election background

प्रतिनिधि सभा निर्वाचन २०८२

युवतीलाई पीसीओडीको पिरलो

युवतीलाई पीसीओडीको पिरलो

युवतीहरूमा महिनावारी नियमित नहुने समस्या देखिएको छ । अनुहारमा पुरुषको झैं रौं आउने लक्षणले सताएको छ । बाँझोपनसमेत गराउन सक्ने पिरलो महिलामाझ बढ्दै गएको छ । प्रजनन उमेरका युवती एवं अधबैंसे महिलाहरू पोलिसिस्टिक ओभेरियन डिजिज (पीसीओडी)बाट पीडित छन् । 

के हो पीसीओडी ? 

पोलिसिस्टिक ओभेरियन डिजिज (पीसीओडी)लाई अहिले पोलिसिस्टिक ओभरी सिन्ड्रोम पनि भनिन्छ । संसारभरि नै प्रजनन उमेरका महिलामा सबैभन्दा बढी देखिने हर्मोनल असन्तुलन तथा मेटाबोलिक असन्तुलनहरूमध्ये पीसीओडी प्रमुख हो । 

चिकित्सकीय विज्ञानमा पर्याप्त अण्डा उत्पादन नहुने (ओलिगो–एनोभुलेसन), पुरुष हर्मोनको बढी उत्पादन हुने (हाइपरएन्ड्रोजेनिज्म) र अण्डाशयमा साना–साना फोका अर्थात् सिस्टहरू भएको (पोलिसिस्टिक ओभेरियन मोर्फोलोजी) यी तीन पक्ष भएको अवस्थालाई पोलिसिस्टिक ओभेरियन डिजिज् (पीसीओडी) परिभाषित गरिन्छ । तर यसको प्रभाव अझ गहिरो छ । पीसीओडीले महिलाहरूमा मधुमेह, हृदयघात, एन्डोमेट्रियल क्यान्सर तथा मानसिक तनावको जोखिम उल्लेखनीय रूपमा बढाउने गरेको अध्ययनहरूले देखाएको छ । 

पीसीओडी भएका अधिकांश महिलामा मोटोपना हुन्छ। पुरुषको जस्तै छालामा रौंहरू आउन थाल्छन्। तनाब बढ्ने हुन्छ। अल्ट्रासाउन्ड गर्दा पीसीओडी भए, नभएको पत्ताा लाग्छ। अण्डाशयमा धेरै फोलिकलहरूसँगै सिस्टहरू देखिएमा पीसीओडी पुष्टि हुन्छ।

विशेषगरी दक्षिण एसियाली मुलुकहरूमा पीसीओडीको समस्या अझ बढ्दो छ । दक्षिण एसियाका धेरै महिलाहरूमा इन्सुलिन प्रतिरोध (इन्सुलिन रेजिस्टेन्स) को प्रवृत्ति रहेको पाइन्छ । हाम्रा सामाजिक प्रथाहरू तथा तीव्र गतिमा बढ्दो सहरीकरणले यो समस्यालाई अझ बढाइदिएको छ । महत्त्वपूर्ण कुरा के हो भने, धेरै दक्षिण एसियाली महिलामा सामान्य शारीरिक तौल बढ्दा पनि गम्भीर मेटाबोलिक समस्याहरू थपिने गरेका छन् । र, पीसीओडी पनि यस्ता मेटाबोलिक समस्याहरूमध्ये एक हो । 

विश्वव्यापी रूपमा, पीसीओडीले ६ देखि २० प्रतिशतसम्म प्रजनन उमेरका महिलालाई असर गरेको अनुमान गरिन्छ । नेपालमा ९ देखि १० प्रतिशत प्रजनन उमेरका महिलाहरूमा पीसीओडीको समस्या रहेको अध्ययनहरूले देखाएको छ । यो अझ ३५ वर्ष नपुगेका र सहरी क्षेत्रमा बढी हुने गरेको विज्ञहरूको विश्लेषण रहेको छ । पाकिस्तानमा गरिएको एक अध्ययनले सहरी क्षेत्रमा यो समस्या २५ देखि ३० प्रतिशत अर्थात् एक तिहाइ प्रजनन् उमेरका महिलाहरूमा भएको देखाएको छ । पाकिस्तानको खानपान, रहनसहन नेपालभन्दा धेरै फरक नरहेकाले नेपालमा पनि राम्रो अध्ययन गर्ने हो भने धेरै फरक तथ्यांक नहोला भन्न सकिन्छ । 

पीसीओडी कुनै जीवाणुका कारणले हुने समस्या होइन । यो एक जनाबाट अर्कोमा सर्दैन । तर प्रभावित दर बढ्दो छ, महामारी जस्तै । यो समस्या कुनै एउटा कारणले उत्पन्न हुनेभन्दा पनि धेरै वटा पक्षहरूसँग जोडिएको हुन्छ । ती कारणहरूमा वंशाणुगत वा हाम्रो जिनसँग पनि जोडिएको हुन्छ भनी व्याख्याहरू पाइन्छ । ‘दक्षिण एसियाली फिनोटाइप’ अर्थात् हाम्रो शरीरमा पश्चिमी देशका नागरिकका तुलनामा बढी बोसो (विशेषगरी आन्तरिक बोसो) हुन्छ र कम मांसपेशी हुने गरेको पाइन्छ । यो नै पीसीओडीलगायत अन्य पनि मेटाबोलिक समस्याहरूको प्रमुख कारक हो भनी विश्लेषण गरिएको पाइन्छ । त्यस्तै सामान्य तौल भएकाहरूमा पनि पोषणको सन्तुलन नभएमा इन्सुलिन रेसिस्ट्यान्ट हुने र पीसीओडी हुने गरेको देखिएको छ । यसमा आमाको कुपोषण पनि पर्छ । 

गर्भावस्थामा कुपोषण वा पोषक तत्त्व पुगेको हुँदैन । पोषण–कमीको वातावरणमा गर्भको शिशु (भ्रूण) विकास हुन्छ । त्यस्ता भू्रणहरूमा कम पोषक तत्त्वमा बाँच्नको लागि मेटाबोलिक प्रोग्रामिङ हुन्छ । जन्मपश्चात् त्यो बच्चा अति–पोषण प्राप्त गर्छ । र सेडेनटरी (शारीरिक रूपमा आराम) जीवनशैली अपनाउँछ । त्यसमा गम्भीर असन्तुलन सिर्जना हुन्छ । यसले प्रारम्भिक इन्सुलिन रेसिस्टेन्ट हुने, इन्सुलिन उत्पादन गर्ने बिटा–कोषहरूले काम गर्न नसक्ने हुन्छ । र यो सँगसँगै पीसीओडी समस्याको जन्म हुन्छ भनेर कतै कतै व्याख्या गरिएको पाइन्छ ।

जीवनशैलीमा धेरै छिटो परिवर्तन गरिए पनि पीसीओडीको जन्म हुन सक्छ । पछिल्लो चरणमा बढ्दो सहरीकरणले धेरैको जीवनशैलीमा परिवर्तन ल्याएको छ । यसले कम्प्लेक्स कार्बोहाइड्रेट र फाइबरयुक्त हाम्रा परम्परागत खानालाई उच्च–ग्लाइसेमिक–सूचकांक भएको खाना, अस्वस्थ बोसो र अल्ट्रा–प्रोसेस्ड खानाले विस्थापन गरिरहेको छ । सेनेटरी जीवनयापन, शारीरिक व्यायाममा कमी र उच्च–ग्लाइसेमिक–सूचकांक भएको खानाले ‘मोटापन’लाई जन्म दिएको छ । यसले मधुमेह, उच्च रक्तचापलगायत पीसीओडीलाई पनि निम्त्याउँदैछ । त्यस्तै अनियमित महिनावारीलाई सामान्य रूपमा लिने, स्वास्थ्यप्रति सजगता नअपनाउने, पूर्णरूपमा उपचार नखोज्ने जस्ता प्रवृत्तिहरूले पनि पीसीओडी समस्या झ्यागिँदै गएको छ । 

पीसीओडीसँगै मधुमेहको जोखिम
पीसीओडीलाई समयमा नै बुझ्नु चाहिँ आवश्यक छ । पीसीओडी भएका महिलाहरूमा मधुमेह हुन सक्ने जोखिम सोही उमेरका अन्य महिलाहरूभन्दा ४ देखि ७ गुणाले बढी हुन्छ । त्यस्तै यिनीहरूमा बोसोको सन्तुलन कायम नभएकाले वा मोटोपन हुने सम्भावना बढी हुन्छ । जसले गर्दा उच्च रक्तचाप तथा हृदयघातको सम्भावनालाई पनि बढाउने हुन्छ भनी विज्ञहरूको तर्क छ । त्यस्तै पीसीओडी भएका महिलाहरूमा गर्भ तथा प्रसवमा पनि जोखिमहरू बढी हुन्छन् । गर्भावस्थामा मधुमेह (जीडीएम), प्रिइक्लेम्प्सिया, प्रिर्टम अर्थात् गर्भको अवधि नै नपुगेर प्रसव र म्याक्रोसोमिया (ठूलो बच्चा)को सम्भावनाहरू समान्य अवस्थाभन्दा बढी हुन्छ । त्यस्तै यिनीहरूमा इन्डोमेट्रियल हाइपरप्लेसिया र क्यान्सरको जोखिम पनि रहन्छ । पीसीओडीको समस्या मेटाबोलिक, प्रजनन र मानसिक स्वास्थ्यको लागि खतरा बन्दै गएको छ । 

कसरी थाहा पाउने ? 
आफूलाई पीसीओडी भएको हो, होइन पत्ता लगाउन गाह्रो छैन । समान्यतया यसका लक्षणहरू र केही परीक्षणबाट पीसीओडी निदान गर्न सकिन्छ । प्रजनन उमेरका महिलाहरू अर्थात् किशोरीदेखि महिनावारी नसुकेका महिलाहरूमा महिनावारी चक्रमा अनियमितता हुने नै पहिलो लक्षण हुन सक्छ । 

ओलिगोमेनोरिया (कम महिनावारी) वा एमेनोरिया (महिनावारी नहुनु) सबैभन्दा सामान्य र पहिलो लक्षण हो । यसबाहेक हाइपरएन्ड्रोजेनिज्म अर्थात् पुरुषमा हुने एन्ड्रोजेन हर्मोन बढी हुने हुन्छ । र, यसबाट शारीरिक परिवर्तन देखिन सक्छ । पुरुषको जस्तै छालामा रौं आउने, गालामा जुँगा–दाह्री आउने हुन सक्छ । 

कसैकसैको स्वर पनि पुरुषको जस्तो हुन सक्छ । महिलाहरूमा हाइपरएन्ड्रोजेनिज्म भएमा मानसिक तनाव पनि बढ्न सक्छ । अर्को महत्त्वपूर्ण लक्षण चाहिँ बाँझोपन हो । धेरै महिलाहरू यही समस्याका कारण उपचार गराउन बाध्य हुन्छन् । यसमा अण्डा उत्पादन नभएकाले बाँझोपन भएको हुन्छ । पीसीओडीको समस्या भएका युवती एवं महिलामा प्रायः मोटोपना हुन्छ । यी लक्षणहरू हुँदैमा पीसीओडी भएको भन्न चाहिँ पाइँदैन । पीसीओडी नै भएको प्रमाणित गर्न अल्ट्रासाउन्डको मद्दत लिनुपर्छ । अण्डाशयमा धेरै फोलिकलहरूसँगै सिस्टहरू अल्ट्रासाउन्डले देखाएपछि पीसीओडी निदान गर्न सकिन्छ । यसबाहेक हर्मोनका परीक्षणहरू पनि गर्न सकिन्छ । जुन उपचारमा पनि सहयोगी हुन्छन् । 

रोग लाग्नुभन्दा लाग्न नदिनु नै उत्तम हो । पीसीओडीका लागि पनि केही उपाय अपनाउन सकिन्छ, त्यो हो जीवनशैलीमा परिमार्जन । यसका लागि मोटोपनबाट जोगिनुपर्छ । सक्रिय जीवनशैली, स्वस्थ खानपान र शारीरिक व्यायामले वजन नियन्त्रण गर्नु नै पीसीओडीको प्रभावकारी उपाय र उपचार हो । उच्च ग्लाइसेमिक सूचांक भएका खानालाई कम गर्ने, प्रोटिन र फाइवरयुक्त खानालाई प्राथमिकतामा राख्ने गर्नुपर्छ । यसबाहेक शारीरिक व्यायाम, योग गर्न सकिन्छ । महिलाहरूले नियमित एरोबिक वा डान्स गर्नु उपयुक्त हुन सक्छ । 

पीसीओडीमा उपचार नगर्ने भन्ने चाहिँ होइन । महिनावारी नियमित गराउन कै लागि खासै औषधि सेवन गर्नु आवश्यक नहुन सक्छ । तर हाइपरएन्ड्रोजेनिज्मका लागि वा महिनावारी नभएर मानसिक तनाव भएको छ भने औषधि आवश्यक हुन्छ । यस अवस्थामा ओसीपी अर्थात् गर्भनिरोधक चक्कीहरू प्रयोग गरिन्छ । त्यस्तै एन्टि–एन्ड्रोजेनहरू पनि प्रयोग गर्नुपर्ने हुन सक्छ । त्यस्तै इन्सुलिन रेसिस्टेन्ट भएको अवस्थामा मेटफोरमिन प्रयोग गर्न सकिन्छ । यसले मेटाबोलिक अवस्था सुधार गरेर महिनावारी पनि नियमित गराउन तथा अण्डा उत्पादनमा पनि मद्दत गर्न सक्छ । पीसीओडीमा सबैभन्दा बढी उपचार चाहिने भनेको बाँझोपनका लागि नै हो भन्दा फरक नपर्ला । यस अवस्थामा लागि गर्भनिरोधक चक्कीहरू प्रयोग गर्न नमिल्ने हुन्छ । अण्डा उत्पादनकै लागि लेट्रोजोल क्लोमिफिन साइट्रेटजस्ता औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ । पछिल्लो चरणमा प्रजननका धेरै नै विकल्पहरू सफल भइसकेका छन् । पीसीओडीका कारण भएको बाँझोपनमा उपचार गर्न नसकिएला भनेर चिन्ता लिनु उपयुक्त हुँदैन । 

पीसीओडी समस्याका बारेमा पर्याप्त छलफल हुन सकेको छैन । यस समस्याको बारेमा सचेतना जगाउन पनि अपरिहार्य छ । त्यस्तै थप अध्ययन, खोजको खाँचो छ । जसका कारण जीवनशैली परिवर्तनलाई सहज बनाउँछ । यो समस्या हुनै नदिन उपयुक्त जीवनशैली अपनाउनुपर्छ । लक्षण देखिएमा समयमै परीक्षणपश्चात् समाधानका लागि प्रभावकारी उपाय अपनाउन सकिन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.