सवारी दुर्घटनामा मृत्यु भएका पत्रकार आचार्यको परिवारले दियो किटानी जाहेरी
कालीकोट : सवारी दुर्घटनामा मृत्यु भएका पत्रकार वीरेन्द्र आचार्यको परिवारले किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा घटनामा संलग्न रहेको आरोपमा २२ वर्षीय यामबहादुर शाहीको नाममा किटानी जाहेरी परेको हो।
पत्रकार आचार्यका भतिजा नाता पर्ने भिमप्रसाद आचार्यले दुर्घटना रहस्यमय भएको दावी गरे। उनले भने,'परिवारले शंका गरेका व्यक्तिहरूको कल अपडेटलगायत अन्य विषयमा पनि प्रहरीले अनुसन्धान गर्नुपर्छ । दुर्घटनाको प्रकृति हेर्दा आफ्नो रुटमा नभइ फरक किसिमले मोटरसाइकल ठोकाएको छ । अनि सँगै आएको अर्को सवारी साधनले कुल्चेर गएको देखिन्छ ।'
मुद्दा दर्तापछि परिवारले शव बुझेर पोष्टमार्टमपछि सुर्खेतको भेरी नदीमा अन्तिम दाहासंस्कार गरेका छन् ।
कर्णाली प्रदेशका पूर्वमुख्य मन्त्री महेन्द्रबहादुर शाहीले पार्टीको झण्डा ओढाउँदै शोकाकुल घरपरिवार र आफन्तलाई धैर्य रहन आग्रह गरे । पूर्वमुख्यमन्त्री शाहीले दुर्घटना शंकास्पद रहेकाले सत्यतथ्य छानबिन हुनुपर्ने बताए।
प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर समेत रहेका आचार्यको शुक्रबार राति बिपरित दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिएको थियो। उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा उनको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस !