मुख्यमन्त्री भाडाको घरमा, पूर्वमुख्यमन्त्रीद्वारा निवास कब्जा

मुख्यमन्त्री भाडाको घरमा, पूर्वमुख्यमन्त्रीद्वारा निवास कब्जा
सुन्नुहोस्

जनकपुरधाम : पदच्युत भएको ११ औं दिनसम्म पनि मधेसका पूर्वमुख्यमन्त्री जितेन्द्र (सोनल) प्रसाद सोनारले मुख्यमन्त्री निवास छोडेका छैनन्। गत कात्तिक २२ गते साँझ पदच्युत भएका पूर्वमुख्यमन्त्री सोनलले ११औं दिनसम्म पनि मुख्यमन्त्री निवास कब्जा गरेर बस्दा हालका मुख्यमन्त्री भने भाडाको घरमा बस्न बाध्य छन्। ‘अहिलेसम्म मधेसमा जति पनि मुख्यमन्त्री भए, सबैले नयाँ मुख्यमन्त्रीको शपथ लिएकै दिन मुख्यमन्त्री निवास छाड्ने गरेका छन्। तर, यसपटक भने यस्तो देखिएको छैन’, एक कर्मचारीले भने।

मधेसका मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त भएर पदभारसमेत ग्रहण गरिसके पनि पूर्वमुख्यमन्त्रीले हालसम्म मुख्यमन्त्री निवासमा कब्जा जमाएर बसेका छन्। ७ दलको समर्थनमा मुख्यमन्त्री बनेका सोनल नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्न नसकेपछि कात्तिक २२ गते ढलेको थियो। त्यसपछि पनि मुख्यमन्त्री निवासमा सोनल बस्दै आएका छन्। त्यही निवासबाट सोनलले सात दलको बैठक समेत सञ्चालन गरिरहेका छन्।

७ दलका अधिकांश बैठक मुख्यमन्त्रीको निवासमा हुने गरेका छन्। २५ गते मुख्यमन्त्री यादवले मधेस भवन रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कडा सुरक्षाबीचमा पदभार ग्रहण गरेका थिए। तर, अहिलेसम्म निवर्तमान मुख्यमन्त्री सोनलले निवास छाडेका छैनन्। जसले नवनियुक्त मुख्यमन्त्री निवासमा प्रवेश पाएका छैनन्। 

हालका मुख्यमन्त्री यादव भने आवश्यक काम/कारबाही गर्न कार्यालय आउने गरे पनि काम सकाएर भाडाको घरमा सर्ने गरेका छन्। मुख्यमन्त्री यादवले जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामानन्द चोकस्थित भाडाको घरमा बस्दै आएका छन्। यहाँ उनलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक टोलीले सुरक्षा दिइरहेका छन्। भाडाको घरमा बस्दै आएका उनले त्यहाँ नै सुरक्षाकर्मीहरूकोसमेत खानाको प्रबन्ध गरेको स्वकीय सचिव यादवले अन्नपूर्ण पोष्टलाई जानकारी दिए। 
 
उनले भने, ‘हरेक दिन आउने कार्यकर्ता तथा सुरक्षाकर्मीहरूको खाना बनाउन तथा प्रबन्ध मिलाउन ग्राह्रो भइरहेको छ। सुरक्षाकर्मीलाईसमेत सुत्न र बस्न तथा खाना पकाउन अप्ठ्यारो हुन्छ।’

मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आयोजना गरेको सर्वदलीय बैठकमा बहिष्कार गरेका ७ दलले बैठकसमेत मुख्यमन्त्री निवासमा गरेको थियो। प्रदेश प्रमुख कर्णले गरेको सर्वदलीय बैठकको अवहेलना निर्णयसमेत मुख्यमन्त्री निवासमा भएको स्रोतले जानकारी दियो। ‘पूर्वमुख्यमन्त्री सोनारले निवास छाडेको छैन, म भाडामा बस्दै आएको छु। उहाँ मुख्यमन्त्री निवासमा मुख्यमन्त्री बस्ने कुर्सीमा बस्दै आउनुभएको छ। यो उचित होइन’, मुख्यमन्त्री यादवले भने, ‘संवैधानिक सर्वोच्चताको कुरा गर्ने र आफैं गैरकानुनी कार्य गर्नु होइन। मेरो नियुक्त सम्मानित सर्वोच्च अदालतमा छ। अदालतले एउटा निकास दिने छ तर यसरी मुख्यमन्त्री निवासमा कब्जा जमाएर बस्नु उचित हैन। मुख्यमन्त्रीले प्रयोग गर्दै आएको कुर्सी प्रयोग गर्नु उचित हैन। यो लोकतान्त्रिक व्यवस्थाको लागि उचित समेत हैन।’

मुख्यमन्त्री यादवले भाडाको घरबाट प्रदेशवासीको नाममा सम्बोधन गर्दै आफूलाई आन्दोलनकारीहरूबाट सुरक्षा थ्रेट रहेको समेत बताए। मुख्यमन्त्री यादवले ७ दलको अधिकांश आन्दोलनको घोषणा र कार्यकर्ताहरूलाई परिचालनको काम समेत मुख्यमन्त्री निवासबाट हुने गरेको आरोप छ।

यता पूर्वमुख्यमन्त्री सोनलले आफूहरूले मुख्यमन्त्रीलाई नै नमानेको हुँदा हाल सम्म निवासमा बस्दै आएको जानकारी दिए। उनले भने, ‘गैरसंवैधानिक तरिकारले नियुक्त भएका मुख्यमन्त्रीलाई निवासमा कसरी प्रवेश गर्न दिनु ?    यो पनि एक खालको आन्दोलन हो। होटलमा शपथ लिएका मुख्यमन्त्रीलाई किन चाहियो मुख्यमन्त्री निवास ! त्यस कारणले म मुख्यमन्त्री निवासमा बसेको छु।’ 

मधेसका प्रदेश तत्कालीन प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १ सय ६८ को ३ अनुसार नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुतm हुँदा विवाद भएको छ। महोत्तरीको बर्दिवासस्थित होटलमा शपथपछि नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी र माओवादी केन्द्रसहित ७ दल आन्दोलनमा छ। उनीहरूले हरेक दिन मधेस भवनको अगाडि विरोध गर्दै आएका छन्। विरोध कार्यक्रममा प्रदेशसभाका सदस्यहरू समेत सहभागिता हुने गरेको छ।

संविधानको धारा १ सय ६८ को २ अनुसार सरकार बनाउने सम्भावना जीवित हुँदाहुँदै पनि ३ अनुसार सरकार बनाउनु असंवैधानिक रहेको ७ दलको जिकिर छ। आन्दोलनको कारणले मधेसको अधिकांश मन्त्रालयको कामकाज ठप्प छन्। आन्दोलनकारीहरूले कर्मचारीहरूलाई हातपात र कुटपिट गरेपछि कर्मचारीहरू त्रसित छन्। केही कर्मचारीहरू कार्यालयमा आउने र हाजिर गरेर जाने गरेका छन् भने कतिपय मन्त्रालयको कर्मचारीहरू असुरक्षाको कारण देखाउँदै कार्यालयसमेत आउँदैनन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.