‘ह्याट्रिक’को दाउमा रहेका रविलाई कांग्रेसकी मीनाको ‘कडा टक्कर’
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको ‘सुरक्षित किल्ला’ मानिँदै आएको चितवन निर्वाचन क्षेत्र नम्बर-२ यस पटक अघिल्ला निर्वाचनहरू भन्दा फरक बहस र प्रतिस्पर्धातर्फ अगाडि बढिरहेको छ।
लगातार दुई निर्वाचनमा भारी मतान्तरसहित विजयी पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि सहकारी ठगीसम्बन्धी गम्भीर मुद्दा चलिरहेको छ। यसै बेला नेपाली कांग्रेसले स्थानीय सामाजिक अभियन्ता मीना खरेललाई उम्मेदवार बनाएर मैदानमा उतारेपछि चितवन-२ को राजनीतिमा फरक चर्चा र बहस सुरु भएको हो।
कांग्रेसले यस क्षेत्रका लागि विगतको पार्टी राजनीतिभन्दा बाहिर गएर सामाजिक पहिचान, मानवीय सेवा र स्थानीयसँग नजिकको सम्बन्ध बनाएकी खरेललाई उम्मेदवार बनाएको हो। ३५ वर्षभन्दा लामो समयदेखि महिला, बालबालिका र हिंसा प्रभावित समुदायको पक्षमा सक्रिय खरेललाई कांग्रेसले ‘नयाँ प्रयोग’ का रूपमा मैदानमा उतारेको हो।
रविको जितको इतिहास र विवादको वर्तमान
चितवन–२ बाट रवि लामिछानेको राजनीतिक यात्रा प्रभावशाली रहँदै आएको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ४९ हजार २६४ मत प्राप्त गर्दै कांग्रेस र एमालेका उम्मेदवारलाई फराकिलो अन्तरले हराएका थिए। नागरिकता विवादका कारण सांसद पद गुमाएपछि भएको २०८० वैशाखको उपनिर्वाचनमा समेत उनले मतसंख्या बढाउँदै ५४ हजार २७६ मतसहित पुनः जित हासिल गरे।
तर, अहिलेको अवस्था अघिल्ला चुनाव जस्तो सहज छैन। सहकारी ठगी प्रकरणमा पाँच वटा जिल्ला अदालतमा मुद्दा खेपिरहेका लामिछाने कानुनी र नैतिक प्रश्नहरूको घेरामा छन्। उम्मेदवारी दर्ताका बेला समेत उनी अदालतको प्रक्रियामा व्यस्त रहनु परेपछि वारिसनामामार्फत उम्मेदवारी दर्ता गर्नुपरेको छ। रविलाई जिते पनि पुनः उपनिर्वाचनको अवस्था आउन सक्ने आशंका कतिपय मतदाताले गरिरहेका छन्।
यद्यपि, चितवन-२ अझै पनि रविका लागि अनुकूल र बलियो क्षेत्र मानिन्छ। एमालेको परम्परागत प्रभाव, कांग्रेसको विगतको कमजोर प्रदर्शन र रास्वपाप्रति रहेको आकर्षणले उनलाई बलियो बनाइरहेको छ। तर, यस पटक चुनौतीको स्वरूप फरक देखिएको छ। काठमाडौं महानगरका पूर्व मेयर बालेन्द्र शाहको रास्वपा प्रवेशले पनि रविको क्षेत्रमा रास्वपाको गतिविधिमा उर्जा थपेको छ।
मीना खरेल : सामाजिक सेवाबाट संसदतर्फ पाइला
नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेल राजनीतिक भाषणभन्दा सामाजिक कामका कारण चितवनमा परिचित उम्मेदवार हुन्। भरतपुर महानगरपालिका-४ की स्थायी बासिन्दा खरेल विगत तीन दशकभन्दा बढी समयदेखि महिला अधिकार, आर्थिक सशक्तीकरण र हिंसा प्रभावित महिला तथा बालबालिकाको पुनःस्थापनामा सक्रिय छिन्।
चितवनमा पहिलो पटक हिंसा प्रभावित महिला र बालबालिकाका लागि अल्पकालीन पुनःस्थापना गृह सञ्चालन गरेर उनी सामाजिक अभियन्ताका रूपमा स्थापित भएकी हुन्। उनको नेतृत्वमा हजारौं महिलाले कानुनी सहयोग, सीपमूलक तालिम र आर्थिक आत्मनिर्भरता हासिल गरेको कांग्रेस नेताहरू बताउँछन्।
कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाल भन्छन्, ‘सबलले त आफ्ना लागि आफैं गर्न सक्छन्, लोकतन्त्र त असहायका लागि हो। मीना खरेल जस्तो जीवन नै सामाजिक सेवामा समर्पण गरेको व्यक्तिलाई संसदमा लैजान सके भुँइमान्छेको आवाज बलियो हुन्छ।’ खरेल अविवाहित छिन् र आफूले आर्जन गरेको सम्पत्ति सामाजिक कार्य र अनाथ बालबालिकाको सेवामा समर्पण गरेको कांग्रेसको दाबी छ।
समाजशास्त्रमा स्नातकोत्तर उनी पञ्चायतकालदेखि नै अन्यायविरुद्ध आवाज उठाउँदै आएकी पात्र हुन्। १३-१४ वर्षकै उमेरमा पञ्चायती नीतिविरुद्ध बोलेकी खरेल २०४२ सालको सत्याग्रहपछि विद्यालय शुल्क घटाउनुपर्ने आन्दोलनको नेतृत्वसमेत गरेकी थिइन्। उक्त समय नेपाल माविका भाषण गर्ने क्रममा गिरफ्तारसमेत भएकी थिइन्।
उनले नेपाल विद्यार्थी संघ र नेपाल महिला संघ जिल्ला समितिको विभिन्न जिम्मेवारी समेत निर्वाह गरेकी छन्। उनले नेपाली कांग्रेस चिवनको जिल्ला सदस्य, ०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन वडा नम्बर-५ को वडा सदस्य निर्वाचित उनी हालः नेपाली कांग्रेस जिल्ला महासमिति सदस्य छिन्।
खरेललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार
खरेल अन्तर्राष्ट्रिय पिस अवार्ड, कोरियाबाट (नेपाली महिलाहरूको उत्थानमा तथा विकासमा महत्वपूर्ण कार्य गरे बापत सम्मानित भएकी छन्। २०६८ सालमा दिदी फाउन्डेसन, नेदरल्याण्डबाट अवार्ड (घरेलु हिंसाबाट प्रभावित भएकाहरूलाई उद्धार, संरक्षण तथा उनीहरूलाई आत्मनिर्भर बनाउन उल्ल्लेखनीय कार्य गरे बापत) सम्मान, २०७६ मा चितवन समाज भिक्टोरिया, अस्ट्रेलियाबाट (महिला बालबालिका एवं किशोरीहरूको उत्थान, विकास, संरक्षण र न्याय तथा अधिकारमा प्रत्यक्ष सहयोग गरेवापत सम्मानित भएकी छन्।
त्यस्तै २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबाट महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले प्रदान गरेको ‘सामाजिक पुनर्जागरणका लागि प्रेम सागरी देवी निधि पुरस्कार २०७१’ बाट सम्मानित भएकी छन्। २०७१ मै खरेललाई आठौं मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट मानव बेचबिखन तथा ओसारपसार रोकथामको लागि संस्थागत रूपमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै प्रशंसा पत्रले सम्मान गरिएको थियो।
खरेलले २०७० मा निःस्वार्थ समाजसेवामा लागेवापत सेलिब्रेटिङ्ग वुमनहुड नवदेवी सम्मान ‘करुणा सम्मान’ पाएकी थिइन्। त्यस्तै प्रहरी प्रधान कार्यालय काठमाडौंबाट २०६८ सालमा ५६ औ प्रहरी दिवसको अवसरमा (सामुदायिक सेवा केन्द्र नारायणगढमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान गरेबापत) खरेल सम्मानित भएकी छन्।
२०७० मा लुम्बिनी बैंक लिमिटेडबाट असहाय महिला तथा बालबालिकाहरूका लागि तालिम तथा शिक्षासहितको पुनर्स्थापनामा महत्वपूर्ण योगदान गरेवापत नगद १,०५,०००/- पुरस्कारसहित खरेल सम्मानित भएकी छन्। ०७१ मा बुद्धि खगी दान स्मृति राष्ट्रिय प्रतिष्ठान चितवनद्वारा मानवीय सेवामा निरन्तर सेवा प्रदान गरेकोमा परोपकार सम्मान २०७१ बाट खरेललाई सम्मान गरिएको थियो । यस्तै २०७२ मा काष्ठमण्डप टेलिभिजनद्वारा समाजसेवी सम्मान २०७२ बाट खरेल सम्मानित भएकी थिइन्।
हारको इतिहासबाट नयाँ प्रयोगतर्फ कांग्रेस
चितवन-२ मा कांग्रेसको विगतको प्रदर्शन कमजोर रहँदै आएको छ। २०७९ को निर्वाचनमा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मतमात्र ल्याएका थिए भने उपनिर्वाचनमा जितनारायण श्रेष्ठ ११ हजार २५१ मतमा सीमित भए। यी परिणामपछि कांग्रेसले परम्परागत ‘पार्टी फेस’ भन्दा फरक अनुहार खोजेको देखिन्छ।
कांग्रेसका नेताहरूका अनुसार, यस पटक पार्टीभित्र मीना खरेलको नाममा उल्लेखनीय एकता देखिएको छ। स्थानीय तहमा लामो समयदेखि काम गरेको, विवादरहित छवि र सामाजिक स्वीकृतिका कारण उनी उम्मेदवार चयनको अन्तिम चरणसम्म सर्वसम्मत पुगिन्।
एमाले र अन्य प्रतिस्पर्धी
नेकपा एमालेले चितवन-२ मा युवा नेता अस्मिन घिमिरेलाई उम्मेदवार बनाएको छ। विद्यार्थी राजनीतिबाट आएका घिमिरे बागमती प्रदेश कमिटी सदस्य हुन् र जनवादी गायकका रूपमा पनि परिचित छन्। एमालेको परम्परागत मत आधार र स्थानीय परिचयका कारण घिमिरेलाई पनि हल्का रूपमा नजरअन्दाज गर्न सकिँदैन। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रताप गुरुङलाई उम्मेदवार बनाएको छ। यद्यपि, मुख्य प्रतिस्पर्धा भने रवि लामिछाने र मीना खरेलबीच केन्द्रित देखिन्छ।
चितवन-२ को चुनाव यसपटक केवल विकासका नारामा सीमित नहुने संकेत देखिएको छ। सहकारी ठगी, कानुनको समान कार्यान्वयन, राजनीतिक नैतिकता र सामाजिक न्याय जस्ता विषय बहसको केन्द्रमा आउन थालेका छन्। मीना खरेल भन्छिन्, ‘कानुन सबैका लागि बराबर हुनुपर्छ। सामान्य नागरिकलाई लाग्ने कानुन ठूला र पहुँचवालालाई पनि लाग्नु पर्छ । म राजनीति पेसाका रूपमा होइन, सेवाका रूपमा गर्न चाहन्छु ।’ उनको अभियान मानवीय मूल्य, करुणा र सामाजिक उत्तरदायित्वमा केन्द्रित देखिन्छ । कांग्रेसले यसलाई ‘नैतिक राजनीतितर्फको कदम’ का रूपमा प्रस्तुत गरिरहेको छ।
सुरक्षित किल्लामा बढ्दो दबाब
चितवन-२ अझै पनि रवि लामिछानेका लागि सुरक्षित क्षेत्र मानिए पनि यस पटकको चुनाव अघिल्ला जस्तो एकतर्फी हुने देखिँदैन। सामाजिक अभियन्ताको छवि, महिलाको प्रतिनिधित्व र सहकारी प्रकरणले सिर्जना गरेको नैतिक प्रश्नले मतदातालाई पुनः सोच्न बाध्य पार्न सक्छ।
२१ फागुनमा हुने निर्वाचनले चितवन–२ मा केवल सांसदको छनोट मात्र होइन, राजनीति सेवा हो कि शक्ति भन्ने बहसको पनि उत्तर दिनेछ । रविको लोकप्रियता भारी छ, तर मीना खरेलको सामाजिक पूँजीले त्यो लोकप्रियतालाई कति हदसम्म चुनौती दिन सक्छ भन्ने प्रश्न अहिले चितवनको चोक–चौतारोदेखि सामाजिक सञ्जालसम्म गुञ्जिरहेको छ।
प्रतिक्रिया दिनुहोस !