कर्मकाण्डी नबनोस् मतदाता कार्यक्रम
विगतका मतदाता नामावली अध्यावधिक कार्यक्रम त्यति उपलब्धिमूलक भएको देखिँदैन।
यही मंसिर २६ गतेभित्र मतदाता नामावली अध्यावधिक गर्न, गराउन भनी निर्वाचन आयोगले सूचना जारी गरेको छ । गत सोमबार एक सूचना जारी गर्दै मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, नाम हटाउने, दाबी विरोध गर्ने कार्यका लागि आयोगले सम्पूर्ण मतदातालाई आह्वान गरेको छ। यस कार्यक्रमअन्तर्गत एउटा वडाभित्र रहेको मतदानस्थलबाट सोही वडाको अर्काे मतदानस्थलमा आफूलाई पायक पर्ने गरी आफ्नो मतदाता नामावली सार्न सकिन्छ। बसाइँसराइ, विवाहलगायतका कारणबाट मतदाताको स्थान परिवर्तन भएको हुन सक्छ। त्यस्तै मतदाता नामावली दर्ताका क्रममा सफ्टवेयरमा गलत विवरण प्रविष्ट भएका कारणबाट पनि यस्ता त्रुटिहरू हुने गर्छन्। ती साना देखिने तर मतदातालाई असहज बनाउने त्रुटिहरू सच्याउन यो कार्यक्रम निर्वाचन आयोगले ल्याउने गर्दछ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि मतदानको दिन नजिकिँदै गर्दा आम मतदाताले मतदाता नामावलीप्रति चासो राख्नु पर्ने अनिवार्य देखिन्छ। तर, यस विषयमा आम मतदाता सजग र सचेत रहेको खासै देखिँदैन। मतदाताले आफ्नो मतदानस्थल वा मतदान केन्द्रको यकिन मतदान हुने दिनभन्दा निकै अगाडि गरिसक्नु पर्छ। तर सो नभई मतदाता नामावली दर्ता गर्ने क्रममा अत्यधिक भिडभाड हुने र अन्य समयमा मतदाता बेखबर रहने गरेको पाइन्छ। जसका कारण मतदाताको नामावली विवरण प्रविष्टिमा गल्ती हुन सक्ने बढी सम्भावना रहन्छ। ती गल्ती मतदाताकै तर्फबाट समेत सच्याउने सही समय हो यो कार्यक्रम।
मतदाता नामावली संकलन गर्ने र सोमा रहेको त्रुटि सच्याउने कार्य मतदाता नामावली ऐन, २०७३ मा व्यवस्था गरिएको छ। कुनै स्थानीय तहको पूरै वडाभित्र एकै पटक मतदाता नामावली संकलन गर्नु पर्ने कानुनी व्यवस्था छ। त्यस्तै, ठाउँसारी गर्ने, त्रुटि सच्याउने, दोहोरो हटाउने, मृत्यु भएकाको नाम हटाउनेलगायतका कार्य पनि एउटा वडाभित्र एकै पटक गर्नुपर्ने व्यवस्था छ। यसरी मतदाता नामावली संकलन गर्न र अध्यावधिक गर्नका लागि निर्वाचन आयोगले प्रमुख नामदर्ता अधिकारी, नामदर्ता अधिकारी वा सहायक नामदर्ता अधिकारी तोकेको हुन्छ। सामान्यतया प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई नै प्रमुख नामदर्ता अधिकारी तोक्ने प्रचलन रहेको छ। र सोसँग सम्बन्धित कार्य उनैको नेतृत्वमा सम्पन्न भई निर्वाचन आयोगमा पठाउने काम हुन्छ।
मतदाता नामावली अध्यावधिक कार्यक्रमलाई सफल बनाउँदै हरेक मतदाताको मतदान गर्ने अधिकारलाई सुनिश्चित गर्न सक्नु महत्वपूर्ण विषय हो।
मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत निर्वाचन आयोगले तोकेको स्थानमा मतदाता नामावलीको कच्चासूची प्रकाशन गर्दछ। सामान्यतया हरेक वडा कार्यालयमा सो सूची प्रकाशन गर्ने गरिएको छ। साथै निर्वाचन आयोगको वेबसाइटमा समेत हाल सो सूची प्रकाशन गर्ने गरिएको छ। सम्बन्धित मतदाता वा सोको एकाघर संगोलको सदस्यले सो सूची हेरी त्रुटि भए नभएको यकिन गर्नुपर्छ। प्रकाशित सूचीमा त्रुटि भेटिएमा मतदाता स्वयम् वा एकाघरको सदस्यले निर्धारित निवेदनको फारम भरी त्रुटि सच्याउने निवेदन अनलाइन प्रणाली वा सशरीर उपस्थित भएर पेस गर्न सक्ने कानुनी व्यवस्था छ। यसका लागि निर्वाचन आयोगले अर्को साइट सार्वजनिक गरेको छ। त्यसैगरी, कसैले झुटा विवरण पेस गरी मतदाता नामावलीमा नामदर्ता गरेको जानकारी भए सोको उजुरीसमेत दिन सकिन्छ। स्पष्ट प्रमाणसहित त्यस्तो निवेदन कुनै पनि व्यक्तिले तोकिएको अधिकारी समक्ष पेस गर्न सक्ने कानुनी प्रावधान छ।
मतदाता नामावलीमा एक व्यक्तिको नाम देशभरिको कुनै एक स्थानमा मात्र हुनुपर्ने कानुनी प्रावधान छ। अर्थात् कुनै जिल्लाको एउटा निर्वाचन क्षेत्रको कुनै स्थानीय तहभित्र पर्ने कुनै वडाको एउटा मतदानस्थलको कुनै एक मतदान केन्द्रमा मात्र सो व्यक्तिको नाम समावेश हुनुपर्छ। कुनै कारणवश एउटै व्यक्तिको नाम दुई वा सोभन्दा बढी स्थानबाट मतदाता नामावलीमा समावेश भएको छ भने तीमध्ये कुनै एक मतदान केन्द्रको कायम राखी अन्य स्थानको विवरण हटाउनु पर्छ। यसरी दोहोरो नामावली विवरण प्रविष्ट भएको निवेदन प्राप्त भएमा आयोगले तोकेको अधिकारीबाट नाम हटाउनु पर्छ।
दोहोरो नामावली प्रविष्ट भएको निवेदन प्राप्त नभएको अवस्थामा समेत निर्वाचन आयोगले त्यस्तो दोहोरो नामावली विवरण हटाउन सक्छ। मतदाताको स्थायी बसोबास रहेको स्थानको मतदाता नामावलीलाई कायम राखी अन्य स्थानको विवरण हटाउन आयोगले सम्बन्धित अधिकारीलाई अधिकार दिएको हुन्छ। एउटै वडाभित्र दोहोरो परेको भए सहायक नामदर्ता अधिकारीबाट त्यस्तो नाम हटाउने प्रावधान छ। एउटै जिल्लाभित्र दोहोरो परेको भए प्रमुख नामदर्ता अधिकारीबाट र फरकफरक जिल्लाभित्र दोहोरो परेको भए आयोगले तोकेको अधिकारीबाटहटाउने कानुनी व्यवस्था छ।
कुनै मतदाताको मृत्यु भएको जानकारी एकाघरका सदस्यले प्रमाणसहित जानकारी दिएमा निर्वाचन आयोगले प्रमाणको जाँचबुझ गरी त्यस्तो विवरण मतदाता नामावलीबाट हटाउँछ। त्यसरी सूचना वा निवेदन प्राप्त नभए पनि कुनै मतदाताको मृत्यु भएको, अन्यत्र बसाइँ सरी गएको, विवाह गरी अन्यत्र गएको, नागरिकता त्याग गरेको वा खारेज भएको व्यहोरा प्रमाणित भएमा नामदर्ता अधिकारीले त्यस्तो मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सक्ने कानुनी व्यवस्था छ। त्यसरी नाम हटाएको विवरण आयोगले सम्बन्धित स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा टाँस गर्नुपर्छ।
यसरी मतदाता नामावली संकलन र अध्यावधिक गर्नका लागि निर्वाचन आयोगले प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई अधिकार दिएको हुन्छ। वडास्तरसम्म सहायक नामदर्ता अधिकारी तोकी मतदाता नामावली संकलन र अध्यावधिक कार्य निर्वाचन आयोगले गर्दछ। वडास्तरमा अध्यावधिक भइसकेको मतदाता नामावली जिल्लास्थित निर्वाचन कार्यालयहरूमा समेत प्रशोधन भई निर्वाचन आयोगमा प्राप्त हुन्छ। र निर्वाचन आयोगमा अन्तिम पटक प्रशोधन गरी मतदाता नामावलीलाई अन्तिम रूप दिइन्छ।
कुनै घोषित निर्वाचनका लागि निर्वाचन आयोगले ‘कट अफ डेट’ तोकी सो मितिसम्ममा १८ वर्ष उमेर पूरा हुने मतदाताहरूको विवरण तयार गरी अन्तिम मतदाता नामावली तयार गर्दछ। पछिल्लो समय आयोगले मतदान हुने दिनको ठीक अघिल्लो दिनलाई ‘कट अफ डेट’ मान्ने गरेको छ। यो मितिमा १८ वर्ष उमेर पुरा हुने मतदाताहरूको विवरण राखी आयोगले अन्तिम मतदाता नामावली तयार गर्ने गरेको छ। अन्तिम मतदाता नामावलीलाई आयोगले स्वीकृत गरी आयोगको वेबसाइटमा समेत प्रकाशन गर्ने गरेको छ। यसरी निर्वाचन आयोगले तयार पारेको अन्तिम मतदाता नामावलीलाई सो निर्वाचनका लागि पुनः फेरबदल गर्न, सच्याउन वा थपघट गर्न नपाइने कानुनी व्यवस्था छ।
यसरी विभिन्न प्रक्रिया र चरणहरू पार गर्दै अन्तिम मतदाता नामावली प्रकाशन हुन्छ। घोषित निर्वाचनमा मतदान गर्न ती मतदाता कानुनी रूपमा योग्य हुन्छन्, जसको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको हुन्छ। त्यसैले अन्तिम मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको छ या छैन भनेर हरेक मतदाताले चासो राख्नु जरुरी हुन्छ। अन्तिम मतदाता नामावलीअनुसार आफ्नो नाम कुन निर्वाचन क्षेत्रको कुन मतदानस्थलमा छ भन्ने जानकारी राख्नु हरेक सचेत मतदाताको कर्तव्य र दायित्व पनि हो। सचेत मतदाताले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ सही व्यक्ति र समानुपातिक निर्वाचन प्रणालीतर्फ सही दललाई आफ्नो बहुमूल्य मत दिई आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न दिने प्रणाली नै निर्वाचन हो। यसले नागरिकको आफ्नो प्रतिनिधि औपचारिक रूपमा निर्धारण गर्दछ।
मतदाता नामावली अन्तिम चरणसम्म आइपुग्दा थुप्रै चरणहरू पार गरी पटकपटक प्रशोधन भएको हुन्छ। तैपनि अन्तिम मतदाता नामावलीसमेत त्रुटिरहित हुन नसकेका विगतका उदाहरणहरू छन्। मतदाता नामावली त्रुटिरहित हुन नसक्नुका विभिन्न कारणहरू छन्। जसमध्ये केही कारण मुख्य छन्। पहिलो कारण त मतदाता आफैं सजग नहुनु हो।
मतदाता आफैंले बेलाबेला निर्वाचन आयोगको वेबसाइटमा रहेको मतदाता नामावली हेरेर विवरण गलत छ भने परिमार्जन र अध्यावधिकका लागि अग्रसर हुनुपर्छ। या त जिल्लास्थित निर्वाचन कार्यालयमा पुगी आफ्नो मतदाता विवरणबारे जानकारी लिनुपर्छ। साथै देशको कुनै एक स्थानबाट मतदाता नामावलीमा नाम दर्ता गरी सकेपछि अन्यत्रबाट पुनः नाम दर्ता गर्न हुन्न। भुलबस नाम दर्ता गरिए आफ्नो स्थायी ठेगानाबाहेक अन्यत्रको विवरण हटाउन आयोगमा निवेदन पेस गर्नुपर्छ। निवेदन निर्वाचन आयोगको आधिकारिक वेबसाइटमार्फत पनि पेस गर्न सकिन्छ। आम मतदाताले ख्याल राख्नुपर्ने कुरा के छ भने निर्वाचन आयोगले विक्रम संवत् २०६७ भदौ ३१ गतेबाट बायोम्याट्रिक प्रणालीबाट मतदाता नामावली संकलन गर्ने कार्य सुरु गरेको हो। सो मितिपश्चात् एक पटक मतदाता नामावलीमा नाम दर्ता गरिसकेको व्यक्तिले पुनः मतदाता नामावलीमा नाम दर्ता गरिरहनु पर्दैन। बसाइँसराइ गरेको, विवाह गरी गएको वा आएको अवस्थामा ठाउँसारीको लागि अनलाइन वा सशरीर उपस्थित भई निवेदन दिएपछि सहजै सो विवरण अध्यावधिक हुन्छ। हरेक पटक मतदाता नामावली दर्तामा भिडभाड हुने कारण दोहोरो दर्ता पनि एक समस्या हो।
दोस्रो कारणअन्तर्गत प्राविधिक कठिनाइहरू छन्। जस्तो, दाबी विरोध र अध्यावधिक कार्यक्रमका लागि निर्वाचन आयोगले प्रकाशन गर्ने नामावलीमा सीमित विवरण देखाइएको हुन्छ। तर, आयोगबाट संकलन गरिने बायोम्याट्रिक मतदाता नामावलीमा मतदाताको विस्तृत विवरण हुन्छ। दाबी विरोध कार्यक्रममा यस्ता विवरण मतदाताले हेर्न नसक्ने भएका कारण आफ्नो नामावलीको पूर्ण विवरणमा के छ भन्ने सम्बन्धित मतदाता नै अनभिज्ञ हुन्छ। खासगरी नामावली संकलन गर्ने कार्य भिडभाडमा प्रायः हुन्छ र कतिपय विवरण हडबडीका कारण गलत प्रविष्ट हुन जान्छ। सानाजस्ता देखिने यी विवरणले मतदाताको विवरणलाई गलत मात्र बनाउँदैन अनुपयोगीसमेत बनाउन सक्छ। त्यसैले दाबी विरोधका लागि राखिने विवरण विस्तृत हुनुपर्छ भन्ने मतदाताको चाहना देखिन्छ।
समग्रमा, मतदाता नामावली विवरण अध्यावधिक कार्यक्रम एक महŒवपूर्ण कार्यक्रम हो। मतदाताले आफ्नो विवरण सच्याउन पाउने एक अवसर पनि हो यो। यसका लागि मतदाता आफैं चनाखो र सजग हुन जरुरी छ। यद्यपि विगतका मतदाता नामावली अध्यावधिक कार्यक्रम त्यति उपलब्धिमूलक भएको देखिँदैन। यसको मुख्य कारण आवश्यक प्रचारप्रसार हुन नसक्नु पनि हो। प्रचारप्रसारमा कमी हुँदा मतदाताले यो कार्यक्रम कहिलेबाट कहिलेसम्म सञ्चालन हुने हो भन्ने कुरा पत्तै पाउँदैन। जानकारी भए पनि यो कार्यक्रम छोटो अवधिका लागि हुने हुँदा मतदाताले समय व्यवस्थापन गर्न कठिन हुन सक्छ। जसका कारण आयोगको कार्यक्रम लक्ष्यसम्म पुग्न नसकेका उदाहरणहरू छन् । तथापि यस कार्यक्रमलाई सफल बनाउँदै हरेक मतदाताको मतदान गर्ने अधिकारलाई सुनिश्चित गर्न सक्नु महत्वपूर्ण विषय हो। यसका लागि आयोग, सरकार, राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज र स्वयम् मतदाता समेत सजग र सचेत हुन जरुरी छ।
प्रतिक्रिया दिनुहोस !