गगनको अनुपस्थितिमा काठमाडौं-४ को राजनीतिक परीक्षा

पराजयको शृंखला तोड्न राजन भट्टराईलाई कतिको छ सहज ?

गगनको अनुपस्थितिमा काठमाडौं-४ को राजनीतिक परीक्षा

काठमाडौं : करिब दुई दशकदेखि नेपाली कांग्रेसको ‘कब्जा’मा रहँदै आएको काठमाडौं-४ राष्ट्रिय राजनीतिमा सधैं चासो र चर्चामा रहने गरेको छ। नेपाली कांग्रेसका वर्तमान सभापति गगनकुमार थापाको राजनीतिक उदयसँगै चर्चामा रहेको यो निर्वाचन क्षेत्र उनले छाडेर मधेस झर्दा पनि उत्तिकै चासोमा परेको छ।  यो क्षेत्र २०६४ देखि निरन्तर नेपाली कांग्रेसले जित्दै आएको छ।

लगातार ‘ह्याट्रिक’ गरेका युवा नेता गगन थापा यसपटक पार्टी सभापतिको जिम्मेवारीमा आएसँगै मधेस झरेका छन्। २०७० सालदेखि लगातार चुनाव जित्दै आएका थापा सर्लाहीको निर्वाचन क्षेत्र नम्बर-४ मा ओर्लिएका हुन्। उनी मधेस झरेपछि काठमाडौं-४ राजनीतिक परीक्षणको ‘प्रयोगशाला’ जस्तै बनेको छ।

संविधानसभा निर्वाचनमा एमालेका निर्मल कुइँकेल र माओवादीका नन्दकिशोर पुनलाई पराजित गर्दै उदाएका थापाले २०७४ र २०७९ मा एमाले सचिव रहेका राजन भट्टराईलाई पराजित गरेका थिए। २०७४ मा २१ हजार ५५८ मत र २०७९ मा २१ हजार ३०२ मत ल्याउँदै उनले आफ्नो पकड बलियो बनाएका  थिए। पछिल्लो निर्वाचनमा गठबन्धनको बल भए पनि गगनको व्यक्तिगत लोकप्रियता पनि निर्णायक बनेको थियो। बदलिएको राजनीति परिस्थितिमा गगनको अनुपस्थितिमा पनि यो क्षेत्र अन्य दलहरू र उम्मेदवारका लागि परीक्षा बनेको छ। 

गगन थापाले काठमाडौं-४ छाड्नु आकस्मिक निर्णय थिएन। अघिल्लो निर्वाचनदेखि नै क्षेत्र परिवर्तनको मनस्थितिमा गगन रहेको उनी निकटहरूले बताउँछन्। तर, नेतृत्व तहको समीकरण र टिकट वितरणको रस्साकस्सीले उनलाई यही क्षेत्रमा रोकेको थियो। यस पटक भने विशेष महाधिवेशनबाट कांग्रेस सभापति बनेसँगै उनले क्षेत्र परिवर्तन मात्र गरेनन्, आफ्नै राजनीतिक प्रयोगको जिम्मा नयाँ पुस्तालाई सुम्पिए।

३३ वर्षीय सचिन तिमल्सेनालाई उम्मेदवार बनाएर थापाले ‘विरासत’ जोगाउनेमात्र होइन, युवा नेतृत्वलाई अगाडि सार्ने सन्देश दिन खोजेको देखिन्छ। गगनको नाम, प्रभाव र व्यक्तित्व बिना कांग्रेसले आउँदो फागुन २१ को निर्वाचनमा काठमाडौं-४ जोगाउन सक्छ कि सक्दैन सबैको चासोको विषय बनेको छ। 

काठमाडौं-४ को निर्वाचन इतिहासमा यो क्षेत्र व्यक्ति विशेषसँग जोडिएको देखिन्छ। २०६४ मा कांग्रेसकी सुप्रभा घिमिरे विजयी भएकी थिइन्। २०७० मा गगन थापाले एमालेका निर्मल कुइँकेल र माओवादीका प्रभावशाली नेताहरूलाई पराजित गर्दै दमदार उदय गरे। त्यसपछि २०७४ र २०७९ मा पनि उनी एमालेका प्रभावशाली नेता राजन भट्टराईलाई हराउँदै जितलाई निरन्तरता दिए। यी जितहरू केवल दलगत समर्थनका कारण मात्र थिएनन्, गगनको आक्रामक शैली, संसदमा उनको प्रस्तुति र ‘सम्भावित भावी प्रधानमन्त्री’ को छविले पनि मतदातालाई तान्यो । यही कारणले धेरैले काठमाडौं-४ लाई ‘गगनको क्षेत्र’ का रुपमा चिन्न थालेका थिए।

तर राजनीतिमा रिक्तता कहिल्यै रहँदैन। गगन मधेस झेरेपछि खाली ठाउँ भर्न सबै दल र उम्मेदवार अहिले उत्साहका साथ मतदाता रिझाउन मैदानमा खटिइरहेका छन्। एमालेका उम्मेदवार राजन भट्टराई तेस्रो पटक यही क्षेत्रमा चुनावी मैदानमा छन्। दुई पटक गगनसँग पराजित भट्टराई यस पटक परिस्थिति अनुकूल ठानिरहेका छन्। भट्टराई राष्ट्रिय राजनीतिमा सक्रिय, परराष्ट्र मामिलाका जानकार र संगठनात्मक रूपमा अनुभवी नेता हुन्। गगन नभएको चुनावमा आफ्नो विगतको हारको श्रृंखला तोड्ने दाउमा भट्टराई छन्। 

तर भट्टराईका लागि चुनौती सजिलो छैन। काठमाडौं-४ मा एमालेको संगठन बलियो भए पनि मतदाताको मनोविज्ञान एकनासको देखिँदैन। स्थानीय तहका नतिजाले देखाउँछन्–बुढानीलकण्ठ नगरपालिकाका धेरै वडा एमालेले जितेको भए पनि संसदीय चुनावमा मतदाताले फरक निर्णय गर्दै आएका छन् । यस पटक पनि दलभन्दा उम्मेदवारको छवि, प्रतिबद्धता र स्थानीय मुद्दा हेर्ने मनस्थितिमा मतदाता देखिएका छन् । खानेपानी, कपन क्षेत्रको डुबान समस्या, सडकको अवस्था, फोहोर व्यवस्थापन जस्ता पुराना तर समाधान नभएका मुद्दाले मतदातालाई सोंच्न वाध्य बनाएको छ ।

गगन नभएकै मौकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि जित निकाल्न सकिने अवसर देखेको छ । पुकार बमलाई उम्मेदवार बनाएर रास्वपा काठमाडौं-४ मा ‘परिवर्तनको विकल्प’ बन्ने प्रयासमा छ। अघिल्लो निर्वाचनमा काठमाडौं–१ बाट पराजित बम यस पटक क्षेत्र परिवर्तन गरेर आएका छन्। महिला अधिकार, पारदर्शी काम र जवाफदेही नेतृत्व मुख्य एजेण्डा बनाएका उनी रास्वपाको राष्ट्रिय लहर काठमाडौं-४ मा पनि काम लाग्ने विश्वासमा छन्।

कांग्रेस उम्मेदवार सचिन तिमल्सेना भने सबैभन्दा कठिन भूमिकामा छन्। उनी गगनको विरासत बोकेर मैदानमा छन्। युवा, स्थानीय समुदायसँग जोडिएको र पार्टीभित्र सक्रिय रहेको उनको परिचय भए पनि मतदाताका लागि उनी नयाँ अनुहार हुन्। ‘गगनको मान्छे’ हुनु फाइदा पनि हो र बोझ पनि। फाइदा यस अर्थमा कि कांग्रेसको परम्परागत मत र गगनप्रतिको सद्भाव उनीतर्फ सर्न सक्छ। बोझ यस अर्थमा कि मतदाताले उनलाई गगनसँग तुलना गर्नेछन्, जुन तुलना कुनै पनि नयाँ उम्मेदवारका लागि सजिलो पक्कै हुँदैन।

यसबीच साना दल र स्वतन्त्र उम्मेदवारहरूको संख्या पनि उल्लेखनीय छ। २८ उम्मेदवारको भीडमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुरेन्द्रराज भण्डारी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का इन्द्रकुमार भुसाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, विभिन्न साना दल र १० स्वतन्त्र उम्मेदवार छन्। भंगेरा, प्रेसरकुकर, पानीको जार, सारङ्गी जस्ता चुनाव चिन्हले मतपत्र नै रंगीन बनेको छ। यद्यपि यी उम्मेदवारहरूले जित निकाल्ने सम्भावना कम देखिए पनि उनीहरूले ठूला दलको मत काट्ने भूमिका भने खेल्न सक्ने देखिएको छ।

मतदाताको संख्या ७६ हजार १४१ रहेको काठमाडौं-४ मा ३३ मतदानस्थल र ८८ मतदान केन्द्र छन्। भौगोलिक रूपमा काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० वडा तथा बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा समेटिएको यो क्षेत्र सामाजिक-आर्थिक रूपमा विविध छ। यही विविधताले यहाँको चुनावलाई अनिश्चित बनाउने गरेको छ। कतै विकासको अपेक्षा छ, कतै स्थायित्वको। कतै नयाँ प्रयोगको चाहना छ, कतै परीक्षण भइसकेको नेतृत्वप्रति भरोसा।

गगन थापा यस पटकको चुनावमा मधेस झर्दै गर्दा राजनीतिमा व्यक्ति केन्द्रित छविलाई तोडेर पार्टी, विचार र नयाँ नेतृत्वलाई अगाडि ल्याउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न काठमाडौं-४ मै छाडेर गएका छन्। यदि सचिन तिमल्सेना जिते कांग्रेसका लागि ‘विरासत हस्तान्तरण सफल’ भएको प्रमाण हुनेछ। यदि भट्टराई वा बम विजयी भए त्यो मतदाताले गगनको अनुपस्थितिमा फरक बाटो रोजेको सन्देश हुनेछ।

यस पटक काठमाडौं-४ मा मतदाताहरू पनि पार्टीभन्दा योजना, नाराभन्दा कार्यान्वयन र भाषणभन्दा विश्वसनीयता खोजिरहेका छन्। यसै कारण अबको २८ दिनपछि हुने निर्वाचन केवल जित-हारको प्रश्नमा सीमित छैन। यस पटक-४ ले पुरानै राजनीतिक निरन्तरता रोज्छ कि नयाँ प्रयोग अहिले नै भन्न सकिने अवस्था छैन। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.