गगनको आँट, मधेसको भरोसा
मलंगवा : कांग्रेस सभापति गगन थापा जब मधेसबाट चुनाव लडने निष्कर्षमा पुगे । अनि, मैथिली भाषामा बलिदानी दिवसको शुभकामना दिए । ‘पहिचान, सम्मान आसमावेशी लोकतन्त्रके संघर्ष मे अपन जीवनके आहुती देनिहार सम्पूर्ण ज्ञात, अज्ञात सहिदके बलिदानी दिवस के पूण्य अवसरमे भावपूर्ण श्रद्धाञ्जलि अर्पण करैत छि,’ थापाले सामाजिक सञ्जालमार्फत शुभकामना दिए ।
मधेसका मुद्दा र भावनाबाट कांग्रेस टाढिदै गएको आरोप लागिरहेका बेला गगनले सामाजिक सञ्जालमार्फत आफू मधेस झर्न थालेको संकेत मात्र गरेनन्, मधेसका मुद्दालाई आत्मसाथ गर्दै ऐक्यबद्धता पनि जनाए । १९ वर्षअघि मधेसमा भएको आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मधेसमा बलिदानी दिवस मनाइन्छ । गगनले ‘पहिचान, समावेशीता र मधेसको अधिकार’ का लागि भएको मधेस आन्दोलनको स्वामित्व लिने
- कांग्रेसको गढ मानिने सर्लाही–४ बाट गगनको उम्मेदवारीले राजनीतिको बजार त तात्ने नै भयो, सँगसँगै कौतुहलता पनि उस्तै छ।
- मधेसको मतबाट देशकै भावी प्रधानमन्त्री हुने व्यक्तिलाई जिताएर पठाउनुपर्ने मत बलियो
- हुन त, गगनले यसअघि पनि सर्लाहीबाट चुनाव लड्ने मनस्थिति बनाएका थिए। तर, तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाले त्यसबेला रोकेका थिए।
- कांग्रेस सभापति गगनका मुख्य प्रतिस्पर्धी मानिएका छन्– कांग्रेसबाट दुईपटक चुनाव जितेका रास्वपाका अमरेश सिंह।
काठमाडौं–४ छोडेर गगन मधेसबाट चुनाव
लड्दैछन् । कांग्रेसको गढ मानिने सर्लाही–४ बाट गगनको उम्मेदवारीले राजनीतिको बजार त तात्ने नै भयो, सँगसँगै कौतुहता पनि उस्तै छ । आफैंले सिञ्चित गरेको निर्वाचन क्षेत्र छोडेर गगन किन मधेस झरे ? सर्वस्त्र जिज्ञासा पैदा भएका छन् । किनभने, चुनावको मुखमा फरक परिवेश, फरक भेषभूषा, फरक संस्कृति र भाषा शैली भएको स्थानमा चुनाव लड्नू आफैंमा चुनौतीपूर्ण हो ।
गगनले मधेसको भरोसामा चुनाव जित्ने आँट गर्नुले पनि सर्लाहीले देशकै ध्यान तानेको छ । हुन त, गगनले यसअघि पनि सर्लाहीबाट चुनाव लड्ने मनस्थिति बनाएका थिए । तर, तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाले त्यसबेला रोकेका थिए । यसपटक भने विशेष महाधिवेशनबाट आफू नै सभापतिमा निर्वाचित भएपछि गगन मधेस झरेका हुन् ।
कांग्रेस सभापति गगन सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ क्षेत्र नं. ३ बाट उम्मेवार छन् । क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टीका महिन्द्र राय यादव र राष्ट्रिय मुक्ति क्रान्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो प्रतिस्पर्धामा छन् । राजनीतिक दलका हेभीवेट प्रतिस्पर्धामा रहेकाले सर्लाही यसपटक चुनावी प्रतिस्पर्धाका दृष्टिकोणले खास मानिएको छ ।
कांग्रेस छाडेका सिंह मुख्य प्रतिस्पर्धी
कांग्रेस सभापति गगनका मुख्य प्रतिस्पर्धी मानिएका छन्– कांग्रेसबाट दुईपटक चुनाव जितेका अमरेश सिंह । पार्टीको आन्तरिक विवादका कारण ०७९ को निर्वाचनमा सिंहले कांग्रेसबाट टिकट पाएनन् । त्यसैकारण स्वतन्त्रबाट उठे, चुनाव पनि जिते । त्यसैकारण गगनका प्रतिस्पर्धी सिंह नै मानिएका छन् । हुन त, ०४८ देखिका तीनवटा चुनाव कांग्रेसकै महन्थ ठाकुरले जितेका कारण सर्लाही–४ कांग्रेसको गढ मानिन्छ । तर, पुराना कांग्रेसी नेता ठाकुर र सिंह दुवै साथमा नहुँदा गगनलाई चुनाव जित्न चुनौतीपूर्ण देखिएको छ । तर, मुलुकको पुरानो एवं लोकतान्त्रिक पार्टीका सभापति नै आफ्नो क्षेत्रमा चुनाव लड्न आउँदा यहाँका कांग्रेसीमा भने हौसला थपिएको छ ।
थापाका कारण यसपटकको निर्वाचन त्यस क्षेत्रमा निकै नै रोचक एवं प्रतिस्पर्धात्मक हुने स्थानीय बताउँछन् । लगातार तीनपटक चुनाव जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहको उम्मेदवारीले थापालाई चुनाव आफ्नो पक्षमा पार्न निकै नै कठिन हुने स्थानीयको भनाइ छ । सिंह रास्वपामा आएपछि उनी झनै बलियो देखिएका छन् ।
बालेन्द्र शाह (बालेन) को क्रेजले युवाहरू घण्टीप्रति आकर्षित भएका देखिन्छन् । त्यसकारण सिंहले यसपटक पनि राम्रै मत ल्याउने स्थानीयको भनाइ छ । अर्कोतर्फ थापा पनि युवा र पाकाबीच त्यतिनै लोकप्रिय छन् । भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिएका कारण थापालाई जसरी पनि यस क्षेत्रबाट चुनाव जिताएर पठाउने जनमत पनि त्यत्तिकै जबर्जस्त देखिएको छ ।
महाधिवेशनले हौस्यायो
कांग्रेसको पुस २७ देखि ३० गतेसम्म विशेष महाधिवेशन भयो । पार्टीको आन्तरिक विवादका कारण सर्लाहीका सबै निर्वाचन क्षेत्रका प्रतिनिधिले महाधिवेशनमा भाग लिएनन । तर, सिरहा–४ बाट शतप्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनमा भाग लिए । अर्थात्, गगनको पहललाई समर्थन जनाए । यसबाट त्यस क्षेत्रमा पार्टीको आन्तरिक विवाद नभएको बुझाईमा थापा रहे । अनि, चुनाव लड्न थापालाई हौसला मिलेको हुन सक्ने यहाँका कांग्रेसी कार्यकर्ता बताउँछन् । कांग्रेसको आन्तरिक विवादरहित क्षेत्र रहेकाले थापाले पनि राम्रै मत पाउने कांग्रेसका स्थानीय नेता बताउँछन् । थापालाई चुनाव जिताएर प्रधानमन्त्री बनायो भने यस क्षेत्रको अझ राम्रोसँग विकास हुने मतदाता बताउँछन् ।
कांग्रेस सभापति थापा सर्लाहीमा चुनाव लड्न आउनु जिल्लावासीकै लागि सौभाग्य भएको बताउँछन्, नागरिक समाजका अगुवा रजनीकान्त झा । ‘भावी प्रधानमन्त्री बन्ने उम्मेदवारलाई जिताएर पठाउनुपर्ने त्यस क्षेत्रका नागरिकको जिम्मेवारी जस्तै हो,’ झाले भने, ‘चुनाव जितेर जानुभयो भने भोलि उहाँ प्रधानमन्त्री बन्नुहुन्छ । प्रधानमन्त्री बन्नुभयो भने त्यस क्षेत्र र समग्र सर्लाहीको विकास हुन्छ ।’ तर, केही नेता भने रास्वपाका सिंहले लगातार तीनपटक जितेकाले यसपटक पनि उनकै पल्लाभारी हुने बताउँछन् । तर, कुनै समयमा महन्थ ठाकुरको क्षेत्र भनेर चिनिएको त्यस क्षेत्रमा अमरेशले आफ्नो दबदबा कायम गरे ।
अहिले आएर थापाले पनि उनलाई उछिन्न सक्छन् । क्षेत्र नं. ४ ऐतिहासिक ठाउँ हो । जहाँका स्थानीय ठूलठूला ओहदामा पुगेका छन् । परिवर्तन गर्ने क्षेत्र भएकाले यसपटक परिवर्तन हुने संकेत देखिन्छ । त्यस क्षेत्रमा त्रिकोणात्मक भिडन्त हुने देखिन्छ । थापा, सिंह र एमालेका अमनिशकुमार यादव बीच त्रिकोणात्मक प्रतिष्पर्धा हुने झा बताउँछन् ।
जातीय मत के होला ?
एमालेबाट उम्मेदवार बनेका अमनिशकुमार यादवको पनि सर्लाही–४ मा राम्रो पकड मानिन्छ । संविधानसभा सदस्य शिवपुजन रायका छोरा अमनिशले पनि राम्रो मत ल्याउने आंकलन छ । अमनिशका बुवा शिवपुजन जुनसुकै पार्टीमा गए पनि १४/१५ हजार मत आफ्नो पक्षमा पार्ने गर्थे । तर, अमिनेशसहित जसपाबाट पूर्वमन्त्री रामेश्वर राय यादव र नेपाल कम्युनिस्ट पार्टीबाट डा. रजनिश यादवको उम्मेदवारीले जातीय मत विभाजन हुने संकेत देखिन्छ । जातीय मत विभाजन भएपछि थापा र सिंहबीच नै प्रतिस्पर्धा हुने राजनीतिका जानकार बताउँछन् ।
जेन–जी आन्दोलन र बालेनका कारण युवाहरूको रुझान बढी घण्टीतिर देखिएको बलराका अभिषेक सिंहले बताए । ‘अहिलेको माहोल घण्टीमय छ,’ उनले भने, ‘ अहिले त सिंहको पक्षमा रुझान बढी देखिन्छ ।’ अर्कोतिर, कांग्रेस सभापति थापा आफैं उम्मेदवारी दर्ता गराउन नआउँदा पनि जनताहरूमा असन्तुष्टि छ ।
थापाले प्रदेशसभा सदस्य वीरेन्द्र सिंहमार्फत वारिसनाबाट उम्मेदवारी दर्ता गरेका थिए । बाहिरबाट आएका उम्मेदवारभन्दा आफ्नै क्षेत्रका उम्मेदवार हुनुपर्ने पक्ष पनि बलियो रहेको सिंहको भनाइ छ । खासगरेर युवाहरूले गर्दा घण्टी (रास्वपा) को माहोल बढी छ । ज्येष्ठ र पाका मतदाता पनि आफ्ना सन्तानको जोडबलमा घण्टीमा मोडिन सक्ने सम्भावना बढी रहेको छ ।
तर, मधेसको मतबाट देशकै भावी प्रधानमन्त्री हुने व्यक्तिलाई जिताएर पठाउनुपर्ने मत पनि उस्तै बलियो छ । ‘हाम्रो क्षेत्रले प्रधानमन्त्रीको उम्मेदवार पाएकाले उहाँलाई जिताएर पठाइयो भने यो क्षेत्रका लागि राम्रो हुन्छ,’ नागरिक समाजका अगुवा एवं बसबरिया गाउँपालिकाका शिवचन्द्र चौधरीले भने, ‘थापा परिवर्तनका पक्षधर हुन् । उहाँले जित्नुभयो भने जिल्लाका लागि राम्रो हुनेछ । अहिले सुरुवाती चरण छ । कसको पक्षमा बढी मत जान्छ त्यो अहिले नै भन्न सकिने अवस्था छैन ।’
काठमाडौंबाट चुनाव लडन आएकाले थापालाई केही कठिनाइ हुने चौधरीले बताए । अहिलेसम्मको इतिहासले बाहिरबाट आएका उम्मेदवारलाई सर्लाहीले स्वीकार नगरेको अवस्था पनि छ । सूर्यबहादुर थापा, झलनाथ खनाल, गजेन्द्रनारायण सिंहजस्ता हस्ती नेताहरू पनि सर्लाहीबाट जित्न नसकेको चौधरीले बताए । निर्वाचन क्षेत्रका ५१ वटै वडामा कांग्रेसको संगठन राम्रो रहेकाले थापाको पक्षमा बलियो मत आउने सम्भावना छ । तर, युवाहरू बढी घण्टीतिर लागेका छन् । बालेनको क्रेज र जेन–जी आन्दोलनले युवाहरूलाई घण्टीतिर तानेको देखिन्छ ।
झापा–५ बाट उम्मेदवारी दिएका बालेन र सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा दुवैलाई जनताले जिताए भने देश र जनताका लागि राम्रो हुने चौधरीले बताए । कांग्रेस सभापति थापा र नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाहीबाट चुनावी मैदानमा उत्रेपछि देशभरको ध्यान जिल्लाले तानेको छ । यता महिन्द्र राय यादव र राजेन्द्र महतोको तेस्रो पटकको लडाइँले पनि जिल्लामा चुनावी सरगर्मी बढाएको छ ।
मधेसका मुद्दाप्रति ऐक्यबद्धता
कुनै बेला मधेस कांग्रेसको गढ थियो । तर, कांग्रेसले मधेसका माग बेवास्ता गरेको भन्दै कांग्रेसका थुप्रै नेताले पार्टी छोडे । मधेस केन्द्रित दलमा समाहित भए । पार्टीका नेता/कार्यकर्ताले पनि मधेसका मुद्दाबारे नेतृत्वको ध्यानाकर्षण गराइरहे । त्यसैकारण पनि गगन मधेसका मुद्दासँग साइनो जोडेर कांग्रेसलाई मधेसमा पुनः बलियो बनाउने रणनीतिमा लागेको उनी निकट नेताहरू बताउँछन् । विगतमा मधेस आन्दोलनको स्वामित्व लिन कांग्रेस ‘हच्किरहेका’ बेला गगनले मधेस आन्दोलनको समर्थन जनाउँदै चुनावी अभियान सुरु गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !