मधुमेहीको दन्त स्वास्थ्य
३२ वर्षीय ऋषिप्रसाद निरौला दाँत निकाल्न दन्त अस्पताल आए । सोद्धा शरीरमा दाँतको रोगबाहेक अन्य कुनै रोग नभएको जानकारी पाएपछि दाँत उखेलियो । २ सातापछि दाँत निकालेको घाउ ठीक नभएको सिकायत गरे । दाँत निकालेको घाउ सफा नै देखेपछि कारण पत्ता लगाउन रगत परीक्षण गर्दा मधुमेह देखिएको थियो । आरएन कार्की मधुमेही हुन् । गिजाबाट रगत आई मुख र गिजा सफा गर्दा गराउँदा मधुमेह नियन्त्रणमा आएको र लगातार बढाइँदै गरिएको औषधि पनि घटाउनु परेको वास्तविकता बताउँदै थिए । यस्ता अनगिन्ती उदाहरण हाम्रो समाजमा भित्रभित्रै दबेर रहेका छन् ।
त्यसो त पश्चिमका देशहरूमा मुखसम्बन्धी रोगले शरीरमा विभिन्न रोग निम्त्याउँछ, जटिलता ल्याउँछ । शरीरका रोगहरूको निदान र उपचारमा सहयोग गर्छ भन्ने कुरा नौलो होइन, तर हाम्रा लागि अचम्मको विषय बन्ने गर्छ । सन् २०२१ मा संसारभर ५३ करोड ७० लाखलाई मधुमेह छ । रगतमा उच्च ग्लुकोज भएकै कारण सन २०२३ मा पनि ६७ लाखको मृत्यृ भएको थियो, जसमा ८० प्रतिशत कम तथा मध्यम आय भएका देशका थिए । तथ्यांकअनुसार हरेक १० सेकेन्डमा २ जनालाई मधुमेह लाग्छ भने प्रत्येक ८ सेकेन्डमा १ जनाको मृत्यु हुने गरेको छ । त्यस्तै, हरेक वर्ष करिब १० लाख मधुमेहीको खुट्टा काट्न परिरहेको तितो यथार्थ छ ।
सन् २०३० मा मधुमेह मृत्यृको सातौं कारक बन्दै गरेको विश्व स्वास्थ्य संगठन बताउँछ । जटिलता भई मृत्यृ हुनेमा ५० प्रतिशत मुटु तथा धमनी रोगका कारणले भएको देखिन्छ । विश्वको १ प्रतिशत अन्धोपन मधुमेहले भएको देखिन्छ । समग्रमा मधुमेहीमा जटिलता भई मृत्यृ हुने सम्भावना सामान्यमा भन्दा दोब्बर रहेको देखिन्छ । लान्सेट पत्रिकाअनुसार विश्वमा वयस्क मधुमेहको संख्या अनुमान गरिएभन्दा बढीका दरले वृद्धि भइरहेको छ । बढेको मधुमेहका कारण हृदयघात, पक्षघात, मिर्गाेला, आँखा, रक्तनली तथा दाँत र मुखलगायत बिरामी बढिरहेका छन् । पश्चिममा भन्दा १० वर्ष पहिलेको उमेरमा अर्थात् ३० वर्ष नपुग्दै मधुमेही बन्ने दिन प्रतिदिन नेपालमा बढिरहेका छन् । मधुमेहीको राजधानी भारत र चीनबीचको देश नेपालमा समान रहनसहन जीवनशैली र वातावरणले महामारी नै नल्याउला भन्न सकिन्न ।
मधुमेह : प्यान्क्रियाज ग्रन्थीले निकाल्ने इन्सुलिन आंशिक वा पूर्ण मात्रामा कमी हुन गई वा यसले गर्ने काममा अवरोध भई खानामा भएको कार्बोहाइड्रेट शरीरले उपयोग गर्न नसकी रगतमा ग्लुकोजको मात्रा बढ्नु नै मधुमेह हो । सुरुको अवस्थामा धेरैमा लक्षण नदेखिन सक्छ र देखिइहाले पनि यति सामान्य हुन्छन् कि थाहा नहुने र भए पनि यसकै भनेर छुट्याउन गाह्रो पर्छ ।
मधुमेहको शंकास्पद लक्षणमा तिर्खा बढी लाग्नु, धेरै भोक, थकाइ लाग्नु, छिनछिनमा पिसाब लाग्नु, पिसाब गरेको ठाउँमा कमिला देखिनु, राती पटकपटक पिसाब लाग्नु, बिनाकारण अचानक तौल घट्नु, धमिलो देख्नु, पटकपटक संक्रमण भइरहनु, घाउखटिरा सजिलै निको नहुनु, हातखुट्टा झम्झमाउनु, पैताला पोल्नु, चेतना हराउनु, जिउ चिलाउनु, चिडचिडापन आउनु, मुख सुक्खा हुनु, मुखबाट दुर्गन्ध आउनु, पेट दुख्नु, बान्ता हुनु कालान्तरमा अन्य अंगमा असर पर्न थालेपछि तत्अनुसारका लक्षणहरू देखा पर्छन् । मधुमेहले घातक परिणाम मुटु, आँखा, मिर्गौला, नसा तथा स्नायु प्रणाली, रक्तनलीमा देखाउँछ भन्ने कुरा लामो समयदेखि मानिँदै आएको छ र हाल छैटौं जटिलता भनी दाँत तथा मुखको स्वास्थ्य थपिएको छ । मधुमेहको छैटौं जटिलता मुखको स्वास्थ्यको बारेमा अब चर्चा गरौं ।
मुख स्वास्थ्यी : सामान्य मानिसमा समेत दाँत तथा मुखको समस्या भएर श्वास प्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथ ज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयघात, नपुसंक, बाँझोपना, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ । गर्भवतीमा समयभन्दा पहिले बच्चा जन्मने र बच्चा शारीरिक तथा मानसिक रूपले कमजोर हुने सम्भावना रहन्छ भने मधुमेह भएका मानिसलाई दाँत तथा मुखको स्वास्थ्यले नराम्रो असर नदेखाउने कुरै भएन ।
मधुमेहीमा दाँत कीराले खाने, दन्तहर्षा, पाइरिया, हड्डी छिटो खिइने हुन्छ । दाँत मिलाउने उपचार प्रश्नचिन्हको रूपमा खडा हुन्छ । मुखका कुनाकुनामा सुजन हुने, सुक्खा रहने र चर्किने, फुट्ने, मुख पोलेको अनुभव हुने, असामान्य चेतना र झन्किने, ¥यालको उत्पादन र बहाव कम हुन गई बोल्न अप्ठ्यारो हुने र विभिन्न संक्रमण देखिन्छ । घाउखटिरा, केन्डिडियासिस, सूक्ष्म जीवमा परिवर्तन, प्रतिरोधात्मक शक्तिमा कमी, संक्रमण र दन्त सडनको सम्भावना बढ्छ । धेरै पिप, गिजा सुन्निनु, गिजाको पोलिप, दाँत हल्लिनु, दाँत समाउने हड्डीको नोक्सान, गुलियो दुर्गन्ध, थुक निकाल्ने ग्रन्थीको सुजन, पेरियोडेन्टल तन्तु पातलिन्छ । जिब्रोमा विभिन्न रोग, घाउ निको हुन समय लाग्नु, दाँत निकालेको घाउमा दुई दिनपछि दुखाइ हुनु, लाइकेन्वाइड, लुप्वाइड प्रतिक्रिया देखिन्छन् । मधुमेह भएको व्यक्तिमा उच्च रक्तचाप, लाइकेन प्लानस देखिएमा ग्रिनस्पान सिन्ड्रोम बन्छ ।
अनुसन्धानमा दाँत तथा मुख स्वस्थ राख्दा टाइप दुई मधुमेहको एकतिहाइले रोकथाम हुन सक्छ । मधुमेह भएकामा पनि ४५ वर्षभन्दा माथिको उमेर भएको मधुमेहीमा मुख स्वास्थ्यमा ध्यान नदिनेमा ५ गुणा र धूम्रपानको लतमा भने पेरियोडेन्टल रोगको जोखिम ३० गुणाले बढेको देखिएको छ । गिजाभित्र संक्रमण भएको छ भने ५० गुणाले मुख, गिजा र पेरियोडेन्टल रोगको खतरा बढी देखिन्छ । हामीकहाँ क्यानडा, न्युजिल्यान्ड र अमेरिकाको अनुसन्धानले मधुमेहीमा दाँत, गिजा र मुखको रोगको उपचार गरियो, दाँत सफा गरियो भने उसको रगतको चिनीको मात्रा कम हुने, नियन्त्रणमा रहने र साथै प्रयोग गरिरहेको औषधि वा सुईको मात्रा कम गर्नुपर्ने अवस्था आएको सिद्ध गरेको छ ।
मधुमेह पत्ता लगाउन, मधुमेहीको स्वास्थ्य सुधार्न, मधुमेहलाई नियन्त्रणमा राख्न, औषधिको प्रयोगमा कमी ल्याउन र घातक परिणामबाट जोगाउन मद्दत पु¥याउने दन्त स्वास्थ्यलाई ध्यान दिन अत्यावश्यक छ । बिनापैसाको सचेतनाले रोक्न र नियन्त्रण गर्न सकिने मधुमेहले भइसकेपछि हजारमा तथा जटिलता भए लाखौंमा खर्च गर्नुपर्छ । स्वस्थ शरीरको तौल, शारीरिक सक्रियता— दैनिक ३० मिनेटको नियमित हिँडाइ, चिनी र स्याचुरेटेड बोसोको मात्रा घटाई फलफूल र सागपात रहेको दैनिक तीनदेखि छ पटकको खाना र धूम्रपान निषेध गर्दा जोखिम न्यून भई रोकथाम गर्न सकिन्छ ।
अन्तमा, मधुमेहीले सन्तुलित खानपान, अभ्यास, व्यायाम, योग, औषधि र इन्सुलिनको मद्दतले यसलाई नियन्त्रणमा राखी खतरनाक असरहरू पक्षघात, हृदयघात, मिर्गौलाघात, दृष्टिघात, अंगघातजस्ता जटिलताबाट बच्न सकिन्छ । मधुमेहबारे बिरामी स्वयं चनाखो, सुसूचित र शिक्षित हुनुपर्छ । मधुमेहको उपचारमा परामर्शदाता स्वास्थ्यकर्मी जति नै बिरामी स्वयंको पनि इच्छाशक्ति, आत्मबल, धीरता र व्यवस्थापकीय भूमिका महत्वपूर्ण हुन्छ । परिवारका सदस्य र सहयोगीहरूले पनि रोगका बारेमा जानी राख्नुपर्छ । किनभने मधुमेहको पहिलो औषधि शिक्षा वा ज्ञान हो, जसको व्यवहारतः लागू गर्न जरुरी छ ।
- बुढाथोकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन् ।
प्रतिक्रिया दिनुहोस !