दलहरूको महाधिवेशन कर्मकाण्ड नबनोस्

दलहरूको महाधिवेशन कर्मकाण्ड नबनोस्

जेन—जी आन्दोलनलाई स्वीकार्न आनाकानी गरिरहेका पुराना दलहरू नेतृत्व परिवर्तन गर्न भने बाध्यताको संघारमा छन् । आन्दोलनपश्चात् साविक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयोजनकारीमात्रै भूमिका निर्वाह गर्न थालेका थिए । अरू दलहरूसँग मिलेर उनले साविक पार्टी विघटन नै गरे । अर्का दुई दल एमाले र कांग्रेसले पनि महाधिवेशन गर्ने निश्चित भएको छ ।

‘जेन–जी’ आन्दोलनको दबाब राप र तापकै परिणाम हो उनीहरू महाधिवेशनमार्फत परिवर्तनका लागि लागि पर्नुपर्‍यो । एमालेले मंसिर र कांग्रेसले पुस अन्तिम साताका लागि महाधिवेशनको तारतम्य जो मिलाएका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा तेहरिने सम्भावना देखिन्न । उनले घोषणै गरेका मात्रै होइनन्, पार्टी विधानले नै उनलाई तगारो लगाउँछ, दुई पटकभन्दा बढी सभापति बन्न । तर एमालेमा भने यसअघि नै विधान संशोधन गरी अध्यक्ष केपी शर्मा ओलीलाई अर्काे मौका दिने बाटो खोलिएको छ । यद्यपि उनलाई निर्वाचनको सामना चाहिँ गर्नुपर्ने नै देखिएको छ, उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई अध्यक्ष पदमा चुनौती दिने घोषणा गरिसके । 

दुई वटा पुराना पार्टीहरूमा नेतृत्व परिवर्तनको छनक चाहिँ देखिएको छ । तर महाधिवेशनमा नीतिगत छलफल भने नहुने देखिन्छ । विचारको विमर्शबाट दलहरू टाढा हुँदैछन् । नेतृत्व परिवर्तन पनि केवल कर्मकाण्डमा सीमित हुने छनक पनि छ । निर्वाचनका लागि निर्वाचन वा महाधिवेशनका लागि महाधिवेशन हुने परिपाटीले नै यी पार्टीहरूलाई विगतदेखि गाँज्दै आएको छ । त्यही रोगको निरन्तरता यसपालि पनि दोहोरिने हो भने परिवर्तन सम्भव छैन । परिवर्तन नेतृत्वको मात्रै नभई प्रवृत्तिको र विचारको पनि खोजी छ नेपाली राजनीतिमा । तर दलहरू भने जेन—जी आन्दोलनलाई नजरअन्दाज गर्दै आफूहरूलाई परिवर्तनतिर लैजाँदै छैनन् । जनताका माग एकातिर, समाजको चाहना एकातिर र दलहरू भने समयको पदचापभन्दा विपरीत हुनु भनेको आफैंलाई ओरालो लगाउने उपक्रममात्रै हो । 

खासमा पुराना दलहरूलाई पहिचान र अस्तित्वकै संकट देखिन्छ । तर त्यसलाई तिनीहरूले मनन् गरेका छैनन् । ‘जेन–जी’ आन्दोलनले स्थापित गरेका पुराना नेताहरूप्रति वितृष्णाको भावलाई यी दलले कति गम्भीरतापूर्वक लिएका छैनन् । पुरानै अनुहारको निरन्तरता हुने छनक भनेको महाधिवेशनलाई कर्मकाण्डमा सीमित गराउनु हो । दलहरूको कायाकल्प नै गर्नुपर्ने गरी जेन—जी आन्दोलनले शिक्षा दिएको हो । तर पार्टीहरूलाई त्यसको खास मतलब देखिन्न । बरु उनीहरू षड्यन्त्रको सिद्धान्तको चस्मा लगाएर आफैं दिग्भ्रमित भइरहेका छन् । यस्ता प्रवृत्तिले खासमा उनीहरूलाई त कमजोर बनाउँछ नै लोकतन्त्र पनि कमजोर हुन्छ ।

‘रबर स्ट्याम्प’ प्रतिनिधि छनोट गरेर आफैंलाई अनुमोदन गराउँदा एकैछिनलाई नेतृत्वमा स्थापित भइएला तर दल नै स्थापित हुन भने नसक्न सक्छ भन्ने हेक्का पुराना दलहरूलाई हुनुपर्छ । जसरी पनि नेतृत्वमा आइरहने प्रवृत्तिकै विरुद्ध जेन—जी आन्दोलन भएको थियो र त्यसको सन्देश पनि विचारमा निखारता ल्याऊ, कार्यशैली बदल, आफू र दलहरूमा रूपान्तरण ल्याऊ भन्ने थियो । महाधिवेशनको नयाँ बोतलमा पुरानो रक्सी भरेर अब जनतालाई झुक्याउन सकिँदैन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.