कोशी प्रदेशमा हर्क साम्पाङ बने ठूला दलका चुनौती
सुनसरी : कोशी प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यसपटकको निर्वाचनमा कोशीमा परम्परागत ठूला दल कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपाका लागि धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी मुख्य चुनौतीका रूपमा उदाएको छ। जेन–जी आन्दोलनपछि वैकल्पिक राजनीतिको बहस चर्कंदै गएको कोशी प्रदेशमा साम्पाङको सक्रियताले चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने पक्का भएको छ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि प्रधानमन्त्रीको दाबी गर्दै राष्ट्रिय राजनीतिमा उदाएका हर्क साम्पाङलाई सत्ता र मन्त्रीपरिषद् सदस्यमा समेट्न नसकिएपछि उनले निर्वाचन आयोगमा श्रम संस्कृति पार्टी दर्ता गराइ संगठन विस्तार र चुनावी तयारी तीव्र पारेका छन्। कोशी प्रदेशका सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, धनकुटा, उदयपुर, भोजपुर र, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, खोटाङ जिल्लामा पार्टीले चुनावी सभा सम्पन्न गरिसकेको छ। ती सभाहरूमा देखिएको भिड, युवाको सहभागिता र जनताको उत्साहले आगामी निर्वाचनमा साम्पाङ ठूला दलहरूका लागि मुख्य चुनौती बन्ने संकेत देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
श्रम संस्कृति पार्टीको कार्यक्रममा देखिएको भिड केवल नयाँ अनुहारप्रतिको आकर्षण मात्र नभई पुराना दलप्रतिको निराशाको अभिव्यक्ति भएको हर्कका समर्थकहरूको भनाइ छ। कांग्रेस, एमाले र माओवादी केन्द्रबीच विगतमा भएका गठबन्धन र एकीकरण प्रक्रियाबाट असन्तुष्ट बनेका कार्यकर्ता तथा समर्थकहरू श्रम संस्कृति पार्टीतर्फ आकर्षित हुन थालेका छन्। विशेषगरी धरानमा श्रमदान अभियान सञ्चालन गरेर देखाएको छविले साम्पाङलाई फरक पहिचान दिएको उनीहरूको भनाइ छ।
श्रम संस्कृति पार्टी खोटाङकी सहसंयोजक संगीता किराती राईले अब जनताले ठूला दलहरूलाई विश्वास गर्न नसक्ने अवस्था आएको बताइन्। उनले ठूला दलहरूले अहिलेसम्म देशको सम्पत्ति दोहन गर्दै भ्रष्टाचारलाई प्रश्रय दिएको, जनताको आवश्यकताभन्दा पार्टीका कार्यकर्ता र आफ्ना परिवारको स्वार्थलाई प्राथमिकता दिएकै कारण जनताले आगामी निर्वाचनमा परिवर्तनको पक्षमा मतदान गर्ने दाबी गरेकी छिन्।
गत निर्वाचनमा कोशी प्रदेशमा एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा र जसपाले प्रतिनिधिसभा तथा प्रदेश सभामा सिट जितेका थिए। तर जेन–जी आन्दोलनपछि स्थापित राजनीतिक दलप्रति असन्तुष्टि बढ्दै जाँदा नयाँ दल खोल्ने क्रम तीव्र बनेको छ। यसले मत विभाजन हुने र चुनावी नतिजा कुन पक्षमा जान्छ भन्ने विषयमा अन्योलता सिर्जना गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
धरानका राजनीतिक विश्लेषक डा. राजेन्द्र शर्माले पुराना दलहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेकाले नयाँ राजनीतिक शक्तिहरू उदाउँदै गएको बताए। आगामी निर्वाचनमा पनि कुनै दलले स्पष्ट बहुमत ल्याउन नसक्ने सम्भावना देखिएकाले स्थायी सरकार गठन गर्न चुनौतीपूर्ण रहने उनको विश्लेषण छ। यसले देशको राजनीतिक स्थायित्व र समग्र शासन प्रणालीमा थप प्रभाव पार्ने डा. शर्माको भनाइ छ।
पार्टीका केन्द्रीय प्रवक्ता सत्य गुरुङले कोशी प्रदेशका सोलु र ओखलढुंगाबाहेक सबै जिल्लामा आमसभा सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार काठमाडौं, चितवन र हेटौंडामा गरिएको सभामा समेत उल्लेखनीय जनसहभागिता देखिएको छ। यस आधारमा पार्टीले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ राम्रो सिट जित्ने उनको दाबी छ।
शनिबार खोटाङको सदरमुकाम दिक्तेलमा आयोजित पार्टी कार्यक्रममा सम्बोधन गर्दै हर्क साम्पाङले जनता पुराना पार्टीबाट दिक्क भइसकेको र नयाँ परिवर्तन खोजिरहेको बताए। उनले कांग्रेस, एमाले र माओवादी केन्द्र भ्रष्टाचारमा लिप्त भई देश बिगार्ने काममा संलग्न भएको आरोप लगाए। जनताको चाहनाअनुसार काम गर्न नसकेकै कारण श्रम संस्कृति पार्टीको जन्म भएको उनको भनाइ थियो। आगामी निर्वाचनमा पुराना दलभन्दा आफ्नो दललाई जिताउन खोटाङवासीसँग साम्पङले आग्रह गरेका छन्।
एमालेको लोकतान्त्रिक किरात राई संघका कोशी प्रदेश अध्यक्ष ध्रुव राईले पनि पुराना दलहरूको कार्यशैलीप्रति जनआक्रोश बढेकै कारण नयाँ दलप्रति आकर्षण देखिएको बताए। उनले देशलाई सही दिशामा लैजान पुराना नेतृत्व असक्षम देखिएकाले मतदाताले विकल्प खोजिरहेको बताए। कोशी प्रदेशको आगामी निर्वाचनले यही असन्तुष्टि र परिवर्तनको चाहनालाई प्रतिबिम्बित गर्ने संकेत देखिएको छ।
प्रतिक्रिया दिनुहोस !