election background

प्रतिनिधि सभा निर्वाचन २०८२

बौद्धनाथ स्तूपको अर्बौंको जग्गा गायब, गुठी र समितिबीच स्वामित्वको द्वन्द्व

बौद्धनाथ स्तूपको अर्बौंको जग्गा गायब, गुठी र समितिबीच स्वामित्वको द्वन्द्व

काठमाडौं : कुनै बेला विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूपसँग १४ सय रोपनी जग्गा थियो । हाल १८ रोपनी हाराहारी मात्रै छ । अर्थात्, स्तूपको अधिकांश जग्गा अतिक्रमण भइसकेको छ । बौद्ध परिसरमा रहेका पार्टी, सत्तल, देवल, धर्मशाला नष्ट भइसकेका छन् । धेरै जग्गा व्यक्तिका नाममा दर्ता भइसकेका छन् । पछिल्लो समय बौद्ध स्तूप र पोखरी मात्रै बाँकी छ । बौद्ध स्तूपको नाममा १५ रोपनी २ आना ३ पैसा जग्गा छ भने पोखरीको नाममा ३ रोपनी १ आना २ पैसा जग्गा मात्रै बाँकी छ । बचेको जग्गामा पनि अतिक्रमणकारीले आँखा गाड्न थालेका छन् ।

बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा बौद्धनाथ स्तूप र पोखरीको जग्गामा पनि आँखा गाड्न सुरु भएको बताउँछन् । विगतमा नक्कली मोही खडा गरेर बौद्धनाथको जग्गाजमिन सिध्याइएको उनको आरोप छ । हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बौद्धनाथ जोगाउनुपर्ने उनको भनाइ छ । ‘बौद्धनाथ जोगाउनुपर्ने अवस्थामा छौं,’ लामाले भने, ‘बौद्धनाथ मन्दिर र त्यसले चर्चेको पोखरी मात्रै छ । बाँकी सबै बौद्धनाथसँग जोडिएका पाटी, पौवा, धर्मशाला, देवलहरू सबै नष्ट भए । मिचेर खाए, अंश भाग लगाएर खाए । नक्कली मोही खडा गरेर पनि सिध्याए ।’

समिति र गुठीबीचको कचिंगल 

खुम्चिसकेको बौद्ध स्तूपबारे बौद्ध क्षेत्र विकास समिति र स्थानीय बौद्ध मेलम्ची घ्याङ गुठीबीच चरम विवाद छ । बौद्ध घ्याङ गुठीले स्तूपलाई आफ्नो नाममा दर्ता गर्ने प्रयास गरिरहेको समितिको आरोप छ । गुठीमा लगेर बचेको जग्गामा समेत मोही कायम गरेर सिध्याउने मनसाय गुठी पक्ष रहेको समितिको भनाइ छ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीको जग्गा भएको दाबी गर्दै नापी कार्यालय चाबहिलमा निवेदन दर्ता भइसकेको छ । समिति पक्षधर भन्छ, ‘यो जग्गा नेपाल सरकार, बौद्ध मन्दिरको नाममा छ । यो रैकर जग्गा हो ।’

नापी कार्यालय चाबहिलको हाल साविकमा भने उक्त जग्गा नेपाल सरकारको नाममा रहेको उल्लेख छ । समिति अध्यक्ष लामा भन्छन्, ‘मालपोत र नापीको रेकर्डअनुसार २०२१ सालसम्म, त्योभन्दा अघि र अहिलेसम्म पनि श्री ५ को सरकार बौद्ध मन्दिर भनेर बौद्ध मन्दिरको नाममा देखिन्छ, यो रैकर जग्गा हो, गुठीको जग्गा होइन ।’ 

नापी कार्यालयको रेकर्डमा भनिएको छ, ‘बौद्ध–३ कित्ता नम्बर ४७ श्री ५ को सरकारका नाममा मोठ कायम रहेको देखिन्छ, मोहीको महलमा कित्ता नम्बर ४७ मा पोखरी र कित्ता नम्बर १९० मा बौद्ध मन्दिर उल्लेख भएको देखिन्छ । कित्ता नम्बर १९० रातो मसीले काटेर कालो मसिले सही (टिक) लगाएको देखिन्छ ।’ यही कैफियत जनाएर गुठी र नापीका कर्मचारी चलखेल गरिरहेको समिति पक्षको आरोप छ । ‘बौद्ध नाथ स्तूपको जग्गा नेपाल सरकारको नाममा थियो र हुनुपर्छ,’ समितिका अध्यक्ष लामा भन्छन् । 

नापी कार्यालयका प्रमुख एवं नापी अधिकृत सञ्जय छतकुलीले घ्याङ गुठीले आफ्नो नामको जग्गा दाबी गर्दै चिठी पठाएको जानकारी दिए । घ्याङ गुठीले पुर्जा ल्याएमा अध्ययन गर्ने उनले बताए । ‘दाबी गरेपछि पुर्जा हुनुपुर्‍यो, हामीले पुर्जा ल्याउन भनेका छौं, उनले भने, ल्याएमा गुठीको होला । प्रमाण बिना दाबी गरेर मात्र हँुदैन ।’ उनले मालपोतको स्रेस्ताको आधारमा निर्णय हुने पनि स्पष्ट पारे । 

बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ स्तूप र बौद्ध घ्याङ गुठीको क्षेत्राधिकार र स्वामित्वमाथि अनधिकृत रूपमा हस्तक्षेप गर्न थालेको आरोप घ्याङ गुठी पक्षको छ । गुठी संस्थानका प्रवक्ता जनक पोखरेल पनि क्षेत्र विकास समितिले अनावश्यक हस्तक्षेप गरेको बताउँछन् । क्षेत्रविकास समितिले भौतिक पूर्वाधारको काम ध्यान दिनुपर्नेमा अन्य विषयमा अनावश्यक चासो राखेको उनको भनाइ छ । 

यो बौद्धनाथ स्तूपप गुठीको भएको उनको दाबी छ । बौद्ध मन्दिर राजगुठी अन्तर्गतको मन्दिर भएको उनले बताए । गुठी संस्थान ऐन जारी भएदेखि नै बन्दोबस्त र सञ्चालन गुठी संस्थानले गर्दै आएको पोखरेलको भनाइ छ । ‘पछि बौद्ध क्षेत्रको विकास गर्नका लागि भनेर सरकारको गठन आदेशबमोजिम क्षेत्र विकास समिति गठन भएको हो,’ उनले भने, ‘समितिले पूर्वाधार विकास गर्नु पर्नेमा मन्दिरमाथि हस्तक्षेप गरेर द्वन्द्व सिर्जना गरेको छ ।’ उनले बौद्ध गुम्बाका नामका सबै जग्गा गुठीका नामको भएको पनि दाबी गरे । ‘अरू कसैको हक लाग्ने जग्गा होइन,’ उनले भने । गुठीका प्रकृति अनुसारका जग्गा रहेको पनि उनको दाबी छ । त्यहाँ गुठी अधिनस्थ जग्गा, तैनाथी जग्गा, रैकर नम्बरी जग्गा रहेको उनको भनाइ छ ।

समितिको काम भनेको सरकारबाट लगेको बजेटबाट भौतिक पूर्वाधारको विकास गर्ने मात्रै भएको उनले बताए । मठमन्दीरको पूजापाठको प्रबन्ध गर्ने काम गुठीकै भएको उनले दाबी गरे । गुठी संस्थान बौद्ध स्तूपको जग्गा खोजी गर्न लागेको पनि उनले बताए । गुठीको जग्गा समितिले कब्जा गरेको संस्थानको भनाइ छ । 

२०२१ सालमा एउटै कित्ता
तत्कालीन श्री ५ को सरकार बौद्धनाथ स्तूपको नाममा एउटै कित्ता नम्बर १९० थियो । त्यसपछि माफियाहरूले कित्ता फोडफाड गरेर ५ टुक्रा बनाए । हाल टुक्रा टुक्रा पारिएको छ । तीमध्येका दुईवटा कित्तामा कैफियतमा बौद्ध तथा मेलम्ची घ्याङ गुठी राख्न लगाएको समिति पक्षधरको भनाइ छ । उनीहरूले नापी र मालपोतका कर्मचारीलाई प्रलोभनमा पारेर कैफियतमा गुठीको नाम राखिएको विकास समिति अध्यक्ष लामाको दाबी छ । ‘भोलि दर्ता गरेर खान पाइन्छ कि भनेर प्रयास गर्न त्यस्तो गरिएको हो,’ लामाले भने, ‘बौद्धनाथ स्तूप नेपाल सरकारको थियो । र, त्यसले चर्चेको जमिनहरू नेपाल सरकारको नाममा थियो र हुनुपर्छ भनेर लागेका छौं ।’ त्यसका लागि आफू मालपोत र नापी कार्यालय धाइरहेको उनले जानकारी दिए । ‘मालपोत, नापीमा गयौं, हाकिम भेट्यौं, उहाँहरूले के भन्नुभयो भने, अहिलेसम्म दर्ता गर्न र लालपुर्जा लैजान गुठीले सकेको छैन,’ लामाले भने, ‘तपाईंहरूले निवेदन ल्याउनु होस्, हाल साविक पनि गर्नुहोस् । नेपाल सरकारको नाममा वा बौद्ध मन्दिरको नाममा लालपुर्जा बनाइदिन्छौं भनेर हाकिमहरूले भन्नुभएको छ ।’ 

सरकारको नाममा दर्ता गराउने प्रक्रिया थालनी गरेपछि झमेला ल्याउने काम नापीकै कर्मचारीको मिलोमतोमा भएको लामाको आरोप छ । उनले भने, ‘बौद्धनाथ क्षेत्र विकास समितिले निर्णय गरेर हाल साविक र नेपाल सरकारको नाममा ल्याउने प्रक्रिया थाल्यौं, त्यो थाहा भइसकेपछि नापीकै कर्मचारीले घ्याङ गुठीलाई फेरी जगाउनुभयो र अर्को निवेदन हाल्न लगाउनुभयो । हाम्रो सम्पत्ति हो । हाम्रो नाममा लालपुर्जा बन्नुपर्छ भनेर च्याखे थाप्ने काम भयो । झमेला झिक्न उहाँहरू पनि आउनुभयो ।’

लामाले घ्याङ गुठीलााई नापी प्रमाण ल्याउन पत्र काटेको पनि जानकारी दिए । ‘नापीले गुठीलाई तिम्रो हो भने प्रमाण ल्याउनु भनेर पत्र काटेको छ, तर पत्रमा तिथि मिति छैनन्, प्रमाण ल्याउ मात्र भनेको छ, तिथिमिति नतोकेकाले कर्मचारीले अल्झाइरहेका छन्,’ उनले भने । गुठीको नाममा प्रमाण नभएको कारण नापीले अलमल गरिरहेको उनको आरोप छ । नापी कार्यालय चाबहिलले हलो अड्काएर राखिरहेको उनको आरोप छ । नापीले देशको सम्पत्ति जोगाउन सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । 

नापी कार्यालय प्रमुख नापी अधिकृत छत्कुल्लीले घ्याङ गुठीले प्रमाण नल्याएमा मालपोतको स्रेस्ता हेरेर निर्णय हुने बताए । बौद्ध घ्याङ गुठीको नाममा रहेको सबै सम्पत्ति बेचेर खाइसकेको समितिका अध्यक्ष लामाको आरोप छ । ‘सबै बेचिसके, खाइसके, अंश लगाइसके,’ लामाले भने । ५÷७ वर्ष पहिले बौद्ध मन्दिरकै अगाडि रहेको धर्मशाला भएको घर साढे दुई रोपनी जग्गा पनि ७ अर्बमा बेचेको समिति अध्यक्ष लामाको आरोप छ । 

उनले बौद्ध स्तूप घ्याङ गुठी नाममा दर्ता भएमा बेचेर खाने आशंका व्यक्त गरे । बौद्ध स्तूपको सम्पत्ति जग्गा जमिन संरक्षणमा सरकारले चासो देखाउनुपर्ने समिति अध्यक्ष लामाको आग्रह छ । पछिल्लो समय भूमिसुधारमन्त्री भरत इङनामले भने चासो देखाएको लामाले जानकारी दिए । ‘बौद्ध मन्दिरको जग्गा खोज्नुपर्छ भनेर मन्त्रीज्यूले चासो देखाउनुभएको छ,’ लामाले भने । एक स्थानीयले पनि बौद्धनाथको जग्गा पुजारीको संरक्षकत्वमा अतिक्रमण भइरहेको बताए । उनले विश्व सम्पदा सूचीको धरोहरलाई जोगाउनुपर्ने बताए। 

जग्गा खोजी गर्दै गुठी 
विगतमा बौद्ध स्तूपको १४०० रोपनी जग्गा भएको विभिन्न दस्तावेजमा देखिन्छ । तर ठूलो परिणाममा जग्गा अतिक्रमण भइसकेको छ । बौद्ध स्तूपको जग्गाको खोजीमा गुठी संस्थान लागेको प्रवक्ता पोखरेल बताउँछन् । गुठी संस्थान शाखा कार्यालय काठमाडौंले नापी कार्यालय चावहिलसँग बौद्ध घ्याङ गुठीको बौद्ध वडा नम्बर ३ कित्ता नम्बर ४७,१९० र १७५ को जग्गा हाल नापी हुँदा के कति कित्ता नम्बर र क्षेत्रफल कायम भएको छ भनी खुलाएर पठाइ दिन भनेको छ। उसले साविकबाट हाल नापी हुँदा के कति जग्गा घटबढ छ ? त्यसबारे पनि जानकारी मागेको छ । 

नापी कार्यलयले बौद्ध मन्दिरको जग्गाको विवरण यसरी दिएको छ । कार्यालयका अनुसार साविकको बौद्ध वडा नम्बर ३ मा कित्ता नम्बर १७५ मा २ आना ३ पैसा घ्याङ गुम्बाको नाममा छ । त्यस्तै कित्ता नम्बर १९० को १५ रोपनी २ आना ३ पैसा बौद्ध मन्दिरको नाममा छ । कित्ता नम्बर ४७ को ३ रोपनी १ आना २ पैसा जग्गा पोखरीको नाममा कायम छ । हालको नापीमा काठमाडौं वडा नम्बर ६ मा कित्ता नम्बर ७१ को २ आना २ पैसा २ दाम, कित्ता नम्बर १ का ७ रोपनी १४ आना २ पैसा ३ दाम, कित्ता नम्बर ३ मा २ रोपनी ११ आना ३ पैसा, कित्ता नम्बर १४५ मा १ रोपनी १४ आना, कित्ता नम्बर ८१ मा २ रोपनी १४ आना १ पैसा २ दाम नाप नक्सा भइ फिल्ड बुक कायम भएको देखिएको छ ।

त्यस्तै कित्ता नम्बर ७० को २ रोपनी ८ आना, कित्ता नम्बर १४३ मा १४ आना १ पैसा १ दाम, कित्ता नम्बर १४४ मा १४ आना ३ पैसा र १३१ मा ३ रोपनी २ आना २ पैसा २ दाम नाप नक्सा भइ फिल्ड बुक कायम भएको विवरण नापीले गुठीलाई दिएको छ । 

साविक बौद्ध वडा नम्बर ३ को कित्ता नम्बर १७५,१९० र ४७ को जग्गा धनी प्रमाणपुर्जा प्राप्त पत्रकासाथ संलग्न भएको नदेखिएकोले पुनः नाप नक्सापश्चात् दर्ता गर्न उल्लेखित कित्ताहरूको पुर्जा आवश्यक भएको हुँदा साविक बौद्ध ३ को कित्ता नम्बर १७५, १९० र ४७ जग्गा धनी पुर्जा संग्लन गरी पठाइदिन पनि नापीले गुठी संस्थानलाई भनेको छ । नापीले मालपोत कार्यालय चाबहिललाई पनि कित्ता नम्बर ४७,१९०, १७५ को जग्गा धनी प्रमाणपुर्जा वा उक्त जग्गाको जग्गा धनी स्पष्ट खुलाई पठाइ दिन अनुरोध गरेको छ । मालपोतले नापीलाई मोठ रोक्का भिडाइ सक्कलै फाइल पठाएको छ । 

बौद्धनाथ स्तूपको इतिहास
१९१६ सालमा बौद्धनाथ स्तुपको पुजारीको रूपमा प्रथम चिनियाँ लामा ताई फो सिङ्लाई श्री ३ जंगबहादुर राणाले नियुक्त गरेका थिए । त्यसबेला नेपाल–भोट युद्ध सकिएर थापाथली सन्धिमार्फत भर्खरै शान्तिमा रूपान्तरण भएको थियो । त्योभन्दा पहिला बौद्धनाथ स्तूप–स्वयम्भूनाथ घ्याङ गुठीले रेखदेख गर्ने गरेको थियो । बौद्ध परिसर र स्वयम्भू किमडोलमा गुठीको लगतभित्र तामाङहरूलाई बस्न दिइएको थियो । उनीहरूलाई ‘६० घरे’ भन्ने गरिएको थियो । तत्कालीन श्री ३ देवशमशेर राणाले तत्कालीन चिनियाँ लामालार्ई हटाएको इतिहास देखिन्छ । पछि श्री ३ चन्द्रशमशेर राणाले १९५४ सालमा पुनः चिनियाँ लामालाई नै बौद्धनाथको मूल पुजारीमा नियुक्त गरेका थिए । 

उनका सन्तानले वंशगतरुपमा मूल पुजारी ‘चिनियाँ लामा’को जिम्मेवारी बहन गर्दै आएका छन् । गुठी संस्थानअन्तर्गत परम्परागत रूपमा बौद्ध नाथको पूजा हुँदै आएको छ । बौद्धनाथ स्तूप सबैभन्दा ठूलो स्तुप हो । बौद्धनाथलाई स्वास्ती भन्ने गरिएको छ । तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलार्ध ३६ मिटर छ । तिब्बती शरणार्थीहरूको बसोबास रहेको बौद्ध क्षेत्रमा बौद्धनाथ स्तूप रहेको छ । श्रुतिमुक्ति नामक ग्रन्थअनुसार बौद्ध स्तूपको निर्माण आरम्भ ज्यजीमा (कुखुरा गोठाल्नी) देछोग ले गरेका थिए । 

गुम्बज शैलीको बौद्धनाथ स्तूप चारपाटे शिखरले ढाकिएको छ । बौद्ध नाथका सबै पाटाहरूमा चार दिशातर्फ नियालिरहेका, बुद्धका आँखा भनेर चिनिने रहस्यमय छविहरू अंकित छन् । बुद्धका आँखाहरू एक पटक मात्र दर्शन गर्दा पनि आध्यात्मिक मुक्ति मिल्ने विश्वास गरिन्छ । युनेस्कोले विश्व सम्पदा स्मारकको रूपमा सूचीकृत गरेको छ । सेतो रङले पोतिएको विशाल गुम्बज आकारको बौद्ध स्तूप उत्साहका साथ परिक्रमा गर्ने गरिन्छ । 

तर, मानिसका प्रार्थना, मन्त्रोच्चारण तथा संवादले फस्टाउँदै गरेको तीर्थस्थलको रूपमा झकिझकाउ र जीवन्त छ । तीर्थालुहरू आफ्नो दायाँतर्फ भव्य स्तूपका दिवार तथा प्रार्थना गर्दै खरखर आवाजका साथ घुमाइने मानेहरू र बायाँतर्फ बौद्धप्रेमीहरूका लागि लक्षित गरी सजाइएका सामग्रीहरूले भरिभराउ एवं व्यस्त पसलहरूको बीचमा संसार र दुःखपारको एकताबद्ध मार्गमा शान्तिपूर्वक घुम्छन् । स्तूपको उत्तरी मोहोडामा राखिएको विशाल धूपदानीमा एकत्रित भएर जल्दै गरेका उच्चतम धूपहरूका मगगमगाउँदो सुगन्ध हिमालयको हावामा फहराउने प्रार्थनाका झन्डाहरूसँग मिसिनका लागि माथिमाथि उडेर आकाशमा विलिन भइरहेका देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.