election background

प्रतिनिधि सभा निर्वाचन २०८२

एक–एक मिलेर एघार बनौं, यही हो एकताको दर्शन : ओली

एक–एक मिलेर एघार बनौं, यही हो एकताको दर्शन : ओली

काठमाडौं : जेन–जी आन्दोलनपछि एमालेको ११ औं राष्ट्रिय महाधिवेशन शनिबारबाट राजधानीमा सुरु भएको छ। भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा शनिबार उद्घाटन सत्रमा व्यापक जनसहभागिता देखियो। जेन–जी आन्दोलनको सफलता तथा पुराना दलमा ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तर’ को आवाज उठिरहेका बेला एमालेको यो महाधिवेशन राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रबाट चासोको साथ हेरिएको छ। 

‘तीन महिना अघिका कहालीलाग्दा दिन, एमालेमाथि प्रहार नै प्रहार’

‘म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा (एमाले) अजम्बरी छ,’ ११ औं महाधिवेशनको उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने। गत भदौ २३ र २४ गतेको घटनालाई संविधान, लोकतन्त्रका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला भएको दिनको रूपमा ओलीले इंगित गरे। ‘सम्झिरहेको छु, ३ महिना अगाडिका ती कहालीलाग्दा दिनहरू– जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो, जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलहरूमाथि भीषण हमला गरिएको थियो।’ पुराना दल र नेताका दिन सकिएको भन्दै चिच्याएको पनि उनले बताए। ‘एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो– पुराना पार्टीहरू सकिए, नेताहरूका दिन गए। एमालेको सान्दर्भिकता समाप्त भयो,’ उनले भने, ‘धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ।’ 

उनले सभामा उपस्थित केही थोपा मात्रै भएको बताए। ‘नेपालका प्रत्येक वडा–वडा, टोल–टोल, हिमाल–पहाड–तराई र प्रवाससम्म छरिएको एमालेको महासागरका अगाडि यो सभामा जम्मा भएका हामी केही थोपा मात्रै हौँ,’ उनले भने, ‘तर, यिनै थोपा भित्रको साहस, भरोसा, माया, अनुशासन र उत्साहसहित उभिएको यो उपस्थिति गर्वको विषय हो।’

राष्ट्रिय स्वाधीनताभन्दा कलर रिभोलुसन 
एमालेले स्वतन्त्र र सार्वभौम राष्ट्रको अभ्यास गर्दा आक्रमण हुने गरेको ओलीले बताए। एमालेलाई कमजोर बनाउँदा नेपालीको सार्वभौम राष्ट्रियता कमजोर हुने ठानेर कसैले हिसाब किताब गरिरहेको उनले बताए। ‘हामी कमजोर भयौं भनेमात्र नेपालको राष्ट्रिय स्वाधीनता कमजोर हुन्छ भनेर कसैले गणित मिलाइरहेका छन्, उनले भने, ‘हामी नढलुन्जेल, हाम्रो शिर नझुकेसम्म नेपालको स्वाभिमान सीधै रहन्छ। 

त्यसैले हामीमाथि आक्रमण भइरहेको छ।’ उनले एमालेविरुद्ध लाग्ने विरोधी शक्ति विभिन्न रङमा अगाडि आउने गरेको बताए। ओलीले भने, ‘कहिले असन्तुष्टि पोख्दै, कहिले परिवर्तनको नारा बोकेर कलर–कलरमा, कलर रिभोलुसन भन्दै देखा पर्छन्, तर तिनको उद्देश्य एउटै छ हामीलाई विभाजन गर्ने, हामीलाई दिशाहीन बनाउने।’ 

आफूले संविधान जारी गर्न लिएको अडानमा कतिपयलाई मन नपरिरहेको ओलीले स्मरण गरे। ‘एकपटक सम्झनुस् त ! हामीले संविधान जारी गर्‍यौं, त्यसपछिको तीव्र प्रतिक्रियाले भन्छ– हामीले लिएको अडान कतिलाई मन परेको थिएन।’ भूपरिवेष्ठित मुलुकहरूलाई भूजडित बनाउन गरिएको यातायात–पारवहन सम्झौता पनि धेरैलाई नपचेको पनि ओली बताए। ‘उत्तर–दक्षिण जोड्ने कनेक्टिभिटी खुलोस्, नेपाल आफैं हिँड्न सक्ने बनोस् भन्ने हाम्रो चाहना धेरैलाई मन परेको थिएन। सीमाको रक्षा र आफ्नै भू–भागमाथिको सार्वभौमसत्ताको दाबी स्पष्ट गर्दा पनि कतिलाई सहज लागेकै थिएन, उनले भने, ‘यही कारणले, बारम्बार हाम्रो पार्टी प्रहारको निशानामा परेको छ। आखिर खयरको बोटमा कसले ढुंगा हान्छ र ? ढुंगाको चोट खाने त बाटो छेउको आँपको बोटले त हो नि !’

धेरै प्रहारका बाबजुद पनि एमाले सतिसालझैँ ठिङ उभिरहेको उनले बताए। ‘एकछिन्— आफ्नै गाउँ÷ठाउँमा, सहरका टोल÷टोलमा, टारीको छेउमा, ओडारको चिसोमा बसेर संगठन जोगाइरहेका आफ्नै साथीहरू सम्झनुस् त !,’ उनले भने, ‘त्यसपछि आफैं महसुस गर्नुहुनेछ– संकटको बेलामा ढल्ने होइन, अड्ने साहस यस पार्टीले यत्तिका वर्ष कहाँबाट बटुलेको रहेछ ? ’

भदौ २३/२४ को घटनालाई सम्झदै अध्यक्ष ओलीले भने, ‘भदौ २४ को त्यो उन्माद के असन्तुष्ट समूहको प्रदर्शन मात्रै थियो ? कि त्यसको आडमा अर्को ठूलो खेल चलिरहेको थियो ? २३ र २४ गतेको घटनालाई ओलीले उपद्रवको संज्ञा दिए। ‘त्यस उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्रै थियो ? ’ उनको आक्रोश थियो, ‘कि त्यसभित्र राज्यको मेरुदण्ड नै भाँच्ने योजना पनि लुकेको थियो ? ’ संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन देशलाई खरानी पार्न आवश्यक नरहेको पनि बताए। ‘भ्रममा पर्नै हुन्न– स्थिरताको बाहक बनिरहेको, संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नै पर्थेन। 

संसद्बाटै त्यो काम गर्न सकिन्थ्यो, या अर्को निर्वाचन कुर्न सकिन्थ्यो,’ उनले भने,‘तर यो त संविधान, संवैधानिक प्रक्रिया र ७ दशक लामो कठिन संघर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्यविहीनताको अवस्थामा पुर्‍याउने दीर्घ तयारीसहितको गम्भीर षड्यन्त्र थियो।’

सामाजिक सञ्जाल खुलाउने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने जेन–जीको मागप्रति आफ्नै असहमति नरहेको उनले बताए। ‘सामाजिक सञ्जाल खुला होस्, भ्रष्टाचार नियन्त्रण होस्, राज्यमा सुशासन कायम होस्— जेनेरेसन–जेड या नवयुवाहरूले उठाएका यी मागप्रति कसैको पनि असहमति थिएन।’ उनले भने, ‘यी त हामी स्वयंले वर्षौँदेखि उठाउँदै र कार्यान्वयन गर्दै आएका एजेन्डा थिए। 

नवयुवाहरूले प्रशासनलाई संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने बचन दिएकाले प्रशासनले अनुमति पनि दिएकै स्मरण पनि गराए। उनले भने, ‘तर दुःखको कुरा– त्यो कार्यक्रममा घुसपैठ भयो।विभिन्न स्वार्थ समूह प्रवेश गरे। अनि, हिंसा र तोडफोड त के, फूलको हाँगा पनि भाँच्दैनौं र निषेधित क्षेत्र तोड्दैनौं भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीहरूलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद् भवनमा आगजनी र तोडफोड गर्न दुरुत्साहन गर्ने र त्यसैका आडमा आफ्नो निहित स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा—विद्यार्थीहरूको ज्यान जाने दुःखद् एवं अकल्पनीय परिस्थिति सिर्जना भयो। भदौ २३ गते गोली लागेर ज्यान गुमाएका युवा, भदौ २४ गते अराजक भीडको आक्रमणमा परी मारिएका सुरक्षाकर्मी र नागरिक—सबैप्रति विशाल सभाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरे। 

उनले आफूले राजीनामा दिएपछि राष्ट्रपति भवनदेखि सिंहदरबार जस्ता राष्ट्रिय सम्पदाहरू–सहिदका सालिक, लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनका स्मारक, आश्रम र स्मृति भवनसमेत १६ सयभन्दा बढी संरचना एकैपटक आगो, ढुंगा र लुटपाटको निशाना बनेको बताए। यी घटना केवल सरकार परिवर्तनका लागि गरिएका दबाब मात्रै नभएको बताउँदै भने, ‘ती त मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, नेपाली संस्कार र एकतालाई खल्बल्याउने र गम्भीर रूपमा घाइते पार्ने योजनाबद्ध कदमहरू थिए।’

भदौ २३ र २४ गते राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथि आगो झोस्ने कामलाई नै ‘आन्दोलन’, ‘बिद्रोह’ र ‘क्रान्ति’का रूपमा महिमामण्डित गरिँदै त्यही भिडको फुटेज देखाएर— कोही सत्ता, कोही सौदा, र कोही सहानुभूति बटुल्नेविरुद्ध एमाले सुरुवातदेखि एक्लै सामना गरेको बताए। null

उनले भने, ‘त्यतिबेला एमाले मात्रै यस्तो पार्टी रह्यो जसले सुरुदेखि नै स्पष्ट भन्यो– यो हाम्रो व्यवस्थामाथिको आक्रमण हो, यो देशमाथिको प्रहार हो।’ पूर्व प्रधानमन्त्रीसमेत रहेको ओलीले राज्यको सिंगो प्रणाली तहसनहस पार्न खोजिएको बेला सुरक्षित स्थानमा रही समीक्षारत रहेकोलाई ‘हेलिकप्टर चढेर भागे’ भनेको भन्दै गुनासो गरे। ‘महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर आगो लगाइयो, पाण्डवले सुरुङ खनेर बच्नुपर्‍यो,’ उनले भने, ‘इतिहासले दोष कसलाई दियो— आगो बाल्ने दुर्योधन–सकुनीलाई कि आगोबाट बच्न खोज्ने पाण्डवलाई ? प्रश्न त्यत्ति न हो !त्यो महाविनाश— न हामीले विर्सेका छौं, न बिर्सने छौं। दोहोर्‍याएरै भन्छु–– ... नर्बिसौं !!!

उनले २३ र २४ को घटनाको निश्पक्ष छानबिनको पक्षमा आफूपनि रहेको बताए। ‘अहिलेलाई यत्ति मात्र—त्यस दिनको महाविनाशको छानबिन होस्, दोषी पहिचान होस्, अपराधीले सजाय पाउन् !’ उनले त्यो असामान्य परिस्थितिमा थप क्षति नहोस् भनेर आफुले राजीनामा दिएको बताए। 

त्यो बेलाको अन्यौलता हटाउन आफूले संवैधानिक बाटोबाट निकास दिन विकल्पहरू स्पष्ट राखेको बताए। ‘यदि संसद्भन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए, दलहरूबीच सहमति हुनुपर्छ,’ उनले भने, ‘संसद्मार्फत संविधान संशोधन गर्नुपर्छ। प्रतिनिधिसभा विघटन हुनुहुँदैन ! यही हाम्रो दृढ अडान थियो।’कामचलाऊ प्रधानमन्त्रीको नाताले संवैधानिक निकासको बाटो देखाएको पनि बताए।

मुलुक उल्टो दिशामा 
अध्यक्ष ओलीले देशलाई उल्टो दिशामा लगिएको बताए। ‘देशलाई उल्टो दिशामा लगियो– संविधानको बाटो छाडेर बाहिरबाट सरकार गठन गरियो। अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गरियो , उनले भने, त्यसैले हामी भन्छौं– अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक छ, गलत छ।जनताले चुनेका प्रतिनिधि घर फर्काउनु भनेको जनतालाई नै राजनीति बाहिर धकेल्नु हो यस्तो कामले लोकतन्त्र बलियो हुँदैन।’
प्रतिनिधिसभा विघटन मान्य छैन

एमाले अध्यक्ष ओली प्रतिनिधिसभा विघटन मान्य नहुने बताए। उनले भने, प्रतिनिधिसभा विघटन मान्य छैन। हाम्रो माग स्पष्ट छ– प्रतिनिधिसभा तुरुन्त पुनस्र्थापना होस्, देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस्।’ सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश भए पनि कुनै तयारी नभएको आरोप लगाए। ‘चुनावको मिति तोकिएको छ, तर के तयारी कतै छ ? अहँ देखिँदैन ! चुनाव चाहने सरकार के गथ्र्यो ? ’ उनले भने, ‘सबै दलको विश्वास जित्थ्यो। निर्णयमा पारदर्शिता देखाउँथ्यो। सभा–जुलुस खुला गथ्र्यो। दलका गतिविधि प्रोत्साहित गथ्र्यो। चुनावको अनिवार्य शर्तका रूपमा रहेको निर्भयताको वातावरण निर्माण गथ्र्यो।’ 

उनले संवादको सट्टा निषेध गर्ने काम सरकारले गरिरहेको आरोप लगाए। ‘तर अहिले के भइरहेको छ ? संवादको सट्टा निषेध, बहसको सट्टा मुद्दा, प्रतिस्पर्धाको सट्टा धम्की, नेताको राहदानी रद्द र स्थान– हद ... निषेधाज्ञा ! उनले प्रश्न गरे,’ यसरी चुनावको वातावरण बन्छ कि डरको ? मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतंक बढ्छ ? ’उनले एमाले चुनावबाट नभाग्ने पनि स्पष्ट पारे। ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ? ’ उनले भने, ‘तर अहिले कहाँ चुनाव हुँदैछ र ? ! चुनावको कुरा मात्र भइरहेको छ !’

‘जेन–जी विरोधी भ्रम निराधार’ 
एमाले अध्यक्ष ओलीले केही व्यक्तिहरू एमाले र प्रतिष्ठित राजनीतिक दलहरूलाई ‘जेन–जी विरोधी’ आरोपित गरिरहेको बताए। ‘जेन–जी विरोधी भनेर तपाईंहरू र हामीलाई भिन्न धारमा उभ्याउन कोसिस गरिरहेका छन्। उनीहरूको यस्तो प्रयास नौलो होइन,’ ओलीले भने, ‘तर यो भ्रम निराधार छ। जुन पार्टीले आफ्ना सबै पार्टी संरचनामा नयाँ युवालाई स्थापित गर्न विशेष व्यवस्था नै गरेको छ, त्यो पार्टी कसरी नयाँ पुस्ता विरोधी हुन सक्छ ? उनले भने, ‘जसले सरकारमा हुँदा उद्यमशीलता सिकेर केही गर्न चाहने युवाको आँखाका आशालाई हेरेर सीप विकास कार्यक्रम विस्तार गर्‍यो, उत्पादन र बजार जोड्ने व्यवस्था मिलायो, स्टार्टअप कार्यक्रम अघि बढायो। त्यो कसरी जेन–जीभन्दा टाढा हुन सक्छ ? ’

जेन–जीका नाममा स्वार्थको रोटी सेकिरहेका तत्वहरूले फिंजाएको भ्रमबाट मुक्त हुन एमाले अध्यक्षले आग्रह गरे । उनले लोकतन्त्र, संविधान, शान्ति र राजनीतिक स्थायित्व लागि दलहरू अनिवार्य पक्षहरू भएको पनि स्मरण गराए। ‘कुनै दल मन नपर्न सक्छ, अर्कोमा जोडिन सकिन्छ। या आफैं दल खोल्न पनि सकिन्छ। तर, विचारका आधारमा स्थापना भएका, लामो इतिहास भएका र आन्दोलनको अग्निपरीक्षामा खारिएका दलहरूलाई कमजोर गरेर देश बन्दैन,’ उनले भने।

विचार बिनाका दल र उत्तरदायित्व बिनाका पात्रहरूले अन्ततोगत्वा मुलुकलाई संकटको भुँवरीमा होम्ने पनि उनले बताए। ‘आजको हाम्रो संघर्ष– जेन–जी पुस्ता र पाको पुस्ता बीचको हुँदै होइन।पुराना दल र नयाँ पुस्ता बीचको पनि हुँदै होइन, उनले भने, ‘संघर्षको केन्द्रबिन्दु त देश बनाउने र देश जलाउने बीचको हो। मलाई विश्वास छ, आजको नयाँ पुस्ता सधैंभरि देश बनाउने कित्तामा उभिने छ।’ ओलीले भने, ‘नवयुवाको अपेक्षा र राज्यको डेलिभरी क्षमताबीचमा ग्याप रहेको भने स्वीकार गरेका छन्। null

‘तपाईँहरू प्रविधिमा अभ्यस्त हुनुहुन्छ र चाहनुहुन्छ– एक क्लिकमा काम होस्, सेवा दिनका लागि लम्बेतानको लाइन, फाइलहरूको भीड र कर्मचारीहरूको ढिलासुस्तीबाट मुक्त हुन पाइयोस्, उनले भने, ‘अवसरहरू सबैका लागि बराबर होऊन्।

आफन्तवाद र भ्रष्टाचारको जालो चुँडाउने योग्यताका आधारमा छनोट हुनुपर्ने भन्ने नवयुवाको अपेक्षा बिल्कुल जायज रहेको उनले बताए। 
देशका संरचना जलाई खरानी बेच्नेहरूको जालबाट जोगिन पनि सचेत गराए। उनले भने, म युवा पुस्तालाई भन्न चाहन्छु, असहमति राख्नुस्, आलोचना 
गर्नुस्,जवाफ माग्नुस्। तर, एउटा कुरा नबिर्सनुस्। आफ्नो संस्कृतिमा र सभ्यतामा गर्व गर्ने, सही सिद्धान्त र देश बदल्ने सपना बोकेका दलबिना लोकतन्त्र सम्भव छैन।’ उनीहरूको जायज एजेन्डालाई उचितरूप सम्बोधन गर्न आग्रह गरे। 

संसद पुनःस्थापना, अनि ताजा जानदेश 
एमालेले प्रतिनिधिसभा पुनस्र्थापना गरेर संवैधानिक सरकारबाट ताजा जनादेशमा जानुपर्ने प्रस्ताव गरेको छ। एमाले अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गर्दैै यस्तो प्रस्ताव अघि सारेका हुन्। उनले भने, अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा अगाडि बढौं।’ एमाले महासचिव शंकर पोखरेलले खरानीबाट उठेर एमाले अझ शक्तिशाली भएको पनि दाबी गरे। 

  •     एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो– पुराना पार्टीहरू सकिए, नेताहरूका दिन गए। एमालेको सान्दर्भिकता समाप्त भयो । धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जनसागर यसरी ओर्लिएको छ,
  •     एकपटक सम्झनुस् त ! हामीले संविधान जारी गर्‍यौं, त्यसपछिको तीव्र प्रतिक्रियाले भन्छ– हामीले लिएको अडान कतिलाई मन परेको थिएन ।
  •     अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक छ, गलत छ। जनताले चुनेका प्रतिनिधि घर फर्काउनु भनेको जनतालाई नै राजनीति बाहिर धकेल्नु हो यस्तो कामले लोकतन्त्र बलियो हुँदैन।
  •     अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा अगाडि बढौं।
  •     चुनावको मिति तोकिएको छ, तर के तयारी कतै छ ? अहँ देखिँदैन ! 

शुभकामना दिँदै कुन दलका नेताले के भने ? 

एमालेलाई महाधिवेशन सफलताका लागि कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा नेपाल, लोकपा, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीका नेताले शुभकामना सन्देश दिएका थिए।

कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राजनीतिक दलहरू एकताबद्ध भएर सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए। मुख्य दलहरू कमजोर हुँदा निरंकुशता हाबी भएको र लोकतन्त्र कमजोर भएको इतिहास रहेकाले सबै दललाई एकताबद्ध गर्न एमालेले भूमिका खेल्न सक्नुपर्ने उनले बताए। 

हालको अवस्थामा संवैधानिक निकासको मार्ग भने निर्वाचन नै भएको खड्काले बताए। उनले निष्पक्ष भयरहित, शान्तिपूर्ण निर्वाचन गर्ने दायित्व सरकार र निर्वाचन आयोगको भएको जिकिर गरे। खड्काले आन्दोलनका क्रममा कारागारबाट बाहिर निस्किएका कैदीबन्दी र सुरक्षाकर्मीबाट लुटिएका हजारौं हतियारहरूका कारण नागरिकमा त्रास रहेकाले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्टहरू एक भएर अघि बढ्नुको विकल्प नभएको बताए। उनले भने, ‘कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन। इतिहासले सावित गरेको छ, कम्युनिस्टहरू मात्रै देशभक्त हुन्छन्। कम्युनिस्टहरूमात्रै राष्ट्रभक्त हुन्छन्। मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने शक्ति भनेको कम्युनिस्ट नै हो।’ उनले कम्युनिस्टहरू एक नभई समाजवादी प्रणाली स्थापना गर्न कठिन भएको बताए।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जेन–जी आन्दोलन हुनको कारण पत्ता लगाएर निचोडमा पुग्नुपर्ने बताए। ‘यो विस्फोट हुनुमा ३०/३५ वर्षमा राज्यको मुख्य बागडोर सम्हाल्ने सबैले जिम्मेवारी लिनुपर्ने नै हुन्छ,’ उनले भने, ‘यसमा भाग आउने नै हो भने हामी पनि सरकारमा सहभागी भएको समयको भाग लिन तयार छौं। यो विषयमा एमालेको महाधिवेशनमा समीक्षा हुने नै छ होला।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा, राजनीतिक दल र जेन–जी पुस्ताबिच नयाँ समझदारी गरेर अघि बढ्नुपर्ने बताए। ‘संविधान मरिसकेको छ, यसलाई जबरजस्त ब्युँताएर देशलाई फेरि थप दुर्घटनामा लैजानेभन्दा पनि नयाँ सम्झौता गर्नुपर्छ,’ जिङदेनले भने।

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव गरे। उनले सर्वपक्षीय अन्तरिम सरकार बनाएर मात्रै निर्वाचनमा जान उपयुक्त हुने बताए। ‘आज देशमा अनौठो प्रकारले सरकार बनेको छ। न यो आन्दोलनको मर्मअनुसार छ। न संवैधानिक प्रक्रिया अनुसारको छ। अँध्यारो कुनाबाट खडा गरिएको यो अवैध सरकारलाई हाम्रो समर्थन छैन र हुन सक्दैन। त्यसैले हामीले के भनेका छौ भने–देशलाई एउटा निकास चाहिएको छ। त्यो निकासको निम्ति राजनीतिक शक्तिहरूले नै नेतृत्व गर्नुपर्दछ,’ उनले भने।

लोसपाका महासचिव डा. सुरेन्द्र झाले पुराना दललाई एक्ल्याउने षड्यन्त्र भइरहेको बताए। उनले वर्तमान सुशीला कार्कीलाई संविधानमा सम्झौता गर्ने म्यान्डेन्ट नै भएको बताउँदै निर्वाचन गर्ने आफ्नै कार्यदेशमा मात्र लाग्न आग्रह गरे। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक भएको जिकिर गरे। उनले जेन–जीको नाम गणतन्त्रवादी पार्टी र नेतालाई निसाना बनाइएको बताए।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठले नाकाबन्दीमा एमालेले खेलेको भूमिकाको प्रसंशा गरिन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.