५९ वर्षमा ८४ हजार बढी प्रहरी प्रशिक्षित

५९ वर्षमा ८४ हजार बढी प्रहरी प्रशिक्षित

विराटनगर : विराटनगरको रानीस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रबाट ५९ वर्षको अवधिमा ८४ हजारभन्दा प्रहरी प्रशिक्षित भएका छन्। करिब ६ दशकको यात्रामा नेपाल प्रहरी संगठनका लागि ८४ हजार २ सय ७ जनालाई विभिन्न प्रशिक्षण दिँदै दक्ष र व्यावसायिक प्रहरी जनशक्ति उत्पादन गरेको तालिम केन्द्रका प्रवक्ता एवं डीएसपी गुरुप्रसाद तिम्सिनाले बताए। 

उनका अनुसार तालिम केन्द्रले विभिन्न विधामा प्रहरी कर्मचारीलाई तालिम एवं प्रशिक्षण दिँदै आएको छ। केन्द्रले प्रहरी जवानका लागि आधारभूत र असई (प्रहरी सहायक निरीक्षक)का लागि अल्पकालीन एवं प्रहरी जवानदेखि वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक)सम्मलाई सेवाकालीन तालिम सञ्चालन गर्दै आएको जानकारी तिम्सिनाले दिए। 

प्रदेश प्रहरी तालिम केन्द्र आइतबारबाट ६० वर्षमा प्रवेश गरेको छ। कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेको प्रमुख आतिथ्यतामा आइतबार केन्द्रले ५९ औं वार्षिकोत्सव मनाइएको छ। २०२३ सालमा सुनसरीको धरानमा स्थापना गरिएको केन्द्रलाई २०३३ सालमा विराटनगरको रानी स्थानान्तरण गरिएको थियो। 

डीएसपी तिम्सिनाका अनुसार हालसम्म विभिन्न पदका ८४ हजार २ सय ७ जना प्रशिक्षित भइसकेका छन्। नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न सक्ने दक्ष, व्यावसायिक र गुणस्तरीय जनशक्ति उत्पादन गर्नु नै तालिम केन्द्रको मुख्य काम भएको उनको भनाइ छ। तिम्सिनाका अनुसार आवश्यक जनशक्ति उत्पादनदेखि समयसापेक्ष नीति, निर्देशन र सुरक्षा चुनौतीअनुसार आधारभूत, उन्नत, अनुशिक्षण तथा घुम्ती प्रशिक्षण तालिमहरू केन्द्रले सञ्चालन गर्दै आएको छ।

तालिम केन्द्रका प्रमुख एसएसपी गोविन्द अधिकारीले आधुनिक, व्यवहारिक र आवश्यकतामा आधारित प्रशिक्षण प्रणाली विकासमा जोड दिइएको बताए। ‘प्रहरी जनशक्ति उत्पादनको उद्गमस्थल तालिम केन्द्र हो,’ उनले भने। आधारभूतदेखि उन्नत तहसम्मका तालिम सञ्चालन गर्दै आएको यस केन्द्रले प्रहरी जवानदेखि वरिष्ठ नायव निरीक्षकसम्मलाई प्रशिक्षण दिइसकेको अधिकारीले बताए। 

चालु आर्थिक वर्षमा स्वीकृत वार्षिक तालिम क्यालेन्डर अनुसार सञ्चालन गर्नुपर्ने २५ वटा तालिममध्ये हालसम्म ७ वटा तालिम सम्पन्न भइसकेका छन्। तालिममा जवानदेखि जुनियर अधिकृतसम्मका १ हजार ७ हजार ७८ जना प्रहरी कर्मचारीलाई प्रशिक्षण दिने लक्ष्य राखिएकोमा हालसम्म २ सय १८ जनाले प्रशिक्षण पूरा गरिसकेका छन्। तालिम केन्द्रमा हाल प्रहरी जवानका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा सञ्चालन भइरहेको छ। 

तालिम केन्द्रमा प्रशिक्षक, प्रदेश प्रहरी ब्याण्ड, प्रदेश प्रहरी फुटबल तथा भलिबल टोली र व्यवस्थापकीय जिम्मेवारीमा रहेका गरी कुल २ सय १३ जना प्रहरी कर्मचारी कार्यरत छन्। आधारभूत दुई समूह र सेवाकालीनका दुई समूह गरी ४ सय ७३ जना प्रशिक्षार्थी प्रशिक्षणरत रहेको एसएसपी अधिकारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.