साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफले कराँचीलाई हरायो
काठमाडौं : एपीएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिपमा कराँची एफसीलाई हराउँदै शीर्ष २ मा रहँदै फाइनल खेल्ने सम्भावना बलियो भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफ क्लबले कराँची एफसीलाई १-० ले पराजित गरेको हो। रश्मी कुमारी घिसिङले ५२ औं मिनेटमा गरेको गोल नै निर्णायक भएको हो।
खेलको ३०औं मिनेटमा कराँचीले पहिलो अवसर बुन्यो। पेनाल्टी बक्स बाहिरबाट इभे लाउरेन्स बेरीको प्रहार माथिको बारबाट बाहिरिन पुग्यो। त्यसको चार मिनेटमा सरु लिम्बुले करिब २२ यार्ड टाढाबाट गरेको प्रयास पोस्टको दिशामा रहन सकेन। ४४औं मिनेटमा नेपालको डिफेन्स लाइनको गल्तीमा कराँचीले गोल गर्ने अवसर पायो। पेनाल्टी बक्सभित्र हीरा भुजेलको मिस पासमा मोहमौद ज्रेबाहले नियन्त्रणमा लिइन्।
उनले नजिकबाटै गरेको सट एपिएफकी गोलकिपर अञ्जना राना मगरले बचाइन्। पहिलो हाफको थप समयमा एपिएफले लामो दूरीबाट गरेको सट कराँचीकी गोलकिपर जियाना जिभराजले रोकिन्। रेनुका नगरकोटीले २२ यार्डबाट गरेको प्रहार सफल भएन। यससँगै पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो। दोस्रो हाफमा एपिएफले सुरुआती अग्रता लियो। ५२औं मिनेटमा रश्मिको हेडर गोलबाट एपिएफले अग्रता लिएको हो। रेनुकाले लेफ्ट साइटबाट दिएको क्रसलाई सदुपयोग गर्दै उनले गोल गरिन्।
५८औं मिनेटमा कराँचीले उत्कृष्ट अवसर बुन्यो। एपिएफकी गोलकिपर अञ्जना अगाडि बढेको अवस्थामा कराँचीकी सुहा हिरानीले दोस्रो बार च्याप्दै सट प्रहार गरिन्। तर, अञ्जनाले त्यो प्रहारलाई असफल बनाइन्। ६५औं मिनेटमा रश्मिकुमारीले गोल गर्ने उत्कृष्ट अवसर गुमाइन्। सुरु लिम्बुको उत्कृष्ट थ्रु बललाई नियन्त्रणमा लिए पनि रश्मिले फितलो प्रहार गरिन्। पेनाल्टी बक्स भित्रबाट उनले वान भर्सेस वानको स्थितिमा बाहिर प्रहार गरेकी हुन्। ६९औं मिनेटमा एपिएफको अग्रता दोब्बर बनाउने प्रयास कराँचीकी गोलकिपर जियानीले असफल बनाइन्।
करिब आठ यार्डबाट रश्मिको सट जियानीले उत्कृष्ट बचाउ गरिन्। एपिएफले ७०औं मिनेटमा उत्कृष्ट गोल अवसर बुन्यो। निशा थोकरले लामो दूरीबाट गरेको प्रहार जियानीले मुस्किलले पन्च गर्दै बाहिर पठाइन्। एपीएफले पुष २ गते लिग चरणको अन्तिम खेल भारतको इस्ट बंगाल एफसीसँग खेल्ने छ।
प्रतिक्रिया दिनुहोस !