election background

प्रतिनिधि सभा निर्वाचन २०८२

टिकटकै लागि जसले रातारात दल बदले

टिकटकै लागि जसले रातारात दल बदले

काठमाडौं : राजनीतिक सौदाबाजीमा माहिर मानिन्छन्, बाँकेका मोहम्मद इश्तियाक राई। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीति सुरु गरेका राई २०६२ सालमा मधेसी जनअधिकार फोरममा प्रवेश गरे। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवारलाई पराजित गरे। २०७९ सालमा  जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिँदा पराजय भोगे। आफ्नो विरासत फर्काउन उनले यसपटक एमालेबाटै टिकट लिएर चुनावी मैदानमा उत्रे।

बाँकेका  सुरेशकुमार चौधरीले पनि यसपटक दल बदलेका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट उम्मेदवारी दिए। एमालेका सूर्यप्रसाद ढकालसँग पराजित भएपछि उनले दल बदलेका छन्। चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी पुनः उम्मेदवारी दिएका छन्। एमालेले पनि  ढकाललाई नै उक्त क्षेत्रमा दोहो¥याएको छ। बाँके–३ बाट उम्मेदवारी दिएका खगेन्द्र सुनार पनि के कम ?    उम्मेदवार बन्नकै लागि गत पुस २९ गते रास्वपामा  प्रवेश गरे।  आफ्नो नेतृत्वको हाम्रो पार्टी नेपाललाई रास्वपामै समाहित गरे। 

०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नाउपाबाट उम्मेदवारी दर्ता गरेका ठाकुर सिंह थारुले तेस्रो स्थान हासिल गरे। यसपटक थारुले रास्वपाबाटै बर्दिया–१ मा उम्मेदवारी दर्ता गराएका छन्। ०७९ सालको स्थानीय तहको निर्वाचनमा नाउपाबाट कैलालीको टीकापुर नगरपालिकामा प्रमुखमा निर्वाचित भएका थिए, रामलाल डंगौरा थारु।  आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उनले पदबाट राजीनामा मात्र गरेनन्, पार्टी नै बदले। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्दै उनले  कैलाली–१ बाट उम्मेदवारी दर्ता गराएका छन्। 

चुनावी समीकरण रोचक 
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट पाउन र विजय सुनिश्चितता गर्न राजनीतिकर्मीहरूले रातारात दल बदलेका छन्। दल बदल्दै उम्मेदवारी दिएका  कारण कपिलवस्तुको चुनावी समीकरण रोचक बनेको छ। नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य वृजेशकुमार गुप्ताले पार्टी परित्याग गर्दै कपिलवस्तु–२ मा नेकपाबाट उम्मेदवारी दिएका छन्। गुप्ता राप्रपा, तमलोपा, एमाले हुँदै हाल नेकपामा प्रवेश गरेका हुन्। 

नेपाली कांग्रेस नेता विक्रम सिंह थापा पनि टिकट पाउने सुनिश्चितता भएसँगै रास्वपामा प्रवेश गरेका छन्। उनले कपिलवस्तु–२ बाट उम्मेदवारी दिएका छन्।  कपिलवस्तुका कांग्रेस नेता तथा पूर्वसांसद वीरेन्द्रकुमार कनौडियाले पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन्। कांग्रेसबाट टिकट नपाउने भएपछि उनी  एमालेमा प्रवेश गरेका हुन्। कपिलवस्तु–३ बाट उम्मेदवारी दर्ता गराएका कनौडिया चुनावी प्रचाप्रसारमा व्यस्त छन्।  कपिलवस्तुकै राष्ट्रिय प्रजातन्त्र पार्टीका  नेता प्रकाश रजौरिया पनि पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन्।  कपिलवस्तु–३ बाट चुनावी मैदानमा उत्रेका छन्। 

अन्तिम समयसम्म पनि टिकट नपाएपछि रुपन्देहीका कांग्रेस नेता प्रमोदकुमार यादव एमाले प्रवेश गरेका छन्। रुपन्देही–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट रुपन्देही–४ मा निर्वाचित सांसद हुन्। 

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले कांग्रेसबाट रौतहट–१ को उम्मेदवारी दर्ता गराएका छन्। जुन क्षेत्रबाट नेकपाका सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारी दिएका छन्।  रौतहटका एमाले नेता किरणकुमार शाहले टिकट नपाएपछि दल बदले। नेकपामा प्रवेश गरे लगत्तै उनले रौतहट–२ बाट उम्मेदवारी दिएका छन्। नेकपाका नेता उमेशकुमार यादवले टिकट पाउनकै लागि पार्टी परित्याग गरे। जनता समाजवादी (जसपा) नेपालमा प्रवेश गरेका यादवले सप्तरि–२ बाट मनोनयनपत्र दर्ता गराएका छन्।  

 प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न रहबर  अन्सारीले पनि दल फेरेका छन्। नेकपामा आबद्ध अन्सारीले टिकट पाउने भएपछि रास्वपामा प्रवेश गर्दै बारा–४ बाट चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। मधेस प्रदेशसभामा निर्वाचित अन्सारीले पदबाट राजीनामा गरेर चुनावी मैदानमा उत्रिएका हुन्। 

नेपाली कांग्रेसका  नवलपरासीका नेताद्वय विक्रम खनाल र नरेन्द्रकुमार गुप्ता टिकट पाउनकै लागि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। नवलपरासी, बर्दघाटका खनाल नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री हुन्। त्यस्तै गुप्ता रामग्राम नगरपालिकाका पूर्वमेयर हुन्। नवलपरासी–१ बाट खनाल र नवलपरासी–२ बाट गुप्ताले मनोनयनपत्र दर्ता गराएका छन्। जन्मदेव जैसीले पनि पार्टी परिवर्तन गर्दै भक्तपुर–२ बाट उम्मेदवारी दिई चुनावी प्रचारप्रसारमा व्यस्त छन्। जैसीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। ओखलढुंगाका एमाले नेता अम्बिरबाबु गुरुङ नेकपाबाट उम्मेदवारी दिएका छन्। एमालेबाट टिकट नपाएपछि उनले दल बदल्दै उम्मेदवारी दिएका हुन्। 

नेपाली कांग्रेस त्यागेको चौबिस घण्टा पछि तनहुँका यामबहादुर खाँणले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दर्ता गरेका छन्। खाँण नेपाली कांग्रेसका पूर्वजिल्ला सदस्य हुन्। अधिवक्ता स्वागत नेपालले  यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी झापा–२ बाट उम्मेदवारी दिएका छन्।  
पुराना कार्यकर्ता निराश

रातारात दल बदल्नेहरूलाई उम्मेदवारको टिकट दिइएकोमा सम्बन्धित दलका अधिकांश कार्यकर्ताहरू असन्तुष्ट देखिएका छन्। एक असन्तुष्ट कार्यकर्ताले भने, ‘पार्टीमा गरेको योगदानको मूल्यांकन नै भएन।  असन्तुष्टमध्ये कतिपयले स्वतन्त्र रूपमा  उम्मेदवारी दर्ता गरेका छन्। लुम्बिनी प्रदेशका पूर्वमुख्य मन्त्री एवं नेकपाका नेता कुलप्रसाद केसीले टिकट नपाए पछि दाङ –१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

राजनीतिमा अबसरवाद हावी
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी अध्यक्ष पद्मिनि प्रधानाङ्ग राजनीतिमा अवसरवाद हावी हुँदै गएको बताउँछिन। ‘टिकट पाउनका लागि विचार सिद्धान्त नै नमिल्ने पार्टीमा प्रवेश गर्ने वा समाहित हुने गरेको पाइएको छ,’ प्रधानाङ्ग भन्छिन्, ‘राजनीतिकर्मीमा स्पष्ट विचारधारा, सिद्धान्त, वाद हुनुपर्छ। तर, दुःख लाग्दो पक्ष टिकट पाउनकै लागि दल बदल्ने उम्मेदवारहरूमा सिद्धान्त नै देखिएन। अवसरवाद मात्र देखियो।’

प्रधानाङ्गका अनुसार, जनतासामु प्रतिबद्धता गरेबमोजिम स्थानीय तहदेखि प्रदेशसभाबाट  राजीनामा दिई प्रतिनिधिसभामा उम्मेदवार बन्न खोज्ने प्रवृत्ति पनि अवसरवाद हो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.