हवाई आक्रमणमा म्यानमारमा १८ जनाको मृत्यु
तबाइन (एजेन्सी) : मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा १८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारी र उद्धारकर्ताले बताएका छन् । घटनाको स्थानीय बासिन्दाले पनि पुष्टि गरेका छन् ।
सन् २०२१ मा सेनाले सैन्य ‘कु’ मार्फत सत्ता कब्जा गरेदेखि म्यानमार गृहयुद्धले थिलथिलो भएको छ र यसको अनेकौं ‘कु’ विरोधी लडाकुहरूसँगको लडाइँका क्रममा बारम्बार हवाई हमला भइरहेका छन् । सरकारी सेनाले गरेका यस्ता आक्रमणमा प्रायः सर्वसाधारणको मृत्यु हुने गरेको छ ।
एक स्थानीय प्रशासनिक अधिकारीका अनुसार शुक्रबार साँझ सागाइङ क्षेत्रको तबाइन नगरमा दुईवटा बम खसालिएका थिए, जसमध्ये एउटा भीडभाड भएको चिया पसलमा लागेको थियो । उनले एएफपीसँग भने, ‘आक्रमणमा १८ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन् ।’
आक्रमण भएको १५ मिनेटपछि घटनास्थलमा पुगेका एक उद्धारकर्ताले भने, ‘आक्रमणका कारण ७ जनाको घटनास्थलमै र अन्य ११ जनाको अस्पतालमा मृत्यु भएको थियो ।’
प्रतिक्रिया दिनुहोस !