महाधिवेशन प्रतिनिधि छनौटका नवलपरासीमा चुनाव हुने
परासी : सर्वसम्मत हुन नसकेपछि नेकपा एमाले नवलपरासीमा महाधिवेशन प्रतिनिधि छनौटका लागि निर्वाचन हुने भएको छ। महाधिवेशन प्रतिनिधि छनौटका लागि शुक्रबार जिल्ला सदरमुकाम परासीस्थित पार्टी कार्यालयमा उम्मेदवारी दर्ता कार्यक्रम राखिएको थियो।
एमाले जिल्ला निर्वाचन समितिले ११ प्रतिनिधिका लागि २९ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो। महाधिवेशन प्रतिनिधि छनौटका लागि जिल्लाका दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट कुल ३ हजार ८४३ जना संगठित सदस्यहरू निर्वाचनमा सहभागी हुने निर्वाचन समितिका अधिकृत रामकृष्ण पौडेलले जानकारी दिए। जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १ हजार ७६२ र क्षेत्र नम्बर २ बाट १ हजार ६ सय ७६ संगठित सदस्य छन् । त्यस्तै समग्र जिल्लालाई एक भूगोलअनुसार ४०५ जना दलित संगठित सदस्यले प्रतिनिधि छनौट गर्ने छन्।
संगठित सदस्यहरूले सम्बन्धित क्षेत्रका उम्मेदवारहरूलाई निर्वाचनमार्फत चयन गर्ने छन्। त्यस्तै दलिततर्फका उम्मेदवारलाई दलित संगठित सदस्यहरूले निर्वाचनमार्फत चयन गर्ने छन्।
निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा दलिततर्फ १, ४० वर्षमुनिका युवा २, खुला ४ र महिला ४ गरी ११ जना हुने जिल्ला निर्वाचन विभागका प्रमुख युवराज डुम्रेले जानकारी दिए। तीमध्ये दलिततर्फ १ जना समग्र जिल्लाबाट चयन हुने छन्। बाँकी ५÷५ जना क्षेत्र नम्बर १ र २ बाट निर्वाचनमार्फत चयन हुने छन्।
जिल्लाको सुनवल र बर्दघाटको २ स्थानमा गरी तीन मतदान स्थल तोकेर शनिबार मतदान हुँदैछ। निर्वाचन बिहान ८ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ। छनौट भएका प्रतिनिधिहरूले मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने महाधिवेशनमा सहभागी भएर एमालेको नयाँ नेतृत्व चयन गर्ने छन्।
प्रतिक्रिया दिनुहोस !