भ्रष्टाचार अन्त्य नारा होइन, कार्यान्वयनमा चाहियो

टिप्पणी

भ्रष्टाचार अन्त्य नारा होइन, कार्यान्वयनमा चाहियो

काठमाडौं : भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपालमा भ्रष्टाचार घट्नुको सट्टा बढ्दै गएको छ । जसकारण मुलुकको सुशासनको अवस्था त बिग्रँदो छ नै, अन्तर्राष्ट्रिय क्षेत्रमा देशकै बदनाम भइरहेको छ । राजनीतिक दल, सरकार र सरोकारवालाले भ्रष्टाचार अन्त्यका जे जति नारा दिए पनि यसको ग्राफ बढ्दै जानु चिन्ताको विषय हो । त्यसैकारण, भ्रष्टाचार अन्त्य अब नारामा होइन, कार्यान्वयनमा चाहिएको छ । 

विगतमा राजनीतिक दलले सुशासन र भ्रष्टाचार नियन्त्रणको मुद्दा नउठाएका होइनन् तर उनीहरूले यो विषयलाई सार्थक बनाउन सकेनन् । प्रत्येक चुनावी घोषणापत्रमा सुशासन र भ्रष्टाचार नियन्त्रणले प्रमुखता नपाएको पनि होइन । दलहरू घोषणापत्रमा मिठामिठा बाचा बाँड्ने गर्छन् । सुशासन र भ्रष्टाचार नियन्त्रणका विषय मूल एजेन्डा पनि बनेकै हुन् । 

म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्नेदेखि भ्रष्टाचार शून्य सहनशीलताका लामा लामा प्रतिबद्धता पनि विगतमा नदेखिएका होइनन् । तर, त्यो घोषणापत्र र नारा, भाषणमा मात्रै सीमित हुने गरेका छन् । सुशासन र भ्रष्टाचार नियन्त्रणको विषय सत्तामा गएपछि दलको प्राथमिकतामा नै परेनन् वा उनीहरूले गर्न सकेनन् । प्रतिपक्षमा बस्ने दल पनि सुशासन र भ्रष्टाचार नियन्त्रणको विषयमा खबरदारी गर्नुपर्नेमा ‘स्टन्ट’ मै व्यस्त रहने गरेका छन् । 

सुशासन र भ्रष्टाचार नियन्त्रणमा गरिएका प्रतिबद्धता कार्यान्वयन नगर्दा जनतामा असन्तुष्टि, निराशा र वितृष्णा छाएको छ । यसैको जगमा जेन–जी आन्दोलनले दुई दिनमै कांग्रेस–एमालेको सत्तापलट गराइदियो । सुशासन कायम गर्न नसक्दा पुराना दलहरू जनताको तारो बने ।

मुलुकमा २ सय ५० वर्षको राजतन्त्र अन्त्य भयो । संविधानसभाबाट संविधान पनि बन्यो । लोकतान्त्रिक व्यवस्था पनि आयो, सामाजिक न्याय, शान्ति सुरक्षा लगायतका विषयमा व्यापक सुधार भयो । सूचना प्रविधि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा ठूलो परिवर्तन पनि भए । यद्यपि सुशासन भने कायम हुन सकेन । भ्रष्टाचार नियन्त्रण हुनुको साटो बढ्दै गएको छ । सुशासनका सूचकहरू निरन्तर कमजोर बन्दै गए । भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपालको अवस्था पछिल्लो समय खस्किँदै गएको छ । सन् २०२४ र २०२५ मा सूचकांक ३५ बाट खस्किएर ३४ अंकमा झरेको छ । पछिल्लो दशकमा नै खासै सुधार आउन सकेको छैन । बाह्य कारण जे भए पनि सुशासन र भ्रष्टाचार नियन्त्रणको सवालमा लय नै आउन सकेन । जसले गर्दा जनता, त्यसमा पनि विशेषगरी नवयुवामा आक्रोश पैदा हुँदै गयो । त्यसले २३ र २४ गतेको आन्दोलन निम्त्यायो । राजनीतिक दलहरूलाई पछिल्लो नवयुवाको आन्दोलनले झस्काएको छ ।

पछिल्लो समयमा भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयमा काम नै नभएको पनि होइन तर त्यसले सार्थक परिणाम भने दिन नसक्नु देशको दुर्भाग्य हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो भ्रष्टाचार नियन्त्रणमा अख्तियारप्राप्त संवैधानिक निकाय छ । अख्तियारले भ्रष्टाचार र अनियमितताका धेरै अनुसन्धान पनि गरी नै रहेको छ । मुद्दा पनि धेरै चलाइरहेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राष्ट्रिय सर्तकता केन्द्र, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) जस्ता नियमन कारी निकाय पनि क्रियाशील छन् । 

अख्तियारबाहेक नियमनकारी निकायले खासै उपलब्धिमूलक काम गरेको देखिँदैन् । कहिलेकाहीँ सीआईबी जाग्छ, पुनःसुत्छ । सम्पत्ति शुद्धीकरण विभाग र सर्तकता केन्द्रले त खासै काम गरेको देखिँदैन । सरकार भने यो सबै काम अख्तियारको मात्रै हो भनेर पन्छिरहेको अवस्था छ । भ्रष्टाचार नियन्त्रण गर्ने काम सरकारको हो । तर, अख्तियारको टाउकोमा हालिदिएर सरकार आफू पन्छिदा सुशासन कायम हुन नसकेको हो ।

अब निर्वाचनमा दलहरूले सुशासनको एजेन्डालाई चुनावी मुद्दा मात्र बनाउने होइन कार्यान्वयनमा कठोर हुने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता ठूलो दलले भ्रष्टाचार नियन्त्रण र सुशासनका सवालमा खरो उत्रिने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । तर, प्रतिबद्धताले मात्र अब पुग्दैन । नेपाली कम्युनिस्ट पार्टीलगायतले प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिसकेका छन् । 

सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रतिबद्धता अक्षरंश कार्यान्वयन गरेर जानुपर्छ । स्वच्छ, पारदर्शी र जवाफदेही शासन प्रणाली लागू गर्नुको विकल्प दलहरूलाई छैन । सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा भएको आन्दोलनले नै २०८४ सालमा हुने निर्वाचन २०८२ सालमा हुन गइरहेको छ । त्यसले यो निर्वाचनको महत्व ठूलो छ । यो निर्वाचन दुई वर्षअघि हुनु मात्रै उपलब्धि होइन । यो चुनावले मुलुकलाई सुशासनका बाटोमा डोर्‍याउन सक्नुपर्छ । 

दलहरूले सुशासनको एजेन्डा कार्यान्वयन गर्ने विश्वासिलो बाँचा नै जनता समक्ष गर्नुपर्छ । सबै सरकारी कारोबारमा पूर्ण पारदर्शिता लागू गर्नुपर्छ । जनतालाई जवाफदेही सरकार तथा सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । सम्पत्तिको हक संरक्षण गर्दै सम्पत्ति विवरण सार्वजनिक गर्ने अनिवार्यताको नीति लागू गर्नुपर्छ । भ्रष्टाचारमा संलग्नलाई कुनै हालतमा उन्मुक्ति दिनुहुँदैन । आफ्नै दलबाट कारबाहीको सुरुवात गर्न सक्नुपर्छ । 

अर्कोतिर निर्वाचन खर्चलाई पनि मितव्ययी बनाएर अघि बढ्नुपर्छ । निर्वाचन खर्चको कारणले भ्रष्टाचार नरोकिएको अवस्था छ । दलका उम्मेदवारले निर्वाचनको खर्च उठाउन, अर्कोपटक पुनः निर्वाचन लड्नका लागि पनि भ्रष्टाचार गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.