election background

प्रतिनिधि सभा निर्वाचन २०८२

एमाले महाधिवेशनमा बहुध्रुवीय राजनीति

एमाले महाधिवेशनमा बहुध्रुवीय राजनीति

विश्व राजनीति आज तीव्र पुनर्संरचनाको अशान्त चरणमा प्रवेश गरिसकेको छ। शीतयुद्धपछिको एकध्रुवीय विश्व व्यवस्था क्रमशः कमजोर हुँदै बहुध्रुवीय शक्ति संरचनातर्फ रूपान्तरण भइरहेको छ। अमेरिका, चीन, रुस, युरोपेली संघ तथा उदीयमान क्षेत्रीय शक्तिहरूबीचको रणनीतिक प्रतिस्पर्धाले अन्तर्राष्ट्रिय सम्बन्धलाई अस्थिर, अनिश्चित र जटिल बनाइदिएको छ।

शक्ति–सन्तुलनको पुनःसमायोजन, सुरक्षा संरचनाको पुनर्रेखांकन, ऊर्जा तथा आपूर्ति शृंखलामाथिको द्वन्द्व, प्रविधि र सूचनाको वर्चस्वका लागि प्रतिस्पर्धा तथा निरन्तर गहिरिँदो आर्थिक अस्थिरताले साना तथा विकासोन्मुख राष्ट्रहरूको सार्वभौमिक निर्णय–क्षमतामाथि गहिरो दबाब सिर्जना गरिरहेको छ। 

आजको विश्वमा स्वतन्त्र देखिने राष्ट्रहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै न कुनै शक्ति संरचनाको प्रभाव क्षेत्रमा तानिँदै गएका छन्। यही विश्व परिवेशभित्र नेपाल पनि आन्तरिक राजनीतिक अस्थिरता, नीतिगत अनिश्चितता, कमजोर राज्यसंरचना, संस्थागत विश्वसनीयताको संकट र जनविश्वासको क्षयजस्ता गम्भीर चुनौतीसँग जुधिरहेको छ। संविधान जारी भइसकेपछि पनि राजनीतिक स्थायित्व संस्थागत हुन नसक्नु, सरकारहरू अल्पकालीन हुनु, नीतिगत निरन्तरता नहुनु र शासन प्रणालीमाथिको जनअसन्तोष बढ्दै जानु नेपाली राज्यको संरचनागत कमजोरीको संकेत हो। 

यो अवस्था केवल आन्तरिक असक्षमताको परिणाम होइन, बदलिँदो अन्तर्राष्ट्रिय शक्ति समीकरणसँग तालमेल मिलाउन नसक्नुको परिणाम पनि हो। यस्तो प्रतिकूल र संवेदनशील घडीमा ‘समृद्ध नेपाल–सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई वैचारिक स्पष्टता, संगठनात्मक सामथ्र्य र राष्ट्रिय स्वाधीनताप्रतिको अडिग प्रतिबद्धतासहित अघि बढाउने राजनीतिक शक्ति नेकपा एमाले नै हो भन्ने तथ्य आज केवल देशभित्र मात्र होइन, शक्ति केन्द्रहरूमा पनि गम्भीर रूपमा विश्लेषणको विषय बनिरहेको छ। एमाले विगतदेखि नै राष्ट्रवाद, विकास, स्थायित्व र सन्तुलित परराष्ट्र नीतिको पक्षधर शक्ति रहँदै आएको छ। यही कारण एमाले केवल एउटा दल होइन, एक प्रकारले राज्य–निर्माणको वैकल्पिक दृष्टिकोणको प्रतिनिधि शक्ति बन्दै गएको छ।

यही बढ्दो प्रभाव र सम्भावनाकै कारण एमालेलाई रणनीतिक रूपमा कमजोर बनाउने, वैचारिक रूपमा ध्वस्त पार्ने, संगठनात्मक रूपमा विखण्डित गर्ने र अन्ततः दिशाविहीन बनाउने भिन्न–भिन्न प्रकारका सूक्ष्म, संगठित र दीर्घकालीन प्रयासहरू समानान्तर रूपमा अघि बढिरहेका छन्। कहिले वैचारिक भ्रम सिर्जना गरेर, कहिले व्यक्तिगत महŒवाकांक्षालाई उक्साएर, कहिले सत्ता–केन्द्रित गठजोडमार्फत त कहिले संस्थागत अविश्वास र निराशा फैलाएर एमालेलाई आफ्नो प्राकृतिक भूमिकाबाट विचलित गराउने प्रयासहरू निरन्तर जारी छन्। यो केवल पार्टीविरुद्धको संघर्ष होइन, यो मूलतः एक राष्ट्रिय दृष्टिकोणविरुद्धको संघर्ष हो।

यही गम्भीर राष्ट्रिय र अन्तर्राष्ट्रिय पृष्ठभूमिमा नेकपा एमालेको ११औं महाधिवेशन सम्पन्न हुन गइरहेको छ। यो महाधिवेशन केवल नेतृत्व चयनको साधारण प्रक्रियामा सीमित रहने विषय होइन। यो महाधिवेशन पार्टीको वैचारिक निरन्तरता, संगठनात्मक पुनर्गठन, पुस्तागत समायोजन, अनुशासनको पुनस्र्थापना र राष्ट्रिय राजनीतिमा निर्णायक हस्तक्षेपको ऐतिहासिक मोड बन्ने क्षमता बोकेको अवसर हो। आजको अवस्था माग गर्छ– महाधिवेशन केवल पद र प्रतिस्पर्धाको मञ्च नबनोस्, बरु राष्ट्रिय संकटको उत्तर दिने वैचारिक केन्द्र बनोस्। 

यदि यो महाधिवेशन व्यक्तिगत महŒवाकांक्षा, गुटगत प्रतिस्पर्धा र संख्यात्मक खेलमा सीमित हुन्छ भने त्यो एमालेका लागि मात्र होइन, समग्र नेपाली राजनीतिका लागि समेत गम्भीर भूल हुनेछ। तर यदि महाधिवेशनको स्वाभाविक राजनीतिक तरंगलाई परिपक्व विवेक, सुविचारित सहमति र राष्ट्रिय जिम्मेवारीबोधका साथ सम्हाल्दै सर्वस्वीकार्य नेतृत्व संरचनाको निर्माण गरिन्छ भने त्यसले पार्टीभित्र उच्चस्तरीय एकता र बाहिर राष्ट्रव्यापी भरोसाको शक्तिशाली सन्देश प्रवाह गर्नेछ। यस्तो सन्देशले अन्तर्राष्ट्रिय समुदायमा समेत नेपालबारे स्थायित्व, निरन्तरता र विश्वसनीयताको सकारात्मक संकेत दिनेछ।

आज नेपाल केवल नेतृत्व हस्तान्तरणको प्राविधिक चरणमा छैन। देश चरित्रवान्, संकल्पित, अटल र दूरदर्शी नेतृत्व खोजिरहेको निर्णायक इतिहासको मोडमा उभिएको छ। सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने र परिस्थितिसँग सम्झौता नगर्ने नेतृत्वबिना राष्ट्रले दिगो दिशा लिन सक्दैन। आजको विश्व व्यवस्थामा झुक्नेहरूले संरक्षण पाउँदैनन्, स्पष्ट दृष्टिकोण भएकाहरूले मात्र सम्मान पाउँछन्। 

यही कठोर यथार्थ नेपालले पनि आत्मसात् गर्न जरुरी छ। विगतका अनुभवहरूले के स्पष्ट गरिसकेका छन् भने अवसरवाद, ढुलमुल नीति, अदूरदर्शिता र दबाबमा झुक्ने प्रवृत्तिले राज्यलाई कमजोर बनाउँछ, संस्थालाई खोक्रो बनाउँछ र जनतालाई निराशाको गर्तमा धकेल्छ। यही रोग आज नेपाली राजनीतिमा गहिरिँदै गएको छ। सत्ता परिवर्तनलाई उपलब्धि ठान्ने प्रवृत्ति, दीर्घकालीन राष्ट्रिय एजेन्डाभन्दा तत्कालीन सत्तालाई प्राथमिकता दिने सोच, विदेशी योजनालाई स्वदेशी नीतिको विकल्प ठान्ने मानसिकता– यी सबै प्रवृत्ति राष्ट्रका लागि घातक सावित हुँदै गएका छन्।

यस सन्दर्भमा एमालेको ११औं महाधिवेशन केवल पार्टीको आन्तरिक कार्यक्रम होइन, यो राष्ट्रको भावी राजनीतिक दिशा निर्धारण गर्ने एक निर्णायक वैचारिक प्रयोगशाला पनि हो। यस महाधिवेशनको मूल कार्यभार केवल नेतृत्व निर्माण होइन– राष्ट्र निर्माणको स्पष्ट रोडम्याप तयार गर्नु हो; वैचारिक दृढता पुनर्स्थापित गर्नु हो; संगठनलाई अनुशासन, एकता र जनविश्वासको नयाँ उचाइमा पुर्‍याउनु हो। यहाँबाट जन्मिने नेतृत्व केवल पार्टी सञ्चालन गर्ने नेतृत्व होइन, बदलिँदो विश्व व्यवस्थाभित्र नेपालको सार्वभौम अस्तित्व सुरक्षित गर्ने नेतृत्व हुनुपर्छ।

आज आवश्यकता छ– राष्ट्रहितमा अडिग रहने साहसी नेतृत्वको, जसले जनआकांक्षालाई शक्ति बनाओस्, दबाबलाई चुनौती ठानोस् र सही बाटोबाट विचलित नहोस्। यस्तो नेतृत्व नै वैदेशिक दबाब र आन्तरिक भ्रमको घेराभित्र पनि राष्ट्रिय हितको रक्षा गर्न सक्षम हुन्छ। यस्तो नेतृत्वले मात्र विकास, समृद्धि, आत्मनिर्भरता र सामाजिक न्यायलाई एउटै राष्ट्रिय एजेन्डामा रूपान्तरण गर्न सक्छ।

एमालेको ११औं महाधिवेशन यही संकल्प, यही साहस र यही दूरदृष्टिलाई संस्थागत गर्ने निर्णायक अवसर हो। यदि एमाले यस घडीमा चुक्यो भने केवल एउटा पार्टी कमजोर हुने छैन– राष्ट्रको सम्भावनाको ढोका पनि संकुचित हुनेछ। तर यदि एमाले यस घडीमा उठ्यो भने नेपाल फेरि एकपटक आत्मसम्मान, स्थायित्व र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्नेछ। आजको अन्तर्राष्ट्रिय परिवेशमा नेपाल जस्तो राष्ट्रका लागि विकल्पहरू धेरै हुँदैनन्, साहस वा परनिर्भरता, आत्मनिर्णय वा निर्देशन, स्वाधीनता वा अधीनता। यही विकल्पको चौराहामा उभिएको आजको नेपालका लागि एमालेको ११औं महाधिवेशन केवल पार्टीगत घटना होइन, एक राष्ट्रिय मोड हो।

इतिहासले सधैं सम्झिँदै आएको छ– संकटको घडीमा कस्तो नेतृत्व अघि आयो, कस्तो निर्णय गरियो र कुन दिशामा राष्ट्र मोडियो। आज फेरि त्यो घडी नेपालका सामु उभिएको छ। जवाफ अब केवल भाषणमा होइन, निर्णयमा देखिनुपर्छ। यही निर्णय, यही विवेक र यही साहस आजको युगको सबैभन्दा ठूलो राजनीतिक आवश्यकता बनेको छ। महतो, नेकपा एमाले मधेस प्रदेश कमिटी सचिवालय सदस्य एवं कमिटीको पार्टी स्कुल विभाग प्रमुख हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.