लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भइसकेको बिरामीलाई औषधि र खाजा मगाइयो: आफन्त

लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भइसकेको बिरामीलाई औषधि र खाजा मगाइयो: आफन्त

बुटवल : बुटवल उपमहानगरपालिका-२ पाखापानीकी ७२ वर्षीय श्याम कुमारी मल्ल मुटुको समस्याले लुम्बिनी प्रादेशिक अस्पतालमा चार दिनदेखि उपचाररत थिइन्। केही दिनअघि घर नजिकैको एडमण्ड सिटी हस्पिटलमा उपचार गरेर निको भए पनि पुनः समस्या बल्झिएपछि उनी प्रादेशिक अस्पताल पुगेकी हुन्। 

आईसीयुको बेड नम्बर २५ मा छोरी लक्ष्मी मल्लले आमालाई भर्ना गराइन्। उपचार चलिरहेको थियो। बिरामीका आफन्तहरू उपचार सफल हुनेमा आशावादी हुँदै गएका थिए। तर, सोमवार अस्पतालमा कार्यरत स्टाफ नर्सहरूले २५ नम्बर बेडमा उपचाररत मल्ललाई ९ नम्बरमा सारेछन्। त्यो पनि कुरुवाको अनुमतिविनै। 

नर्सहरूले २५ नम्बरको बिरामीलाई औषधी र खाजा मगाएपछि अब निको हुने भयो भनेर आफन्तहरू खुसी थिए। आमाको उपचारमा खटिएकी छोरी लक्ष्मीको अनुहारमा बेग्लै उत्साह थियो। तर, खबरै नगरी  बेड परिवर्तन गरेर ९ नम्बरमा पुर्‍याएकी उनको मृत्यु भइसकेको आफन्तहरूले बताएका छन्। बिरामीका आफन्त र कुरुवाको अनुमतिविनै अस्पतालले बिरामीलाई यताउति पारेपछि पीडितहरूको आक्रोश चुलिएको छ। 

‘मृत्यु भइसकेको बिरामीलाई अस्पतालले औषधि र खाजा मगाएको रहेछ’, बिरामीका आफन्त एवं बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य नकुल शाहीले प्रश्न गर्दै भने,‘कुरुवाको अनुमतिविना अस्पतालले बिरामीको बेड परिवर्तन गर्न पाइन्छ ? गम्भीर लापरबाही भएको छ। छानबिन गरी दोषीलाई कारबाही गरियोस्।’ 

बिरामीको मृत्यु भइसकेपछि पनि करिब आठ हजार रुपैयाँको औषधी अस्पतालले मगाएको उनले गुनासो पोखे। मृतकको शव अस्पतालको शव गृहमा राखिएको छ। अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तहरूले निष्पक्ष छानबिन गर्नुपर्ने माग राखेका छन्। तर, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु नभएको प्रतिक्रिया दिएका छन्। ‘बिरामी चार दिनदेखि आइसियुमा उपचाररत हुनुहुन्थ्यो’, ढकालले भने, ‘उहाँ मुटुसम्बन्धी जटिल समस्यामा हुनुहुन्थ्यो। दुईपटक मुटु बन्द भएको रहेछ। भेन्टिलेटर जोनमा राख्नुपर्ने भएपछि ९ नम्बर बेडमा सारिएको हो। अर्को बेडमा सार्दा छोरीलाई खबर गरेका थियौं।’

उनले यस विषयमा छलफलका लागि पीडित र अस्पतालबीच छलफल बोलाइएको जानकारी दिए। लुम्बिनीका १२ वटै जिल्ला सहित छिमेकी गण्डकी प्रदेशका केही जिल्लाका नागरिकहरू समेत उपचार गर्न यहाँ आउने गर्छन्। अस्पतालमा कार्यरत कर्मचारी र सेवा प्रवाहको बारेमा पटक-पटक बिरामीहरूले गुनासो पोख्दै आइरहेका छन्। एउटै बेडमा दुई जना बिरामी राखेर समेत अस्पतालले उपचार गर्दै आएको पाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.