कर्णालीमा सहकारीमार्फत रैथाने बाली संरक्षण
वीरेन्द्रनगर : कर्णालीका रैथाने बालीहरूको संरक्षणमा सहकारीहरू सक्रिय भएका छन्। कृषि सहकारीहरूले सामुदायिक बिउ बैंक स्थापना तथा सञ्चालन गरी कर्णालीमा लोप हुने अवस्थामा पुगेका रैथाने बालीहरूको संरक्षण गर्न थालेका हुन्।
दैलेखको दुल्लु नगरपालिका–५, रिजुमा रहेको पञ्चकोशी समाज सुधार कृषि सहकारी संस्थाले २०६८ सालमा स्थापना भएर सामुदायिक बिउ बैंक स्थापना गरी रैथाने बाली संरक्षणमा लागिरहेको छ। उक्त सहकारी संस्थाका अध्यक्ष पूर्णबहादुर शाहीले रैथाने बालीको संरक्षण गरी कृषि उत्पादनमा वृद्धि गर्न आफ्नो सहकारीमा आबद्ध २२ जना व्यावसायिक बिउ उत्पादन गर्ने किसानहरूको सक्रियतामा १२ प्रजातिका ४५ स्थानीय जातका बिउहरू उत्पादन गरिरहेको बताए। उनका अनुसार गत आर्थिक वर्षमा मात्र प्याज ४ हजार केजी, कांक्रा ५० केजी, सिमी ६० केजी र केराउ एक सय किलो बिक्री गरिएको थियो। उक्त सहकारीका सदस्यहरूले कृषि उत्पादन तथा बिउ उत्पादन गरी बिक्री गरेर वार्षिक रूपमा ६० हजारदेखि ६ लाखसम्म आम्दानी गरिरहेका छन्।
यस्तै, जुम्लाको तातोपानी गाउँपालिका–५ स्थित धौलागाड कृषि सहकारी संस्थाले पनि हाँकु सामुदायिक बिउ बैंक स्थापना गरी रैथाने बालीको संरक्षण गरिरहेको छ। जसले १८ प्रजातिका ५८ स्थानीय जातका बिउहरूको व्यावसायिक उत्पादन गरी बजारीकरण गरिरहेको छ। उक्त सहकारीकी अध्यक्ष कविता जैसीले आफ्नो सहकारीले लोपउन्मुख बालीहरूको बिउ उत्पादन गरी वार्षिक रूपमा ३ टनसम्म बिक्रीवितरण गर्दै आएको बताइन्।
उनका अनुसार आफ्नो सहकारीले उत्पादन गरेका रैथाने बालीबाट २०८० सालको जेठदेखि गाउँपालिकाको सहकार्यमा पालिकाभित्रका सबै विद्यालयहरूमा दिवा खाजाको आपूर्ति गरिरहेको छ। यस्तै, उक्त सहकारीले स्थानीयको उत्पादन गरेको कृषि उपज वार्षिक रूपमा १३ टनका दरले संकलन गरी कोशेली घरमार्फत बजारीकरण पनि गर्ने गरेको उनले बताइन्।
यसरी कर्णालीका गाउँ–बस्तीमा कृषि प्रर्णालीमा अहिले फेरि एउटा मौलिक चेतनाको लहर उठ्दैछ। जुम्लामै कार्यरत लिबर्डका वरिष्ठ कृषि विकास अधिकृत बुद्ध विकले किसानहरूमा आफ्नै बारी, गाउँको पहिचान र पुराना बालीहरूकोे संरक्षण गर्न देखिएको सक्रियता उदाहरणीय रहेको बताए। उनका अनुसार लोभ हुने अवस्थामा पुगेका यहाँका धान, मकै, कोदो, फापर, गहत, आलु, जिम्बु, टिमुर, भटमासजस्ता रैथाने बालीहरू संरक्षण र त्यसको व्यावसायिक खेतीबाट किसानहरूले राम्रो आम्दानी गरिरहेका छन्। आधुनिक उन्नत बिउ, रासायनिक मल, झिँगा–किरामा प्रयोग हुने औषधि र बजारमुखी उत्पादनको दबाबले गर्दा किसानहरू परम्परागत प्रजाति लोभ हुने अवस्थामा पुगेका थिए।
बिउ बैंक स्थापित भएपछि किसानहरूका खेती गर्ने बानीमै परिवर्तन आएको छ। पहिले परम्परागत बाली रोप्दा उत्पादन कम होला कि भनेर किसानहरूले डर मान्थे। किनकि, बजारमा उन्नत जातका बिउ सजिलै पाइन्थे। तर, अहिले बिउ बैंकले गुणस्तरयुक्त रैथाने बिउ उपलब्ध गराएपछि किसानले फेरि पुराना बालीप्रति विश्वास राख्न थालेका छन्।
गाउँ–गाउँमा फेरि ‘मार्सी धानले भात मिठो’, ‘ऐंसी धान रोग लाग्दैन’, ‘पुरानो कोदोले ढिँडो स्वादिलो’, ‘गहतको दाल स्वास्थ्यवर्धक’ जस्ता कुरा स्थापित हुन थालेका छन्। रैथाने बालीको उत्पादन बढेपछि किसानको आत्मविश्वास मात्र होइन, बजार मूल्य पनि बढ्न थालेको छ।
जलवायु परिवर्तनका असरहरू बढ्दै जाँदा रैथाने बालीको महŒव अझै बढेर आएको छ। पहाड र हिमाली क्षेत्रका धेरै रैथाने जातहरू प्राकृतिक रूपमा रोग–कीरा प्रतिरोधी, कम पानीमा सुदृढ र कठोर भूगोलमा अनुकूलित हुन्छन्। जस्तै, जुम्लामा पाइने स्थानीय जौ र मार्सी धानले कठोर चिसो सहन्छ भने दैलेखको कोदो, गहत र मस्याङले अत्यधिक वर्षासम्बन्धी नोक्सानी सहन सक्छ।
उन्नत बिउले यस्तो अनुकूलता धेरैजसो देखाउँदैन। यो कारणले बिउ बैंकमार्फत जोगाइएका जातहरू कर्णालीको कृषिको भविष्यका लागि ‘जलवायु–स्मार्ट बाली’ बन्न सक्ने विशेषज्ञहरू बताउँछन्। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सञ्जीवकुमार कर्णले रैथाने बाली संरक्षणका लागि मन्त्रालयले आवश्यक नीति तथा कार्यविधि निर्माण गरी कार्यान्वयन गरिरहेको बताए। उनले रैथाने बालीको संरक्षण गर्न थप आवश्यक नीति तथा कार्यक्रमहरू निर्माण गर्न सरोकारवालाहरूले पनि सहयोग गर्नुपर्ने बताए।
रैथाने बालीसँग जोडिएको अर्को महŒवपूर्ण पक्ष हो, पोषण र स्वास्थ्य। फापर, कोदो, चिनु, गहत, भटमास जस्ता स्थानीय बालीमा प्रोटिन, फाइबर, आयरन, क्याल्सियम, भिटामिन–बीका स्रोत अत्यधिक छन्। अहिले स्वास्थ्य चेतनाको वृद्धि र ‘अर्गानिक’ खानप्रति उपभोक्ताको आकर्षण बढेसँगै यी बालीको बजार मूल्य पनि बढेको छ। धेरै ठाउँमा सामुदायिक बिउ बैंकले उत्पादन गर्ने किसानलाई सहकारीमार्फतै बजारसँग जोडिदिएपछि किसानको आम्दानी वृद्धि भएको छ। कुनै समय गरिबको खाना भनिने कोदो, फापर अहिले सहरका महँगा रेस्टुरेन्टदेखि निर्यात बजारसम्म पुगेको छ। तर, धेरै गाउँमा बिउ बैंक सञ्चालनका लागि चाहिने आधारभूत पूर्वाधार—उचित तापक्रम नियन्त्रण भएको भण्डारण कोठा, प्रयोगशालाको सामग्री, मौसमी मापन उपकरण—सबै ठाउँमा छैन।
सरकारी कृषि विस्तार सेवा सबै गाउँसम्म पुग्न सकेको छैन। युवाहरू विदेश रोजगारीमा जान बाध्य छन्। जसले गर्दा कृषि श्रमशक्ति घटेको छ। कतिपय किसान अझै पनि तत्काल उत्पादन बढी दिने उन्नत बालीमै निर्भर छन्। रैथाने बालीका लागि दिगो बजार सुनिश्चितता छैन भन्ने डर पनि छ। तर, यी चुनौतीबीच पनि सामुदायिक बिउ बैंकले खोलिदिएको सम्भावनाको ढोकाले किसानहरू आकर्षित छन्।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सरकारले रैथाने बालीको संरक्षणमा निकै चासोका साथ लिएको बताए। उनले भने, ‘कर्णालीमा उत्पादन हुने रैथाने बालीको संरक्षणका साथै अर्गानिक प्रदेश बनाउने भनेर सरकारले घोषणा नै गरेको हो। तर, कार्यान्वयन प्रयाप्त भएको भने छैन्।
रैथाने बालीको संरक्षण सरकार, निजी क्षेत्र र दातृ निकाय सबैंको समन्वयमा गर्नु आवश्यक छ। सरकारले आवश्यक ऐन नियम त बनाएको छ। त्यसअनुसार निजी क्षेत्रले पनि कर्णालीका रैथाने बालीको खेतीमा लगानी गर्न आवश्यक छ। उनले विश्व नै जलवायु परिवर्तनको असरले समस्यामा रहेका बेला कर्णालीका किसानहरूले जलवायु अनुकूलित रैथाने बालीहरूको प्रवर्धनमा गरेको प्रयास सरानीय भएको बताए।
प्रतिक्रिया दिनुहोस !