिस सेन्टरको नाममा उद्योग मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रार कार्यालय काठमाडौंमा २०८२ जेठ २९ गते दर्ता भएको देखिएको छ । कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा (१) बमोजिम उक्त कम्पनी दर्ता भएको दाबी गरिएको छ । यस्तै उक्त कम्पनीको स्थायी लेखा नम्बर र कार्यालय दिएको छ । खैरहनी नगरपालिका–६ चितवनका सोनम खातुनका नाममा कम्पनी दर्ता भएको छ ।
कम्पनीको प्रबन्धपत्रमा भनिएको छ, ‘ग्राहकहरूको आवश्यकताअनुसार, व्यावसायिक मार्केटिङका लागि प्रयोग हुने विभिन्न प्रकारका ब्यानर्स, फ्लेक्स बोर्ड, पोस्टर्स, होडिङ, फ्लायर्स, र अन्य मार्केटिङका सामानहरू तथा पारिवारिक समारोह, शैक्षिक या सामूहिक भ्रमण र सामाजिक कार्यक्रमहरूका लागि कार्ड, फ्लेक्स, ब्यानर आदि डिजाइन गरी प्रिन्ट गर्ने सेवा प्रदान गर्ने गराउने ।’ कम्पनीले बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने भनिए पनि कम्पनीको नाममा खाता नभेटिएको साइबर ब्युरोले जानकारी दिएको छ । कम्पनीको नियमावलीले कम्पनीको रजिस्टर्ड कार्यालय तथा कारोबार गर्ने स्थान चितवनको खैरहनी नगरपालिका–६ रहने भनिएको छ ।
‘यो कम्पनी अर्काे कम्पनीको नाममा दर्ता भएको छ । एसएमसीएन भन्ने डिजिटल मार्केटिङ गर्ने अर्को कम्पनीको डकुमेन्टमा गएर दर्ता गराएको देखिन्छ । नेपालको सिस्टममा दर्ता भएको छ,’ ब्युरोका प्रवक्ता अवस्थी बताउँछन् । ब्युरोको छानबिनपछि कार्यलयले उक्त कम्पनीलाई अनरजिस्टर्ड गरेको बताइएको छ ।
लोभलाग्दा अफर
लगानीकर्ताले आफूसरह वा सोभन्दा माथि वा तलका लेबललाई रिफर (निमन्त्रणा) दिए प्रतिशतका दरले कमिसन आउने एप्समा उल्लेख छ । त्यसका अलावा विभिन्न पुरस्कारको पनि व्यवस्था गरिएको देखिन्छ । टोली निर्माण गरी आएको पैसा त्यही नै घुम्ने गरेको छ । नयाँ लगानीकर्ता बनाए अनुसारको ९ हजार ५ सयदेखि ११ लाख रुपैयाँसम्मको मासिक तलबको पनि ग्यारेन्टी कम्पनीले गरेको छ ।
कम्पनीले सम्पत्ति कोष योजना ल्याउन लागेको र सबै कर्मचारीको सुरक्षाको प्रत्याभूति पनि दिने उल्लेख छ ।
कम्पनीले ग्लोबल इम्प्लोयमेन्ट सोलुसन्स, चलचित्र र टेलिभिजन निर्माणको विश्वव्यापीकरण, विश्वव्यापी प्रतिभाको खोजी तथा व्यापार मोडल र राजस्व विविधीकरण दृष्टिकोणको रूपमा प्रस्तुत गरेको छ । कम्पनीले आगामी ३ वर्षमा २० लाख कर्मचारी पुर्याउने, प्राथमिक सेयर निष्कासन गर्ने र सन् २०२६ सम्म नेपालमा सहायक कम्पनी खोल्ने योजना एप्समा प्रस्तुत गरेको छ ।
कम्पनीले बनाएको ह्यान्डबुकमा २०१९ मा अमेरिकामा स्थापना, २०२० मा मिलिनियम डलर परियोजना सम्पन्न, २०२१ मन व्यापारिक दायरा अमेरिकामा विस्तार, २०२२ मा गुगल, फेसबुक, युट्युबसँग रणनीतिक सहकार्यको घोषणा । २०२३ मा एआईमा आधारित विज्ञापन विश्लेषण सुरु गरिएको दाबी गरिएको छ । 
यस्तै, २०२४ मा युनिभर्सल, वार्नर डिज्नी र अन्यसँग विज्ञापन सहयोगमा पुगेको, २०२४ डिसेम्बरमा नेपाल प्रवेश गरेको र २०२५ मा विश्वव्यापी ब्यान्ड नीति जारी गर्दै युरोपेली र एसियाली बजारमा कार्यलय स्थापना गरी २०२५ मा नै अमेरिकी सरकारबाट मान्यता प्राप्त गरेको दावी गरिएको छ । यस्तै, सन् २०२५ मा नै नेपालमा १० हजारलाई रोजगारी दिएको र २०२६ मा नेपालमा २० लाख रोजगारी
सृना गर्ने अनुमानसहितको टाइमलाइन पनि प्रस्तुत गरिएको छ ।
पीडितहरूले खोले संघर्ष समिति
एसएमसी स्क्याममा परेका पीडितहरूले संघर्ष समिति गठन गरेका छन् । ६५ जना पीडिडले काठमाडौंमा खोलेको उक्त समितिले कात्तिक २४ गते कोटेश्वरमा भेला गरेको थियो । यस्तै कात्तिक २९ गते तीनकुनेमा पनि भेला गरेको थियो । यसको उद्देश्य सबै पीडितहरूले सरसल्लाह, सुझाव संकलन गर्ने र ठगिएको पैसा फिर्ता गराउन पहल गर्ने भनिएको छ ।
अब के गर्छ, साइबर ब्युरोले ?
मुलुकमा विद्युतीय माध्यम (अनलाइन) बाट हुने ठगीका घटना दिन प्रतिदिन बढिरहेका छन् । दैनिक ३५ वटासम्म विभिन्न अनलाइन स्क्यामबाट ठगिएको उजुरी आउने गरेको साइबर ब्युरोका अधिकारीहरू बताउँछन् । १ करोड २७ लाखसम्म अनलाइनबाट ठगी भएको उजुरी प्राप्त भएको ब्युरोका अधिकारीहरू बताउँछन् । अनलाइन ठगीमध्ये एउटा स्क्याम एसएमसी पुष्टि भएको छ । तर, यो अनलाइन ठगी भएकाले मुख्य योजनाकारसम्म पुग्न समय लाग्छ । ब्युरोले अहिले अध्ययन गरिरहेको प्रवक्ता अवस्थी बताउँछन् ।
बैंकिङ च्यानल प्रयोग हुने भएकाले राष्ट्र बैंकसँग समन्वय गरेर यसमा अनुसन्धान गर्ने विषयमा छलफल भइरहेको छ । ‘उजुरी आएपछि हामी अनुसन्धान गर्छौं । तर, अरू निकाय पनि जिम्मेवार बन्नुपर्छ । बैंकहरूले दैनिक १० लाख माथिको कारोबार, त्यसको आइरहेको प्रकृति, केवाइसीलगायत हेरेर शंका लाग्नेबित्तिकै सम्पत्ति शुद्धीकरणमा जानकारी दिन सक्छन्,’ एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने । ब्युरोले मुख्य नाइकेसम्मै पुग्ने गरी एसएमसी स्क्यामको छानबिन गरिरहेको बताएको छ ।
एसएमसीका यस्ता छन् लगानीका आकर्षक लेबल
यस अनलाइन एपमा लगानीका लागि कम्पनीले ९ वटा लेयर बनाएको देखिन्छ । के १ देखि के ९ सम्म लगानी गर्नेले पाउने रकम पनि फरक–फरक छ । कम्पनीको ह्यान्डबुकअनुसार लगानीको लेबल र कमाइ :
- के १ को स्तर
- के१ को निक्षेपः३००० रुपैयाँ, दैनिक फिर्ताः१०० रु., ३०दिनः ३०००रु., ३६५ दिनः ३६,५००रु.।
- के२को स्तर
- के २ को निक्षेपः ९,९०० रु., दैनिक फिर्ताः ३३० रु., ३० दिनः ९,९००रु., ३६५ दिनः १,२०,४५०
- के ३ को स्तर
- के ३ को निक्षेपः ३३,८००रु, दैनिक फिर्ताः १,१४० रु., ३० दिनः ३४,२००रु., ३६५ दिनः ४,१६, १०० रु.
- के ४ को स्तर
- के ४ को निक्षेपः१,१०,०००रु., दैनिकः ३,८००, ३० दिनः १, १४,०००रु., ३६५ दिनः १३,८७,०००रु.
- के ५ को स्तर
- के ५ को निक्षेपः ३,५,०००रु., दैनिकः १०,८००, ३० दिनः ३,२४,०००रु., ३६५ दिनः ३९, ४२,०००रु.
- के ६ को स्तर
- के ६ को निक्षेपः ९,६०,०००रु. दैनिकः ३४,५००रु., ३० दिनः १०, ३५,०००रु., ३६५ दिनः १,२५,९२,५००रु.
- के ७ को स्तर
- के ७ को निक्षेपः२६,८०,०००रु., दैनिकः १,००,०००रु., ३० दिनः ३०,००,०००रु., ३६५ दिनः ३, ६५,००,०००रु.
- के ८ को स्तर
- के ८ को निक्षेपः ७५,००,०००, दैनिकः २,८८,०००, ३० दिनः ८६, ४०,०००रु., ३६५ दिनः १०,५१,२०,०००रु.
- के ९ को स्तर
- के ९ को निक्षेपः २,१०,००,०००, दैनिकः ८,४०,०००रु., ३० दिनः २, ५२,००,०००रु., ३६५ दिनः ३०, ६६,००,०००रु.
प्रतिक्रिया दिनुहोस !