दलहरूको महाधिवेशन कर्मकाण्ड नबनोस्
जेन—जी आन्दोलनलाई स्वीकार्न आनाकानी गरिरहेका पुराना दलहरू नेतृत्व परिवर्तन गर्न भने बाध्यताको संघारमा छन् । आन्दोलनपश्चात् साविक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयोजनकारीमात्रै भूमिका निर्वाह गर्न थालेका थिए । अरू दलहरूसँग मिलेर उनले साविक पार्टी विघटन नै गरे । अर्का दुई दल एमाले र कांग्रेसले पनि महाधिवेशन गर्ने निश्चित भएको छ ।
‘जेन–जी’ आन्दोलनको दबाब राप र तापकै परिणाम हो उनीहरू महाधिवेशनमार्फत परिवर्तनका लागि लागि पर्नुपर्यो । एमालेले मंसिर र कांग्रेसले पुस अन्तिम साताका लागि महाधिवेशनको तारतम्य जो मिलाएका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा तेहरिने सम्भावना देखिन्न । उनले घोषणै गरेका मात्रै होइनन्, पार्टी विधानले नै उनलाई तगारो लगाउँछ, दुई पटकभन्दा बढी सभापति बन्न । तर एमालेमा भने यसअघि नै विधान संशोधन गरी अध्यक्ष केपी शर्मा ओलीलाई अर्काे मौका दिने बाटो खोलिएको छ । यद्यपि उनलाई निर्वाचनको सामना चाहिँ गर्नुपर्ने नै देखिएको छ, उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई अध्यक्ष पदमा चुनौती दिने घोषणा गरिसके ।
दुई वटा पुराना पार्टीहरूमा नेतृत्व परिवर्तनको छनक चाहिँ देखिएको छ । तर महाधिवेशनमा नीतिगत छलफल भने नहुने देखिन्छ । विचारको विमर्शबाट दलहरू टाढा हुँदैछन् । नेतृत्व परिवर्तन पनि केवल कर्मकाण्डमा सीमित हुने छनक पनि छ । निर्वाचनका लागि निर्वाचन वा महाधिवेशनका लागि महाधिवेशन हुने परिपाटीले नै यी पार्टीहरूलाई विगतदेखि गाँज्दै आएको छ । त्यही रोगको निरन्तरता यसपालि पनि दोहोरिने हो भने परिवर्तन सम्भव छैन । परिवर्तन नेतृत्वको मात्रै नभई प्रवृत्तिको र विचारको पनि खोजी छ नेपाली राजनीतिमा । तर दलहरू भने जेन—जी आन्दोलनलाई नजरअन्दाज गर्दै आफूहरूलाई परिवर्तनतिर लैजाँदै छैनन् । जनताका माग एकातिर, समाजको चाहना एकातिर र दलहरू भने समयको पदचापभन्दा विपरीत हुनु भनेको आफैंलाई ओरालो लगाउने उपक्रममात्रै हो ।
खासमा पुराना दलहरूलाई पहिचान र अस्तित्वकै संकट देखिन्छ । तर त्यसलाई तिनीहरूले मनन् गरेका छैनन् । ‘जेन–जी’ आन्दोलनले स्थापित गरेका पुराना नेताहरूप्रति वितृष्णाको भावलाई यी दलले कति गम्भीरतापूर्वक लिएका छैनन् । पुरानै अनुहारको निरन्तरता हुने छनक भनेको महाधिवेशनलाई कर्मकाण्डमा सीमित गराउनु हो । दलहरूको कायाकल्प नै गर्नुपर्ने गरी जेन—जी आन्दोलनले शिक्षा दिएको हो । तर पार्टीहरूलाई त्यसको खास मतलब देखिन्न । बरु उनीहरू षड्यन्त्रको सिद्धान्तको चस्मा लगाएर आफैं दिग्भ्रमित भइरहेका छन् । यस्ता प्रवृत्तिले खासमा उनीहरूलाई त कमजोर बनाउँछ नै लोकतन्त्र पनि कमजोर हुन्छ ।
‘रबर स्ट्याम्प’ प्रतिनिधि छनोट गरेर आफैंलाई अनुमोदन गराउँदा एकैछिनलाई नेतृत्वमा स्थापित भइएला तर दल नै स्थापित हुन भने नसक्न सक्छ भन्ने हेक्का पुराना दलहरूलाई हुनुपर्छ । जसरी पनि नेतृत्वमा आइरहने प्रवृत्तिकै विरुद्ध जेन—जी आन्दोलन भएको थियो र त्यसको सन्देश पनि विचारमा निखारता ल्याऊ, कार्यशैली बदल, आफू र दलहरूमा रूपान्तरण ल्याऊ भन्ने थियो । महाधिवेशनको नयाँ बोतलमा पुरानो रक्सी भरेर अब जनतालाई झुक्याउन सकिँदैन ।
प्रतिक्रिया दिनुहोस !