election background

प्रतिनिधि सभा निर्वाचन २०८२

भ्रष्टाचारको माखे साङ्लो

भ्रष्टाचारको माखे साङ्लो

संयोगवश आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि परेको छ । यही छेको परेको छ कि मुलुककै सबैभन्दा ठूलो अंकको भ्रष्टाचारविरुद्ध अदालतमा मुद्दा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा ५५ जनाविरुद्ध मुद्दा हाल्यो ।

झन्डै साढे ८ अर्ब रुपैयाँ भ्रष्टाचारको हिसाबकिताब अख्तियारले निकालेको छ । यति ठूलो अंकमा र यति धेरैजनालाई एकैचोटि भ्रष्टाचारको मुद्दा इतिहासमा कमै लागेको छ । यति धेरै व्यक्ति जोडिएको यो प्रकरणले मुलुकमा भ्रष्टाचारको माखेसाङ्लो कति विस्तारित छ भन्ने देखाउँछ । मुद्दा लाग्नेमा पूर्वमन्त्रीमात्रै पाँच जना छन् । विशिष्ट श्रेणीका कर्मचारी १० जना छन् । यो वास्तवमै भ्रष्टाचारको संगठित प्रकरणको ठूलो दृष्टान्त भएको छ । जसरीतसरी चिनियाँ कम्पनीलाई ठेक्का दिने र उतैबाट ऋण पनि लिने गरी पोखरा विमानस्थल निर्माण अघि बढेको प्रस्ट देखिएको छ । यसमा यो वा त्यो भनेर सीमित दलका पात्रमात्रै छैनन् ।

मुलुकका सबै प्रमुख दल, एमाले, कांग्रेस र साविक माओवादीबाट मन्त्री भएकादेखि विशिष्ट कर्मचारीको संलग्नता देखिएको छ । राज्यलाई नै गिरोहले कसरी पकडमा राख्यो र ठेक्का हत्यायो भन्ने यो प्रकरणले उदांगो नै पारेको छ । राज्य संयन्त्रको योजनाबद्ध डकैती कसरी मुलुकमा हुन्छ भन्ने यसले प्रस्ट पारेको छ । त्यसैले त आज राष्ट्रिय गौरवको आयोजना राष्ट्रिय लज्जाको विषय भएको छ । पोखरा विमानस्थल निर्माण गर्न सुरुमा करिब १७ करोड अमेरिकी डलरको लागत अनुमान थियो । तर, पछि २४ करोड ४० लाख डलर पुर्‍याइयो । किन भन्ने ठोस आधार र वैज्ञानिक कारण पारदर्शी रूपमा आएन । बरु त्यसको औचित्य पुष्टि गर्न ‘दूधको साक्षी बिरालो’हरू तयार गरिए । आज ती बिरालाहरू पनि अख्तियारको फन्दामा जो परेका छन् । कानुनी शासनको धज्जी उडाउँदै विज्ञताका नाममा, परामर्शका नाममा र अनेकअनेक शीर्षकमा भ्रष्टाचार गरियो । चिनियाँ कम्पनी सीएएमसीलाई नै ठेक्का दिने सेटिङ मिलाएदेखि नै यसमा भ्रष्टाचार सुरु भएको छ ।

ऋण लिएर बनाइएको आयोजनामा यतिसम्मको भ्रष्टाचार हुनुबाट जनताले रगत पसिना बगाएर तिर्ने करमाथि ठूलो धोका र बेइमानी भएको छ । दुर्भाग्य के भने त्यसरी ऋणको बोझ बोकेर बनाइएको विमानस्थलबाट व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडानै भएको छैन । यसको मतलब बिना कुनै बिजनेस प्लान आयोजना बनाइएको छ र त्यसको उद्देश्य चाहिँ भ्रष्टाचार केवल भ्रष्टाचारमात्रै देखिएको छ । विशेष अदालतमा दर्ता भएको मुद्दाको किनारा पक्कै पनि छिटो लाग्ने आशा गरौं ताकि दोषीहरूलाई दु्रत रूपमा सजाय होस् । राज्यलाई पुर्‍याएको हानिनोक्सानीको असुलउपर हुन सक्नुपर्छ र दोषीलाई जेल सजाय पनि हुनुपर्छ ।

सार्वजनिक खरिद ऐन छल्ने वा इपीसी मोडलका नाममा हुने भ्रष्टाचार फेरि नदोहोरिऊन् भनेर राज्य चनाखो हुनुपर्छ । विधिसम्मत र पारदर्शी रूपमा गौरवका आयोजना बन्नुपर्छ । कसैको स्वार्थको चंगुलमा राज्य संयन्त्र फस्नु हुँदैन । यो प्रकरणले त्यही पाठ पढाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.