एचआईभी संक्रमण भो ? एआरभी लिनुस्
खेलाँचीमै अपरिचित व्यक्तिसँग असुरक्षित यौन सम्पर्क गर्दै हुनुहुन्छ वा सुईको प्रयोग गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस्। जवानीमै एचआईभी संक्रमणले सताउन सक्छ। नेपालमा झन्डै ३४ हजार व्यक्तिहरू एचआईभी संक्रमणबाट प्रभावित भएको सरकारी अनुमान छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा हरेक दिन १ दशमलव ७ जना व्यक्तिमा एचआईभी संक्रमण हुन्छ।
सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३ सय ३७ व्यक्तिहरूमा एचआईभी संक्रमण भएको अनुमान छ। एचआईभी संक्रमितले आफ्नो रोगको अवस्था थाहा पाउने संक्रमितको संख्या ९०, उपचारमा पहुँचको अवस्था ८८ र शरीरमा एचआईभी भाइरल न्यून हुनेको संख्या ७६ प्रतिशतमात्र छ। एचआईभी संक्रमणको जोखिम कम गर्न यौन रोगको जाँच गराउने र उपचार गराउनु पर्छ। संक्रमण पुष्टि भइसकेका व्यक्तिहरूले एन्टिरेट्रो भाइरल औेषधि (एआरभी) नियमित सेवन गरेर सामान्य जीवन बिताइरहेका छन्।
संक्रमितको अवस्था कस्तो छ ?
हालसम्म नेपालले पहिलो ९५ मध्ये ९० प्रतिशत, दोस्रो ९५ मध्ये ८८ प्रतिशत, तथा तेस्रो ९५ मध्ये ७६ प्रतिशत लक्ष्य हासिल गरेको मन्त्री गौतमको दाबी छ । प्राप्त गरेका यी उपलब्धिहरूलाई निरन्तरता दिँदै, दिगो विकास लक्ष्य प्राप्त गर्न सक्रियतापूर्वक अघि बढ्न आवश्यक रहेको उल्लेख गर्दै हाल विश्वव्यापी वित्तीय संकट र भेदभावका कारण एचआईभी प्रतिकार्यमा चुनौती कायमै रहेको स्वास्थ्यमन्त्री गौतमको भनाइ छ। मन्त्री गौतम भन्छिन्, ‘अब हामी सबैले मिलेर परिवर्तनकारी दृष्टिकोणबाट अगाडि बढ्नु आवश्यक छ। जसले रोकथाम, उपचार र हेरचाहमा सबैको पहुँच सुनिश्चित गर्न सघाउँछ।’
संक्रमण रोक्ने चुनौती
एचआईभी संक्रमितले जँचाउन लाज मान्ने, औषधि सेवन गरिरहेका संक्रमितले बीचैमा औषधि छाड्ने, उपचारमै नजाने प्रवृत्तिले लक्ष्य हासिल गर्ने विषय चुनौतीपूर्ण बनेको छ। नेपालमा झन्डै ६ हजार जना संक्रमितले नियमित औषधि लिन नआएको सरकारी तथ्यांक छ। संक्रमित व्यक्तिबाट असुरक्षित यौन सम्पर्क राख्दा एचआईभी सर्ने जोखिम कम हुन्छ। एचआईभी निवारणमा लक्ष्य हासिल गर्न अझै पनि केही चुनौती कायमै छ। एचआईभी संक्रमित आमाबाट बच्चामा पनि एचआईभी संक्रमण भइरहेको पाइएको छ। पछिल्लो तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष २३ देखि २४ सय जना नयाँ एचआईभी संक्रमित फेला पर्ने गरेका छन्। नेपालमा आर्थिक वर्ष २०८१ ÷०८२ मा हाल २७ हजार ५४ जनाले एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) लिइरहेका छन्। कुल एचआईभी संक्रमितमध्ये ७७ प्रतिशतले मात्र एआरभी उपचार गरिरहेको केन्द्रले जनाएको छ। सन् २०१० को तुलनामा एचआईभी एड्सबाट मृत्यु हुनेको संख्या ७६ प्रतिशतले घटेको छ। सन् २०२४ मा एचआईभी एड्सका कारण ५ सय ६९ जनाको मृत्यु भयो। सन् २०१० मा एचआईभी एड्सका कारण २४ सय जनाको मृत्यु भएको थियो।
जोखिममा को छन् ?
एचआईभी संक्रमणको जोखिम समूहमा यौनकर्मीहरू (एक प्रतिशत) र यौनकर्मीका ग्राहक (चार प्रतिशत) पर्छन्। त्यस्तै एउटै सुई (इन्जेक्सन)द्वारा प्रयोग गर्ने लागुऔषध प्रयोगकर्ता, समलिंगीहरू, तेस्रोलिंगी, रोजगारीका लागि विदेश गइसकेका व्यक्तिहरू, कारागारमा रहेका कैदी बन्दीहरू पनि जोखिममा पर्छन्। त्यस्तै धेरै यौनसाथी बनाउने व्यक्तिहरू, बेघरवार व्यक्तिहरू पनि संक्रमणको जोखिममा पर्छन्। सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार नेपालमा सुईबाट लागूऔषध प्रयोग गर्नेहरूमा एचआईभी संक्रमणदर ३ प्रतिशत छ। त्यसैगरी सन् २०१८ भएको राष्ट्रिय सर्वेक्षणले महिला यौनकर्मीमा २ दशमलव २ प्रतिशत र पुरुष यौनकर्मीमा ६ दशमलव २ प्रतिशत एचआईभी संक्रमण दर छ।
कसरी जोगिने ?
एचआईभी संक्रमण भएर तनावमा रहनुभन्दा जोगिनु नै सबैभन्दा उत्तम उपाय हो। त्यसका लागि बेलैमा सावधानी अपनाउनु पर्छ। शरीरमा रगत चढाउने बेलामा पनि होसियार हुनुपर्छ। रगतमा (प्लाज्मा, प्लेटलेट्स ) बाट पनि एचआईभी संक्रमण हुन सक्छ।
– असुरक्षित यौन सम्पर्क नगर्ने।
– यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गर्ने।
– सफा र निर्मलीकरण गरिएको सुईको प्रयोग गर्ने।
प्रतिक्रिया दिनुहोस !