जलवायु परिवर्तनमा न्यूनीकरणका उपाय

जलवायु परिवर्तनमा न्यूनीकरणका उपाय

जलवायु परिवर्तन आजको विश्वले भोगिरहेको सबैभन्दा गम्भीर र पेचिलो समस्या हो ।  सामान्य अर्थमा, जलवायु परिवर्तन भन्नाले लामो समयको अन्तरालमा पृथ्वीको वायुमण्डलको औसत तापक्रम र मौसमको ढाँचामा आउने परिवर्तनलाई बुझिन्छ ।  प्राकृतिक रूपमा पनि जलवायु परिवर्तन हुन्छ, तर पछिल्लो दुई शताब्दीमा, विशेषगरी औद्योगिक क्रान्तिपछि, मानवीय क्रियाकलापका कारण यो प्रक्रिया अस्वाभाविक रूपमा तीव्र भएको पाइन्छ । 

 

जीवाश्म इन्धन (कोइला, पेट्रोलियम पदार्थ, ग्यास) को अत्यधिक प्रयोग, वनजंगलको विनाश, औद्योगीकरण र सहरीकरणले वायुमण्डलमा हरितगृह ग्यासहरू जस्तै :  कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड र सल्फरडाई अक्साइडको मात्रा बढाएको छ ।  यी ग्यासहरूले सूर्यबाट आएको तापलाई पृथ्वीमै थुनेर राख्छन्, जसलाई ‘हरितगृह प्रभाव’ भनिन्छ ।  यसैको परिणामस्वरूप पृथ्वीको औसत तापक्रम बढिरहेको छ जसलाई ‘विश्वव्यापी उष्णता’ पनि भनिन्छ । 

सन् २०२३ जुलाई महिनामै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी उष्णताको युग समाप्त भएर ‘विश्वव्यापी उम्लाई (ग्लोबल बोइलिङ)’को युग सुरु भएको भनेका थिए, जसले विश्वको वर्तमान अवस्था कति भयावह छ भन्ने प्रष्ट पार्दछ ।  पेरिस सम्झौता, २०१५ मा पृथ्वीको औसत तापक्रम वृद्धि २ डिग्री सेल्सियसभन्दा कम राख्ने र सम्भव भएसम्म १.५ डिग्री सेल्सियसभित्र सीमित गर्ने लक्ष्य थियो ।  तर, संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम, इमिसन ग्याप रिपोर्ट, २०२५ ले अर्काे दशकसम्ममा १.५ डिग्री सेल्सियस पार गर्ने बाटोमा रहेको उल्लेख छ जसको परिणाम 
प्रलयकारी हुने संकेत देखिन्छ । 

वर्तमान अवस्थालाई नियाल्दा धु्रवीय क्षेत्रका हिउँ पग्लिएर समुद्रको सतह बढिरहेको छ भने यसले माल्दिभ्स, किरिबाटीजस्ता साना टापु राष्ट्रहरू र बंगलादेशजस्ता तटीय देशहरूको अस्तित्व नै संकटमा पारेको छ ।  यसका साथै, युरोपमा तातो हावा, अमेरिका र अस्ट्रेलियामा डढेलो, पाकिस्तानमा बाढी, नेपालमा अति वर्षा तथा हिउँ पग्लनु, अफ्रिकामा खडेरीजस्ता घटनाहरू अब सामान्य बन्दै गएको छ भने तापक्रम वृद्धिका कारण धेरै प्रजातिका जीवजन्तु र वनस्पतिहरू लोप भइसकेका छन् भने कयौं लोप हुने अवस्थामा छन् । 

नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य (०.०२७ प्रतिशत) योगदान पुर्‍याउँछ, तर जलवायु परिवर्तनको असर भोग्ने र जलवायु संवेदनशील देशहरूको सूचीमा नेपाल अग्रपंक्तिमा आउँछ ।  जर्मनवाचद्वारा प्रकाशित जलवायु जोखिम सूचकांकको पछिल्लो तथ्यांकअनुसार विगत तीन दशक (१९९५–२०२४) मा जलवायु परिवर्तनका कारण उत्पन्न हुने चरम मौसमजन्य घटनाबाट प्रभावित मुलुकमध्ये नेपाल २६औं स्थानमा र सन् २०२४ मा सबैभन्दा बढी प्रभावित राष्ट्रको सूचीमा छैटौं स्थानमा रहेको देखाएको छ ।  यस सूचकांकले विभिन्न देशमा गर्मीका तीव्र लहर, अत्यधिक वर्षा, डढेलो, बाढी तथा विनाशकारी आँधी–तुफान आदिजस्ता जलवायु परिवर्तनजन्य प्राकृतिक विपद्को प्रभावका आधारमा मूल्यांकन गर्दछ ।  यसका साथै, विश्व जोखिम प्रतिवेदन, २०२५ ले नेपालको जोखिम अनुकूलन क्षमताको कमी उच्च रहेको देखाएको छ । 

नेपाल विपद् प्रतिवेदन, २०२४ का अनुसार सन् २०१८ देखि २०२४ सम्मको अवधिमा साना तथा ठूला गरी जम्मा ३२ हजार ३ सय ७५ वटा विपद्का घटना दर्ता भएका थिए ।  यी घटनाहरूका कारण २ हजार ९ सय ९६ जना (१ हजार २ सय ७८ पुरुष र १ हजार ६ सय ७८ महिला) को मृत्यु भएको थियो भने ४ सय ४६ जना बेपत्ता भएका थिए अनि थप ११ हजार ७ सय ५२ जना घाइते भएका थिए ।  जम्मा ५७ हजार २ सय ७१ घर विपद्ग्रस्त क्षेत्रमा प्रभावित भएका थिए भने ४३ हजार एक सय ६८ भौतिक संरचनाहरू ध्वस्त भएका थिए ।  विपद्का कारण १८ हजार ३ सय ३६ पशुधनको क्षति भएका थिए । 

पाँच वर्षको अवधिमा विपद्का कारण २३.६० अर्बबराबरको आर्थिक नोक्सान तथा क्षति भएको थियो ।  ती विपद्हरू आगलागी, भूकम्प, पहिरो, चट्याङ, बाढी, अत्यधिक वर्षा र हुरी–बतास, सर्पदंश आदि थिए ।  घटना संख्याका आधारमा पहिरो (२ हजार ७ सय ४३) र आगो (१९ हजार ५ सय ९३) सबैभन्दा धेरै पटक हुने विपद्का रूपमा देखिएका थिए ।  त्यस्तै, सो अवधिमा आगलागीबाट मृत्यु हुनेको संख्या ५ सय ९३, पहिरोबाट ८ सय ५९, चट्याङबाट ४ सय ८, बाढीबाट २ सय ६० थियो ।  त्यस्तै, सो प्रतिवेदनले नेपालका ७७ जिल्लामध्ये करिब ५० जिल्लाहरू बहुप्राकृतिक जोखिमबाट उत्पन्न हुने विपद्को प्रभावमा मध्यमदेखि उच्च स्तरसम्म संवेदनशील रहेको उल्लेख छ । 

विश्व बैंकले प्रकाशित गरेको क्लाईमेट रिस्क कन्ट्री प्रोफाइल, नेपाल (सन् २०२१) प्रतिवेदनले नेपालमा विश्वको औसत तापक्रम वृद्धिभन्दा बढी दरमा तापक्रम बढ्ने प्रक्षेपण गरेको छ ।  साथै, सो प्रतिवेदनले सन् २०८० को दशकसम्म (उच्च उत्सर्जनको अवस्थामा, आरसीपी ८.५) नेपालको तापक्रम १.२ डिग्री सेल्सियसदेखि ४.२ डिग्री सेल्सियससम्म बढ्ने सक्ने प्रक्षेपण गरेको छ ।  सो प्रतिवेदनले न्यूनतम र अधिकतम तापक्रमको वृद्धि औसत तापक्रमभन्दा तीव्र हुने र तापक्रम वृद्धि विशेष रूपमा जाडो महिनामा सबैभन्दा धेरै हुने प्रक्षेपण गरेको छ । 

खडेरी, गर्मीको लहर, नदीमा बाढी, हिमताल विस्फोटनजस्ता प्राकृतिक विपद्हरू २१औं शताब्दीभर तीव्र हुँदै जाने, जलवायु परिवर्तनका कारण सन् २०३० सम्म बाढीबाट प्रभावित हुने जनसंख्या दोब्बरभन्दा बढी हुने र सोको आर्थिक क्षति तीन गुणा हुन सक्ने अनुमान गरेको छ ।  त्यस्तै, यसियाली विकास बैंकद्वारा सन् २०१४ गरेको एक अध्ययनले सन् २०५० सम्म नेपालले जलवायु परिवर्तनका कारण वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २.२ प्रतिशतसम्म गुमाउने सम्भावना रहेको प्रक्षेपण गरेको थियो ।  

जलवायु परिवर्तनका असरहरू नेपालमा अहिले नै स्पष्ट रूपमा देखिन थालेका छन्, जस्तै :  कम उचाइमा पाइने वनस्पतिहरू विस्तारै माथिल्लो उचाइतिर सर्न थालेका छन् साथै हिमाली क्षेत्रमा रुखहरू उम्रने अन्तिम सीमा (जसलाई ट्रि–लाइन भनिन्छ) माथि सर्दै गएको छ, हिमालको हिउँ पग्लने दर बढ्दै गएको छ सोको प्रभावस्वरूप हिमतालको क्षेत्रफल बढ्ने र नयाँ हिमतालको निर्माण भई भविष्यमा हिमताल विस्फोटनको खतरा बढिरहेको छ । 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा सन् २०२० मा प्रकाशित विस्तृत अनुसन्धान प्रतिवेदनले नेपालको कोशी, गण्डकी र कर्णाली रिभर बेसिनमा कूल ४७ वटा विस्फोटका सम्भावित खतरनाक हिमतालहरू पहिचान गरेको छ ।  जसमध्ये ३१ वटा श्रेणी १ सय १२ वटा श्रेणी दुई र चार वटा हिमताललाई श्रेणी तीनमा राखेको पाइन्छ ।  हिमाली क्षेत्रमा बढ्दो तापक्रम वृद्धि र हिमालको पग्लने दरलाई विश्लेषण गर्दा यी तालहरू विस्फोट हुने सम्भावना धेरै रहेको विभिन्न अध्ययनले देखाउँछ ।  तल्लो तटीय क्षेत्रमा ठूलो बाढीको जोखिमलयागत यसले निम्त्याउने शृंखलाबद्ध विपद्का घटनाहरूले ठूलो क्षति पुर्‍याउन सक्छ ।  

वर्षासम्बन्धी चरम घटनाहरू (अति वर्षा, बाढी, पहिरो) बढ्दो क्रममा छन्, मिचाहा प्रजातिका झार तथा कीराहरू बढ्दै गएको र माथिल्लो भेगमा पनि देखिन थालेका छन्, तराईमा जमिनमुनिको पानीको स्तर घट्दो क्रममा रहेका छ भने पहाडी तथा हिमाली भेगमा पानीका मुहान, कुवाहरू सुक्दै गएका छन् ।  यसरी हिमाली क्षेत्रको पारिस्थितिक प्रणालीमा परिवर्तन हुँदा त्यहाँको रैथाने बाली, वनस्पति र वन्यजन्तुको अस्तित्वमै असर पर्नेलगायत त्यहाँका स्थानीय बासिन्दाहरूको जीवनयापनमा समेत ठूलो असर पुग्ने समस्या देखा परिरहेको छ । 

पहिले तराईमा मात्र पाइने लामखु्ट्टे, कीराहरू अब पहाडी र हिमाली जिल्लाहरूमा पनि पाइन थालेका छन्, जसले गर्दा मलेरिया, डेंगु आदिजस्ता भेक्टर वर्न रोगहरू उच्च भेगका मानिसहरूमा पनि फैलिन थालेको छ ।  त्यस्तै, नेपालको अर्थतन्त्र कृषिमा आधारित भएकोले जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा प्रत्यक्ष रूपमा पर्ने भएकाले खाद्य सम्प्रभुतामा समेत ठूलो असर पर्ने सम्भावना छ ।  तसर्थ, विभिन्न संघसंस्था तथा अध्ययन अनुसन्धानले गरेका पूर्वानुमानलाई राष्ट्रिय नीति तथा योजनामा समेटी पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अँगाल्न अति आवश्यक देखिन्छ । 

विपद् व्यवस्थापनमा अब परम्परागत ‘प्रतिकार्य’ मोडेलबाट माथि उठेर ‘पूर्वानुमानमा आधारित पूर्वकार्य (एन्टिसिपेटरी एक्सन)’को अवधारणालाई व्यापक बनाउन अपरिहार्य छ ।  यस विधिमा विपद् आएपछि प्रतिकार्य गर्नुको सट्टा, वैज्ञानिकको पूर्वानुमान तथा प्रक्षेपणका आधारमा विपद् आउनुअगावै पूर्वकार्यहरू परिचालन गरिन्छ ।  विभिन्न अध्ययन अनुसार पूर्वकार्यमा गरिने एक रुपैयाँको लगानीले विपद्पछिको प्रतिकार्य र पुनस्र्थापनामा लाग्ने सात रुपैयाँबराबरको खर्च जोगाउन सकिन्छ ।  

अत :  नेपाल जलवायु परिवर्तनको संवेदनशील राष्ट्रहरूको अग्रपंक्तिमा रहेको छ ।  तसर्थ, जलवायु परिवर्तनका असरलाई रोक्न तथा न्यूनीकरण गर्न एक ठोस नीति अपनाई त्यसको कार्यान्वयन गर्नु अति आवश्यक छ ।  यसका लागि पूर्वानुमानमा आधारित पूर्वकार्य, जलवायुमैत्री कृषि प्रणालीको विकास, जलवायु–प्रतिरोधी पूर्वाधारको विकास, आकाशेपानी संकलन, पानी तथा पानीको मुहान संरक्षण, जलाधार व्यवस्थापन, स्वच्छ र हरित ऊर्जाको प्रयोग, वैज्ञानिक वन व्यवस्थापन, क्लाइमेट फन्डमा सहज पहुँचका लागि कूटनीतिक पहल, अन्तर्राष्ट्रिय सहकार्य आदिजस्ता नीति अपनाउन सकिन्छ । 

यसकारण नेपालका ७ सय ५३ वटै स्थानीय निकायमा स्थानीय अनुकूलन कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन गराउन आवश्यक छ ।  नेपालमा अभिलेख तथा तथ्यांक राख्ने प्रणाली कमजोर भएकाले सबै स्थानीय निकायलाई समेट्ने एक दीर्घकालीन र प्रभावकारी अभिलेख व्यवस्थापन र तथ्यांक प्रणालीको विकास गर्न अति आवश्यक छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.