कल्पत गाउँमा ‘एक घर, एक धारा’

कल्पत गाउँमा ‘एक घर, एक धारा’
घरको आँगनमा रहेको आफ्नै धारामा भाँडा माझ्दै स्थानीय ।

मुगु : दुई वर्षअघि कात्तिक १७ गते आएको विनाशकारी भूकम्पले जाजरकोटको नलगाड नगरपालिका–१ स्थित कल्पत गाउँमा मानवीयसहित भौतिक पूर्वधारमा ठूलो क्षति भयो। 

भूकम्पले गाउँमा रहेका ४ वटा सार्वजनिक धाराका पानीको मुहान नै क्षति पुर्‍यायो। गाउँमा ल्याएका धाराको मूल नै क्षति भएपछि सुरक्षित पानी पिउने अधिकारबाट वञ्चित स्थानीय भूकम्पपछि असुरक्षित  पानीको स्रोतमा निर्भर रहन बाध्य भए। तर अहिले कल्पत गाउँको स्वरूप फेरिएको छ। हरेक घरको आँगनमै पानीको धारा बगेको छ।

नलगाड नगरपालिका र युनिसेफ नेपालको आर्थिकसहयोग र सोसेक नेपालको प्राविधिक तथा सामाजिक सहजीकरणमा सञ्चालित संयुक्त पुनर्लाभ कार्ययोजना कार्यक्रम जिराप परियोजनामार्फत कल्पतका १ सय ३८ घरधुरीमा ‘एक घर, एक धारा’ निर्माण गरिएको हो। 

सोसेक नेपालका सामाजिक व्यवहार परिवर्तन परियोजनाका कार्यक्रम संयोजक सृष्टि बाँठा मगरले जानकारी दिएकी हुन्। योजनामा युनिसेफको ३९ लाख र उपभोक्ताको ११ लाख ५०  हजार जनश्रमदान गरी ५० लाख ५० हजार रुपैयाँ लागत लागेको छ।

योजनाअन्तर्गत घर–घरमा धारा, पानी शुद्धीकरणका लागि सोलार सिस्टमसहितको वाटर डोजिङ मेसिन, इन–लाइन कोलोरेसन, लाइम–रिमुभेबल मेसिन जडान तथा हरेक घरमा शौचालय निर्माण गरिएको छ। साथै गाउँमा गल्ने–जल्ने फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना पनि अघि बढाइएको सोसेकले जनाएको छ।

भूकम्पअघि कल्पत गाउँमा केही  सार्वजनिक धारा थिए। ५ सय ५३ जनसंख्या भएको गाउँका सबैले ती धाराको पानी उपभोग गर्दै आएका थिए। तर, भूकम्पले मुहानै क्षति गरेपछि गाउँमा पानीको  समस्या थपिँदै गयो। ती सार्वजनिक धारामा पानी नआएका दिन घरधुरीका सदस्यहरू टाढाका खोलानालासम्म पुगेर पानी ल्याउनुपर्ने अवस्था थियो। अहिले घरघरमा निमार्ण भएका धाराले स्थानीयलाई ठूलो राहत भएको नलगाड नगरपालिका—१ का वडाध्यक्ष  धनबहादुर महराले बताए।

लाइनमा बसेर एक गाग्री पानी थाप्न घण्टौं लाग्थ्यो। कहिलेकाहीँ बालबालिकाको विद्यालय पनि छुट्थ्यो। भेरी खोला–कल्पत खानेपानी सरसफाइ योजनाका अध्यक्ष जनक परियार भन्छन्, अब भने ३ किलोमिटर टाढाबाट ल्याएकोपानी घरमै निःशुल्क झैं झरिरहेजस्तो भयो। गाउँले अत्यन्त हर्षित छन्।

७७ वर्षका अपांगता भएका मंगडुल पुनले अबको जीवनलाई कहिल्यै नसोचेको सहजता भन्दै खुसी व्यक्त गरे। टाढासम्म पानी बोक्नु त झन् अपांग शरीरले असम्भवजस्तै थियो। धारा घरमै आएपछि हामीजस्ता अपांग व्यक्तिलाई त नयाँ जीवनजस्तै भएको छ।
पानीकै अभावले व्यक्तिगत सरसफाइदेखि घर–आँगन सफा राख्नसम्म समस्या थियो। तर अहिले धारामै सहज पहुँच भएपछि समय, श्रम र स्वास्थ्यमा ठूूलै सुधार आएको स्थानीय दुर्गा परियार बताउँछिन्।  आफना बालबालिकाहरूको पानीका कारण विद्यालय छुट्ने अवस्था छैन। बिहान–बेलुका  लाइनमा बसेर पानी थाप्नुपर्ने कष्ट सकिएको  उनले बताइन्।

सोही गाउँकी युमना पुन भन्छिन्, ‘हामीले त यस्तो सुविधा कहिल्यै होला जस्तो सोचेका थिएनौं। अब पानीकै लागि खर्चिनुपर्ने समय बचेर खेतीपाती, पशुपालन र अन्य काममा ध्यान दिन पाएका छौं। विशेषगरी महिला, बालबालिका र वृद्धहरू पूर्ण रूपमा राहतमा छन्।’

योजनाका सबै सूचक पूरा भएकाले नलगाड नगरपालिकाले मंसिर २० गते कल्पत गाउँलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरेको नगर प्रमुख डम्बरबहादुर रावतले जानकारी दिए। नलगाड नगरपालिकाको सुरक्षित खानेपानीयुक्त समुदाय कल्पत तेस्रो हो। योभन्दा अगाडि यही वडाका दुईवटा समुदाय घोषणा भइसकेका छन्। गाउँमा ‘एक घर, एक धारा’ स्थापनासँगै भूकम्पपछिको कठोरता अन्त्य भई गाउँको दैनिक जीवनशैलीमै नयाँ परिवर्तन आएको छ। अब कल्पतका घर–घरमा स्वास्थ्य,सरसफाइमा सहजता आएको  प्रमुख नगर प्रमुख रावतको भनाइ रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.