बुहारीले विष मिसाएर दिएको खानाले सासूको मृत्यु, ससुराको अवस्था गम्भीर

बुहारीले विष मिसाएर दिएको खानाले सासूको मृत्यु, ससुराको अवस्था गम्भीर

विराटनगर : आपसी विश्वास, पारिवारिक सम्बन्ध र मानवीय संवेदनामाथि गहिरो प्रश्न खडा गर्ने एउटा घटनाले मोरङको बेलबारी नगरपालिका–२ स्थित सिंहदेवी टोल स्तब्ध बनेको छ। 

बुहारीले वृद्ध सासू–ससुरालाई विष मिसाएर खाना खुवाएको घटनाले सिंगो गाउँमा त्रास फैलिएको छ। बुहारीले खानामा हालेर विष खुवाउँदा ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ। उनका पति ७० वर्षीय भक्तबहादुर राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो सिंहदेवी टोलमा अत्यन्तै अस्वाभाविक दृश्य देखिएको हो। स्थानीयले घरनजिकैको खोल्सामा भक्तबहादुरलाई अचेत अवस्थामा लडिरहेको देखे। उनलाई तत्काल उद्धार गरी घर पु¥याए। घरभित्र उनकी पत्नी इन्द्रमाया राईसमेत बेहोस अवस्थामा ढलिरहेको भेटिइन्। वरपर हेर्दा घरको खोरमा रहेका तीनवटा कुखुरासमेत मरिरहेको भेटिए। एउटै घरका मानिस एवं पशुपंक्षी एकैसाथ अचेत र मरेको अवस्था भेटिएको घटनामा गम्भीर आशंका जन्मियो।

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोली तत्काल घटनास्थलमा पुग्यो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार अचेत अवस्थामा भेटिएका दम्पतीलाई तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालको आईसीयूमा राखेर उपचार थालिए पनि इन्द्रमाया राईको अवस्था सुधार हुन सकेन। उपचारकै क्रममा राति १०:४० बजेतिर उनको मृत्यु भयो। शवलाई पोस्टमार्टमका लागि विराटनगरकै कोशी अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार भक्तबहादुरको अवस्था अत्यन्तै गम्भीर छ। उनी जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्।

डीएसपी चौधरीका अनुसार वृद्ध दम्पती अचेत हुनु, कुखुरा मर्नु र घरभित्रको अवस्थाले खानामा विषादी मिसाइएको प्रबल संकेत दिएको थियो। थप अनुसन्धानका क्रममा घरमै बस्दै आएकी भतिजी बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। उनी हाल इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा छन्। सुनीताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ। 

प्रहरीले घटनास्थलबाट विषादीको एउटा बट्टासमेत फेला पारेको छ। तर, त्यो बट्टा अँगेनोमा जलाइएको अवस्थामा भेटिएकाले कुन प्रकारको विष प्रयोग भएको थियो भन्ने कुरा तत्काल यकिन हुन नसकेको डीएसपी चौधरीले बताए। थप अनुसन्धान र विशेष परीक्षणपछि मात्रै वास्तविक विषको प्रकार पुष्टि हुने प्रहरीको भनाइ छ। घटनाको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ। 

प्रारम्भिक बयान र प्रमाणको आधारमा सुनीताले वृद्ध सासू–ससुरालाई विष मिसाएर खाना खुवाएको निष्कर्षमा प्रहरी पुगेको हो। प्रहरीका अनुसार दम्पतीले आफूहरुले खाएपछि बाँकी रहेको खाना कुखुरालाई खुवाएका थिए। त्यही खाना खाएका कारण कुखुरासमेत मरेको पाइएको प्रहरीले जनाएको छ। उपचारमा संलग्न चिकित्सकले पनि वृद्ध दम्पतीलाई विषादी सेवन गराएको जानकारी प्रहरीलाई दिएका छन्। 

प्रहरीका अनुसार भक्तबहादुर र इन्द्रमायाका सन्तान थिएनन्। उनीहरू आफ्ना भतिजा प्रशान राई र उनकी पत्नी सुनीता कार्कीलाई आश्रय दिएर सँगै बस्दै आएका थिए। घटना भएको समयमा प्रशान घर बाहिर रहेका थिए। घरभित्र वृद्ध अवस्थाका सासू–ससुरासँग सुनीता मात्रै रहेको र खानामा विष हालेर दिएको पाइएको प्रहरीले जनाएको छ। खाना विष मिसाउनुको कारण पत्ता लाग्न नसकेको र अनुसन्धान भइरहेको डीएसपी चौधरीले बताए। 

सम्पत्तिको लोभ, पारिवारिक कलह वा अन्य कुनै विवादका कारण बुहारीले यस्तो कृत्य गरिन् भन्ने बारेमा विस्तृत अनुसन्धानपछि पत्ता लाग्ने उनको भनाइ छ। उनका अनुसार पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण र विषादीसम्बन्धी प्रयोगशाला परीक्षणलगायतका प्रक्रिया पूरा गरेर अनुसन्धान सकिएपछि घटनाको वास्तविक कारण सार्वजनिक गर्न सकिनेछ।

घटनापछि गाउँमा त्रास फैलिएको छ। शान्त गाउँठाउँका रूपमा चिनिएको सिंहदेवी टोल अहिले शोकले स्तब्ध रहेको स्थानीय बताउँछन्। स्थानीयले घटनाको निष्पक्ष र गहिरो अनुसन्धान हुनुपर्ने तथा दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्। प्रहरीले पनि घटनालाई अत्यन्तै गम्भीरताका साथ लिएको डीएसपी चौधरी बताउँछन्। ‘हामीले सबै सम्भावित कोणबाट अनुसन्धान गरिरहेका छौं। विष कसरी प्राप्त गरियो, कसरी प्रयोग गरियो र यसको पछाडि के कारण थियो भन्ने विषय हाम्रो प्रमुख प्राथमिकतामा छ,’ उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.