३४ वर्षदेखि नेमकिपाको ‘गढ’ मा कस्तो होला आसन्न निर्वाचन ?
काठमाडौं : फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन आउन अब २८ दिन मात्र बाँकी छ । सरकारले आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न बुधबारदेखि नै करिव ८० हजार नेपाली सेना परिचालन गरिसकेको छ ।
यस पटकको आसन्न निर्वाचनमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह (बालेन्द्र) उम्मेदवार रहेको झापा क्षेत्र नम्बर–५ साथै भर्खरै नेपाली कांग्रेसको सभापति पदमा पुगेका गगन थापाको सर्लाही क्षेत्र नम्बर–४ सबै भन्दा बढी चासो र चर्चामा रहेको छ ।
ओली र थापाबाहेक अन्य दलका शीर्ष नेताहरूका चुनावी क्षेत्र यसपटक ओझेलमा परिरहेका बेला चुनावी ‘इपी सेन्टर’ नभए पनि भक्तपुर क्षेत्र नम्बर–१ को हरेक निर्वाचनमा बेग्लै चर्चा र चासो हुने गरेको छ । २०४८ सालदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढको रुपमा चिनिएको भक्तपुर क्षेत्र नम्बर–१ हरेक निर्वाचनमा जस्तै यस पटक पनि सबैको नजरमा परेको छ ।
४८ सालदेखिका हरेक चुनावमा जित हात पार्दै आएको भक्तपुर–१ नेमकिपाको गढ र नारायणमान बिजुक्छे ‘रोहित’ को किल्लाको रुपमा चिनिएको छ। भक्तपुर–१ मा ३४ वर्षदेखिको नेमकिपाको गढलाई कसले धक्का देलान् वा नदेलान् भनेर हरेक चुनावमा बहस हुने गरेको छ । दुई नगरपालिकाको भक्तपुर–१ ले नेपाल मजदुर किसान पार्टीको किल्लाको पहिचान बनाएको छ । २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको हो । भक्तपुर–१ संसदीय निर्वाचन क्षेत्रमा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका समावेश गरिएको छ ।
नारायणमान विजुक्छे ‘रोहित’ ०४८ सालदेखि २०७० सालसम्म लगातार पाँच पटक नेमकिपाबाट निर्वाचित हुँदै संसद छिरेका थिए । अध्यक्ष ‘रोहित’ ले ०७४ मा उम्मेदवारी दिएनन् । उनले संसदीय राजनीतिबाट विश्राम लिएका छन् । विजुक्छेले संसदीय राजनीतिबाट विदा लिए पनि भक्तपुर–१ मा उनकै पार्टीका प्रेम सुवाल निर्वाचित हुँदै आएका छन् ।
सुवाल तेस्रो पटक पनि नेमकिपाका उम्मेदवार बनेर फागुन २१ को चुनावी मैदानमा छन् । २०४८, २०५१, २०५६, २०६४ र २०७० गरेर पाँच पटक नेमकिपाका अध्यक्ष बिजुक्छेले यस क्षेत्रमा निरन्तर चुनाव जितेका छन् । त्यसपछि २०७४ र २०७९ मा नेमकिपाका सचिव प्रेम सुवालले प्रत्यक्षतर्फ चुनाव जिते । त्यसो त २०७० मै समानुपातिकबाट दोस्रो संविधानसभामा सुवालले यात्रा थालनी गरेका थिए ।
सुवालसँग प्रतिष्पर्धा गर्न नेपाली कांग्रेसले किरण न्यौपानेलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा एमालेले सोमप्रसाद मिश्रलाई मैदानमा उतारेको छ । यो क्षेत्रमा पार्टीका १६ र नौं स्वतन्त्रसहित २५ उम्मेदवार चुनावी घम्साघम्सीमा छन् ।
भक्तपुर–१ मा अरु को–को छन् चुनावी भिडन्त ?
संसदमा खरो एजेण्डा उठाउँदै आएका नेमकिपाका प्रेम सुवाल यस पटकको चुनावमा पनि दोहोरिएका छन् । एमालेबाट चाँगुनारायण नगरपालिकाका पूर्व मेयर सोमप्रसाद मिश्र र नेपाली कांग्रेसबाट नेपाल बार एशोसिएसन भक्तपुरका पूर्व अध्यक्ष किरण न्यौपाने प्रतिष्पर्धामा छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जित, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का, आम जनता पार्टीका देवेन्द्र ठाकुर, उज्यालो नेपाल पार्टीका रमेश बल्ल, राष्ट्रिय जनमोर्चाका ईश्वरीप्रसाद पैयानी, मितेरी नेपाल पार्टीबाट सावित्री न्यौपाने र नेपालका लागि नेपाली पार्टीका दीपक पोखरेल मैदानमा छन् ।
यस्तै जसपा नेपालका श्यामसुन्दर शिल्पकार, नेकपा माओवादीका चन्द्रमान कोजु, श्रम संस्कृति पार्टीका विष्णुहरि न्हिसुतु, नेकपा संयुक्तका दामोदर काफ्ले, प्रगतिशील लोकतान्त्रिक पार्टीका रवि खाइजु उम्मेदवार छन् । यस्तै बालकृष्ण खाइतु, सुरेश कोजु, दशरथ थापा, राजु श्रेष्ठ, पुण्यराम सुवाल, सुदीप न्यौपाने, राजेश्वरी प्रजापति, विष्णुराम दमरु र सुजिता बुढाथोकीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
स्थानीय तह पनि नेमकिपाकै कब्जामा
भक्तपुर नगरपालिका सबै (१०) वडा र चाँगुनारायण नगरपालिकाका सबै (९) वडा यो निर्वाचन क्षेत्रमा पर्छन् । भक्तपुर नगरपालिकाका प्रमुख उपप्रमुखसहित १० मध्ये १० वटै वडा नेमकिपाले जितेको छ । यता चाँगुनारायण नगरपालिका भने कांग्रेसको नेतृत्वमा छ ।
चाँगुनारायणमा प्रमुखसहित नौंमध्ये चार वडा कांग्रेसले जितेको छ । उपप्रमुखसहित एमालेले दुई वटा वडा जितेको छ । उता राप्रपाले दुई वटा वडा जितेको छ । नेमकिपा चाँगुनारायण नगरपालिकामा भने एउटा वडामा मात्र सीमित छ । २०४८ यता लगातार नेमकिपाले जितेको भक्तपुर–१ मा कुनै दल प्रतिष्पर्धीका रुपमा समेत देखिएका छैनन् ।
यस कारण पनि यो क्षेत्र अन्य शीर्ष नेताहरुको निर्वाचन क्षेत्र सरह चर्चा, समीक्षा र बहसको केन्द्र बन्ने गरेको छ । यसपालि नतिजा फेर्ने आकांक्षासहित दल तथा स्वतन्त्र उम्मेदवार मैदानमा खरो उत्रिने रणनीतिमा छन् । भक्तपुर क्षेत्र नम्बर–१ मा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला गरी कुल एक लाख ७ हजार ४४ मतदाता छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा भक्तपुर–१ का उम्मेदवारले अधिकतम २९ लाख र क्षेत्र नम्बर २ का उम्मेदवारले २७ लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउने व्यवस्था गरिएको छ । नेमकिपाले आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
६७ पुरुष र ५३ महिलालाई उम्मेदवार बनाएको नेमकिपाले बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवा बाहेक १२ जिल्लामा उम्मेदवार खडा गरेको छ । कर्णाली प्रदेशमा सात जिल्लाका नौं निर्वाचन क्षेत्रमा एक महिलासहित नौं जनालाई उम्मेदवार बनाएको छ । कोशी प्रदेशका १२ जिल्लामा आठ महिला र १३ पुरुष, मधेस प्रदेशका आठ जिल्लामा ६ महिला र १६ पुरुषलाई उम्मेदवार बनाउँदै प्रतिष्पर्धामा उतारहेको छ ।
अरु दलले किन भत्काउन सकिरहेका छैनन् नेमकिपाको गढ ?
अन्य निर्वाचन क्षेत्रबारे पूर्व अनुमान गर्न नसकिए पनि भक्तपुर–१ मा जित निश्चित जस्तै मानिन्छ । २०७९ को निर्वाचनमा नेमकिपाका प्रेम सुवालले ४२ हजार ७६१ मत प्राप्त गरेर विजयी बनेका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गरेका थिए । ३० हजार ७९३ मतको फराकिलो मतान्तरले सुवालले जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले ९,३०३ मत पाएर तेस्रो स्थान बनाएका थिए । यस्तै ३३ हजार ८५१ मत प्राप्त गरेको नेमकिपाले समानुपातिकतर्फ पनि लोकप्रिय मत प्राप्त गरेको थियो ।
किसान आन्दोलनबाट जन्मिएको नेमकिपाले २०२१ सालमा भूमिसुधार लागु भएपछि किसानलाई मोहियानी हक दिलाउन निर्णायक संघर्ष ग¥यो । किसानहरुलाई मोहियानी हक दिलाउन पार्टीका नेता कार्यकर्ताहरु किसानका खेतमा पुगेर आफैंले बाली काट्ने र भित्र्याउने काम गरे । किसानलाई जोताहा हक दिलाए । भक्तपुरवासीलाई मोहियानी हक दिलाउने संघर्षको लडाइँमा नेमकिपाका नेता, कार्यकर्तालाई चोरी, ठगी र लुटपाटको मुद्दा मात्र लागेन, कतिपय कार्यकर्ता घाइते र अपाङ्ग बन्नु परेको थियो ।
नेमकिपाले २०२५ सालदेखि नै भ्रष्टाचार विरोधी अभियानलाई तीव्र बनायो । कृषि सहकारी र स्थानीय साहु–महाजनका गलत क्रियाकलापविरुद्ध बुलन्द आवाज उठायो । भक्तपुर उपत्यकाको प्रमुख पर्यटकीय स्थल हो । यहाँका सांस्कृतिक सम्पदाको संरक्षणमा नेमकिपाले विशेष भूमिका खेलेको छ । शिक्षा, स्वास्थ्य र सडकको विस्तार र विकासका लागि नेमकिपाले नमुना काम गरेको छ ।
२०५८ सालमा स्थापना भएको ख्वपः इन्जिनियरिङ कलेजले सर्वसुलभ शुल्कमा इन्जिनियरिङ पढाउँदै आएको छ । सामुदायिक विद्यालय गुणस्तरीय र निःशुल्क बनाएको छ । स्वास्थ्य परीक्षण गर्न घरघरमा नर्सहरू पठाउँछ । भक्तपुर नगरपालिकाले ६ वटा शिशु स्याहार केन्द्र, ६ वटा ओभरसियर पढाउने कलेज, ३ वटा जनस्वास्थ्य कार्यालय सञ्चालन गरेर सेवा प्रदान गरिरहेको छ ।
नगरभित्र पुरानो बस्तीमा कसैले नयाँ घर बनाउँदा पुरानो शैली मास्न नपाउने नियम छ । पुरानै स्वरूपका घर निर्माणलाई प्रोत्साहन गर्न ३५ प्रतिशत नगरपालिकाले अनुदान दिन्छ । सबै वडामा स्वास्थ्य जाँचको व्यवस्था छ । भक्तपुरका मतदाताहरुका अनुसार नेमकिपाले शिक्षा, स्वास्थ्य, सरसफाइ र सडक राम्रो काम गरेको छ ।
अघिल्ला चुनावहरू बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्वल’ नेतृत्वको नेकपा (माओवादी) पनि पहिलो पटक संसदीय निर्वाचनको प्रतिष्पर्धामा आएको छ । भक्तपुर–१ मा नेकपा (माओवादी) बाट चन्द्रमान कोजु प्रतिष्पर्धामा उत्रिएका छन् । जेनजी विद्रोहपछि देशमा फरक परिस्थिति बनेपछि नेकपा (माओवादी) पनि चुनावमा भाग लिन तयार भएको हो ।
प्रतिक्रिया दिनुहोस !