झलनाथ बिनाको इलाम-१, कसले मार्ला बाजी?

झलनाथ बिनाको इलाम-१, कसले मार्ला बाजी?

इलाम : पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता झलनाथ खनालको क्षेत्र भनेर चिनिने इलाम-१ मा अहिले चुनावी माहोल गर्माएको छ। विगतमा एमालेको किल्ला रहेको यस क्षेत्रमा अघिल्लो निर्वाचनमा नेता खनाल एमाले उम्मेदवार महेश बस्नेतसँग पराजित भएका थिए।

बस्नेतले यसपटक टिकट पाएनन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले काजीमान कागतेलाई टिकट थमाए। खनाल र बस्नेत दुबै चुनावी मैदानबाट बाहिरिएपछि इलाम-१ को प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। एकातिर स्थानीय तह र संसदीय राजनीतिमा लामो अनुभव बोकेका पुराना अनुहारहरू छन् भने अर्कोतिर युवा, बौद्धिक र सुशासनको एजेण्डासहित उदाएको नयाँ पुस्ताको लहर देखिएको छ।

यही कारण इलाम-१ को चुनाव केवल जित-हारको प्रतिस्पर्धा नभई राजनीतिक पुस्तान्तरणको बहसमा परिणत भएको छ। विगतमा एमालेको किल्लाको रूपमा रहेको इलाम-१ मा यसपटक कसले बाजी मार्ला भन्ने चासो बढेको छ। अहिले इलाम-१ मा उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त छन्। १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेको यो क्षेत्रमा अन्ततः मुख्य प्रतिस्पर्धा भने ठूला दल एमाले नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच नै हुने देखिन्छ। 

अनुभवी र स्थानीय माझ परिचित नेतालाई एमाले र नेकपाले अगाडि सार्दा कांग्रेसले युवा पुस्तालाई मौका दिएको छ। कांग्रेसले नेतृत्व परिवर्तनसँगै युवालाई अघि सारेर नयाँ दललाई पनि चुनौती पस्केको छ। यता साना दलहरूले समेत पहिचान र जातीयताको नारा दिएर ठूला दुई दलको मत काट्न सक्ने देखिएको छ। तर, पहिचानवादी र जातीय पार्टी एकीकृत नहुनाले कांग्रेस-एमालेकै उम्मेदवार विजयी हुने अवस्था छ। स्थानीय निर्वाचन जितेका पालिकाका आधारमा र अघिल्ला प्रतिनिधि सभा निर्वाचनको मत परिणामको आधारलाई हेर्ने हो भने पनि यसपटक देखिएका नयाँ दलभन्दा पुराना दलकै मतदाता संख्या बढी भएको अनुमान गर्न सकिन्छ। 

‘नयाँ दल आए पनि यो क्षेत्रमा पुरानै दलको चुनावी गतिविधि बढी छ’ माई नगरपालिकाका स्थानीय भन्छन्, ‘खासमा पुराना दलले केही गरेनन् भन्ने चर्चा धेरैले गर्छन् तर, यसअघि पनि विकास निर्माणका काम नभएका होइनन्, भएका छन्। माथिबाट सडक, पूर्वाधार, पुल, पुलेसाका लागि बजेट नआएको होइन, ठेकेदारले समयमा कामचाहिँ नगरेको पक्कै हो।’ 

इलाम-१, इलाम-२ को तुलनामा भौतिक पूर्वाधार विकासको दृष्टिकोणले निकै अगाडि मानिन्छ। चिया, दूध उत्पादन, छुर्पी, चिज, ललिपपजस्ता दूधजन्य पदार्थको उत्पादन, आलु, अदुवा, अम्लिसो, अकबरेलगायतका तरकारी उत्पादनको क्षेत्रमा अग्रणी मानिने इलाम क्षेत्र-१ पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ। यस पटकको चुनावी मैदानमा हुने प्रायः सबैजसो उम्मेदवारको मुख्य मुद्दा पनि इलाम-१ को कृषि उत्पादन, किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य र पर्यटन पूर्वाधार तथा पर्यटन क्षेत्रको विकास नै प्रमुख रहेको पाइन्छ। 

यसपटक इलाम-१ का लागि सबैजसो उम्मेदवार पनि प्रतिनिधि सभाका लागि नयाँ अनुहार नै रहेका छन्। यसअघि क्षेत्र-१ मा ठूलो दल मानिएको एमालेले उठाएका उम्मेदवार काजीमान कागते चिया किसानका क्षेत्रबाट प्रतिनिधित्व गर्दैछन्। एकपटक कोशी प्रदेश सभा सदस्य भएका कागतेको मुख्य मुद्दा किसान र श्रमिकका आर्थिक धरातल राम्रो बनाउनु, पर्यटन क्षेत्रको विकास गर्नु र पूरा नभएका पूर्वाधारका कामलाई पूर्णता दिनुु नै रहेको छ। उनी स्थानीयस्तरमा चिनिएका नेता हुन्। 

‘इलाम-१ का यसअघि धेरै काम भएको छ तर त्यसमा ढुक्क हुने अवस्था छैन, पूर्वाधारका काम भए पनि पूर्ण भएका छैनन्’, कागते भन्छन्, ‘ती पूरा नभएका कामलाई पूर्णता दिन र आर्थिक धरातलमा अझै तल परेका सम्पूर्ण किसान, मजदुरको आर्थिक व्यवस्था मजबुत बनाउन यस पटक म मैदानमा उत्रिएको छु।’ 

कागतेले आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य र किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणका लागि पनि आफू पहिलादेखि लागिरहेको बताए। कागते एमालेका पुराना, इमानदार र संगठनमा जरा गाडेका नेताका रूपमा चिनिएका छन्। एमालेको बलियो संगठन, वैचारिक स्पष्टता र स्थानीय तहमा रहेको प्रभावका आधारमा कागतेले आफ्नो उपस्थिति मजबुत बनाउने प्रयास गरिरहेका छन्। यता एमालेका काजीमान कागतेका लागि माई नगरपालिका र माईजोगमाई गाउँपालिकाको मत बलियो मानिएको छ। 

null

प्रतिनिधि सभाका लागि अर्को नयाँ उम्मेदवार नेपाली कांग्रेसका निश्कल राई पनि क्षेत्र नम्बर-१ को पूर्वाधार विकास, पर्यटन, शिक्षा स्वास्थ्यकै मुख्य मुद्दा राखेर मतदाता रिझाइरहेका छन्। शंकरदेव क्याम्पसमा प्राध्यापन गरेका निश्कललाई सभापति गगन थापाले टिकट थमाई दिएर इलाम पठाएका हुन्। २०७८ मा प्राध्यापन पेशा छोडेर इलाम पसेका उनी विद्यार्थी आन्दोलनबाट उदाएका नेता हुन्। उनी इलाममा परिचित युवा नेता हुन्। युवा उम्मेदवार राईले इलाम-१ को निर्वाचनमा यस पटक धेरैको ध्यान खिचेका छन्।

२०४८ सालयताका निर्वाचनमध्ये २०५१ सालको निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले एकपटक जितेको कांग्रेसले यसपटक राईलाई नयाँ अनुहार र युवा पुस्ताका प्रतिनिधिका रूपमा अघि सारेको छ। राईले अघिल्ला विजयी प्रतिनिधिले भन्दा बढी काम गर्ने मतदाता माझ प्रतिबद्धता व्यक्त गरिरहेका छन्।

राईलाई बौद्धिक, तार्किक र सुशासनका पक्षधर नेताका रूपमा हेरिएको छ। उनले परम्परागत मत बैंकभन्दा बाहिर गएर नयाँ पुस्ता, शिक्षित र तटस्थ मतदातालाई आकर्षित गर्ने एजेण्डा अघि सारेका छन्। सार्वजनिक बहस र अन्तरक्रियामा उनको सक्रिय उपस्थितिले कांग्रेस समर्थक मात्र होइन, तटस्थ मतदाताहरूमा पनि चासो र कौतुहलता बढाएको छ।

यस पटक एमाले र कांग्रेससँगै प्रतिस्पर्धामा देखिएका नेकपाका उम्मेदवार रणबहादुर राई इलाम-१ बाट प्रतिनिधि सभा सदस्यका लागि नयाँ अनुहार हो। सूर्योदय नगरपालिकाको दुई पटक प्रमुख भएका राई पछिल्लो पटक नगर प्रमुखबाट राजीनामा दिएर निर्वाचनमा होमिएका हुन्। सूर्योदय नगरपालिकालाई जिल्लाका अन्य पालिकाभन्दा विकासमा समृद्ध गराउने राई सूर्योदयभरि निकै चर्चित मानिन्छन्।

प्रतिनिधि सभामा जितेपछि पनि इलाम-१ का लागि विकासको फरक मोडल लागु गर्न र यहाँका नागरिकको आर्थिक समृद्धिका लागि काम गर्न आफू तयार रहेको राई बताउँछन्। राईले भने, ‘नगरपालिकामा रहँदा जसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धबाट काम गरियो, मतदाता माझ त्यो सम्बन्धलाई कायम राखेर इलाम–१ का लागि खट्ने प्रतिबद्धता व्यक्त गरेको छु।’

अघिल्लो निर्वाचनमा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पछि पार्दै नेकपा (एमाले) का महेश बस्नेतले २५ हजार ७५३ मत ल्याएर विजयी भएका थिए। पूर्व प्रधानमन्त्री खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए। यस पटक राईलाई खनालकै उत्तराधिकारीका रूपमा इलाम-१ मा हेरिएको छ।

अन्य दल र त्रिकोणात्मक भिडन्त
इलाम-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विमल गदाल उम्मेदवार छन्। उज्यालो नेपाल पार्टीले हरिबहादुर गुरुङलाई अगाडि सार्दा श्रम संस्कृति पार्टीले विनोद नेम्बाङलाई उठाएको छ। पहाडी जिल्ला इलाममा रास्वपा लगायत दलहरूले मत नकाटे पनि श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टीका उम्मेदवारले मत काट्ने सम्भावना देखिएको छ।

हर्क साम्पाङको श्रम संस्कृतिबाट अघि सारिएका विनोद पनि यहाँका मतदाताले राम्रैसँग चिनेका नेता हुन्। उज्यालोका हरिबहादुर गुरुङले पनि केही मतदातालाई रिझाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्वाला नेपाल रहेकी छन्। सूर्योदय नगरपालिका–८ घर भएकी नेपाल हाल त्रिभुवन विश्वविद्यालयमा एमफिल अध्ययनरत छिन्।

नेपाल मजदुर किसानबाट तुल्सीकेशरी प्रजापति, मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीबाट डम्बरसिंह लिम्बू मैदानमा छन्। नेकपा माओवादीबाट नारदमणि साम्पाङ, जनता समाजवादी पार्टीबाट लीलाबहादुर सुनुवार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रामप्रसाद लिम्बू चुनावी मैदानमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.