कांग्रेसमा नयाँ पुस्ताको विद्रोह
समय परिवर्तन भएको छ, पुरानो तरिका र सोचले अब चल्दैन। यो विभाजनले दुवै पक्षलाई सोच्न बाध्य बनाएको छ। किनकि यो कांग्रेसको मात्र होइन, सिंगो मुलुकको विषय हो।
नेपाली कांग्रेसको नयाँ पुस्ताले गरेको विद्रोह र हस्तक्षेपले संवैधानिक मान्यता पाएको छ। निर्वाचन आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ। हप्तौंदेखि चल्दै आएको अड्कलबाजीपछि शुक्रबार आयोगले थापालाई कांग्रेसको आधिकारिक अध्यक्षको रूपमा मान्यता दियो। राजनीतिक दलसम्बन्धी ऐनको धारा ५१ अनुसार पार्टीको रेकर्ड अपडेट गर्दै आयोगले थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक घोषणा गर्यो। यसले देउवा पक्षलाई ठूलो झट्का दियो।
शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक रूपमा अघि बढेको छ। यो देशको सबैभन्दा पुरानो र ठूलो पार्टीको विभाजन हो, जसले दुई दिनपछि मात्र आधिकारिकता पायो। अब कांग्रेसलाई पुनर्निर्माण गर्ने उचित समय आएको छ। नेपाललाई अब सशक्त कांग्रेस पार्टीको आवश्यकता छ, जसले इतिहासमा मध्यमार्गी, वामपन्थी झुकाव भएको लोकतान्त्रिक शक्तिको भूमिका निर्वाह गरेको छ। यो विभाजनलाई अवसरको रूपमा लिनुपर्छ। नयाँ सभापतिले पार्टीका पुराना आदर्शहरू लोकतान्त्रिक समाजवाद र अन्य मूल लोकतान्त्रिक मूल्यलाई पुनर्जीवित गर्नुपर्छ। यो उनका लागि ठूलो अवसर र चुनौती पनि हो। यदि उनले पार्टी परिवर्तन भएको विश्वास दिलाउन सकेनन् भने यो पुरानो पार्टीप्रति जनताको विश्वास हराउने छ।
नेपाललाई बलियो केन्द्रवादी शक्ति चाहिन्छ, जसले चरमपन्थीहरूको सन्तुलन राख्न सकोस्। यो विभाजन पहिलेका आन्तरिक विवादभन्दा केहि भिन्न छ। कांग्रेसले विगतमा पनि विभाजनहरू झेलेको छ तर यसपटक जनताको राजनीतिक दलहरूप्रति विश्वास सबैभन्दा कम भएको बेला भएको छ। दशकौंदेखि केही अनुहारहरूले सत्ता कब्जा गरेका छन्, जसले भ्रष्टाचारलाई संस्थागत बनाएको छ। नेपालमा भ्रष्ट्राचार एक प्रमुख समस्याको रूपमा देखिएको छ। राज्यका हरेक निकायमा भ्रष्टाचारले जरा गाडेको छ। सार्वजनिक पदहरूमा बस्नेहरूले राष्ट्रिय स्रोतहरूको दुरुपयोग गरेका छन्, जसले विकासलाई असर गरेको छ। यसले युवालाई राजनीतिबाट टाढा बनाएको छ, उनीहरूले आफ्नो भविष्य विदेशमा खोज्न बाध्य भएका छन्।
ब्रेन ड्रेनको यो समस्यामा चुलिँदै गएको छ नेपाल। लाखौं युवा खाडी देशहरूमा पसिना बगाइरहेका छन् जबकि घरेलु रोजगारीका अवसर न्यून छन्। नेपालमा युवा बेरोजगारी पनि अर्को समस्या हो। एक तथ्यांकअनुसार नेपालमा १६–४० वर्ष उमेर समूहका युवा करिब एक करोड २४ लाख छन्, जुन कुल जनसंख्याको ४२.४ प्रतिशत हो, जसमध्ये बेरोजगार २०.८ प्रतिशत छन् । यो विभाजनलाई जेन जेडका विरोध प्रदर्शनहरूसँग जोड्नुपर्छ। भदौ २४, २०८२ को जेन–जी आन्दोलनले नेपालमा उथलपुथल ल्याइदियो। त्यसैले तिनको चाहना र आवश्यकतामा अब सबै दलले विचार गर्नुपर्छ। कांग्रेसले निर्वाचनको बेला मात्र जाग्ने बानी छोड्नुपर्छ।
जनता परिवर्तन चाहन्छन्। जेन जेडले सडकमा उत्रिएर देखाएका छन् कि पुराना परिपाटी अब चल्दैनन्। यदि पार्टीले यी आवाज सुनेनन् भने अस्तित्व नै संकटमा पर्छ। यो विभाजन यस्तो समयमा भएको छ जब राजनीतिक दलहरूप्रति विश्वास घट्दै गएको छ। यो पुस्ताको विद्रोह हो। देउवा जस्ता पुराना नेताले पार्टी चलाउने तरिका अब पुरानो भइसक्यो। जनता चाहन्छन्, जवाफदेही नेतृत्व। पुराना नेताको शैलीबाट जनता आजित भैसकेका छन्। थापाले यो अवसरको उचित सदुपयोग गर्नुपर्छ। तर यो सजिलो छैन। अनेक चुनौतीको सामना गर्नुपर्नेछ। निर्वाचन आयोगको मान्यता नैतिक विजय होइन। वास्तविक परीक्षा त पार्टीभित्रको सामन्तवाद, पक्षपात र टिकट बेच्ने संस्कृति तोड्नु हो।
कांग्रेसले विगतमा बलिदान गरेर कमाएको सम्मान गुमाउँदै छ। लाखौं नेपालीले यसलाई लोकतन्त्रको अभिभावक ठानेका थिए। आर्थिक संकट र युवा असन्तोषको बीचमा यो विभाजनले राजनीतिक अस्थिरता बढाउँछ। अब थापामाथि पार्टी पुनर्निर्माण गर्ने विकराल चुनौती छ। उनले जनतालाई पार्टी परिवर्तन भएको छ र हुन्छ भनी विश्वास दिलाउनुपर्छ। यो केवल बोली र भाषणमा सिमित हुनुहुँदैन। त्यसैले अब ठोस सुधारहरूको आवश्यकता छ। उम्मेदवार छनोट पारदर्शी हुनुपर्छ। आन्तरिक निर्वाचनहरूले वास्तविक अर्थ राख्नुपर्छ।
गगनले अब लोकतान्त्रिक समाजवादका पुराना आदर्शहरूलाई पुनर्जीवित गर्नुपर्छ। पार्टीमा सहभागिता बढाउनुपर्छ। युवालाई नेतृत्वमा ल्याउनुपर्छ। पक्षपात अन्त्य गरेर योग्यतालाई प्राथमिकता दिनुपर्छ। जनताको आवाज सुन्ने संयन्त्र बनाउनुपर्छ। यदि उनले यो गरे भने पार्टीले नयाँ जीवन पाउँछ। यो पुरानो पार्टीलाई आधुनिक बनाउने अवसर हो। पार्टीले आर्थिक मुद्दाहरूमा स्पष्ट दृष्टिकोण राख्नुपर्छ। बेरोजगारी, युवा पलायन रोक्ने योजना ल्याउनुपर्छ। जनतासँग जोडिएर काम गरे भने विश्वास फर्किन्छ।
अर्को पक्ष पनि छ। देउवा पक्षको यो विभाजनले पार्टी कमजोर बनाउँछ भन्ने तर्क छ। उनीहरूको अनुभवलाई नकार्न सकिँदैन। तर समय परिवर्तन भएको छ, पुरानो तरिका र सोचले अब चल्दैन। यो विभाजनले दुवै पक्षलाई सोच्न बाध्य बनाएको छ। किनकि यो कांग्रेसको मात्र होइन, सिंगो मुलुकको विषय हो। यद्यपि, पार्टी र देशमा गगनले परिवर्तन ल्याउनुपर्छ नत्र यो पार्टीको र उनकै पनि अन्तिम अवसर हुन सक्छ।
प्रतिक्रिया दिनुहोस !