एमाले नेताहरूले भने– महाधिवेशनपछि पार्टी अझै एकढिक्का र बलियो हुन्छ
काठमाडौं : नेकपा एमालेका नेताहरूले महाधिवेशनपछि पार्टी अझै एकढिक्का र बलियो हुने बताएका छन्।
काठमाडौंमा जारी पार्टीको ११ औँ महाधिवेशनमा सहभागी हुने क्रममा उनीहरूले नेतृत्व चयनमा सर्वसम्मत वा निर्वाचन जुनसुकै विधिबाट चयन गरिएपछि महाधिवेशन पनि पार्टी अझै एकढिक्का र बलियो हुने बताएका हुन्। साथै उनीहरूले विधान महाधिवेशनपछि पार्टीको केन्द्रीय महाधिवेशनले विधान संशोधन गर्नुलाई अन्यथा मान्न नहुने समेत बताएका छन्।
एमाले नेता अग्नि खरेलले महाधिवेशनमा युवा प्रतिनिधित्वको विशेष ख्याल गरिएको बताए। पार्टीको नेतृत्व सहमतिमा नभए लोकतान्त्रिक विधिद्वारा चयन हुने भन्दै उनले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुने बताए।
त्यस्तै एमाले नेता गोकुल बास्कोटाले पार्टीलाई मिलाएर लैजान पदाधिकारी र केन्द्रीय कमिटीको संख्या हेरफेर गरिएको बताए। उनले पार्टीमा निर्वाचन हुँदा कसैले अन्यथा मान्न नहुने भन्दै पराजित हुँदैमा पार्टी नै छाड्नुपर्ने अवस्था नआउने जिकिर गरे।
त्यस्तै एमाले नेता पार्वत गुरुङले नेतृत्व चयनमा जस्तोसुकै प्रक्रिया अपनाए पनि महाधिवेशनपछि पार्टी झन् एकढिक्का हुने बताए।
त्यस्तै एमाले नेतृ सुनिता बरालले सर्वसम्मतको सम्भावना रहेको भन्दै त्यसो हुन नसके उचित विधिबाट नेतृत्व चयन हुने बताइन्। उनले पार्टीलाई बलियो बनाउँदै लैजानुपर्नेमा सबै नेताहरूको एकमत रहेको धारणा राखिन्।
मंसिर २९ गतेसम्म चल्ने एमालेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। नेतृत्वमा अहिलेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस !