मानवीय व्यवहार र भ्रष्टाचार

मानवीय व्यवहार र भ्रष्टाचार
सुन्नुहोस्

धर्मले भ्रष्टाचारलाई आध्यात्मिक र नैतिक पतनको रूपमा व्याख्या गर्छ भने दर्शनले यसलाई सामाजिक न्याय र नैतिक मूल्यहरूको संकटका रूपमा बुझ्छ ।

१. पृष्ठभूमि : भ्रष्टाचार, अधिकारको दुरुपयोग तथा अनैतिक कृत्यहरूलाई सुशासनको प्रमुख बाधक र समृद्धिको मार्गमा ठूलो तगारोका रूपमा लिने गरिन्छ, किनकि यस्ता प्रवृत्तिहरूले सार्वजनिक सेवाको गुणस्तरलाई कमजोर बनाउँछन्, नागरिकको सन्तुष्टि घटाउँछन् र सामाजिक–राजनीतिक अस्थिरतालाई बढावा दिन्छन्।

जब राज्यका निकायहरू र सार्वजनिक पारदर्शिता, जवाफदेहिता र नैतिक मूल्यबाट विचलित हुन्छन्, तब जनताले पाउने सेवा असमान र अविश्वसनीय बन्छ, जसले दीर्घकालीन विकासलाई अवरुद्ध गर्छ। त्यसैले आम नागरिकको सरोकारसँग प्रत्यक्ष सम्बन्धित यस्ता सामाजिक समस्याहरूलाई केवल कानुनी वा प्रशासनिक दृष्टिकोणबाट मात्र होइन, सामाजिक, सांस्कृतिक, आर्थिक र नैतिक जुक्तिहरूको संयोजनमार्फत समग्र रूपमा विश्लेषण गरी समाधान खोजिनु आवश्यक हुन्छ, जसले सुशासनलाई बलियो बनाउँदै समृद्धिको आधार तयार गर्न मद्दत पुर्‍याउँछ। 

भ्रष्टाचारलाई विभिन्न दृष्टिकोणबाट बुझ्न सकिन्छ। कानुनी दृष्टिकोणबाट हेर्दा, भ्रष्टाचार भनेको कानुन वा नियमको उल्लंघन हो, निर्मित कानुनको हुबहु पालना नहुनु हो, जसमा घुसखोरी, ठगी, पदको दुरुपयोग वा सार्वजनिक सम्पत्तिको हिनामिनाजस्ता परिभाषित भ्रष्टाचारजन्य वा अनैतिक कृत्यहरू पर्दछन्।

राजनीतिक दृष्टिकोणले यसलाई राजनीतिक शक्तिको दुरुपयोगका रूपमा बुझ्न सकिन्छ, जहाँ शक्ति वा अधिकार प्रयोग गर्ने सार्वजनिक पदाधिकारीहरूले व्यक्तिगत वा अन्य कुनै स्वार्थका लागि जनताको विश्वास तोड्छन्। आर्थिक दृष्टिकोणमा भ्रष्टाचारलाई स्रोतसाधनको गलत प्रयोग वा औचित्यहीन वितरणका रूपमा व्याख्या गरिन्छ, जसले उत्पादनशीलता घटाउँछ, लगानीयोग्य वातावरणमा ह्रास ल्याई विकासलाई अवरुद्ध गर्छ।

सामाजिक दृष्टिकोणले यसलाई सामाजिक मूल्य र विश्वासको पतनका रूपमा देख्छ, जहाँ घुस वा अनैतिक व्यवहारलाई सामान्य मानिन्छ। नैतिक मूल्यको दृष्टिकोणले भने भ्रष्टाचारलाई व्यक्तिगत लोभ, स्वार्थ र नैतिक पतनको परिणामका रूपमा परिभाषित गर्छ। यसरी, भ्रष्टाचार केवल कानुनी अपराधमात्र नभई राजनीतिक विकृति, आर्थिक असक्षमता, सामाजिक समस्या र नैतिक असफलता पनि हो, जसले समाज र राष्ट्रलाई नराम्रो असर पार्छ।

भ्रष्टाचारलाई मनोवैज्ञानिक दृष्टिकोणले हेर्दा, यो व्यक्तिको मानसिकता, व्यवहार र निर्णय प्रक्रियासँग सम्बन्धित हुन्छ। मानिसले लोभ, स्वार्थ वा व्यक्तिगत लाभलाई प्राथमिकता दिने प्रवृत्तिका कारण भ्रष्टाचारतर्फ आकर्षित हुन्छ। धेरैले आफ्नो कार्यलाई औचित्य दिन ‘अरूहरू सबै यसरी गर्छन्’ भन्ने सोच अपनाउँछन्, जसले गलत कामलाई पनि सामान्य मान्ने बनाउँछ। सामाजिक दबाब, सहकर्मी वा आफन्त र परिवारको प्रभावले पनि मानिसलाई भ्रष्टाचारजन्य कार्य गर्न प्रेरित गर्न सक्छ।

साथै, सजायको सम्भावना कम देख्दा मानिसले जोखिम–लाभको गणना गरेर भ्रष्टाचारलाई सुरक्षित विकल्प ठान्छ। दार्शनिक दृष्टिकोणले भने भ्रष्टाचारलाई गहिरो नैतिक प्रश्नका रूपमा व्याख्या गर्छ। यसले सत्य, इमानदारी, न्याय र मानव मूल्यको उल्लंघनलाई भ्रष्टाचारको मूल कारण मान्छ। भ्रष्टाचारलाई नैतिक पतनको रूपमा बुझिन्छ, जहाँ कर्तव्य र जिम्मेवारीभन्दा व्यक्तिगत लाभलाई प्राथमिकता दिइन्छ।

दार्शनिकले यसलाई समाजमा असमानता र अन्यायको कारणका रूपमा पनि देख्छन्। अस्तित्ववादी दृष्टिले हेर्दा, भ्रष्टाचार मानव स्वभावको कमजोरी वा स्वतन्त्रताको गलत प्रयोग हो। यसरी, दार्शनिक दृष्टिकोणले पनि भ्रष्टाचारलाई केवल कानुनी वा सामाजिक समस्यामात्र नभई समग्र मानव मूल्य, चेतना तथा प्रवृत्तिका रूपमा प्रस्तुत गर्दछ। 

२. मानवीय स्वभाव र मनोवैज्ञानिक अवधारणाः मानव व्यवहार भनेको जैविक प्रवृत्ति, व्यक्तिगत अनुभव र सामाजिक प्रभावहरूको संयोजनले बनेको अन्तरक्रिया हो। यसले मानिसले आफ्नो वातावरणसँग कसरी व्यवहार गर्छन् र सामाजिक सम्बन्धमार्फत आफ्ना आवश्यकताहरू तथा लक्ष्यहरू कसरी पूरा गर्छन् भन्ने कुरा प्रकट गर्दछ। मानवीय व्यवहारलाई निर्देशित गर्ने अध्ययनलाई मनोविज्ञान वा व्यवहार विज्ञान भनिन्। मनोविज्ञ सिग्मन्ड फ्रायडले प्रस्तुत गरेको प्लेजर प्रिन्सिपलअनुसार मानिसको अचेतन मन (इद) तुरुन्त सुख प्राप्त गर्न र पिडा टार्न चाहन्छ।

यसले मानिसलाई तत्काल ग्राटिफिकेसन (सन्तुष्टि) खोज्न प्रेरित गर्छ। बच्चाहरूमा यो प्रवृत्ति बलियो हुन्छ-उनीहरू तुरुन्त मिठाई, खेल वा ध्यान चाहन्छन्। तर यसको विपरीत रियालिटी प्रिन्सिपल भन्नाले मानिसले आफ्नो इच्छा वा सुख तुरुन्तै पूरा गर्न नसक्ने अवस्थालाई बुझाउँछ। सामाजिक नियम, समय, परिस्थिति, र परिणामको डरले मानिसलाई आफ्नो चाहना ढिलाइ गर्न वा नियन्त्रण गर्न बाध्य बनाउँछ।

उदाहरणका लागि, बच्चाले तुरुन्त मिठाई चाहन्छ (प्लेजर प्रिन्सिपल), तर वयस्कले स्वास्थ्य वा पैसाको कारणले पछि मात्र खान्छ। वयस्क अवस्थामा रियालिटी प्रिन्सिपलले यसलाई नियन्त्रण गर्छ, जसले सामाजिक नियम, समय र परिस्थितिअनुसार इच्छालाई ढिलाइ वा नियन्त्रण गर्न बाध्य बनाउँछ। भ्रष्टाचारलाई यी सिद्धान्तसँग तुलना गरि हेर्दा, जब व्यक्तिले तुरुन्त लाभ वा सुख खोज्छ-जस्तै घुस लिनु, अनैतिक लाभ लिनु, वा नियम तोडेर व्यक्तिगत फाइदा लिनु-त्यो प्लेजर प्रिन्सिपलको प्रभाव हो।

यदि निगरानी, जवाफदेहिता वा नैतिक मूल्य कमजोर भए, तत्काल सन्तुष्टि खोज्ने प्रवृत्तिले नैतिकताभन्दा भ्रष्टाचारलाई प्राथमिकता दिन्छ। यसरी प्लेजर प्रिन्सिपलले देखाउँछ कि मानव स्वभाव तुरुन्त सुख खोज्ने चाहनाले नैतिकता र भ्रष्टाचारबीचको द्वन्द्वलाई गहिरो बनाउँछ। उदाहरणका लागि, सार्वजनिक पदमा बसेको कर्मचारीले तुरुन्त आर्थिक लाभ पाउन घुस लिन्छ भने त्यो प्लेजर प्रिन्सिपल को प्रत्यक्ष प्रभाव हो। तर यदि रियालिटी प्रिन्सिपल (नियम, कानुन, सामाजिक दबाब) बलियो छ भने, उसले तत्काल सुखलाई नियन्त्रण गरेर नैतिकताको बाटो रोज्छ। यसैले प्लेजर प्रिन्सिपल र रियालिटी प्रिन्सिपलबीचको सन्तुलनले नैतिकता वा भ्रष्टाचारको दिशा निर्धारण गर्छ।

करप्सन वाच दक्षिण अफ्रिकामा भ्रष्टाचारविरुद्ध लडिरहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको एक च्याप्टर करप्सन वाचमा सन् २०१३ मा कविसा पिल्लाईद्वारा प्रकाशित आलेखमा मानिसहरू किन भ्रष्टाचारतर्फ आकर्षित हुन्छन् भन्ने विषयलाई विभिन्न मनोवैज्ञानिक दृष्टिकोणबाट व्याख्या गरिएको छ। डा. गिआडा डेल फेब्रिओले सहानुभूतिको कमी, आत्मकेन्द्रित सोच, छलकपट गर्ने प्रवृत्ति, विशेष अधिकारको भावना र दोष अरूमा थोपर्ने बानीलाई प्रमुख कारणका रूपमा देखाउँछन्।

यसमा अल्विन मोर्डिकले रोमाञ्च खोज्ने चाहना, सामाजिक दबाबमा चल्ने प्रवृत्ति, तुरुन्त सन्तुष्टि चाहने स्वभाव, जोखिम लिन सक्ने क्षमता र शक्तिको तीव्र चाहनालाई थप कारकका रूपमा जोड्छन्। एलिसाबेथ ग्रोब्लरले मानिसहरू स्वभावतः लोभी हुने र केहीले आफ्नो लोभ नियन्त्रण गर्न नसक्ने बताउँछन्। कम तलब पाउने कर्मचारीहरूले आवश्यकता पूर्ति गर्न पनि भ्रष्टाचार गर्ने सम्भावना हुन्छ, जसलाई सरकारी निगरानी र जवाफदेहिताको कमीले अझ बढाउँछ। त्यस्तै, सुरक्षाविज्ञ ब्रुस सिनेरले नजिकको सम्बन्ध वा मित्रताको कारणले मानिसहरूले आफ्ना कार्यलाई अनैतिक ठान्दैनन् भन्ने धारणा प्रस्तुत गर्छन्।

मोर्डिकले ‘सेयरिङ एन्ड केयरिङ’जस्ता सांस्कृतिक मूल्यहरूले पनि व्यक्तिलाई भ्रष्टाचार गर्न दबाब दिन सक्ने बताउँछन्। डेल फाब्रोले नैतिकता र आचारसंहिता परिवार तथा पालनपोषणबाट सिकिने भएकाले कमजोर पालनपोषण वा कठिन सामाजिक–आर्थिक अवस्थाले नैतिक विकासलाई प्रभावित पार्दै भ्रष्टाचारलाई बढावा दिन सक्ने तर्क गर्छन्। अन्ततः, पिल्लाइले निष्कर्ष निकाल्छन् कि भ्रष्टाचारले मुलुकको अर्थतन्त्रलाई कमजोर बनाउनेमात्र होइन, सार्वजनिक विश्वासलाई हल्लाउने र भविष्यको पुस्तालाई घुस वा अनैतिक व्यवहारलाई सामान्य ठान्ने खतरासमेत बढाउने काम गर्छ।

भ्रष्टाचार र अनैतिकताको विषयलाई मनोवैज्ञानिक दृष्टिले बुझ्दा विभिन्न विचारकहरूले फरक–फरक तरिकाले व्याख्या गरेका छन्। फ्रायडले आफ्नो मनोसंरचनात्मक मोडेलमार्फत इदको आनन्द चाहनाले सुपरइगोको नैतिक चेतनालाई दबाउँदा भ्रष्टाचार जन्मिन्छ भने इगोले त्यसलाई तर्कसंगत देखाउने कुरा बताउँछन्। स्किनरले सकारात्मक पृष्ठपोषण वा पुरस्कारका कारणले भ्रष्टाचारलाई निरन्तरता दिन सक्ने र दण्डको अभावले यसलाई अझ बढाउन सक्ने देखाउँछन्।

त्यस्तै मनोविद् बान्डुराले आम मानिसहरू आफ्ना मानक मानेका नेताहरू वा आफू संलग्न समूहको व्यवहार अनुकरण गरेर भ्रष्टाचार सिक्ने कुरामा जोड दिन्छन्। कोलबर्गको नैतिक विकास सिद्धान्तले भने उच्च नैतिक स्तरसम्म नपुग्दासम्म नियमलाई केवल स्वार्थ वा दण्डसँग जोडेर बुझ्ने प्रवृत्तिले नै भ्रष्टाचारलाई बढाउने ‍औँल्याएका छन्। आधुनिक नैतिक मनोविज्ञानले नैतिक विच्छेदनलाई केन्द्रमा राख्दै व्यक्तिहरूले आफ्ना गलत कामलाई औचित्यपूर्ण ठान्ने, जिम्मेवारी बाँड्ने वा हानि नकार्ने प्रवृत्तिले भ्रष्टाचारलाई सामान्यीकृत गर्ने बताउँछन्। यसरी, व्यक्तिगत चाहना, सामाजिक वातावरण, पुरस्कार–दण्डको प्रणाली, नैतिक विकासको स्तर र नैतिक औचित्यकरण सबैले भ्रष्टाचारलाई गहिरो रूपमा आकार दिने गरेको कुरा उजागर भएको छ।

३. धर्म र दर्शनसम्बन्धी दृष्टिकोणमा भ्रष्टाचारः धर्मले जीवनलाई नैतिकता, आस्था र आचरणसँग जोड्छ भने दर्शनले जीवन, सत्य र अस्तित्वबारे तार्किक खोज गर्दछ। भ्रष्टाचार र अनैतिकताका सम्बन्धमा धर्मले पाप वा अधर्मका रूपमा व्याख्या गर्छ, त्यस्तै दर्शनले भने समाज, न्याय र नैतिक मूल्यविरुद्धको विकृति भनेर चिनाउँछ। धर्म र दर्शन दुवै दृष्टिकोणमा भ्रष्टाचारलाई नैतिकता, सत्य र न्यायको विपरीत मानिन्छ।

धार्मिक दृष्टिमा भ्रष्टाचार व्यक्तिगत पापमात्र नभई सामाजिक रोग हो, जसले विश्वासको संकट, सामाजिक एकताको कमजोरी र आध्यात्मिक जीवनमा दोष ल्याउँछ। दार्शनिक दृष्टिमा भने यो नैतिक कर्तव्यको उल्लंघन, दीर्घकालीन सुखको नाशक र सुशासन तथा लोकतन्त्रको शत्रु मानिन्छ।

धर्मले भ्रष्टाचारलाई आध्यात्मिक र नैतिक पतनको रूपमा व्याख्या गर्छ भने दर्शनले यसलाई सामाजिक न्याय र नैतिक मूल्यहरूको संकटका रूपमा बुझ्छ, र दुवै दृष्टिकोणले समाजको समृद्धि र सुशासनका लागि गम्भीर बाधक ठान्छन्। विभिन्न चिन्तकहरूले भ्रष्टाचारलाई नैतिकता र न्यायको पतन, सामाजिक संरचनाको रोग, लोभ र स्वार्थ, शक्ति र नियन्त्रण, संस्थागत कमजोरी तथा सांस्कृतिक स्वीकृतिसँग जोडेर व्याख्या गरेका छन्। 

पूर्वीय दर्शन र धर्मले भारत, चीन र अन्य एसियाई देशहरूको विविध धार्मिक, सांस्कृतिक र दार्शनिक परम्पराहरूलाई समेट्छ। यसमा हिन्दु धर्म, ताओवाद, बौद्ध धर्म र जैन धर्मजस्ता विचारधाराहरूको समावेश छ। पूर्वीय दर्शनले ब्रह्माण्डलाई एक एकात्मक प्रणालीको रूपमा हेरिनुका साथै चेतना र भौतिक संसारको सम्बन्धलाई महत्व दिन्छ।

यी कतिपय धर्महरूमा अनुष्ठान र पूजा महत्वपूर्ण  छन् र नैतिकता र धर्मको पालनाबारे धारणा प्रस्तुत गर्छन्। ध्यान, योग र प्रार्थनाजस्ता आध्यात्मिक अभ्यासहरूले आन्तरिक शान्ति र आत्मज्ञानमा मद्दत पुर्‍याउँछन्। समग्रमा, पूर्वीय दर्शन र धर्म जीवनका जटिल प्रश्नहरूको उत्तर खोज्न आध्यात्मिकता र नैतिकता सम्बन्धी शिक्षाहरूलाई प्रवर्धन गर्दछ। हिन्दु दर्शनअनुसार कर्म र धर्म जीवनका दुई आधारस्तम्भ हुन्, कर्म भन्नाले प्रत्येक कार्यलाई जनाउँछ जसको फल अनिवार्य रूपमा भोग्नुपर्छ भने धर्म भन्नाले सत्य, कर्तव्य र नैतिक मार्गलाई जनाउँछ जसले कर्मलाई शुद्ध र मोक्षतर्फ उन्मुख बनाउँछ।

धर्मअनुसार गरिएको कर्मले आत्मालाई उन्नत बनाउँछ र मोक्ष दिलाउँछ, तर अधर्म वा अनैतिक कर्मले दुःख, अन्याय र पुनर्जन्मको चक्रलाई निरन्तरता दिन्छ। यसरी धर्मले कर्मलाई दिशा दिन्छ र कर्मले धर्मलाई सार्थकता दिन्छ। हिन्दु धर्ममा भ्रष्टाचारलाई अधर्म (कर्तव्यविपरीत आचरण) भनेर बुझिन्छ भने कर्ममा यसलाई नकारात्मक फल दिने दूषित कार्य भनेर व्याख्या गरिन्छ। यसरी धर्मले नैतिक मार्ग देखाउँछ र कर्मले त्यस मार्गमा गरिएका कार्यको परिणाम दिन्छ र अनैतिकता वा भ्रष्टाचार दुवैमा पाप र दुःखको कारण ठहरिन्छन्। हिन्दु धर्मको प्रमुख ग्रन्थ वेदमा पनि आचरण नियमनका विषयहरू उल्लेख छन्। जस्तो शुक्ल यजुर्वेदको ईशावास्य उपनिषद ४० मा भनिएको छ, 

ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत्।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम्।।

(अर्थात् यस सम्पूर्ण जगत्मा जे–जे छ, सबै ईश्वरको वशले व्याप्त छ। त्यसैले त्यागभावले भोग गर, कसैको धनमा लोभ नगर)।
यस्तै हिन्दु धर्मको अर्को प्रसिद्ध ग्रन्थ गीतामा उल्लेखित केही श्लोकहरूले अनैतिकता तथा भ्रष्टाचारका विषयमा उल्लेख गरेका छन्।
‘कुलक्षये प्रणश्यन्ति कुलधर्माः सनातनाः।
धर्मे नष्टे कुलं कृत्स्नमधर्मोऽभिभवत्युत।।’ १।४०

(धर्म क्षीण हुँदा कुलधर्म नष्ट हुन्छ, जसले समाज वा परिवारमा नैतिकता हराएर अनैतिकता हावी बनाउँछ। धर्मको पतनले सामाजिक मूल्य, संस्कार र नैतिक आधार कमजोर भई भ्रष्टाचार, अन्याय र अव्यवस्था जन्माउँछ।)
‘काम एष क्रोध एष रजोगुणसमुद्भवः।
महाशनो महापाप्मा विद्ध्येनमिह वैरिणम्।।’ ३।३७
(लोभ र क्रोध नै मानिसलाई पापतर्फ धकेल्ने शत्रु हुन्।)
‘दम्भो दर्पोऽभिमानश्च क्रोधः पारुष्यमेव च।
अज्ञानं चाभिजातस्य पार्थ सम्पदामासुरीम् ।’ १६।४

(दम्भ, अहंकार, क्रोध, कठोरता र अज्ञान असुरी 
सम्पत्ति हुन्।)

त्यस्तैगरी बौद्ध दर्शनमा उल्लेख भएअनुसार भ्रष्टाचार भनेको लोभ, द्वेष र मोहबाट उत्पन्न हुने अनैतिक आचरण हो, जसले अष्टांगिक मार्गको सम्यक आजीविका र सम्यक कर्मलाई उल्लंघन गर्दछ र करुणा तथा प्रज्ञालाई कमजोर बनाउँछ। धार्मिक दृष्टिकोणले सत्य, धर्म र करुणालाई भ्रष्टाचारविरुद्धको आधार मान्छ।सबै प्रमुख धर्महरूले भ्रष्टाचारलाई अन्याय, लोभ वा पापको रूपमा मान्दै यसलाइ अस्वीकार गरेका छन्।

सत्यनिष्ठा, न्याय, करुणा, पारदर्शिता र सामुदायिक जिम्मेवारीलाई नैतिक जीवनको आधार मान्छन्। इस्लामले घुसखोरी र सार्वजनिक सम्पत्तिको दुरुपयोगलाई हराम ठान्छ। कन्फ्युसियस दर्शनले शासक र नागरिकमा नैतिक आदर्शको अपेक्षा राख्छ। क्रिश्चियन धर्मले लोभ र चोरीलाई पाप ठहर गर्दै धनको लोभलाई सबै दुष्कर्मको मूल कारण मानेको छ। यहुदी धर्मले न्याय विकृत गर्ने वा घुस लिने कार्यलाई निषेध गर्नु पर्ने ठान्दछ। 

पश्चिमी दर्शनमा भ्रष्टाचारलाई न्यायको विफलता र सद्गुणको पतनको रूपमा चित्रण गरिएको छ। प्लेटो र अरिस्टोटलका अनुसार राज्यको प्रमुख उद्देश्य नागरिकलाई नैतिक जीवनतर्फ उन्मुख गराउनु हो, तर भ्रष्टाचारले यस उद्देश्यलाई नष्ट गर्छ। पश्चिमी दर्शनले न्याय, सत्यनिष्ठा र कानुनी शासनलाई नै भ्रष्टाचार निराकरणको साधन ठान्छ।

सबै धर्म र दर्शनका दृष्टिकोणमा भ्रष्टाचार व्यक्तिगत लोभ र सामाजिक पतनको कारण मानिन्छ, र यसलाई नियन्त्रण गर्न व्यक्तिगत नैतिकता तथा सामाजिक न्याय दुवैलाई सँगै अघि बढाउनु अपरिहार्य ठानिन्छ। यसरी यी सबै धर्महरूको साझा शिक्षा भनेको भ्रष्टाचारविरुद्ध सत्य, न्याय र नैतिक आचरणलाई जीवनको मूल मूल्य बनाउनु हो। प्रमुख धर्महरूको दृष्टिमा भ्रष्टाचार नैतिकता, सत्य र न्यायको उल्लंघन हो। 

४. भ्रष्टाचार एक आर्थिक दृष्टिकोणः आर्थिक दृष्टिकोणबाट हेर्दा भ्रष्टाचारलाई विकास र समृद्धिको प्रमुख अवरोधका रूपमा बुझिन्छ। भ्रष्टाचारले स्रोतहरूको दुरुपयोग गराउँछ, सार्वजनिक खर्चलाई अप्रभावकारी बनाउँछ र उत्पादनशील क्षेत्रभन्दा व्यक्तिगत लाभमा पुँजी प्रवाह गराउँछ। यसले समान अवसरको अभाव, असमानता वृद्धि र निवेश वातावरणलाई कमजोर बनाउँछ।

उदाहरणका लागि, जब सार्वजनिक खरिदमा घुस र पक्षपात हाबी हुन्छ, तब गुणस्तरभन्दा सम्बन्धलाई प्राथमिकता दिइन्छ, जसले दीर्घकालीन आर्थिक क्षति पुर्‍याउँछ। आर्थिक गतिविधि हुने ठाउँमा पारदर्शिता कमजोर भएमा भ्रष्टाचारको जोखिम सधैं कायम रहन्छ। भ्रष्टाचारले कर संकलन कमजोर बनाई राज्य सञ्चालनका लागि आवश्यक स्रोतका रूपमा रहने राजस्वको अभाव बनाउछ। राज्यलाई आधारभूत सेवामा लगानी गर्न मुस्किल वा असक्षम बनाउँछ। यसले खर्च हुने क्षेत्रबाट अतिक्रमण गरेर निर्माणको गुणस्तर घटाउछ, असमान वितरण निम्त्याउछ र शासनकै गुणस्तरमा ह्रास ल्याउछ। 

भ्रष्टाचार तथा अनैतिक अभ्यासले निजी क्षेत्रमा पनि नकारात्मक प्रभाव पार्छ-नवप्रवर्तन र प्रतिस्पर्धा घटाउछ, उत्पादनशीलता कमजोर हुन्छ, र बाह्य लगानीकर्ताको विश्वास गुम्छ। दीर्घकालीन रूपमा, भ्रष्टाचारले समृद्धि र सुशासनलाई अवरुद्ध गर्दै समाजमा असमानता र गरिबीलाई व्यापक बनाउँछ। त्यसैले आर्थिक दृष्टिकोणले भ्रष्टाचारलाई केवल नैतिक समस्यामात्र होइन, सामाजिक–आर्थिक संरचनाको रोगका रूपमा व्याख्या गर्छ।

भ्रष्टाचारले विश्वव्यापी सम्पत्तिमा ठूलो ह्रास ल्याउने मात्र होइन, वित्तीय प्रणालीलाई अस्थिर बनाउने उत्प्रेरकको रूपमा पनि काम गर्दछ। संयुक्त राष्ट्रसंघको एक अनुमानअनुसार सन् २०२५ मा भ्रष्टाचारको विश्वव्यापी लागत विश्वको कुल गार्हस्थ उत्पादनको करिब ५ प्रतिशत अर्थात् वार्षिक ५.७५ ट्रिलियन अमेरिकी डलरबराबर थियो।

यसले सार्वजनिक वित्तमा गम्भीर असर पार्छ- जस्तै स्वास्थ्य र शिक्षाजस्ता अत्यावश्यक सेवाबाट स्रोतहरूलाई अनुत्पादक क्षेत्रतर्फ मोड्ने, कर राजस्व घटाउने र अवैध वित्तीय प्रवाहमार्फत विकासशील अर्थतन्त्रलाई थप कमजोर बनाउने काम गर्दछ। भ्रष्टाचारको व्यवसाय र बजारमा पनि स्पष्ट प्रभाव देखिन्छ। साना तथा मझौला उद्यमहरू वित्तीय जोखिम र ऋण पहुँचको अभावले प्रभावित हुन सक्छन्, विदेशी लगानीलाई निरुत्साहित गर्छ, कमजोर वित्तीय अनुगमनले बैंकिङ प्रणालीमा पतन र व्यापक संकटको जोखिम बढाउँछ।

भ्रष्टाचारलाई अर्थशास्त्रीहरूले प्रायः रेन्ट सिकिङ वा अव्यवस्थित लाभ आर्जनको रूपमा पनि बुझ्ने गर्दछन्। जसले गुणस्तर र रचनात्मकता घटाउदै प्रतिस्पर्धा र नवप्रवर्तनलाई रोक्छ। कतिपयले यसलाई ‘ग्रिज द व्हिल्स’ अर्थात् प्रणालीलाई सजिलो बनाउने उपायको रूपमा व्याख्या गरे तापनि अधिकांश अध्ययनले ‘स्यान्ड द व्हिल्स’ अर्थात् प्रणालीलाई झन् जटिल बनाउने परिणाम देखाएका छन्। यसले लेनदेन लागत बढाउँछ, पारदर्शिता घटाउँछ र शासन प्रणालीलाई कमजोर बनाउँछ।

आर्थिक हिस्साको पनि मौद्रिक क्षेत्रमा भ्रष्टाचार बढ्ने प्रमुख कारण पैसा वा नगद स्वयं प्रत्यक्ष लाभको स्रोत हुनु हो। जब वित्तीय साधन वा नगद रकम सजिलै उपलब्ध हुन्छ, पदाधिकारी वा जिम्मेवार व्यक्तिहरू व्यक्तिगत फाइदा लिन प्रलोभित हुन्छन्, जसले अनैतिक अभ्यासलाई सहज बनाउँछ। साथै, बजेट विनियोजन, ठेक्का प्रक्रिया वा बैंकिङ कारोबारजस्ता मौद्रिक प्रणालीका लेनदेनहरू जटिल हुने भएकाले पारदर्शिता र निगरानी कमजोर भएमा भ्रष्टाचारको सम्भावना अझ बढ्छ।

अर्थशास्त्रमा इन्फोर्मेसन एसिमेट्री भनिने अवधारणाअनुसार, जब एक पक्षसँग बढी जानकारी हुन्छ र अर्को पक्षसँग कम, तब शक्तिशाली पक्षले मौद्रिक लाभका लागि अनैतिक व्यवहार गर्न सक्छ। यसले लेनदेन लागत बढाउँछ र प्रणालीलाई कमजोर बनाउँछ। यदि मौद्रिक प्रणालीमा इमानदार व्यवहारलाई प्रोत्साहन गर्ने संरचना बलियो नभएमा, घुस, कमिसन वा अनियमित खर्चजस्ता अभ्यासहरू सजिलै फैलिन्छन्। अन्ततः, संस्थागत कमजोरीले मौद्रिक क्षेत्रमा भ्रष्टाचारलाई अझ गहिरो बनाउँछ, जसले शासन प्रणालीलाई कमजोर पार्दै समाजमा नैतिक मूल्यहरूको ह्रास गराउँछ। आर्थिक, वित्तीय वा मौद्रिक क्षेत्र भ्रष्टाचारको जोखिम क्षेत्र त हुँदै हो यसका साथै यो शासकीय नियमन र नियन्त्रणको बढी अपेक्षा गर्ने क्षेत्र पनि हो। 

५. राजनीति, सार्वजनिक प्रशासन र भ्रष्टाचारः राजनीति र भ्रष्टाचार एक–अर्कासँग अन्योन्याश्ररित रहेका छन्। सत्ता टिकाउन धनको आदानप्रदानले ठेक्का, नियुक्ति, भागबन्डा संस्कृति र बजेट वितरणले भ्रष्टाचारलाई बढावा दिन्छ। यसले जनताको विश्वासमा नकारात्मक असर पार्दै लोकतन्त्रप्रति अविश्वास पैदा गर्छ। कहिलेकाहीँ राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणका कारण पनि भ्रष्टाचारमा मलजल हुने गर्दछ।

अन्तर्राष्ट्रिय स्तरमा पनि राजनीति र भ्रष्टाचारलाई ‘जुम्ल्याहा दाजुभाइ’ जस्तै मानिन्छ, जहाँ पुँजीवादी सोचले धन र शक्तिलाई प्रमुख साधन मान्दछ र लोकतान्त्रिक मूल्यहरूलाई चुनौती पनि दिन्छ। राजनीतिक भ्रष्टाचार भन्नाले सार्वजनिक पद वा अधिकारको दुरुपयोग गरी व्यक्तिगत वा समूहगत लाभ लिनु हो, जसले सुशासन, लोकतन्त्र र जनविश्वासलाई कमजोर बनाउँछ।

यसलाई सार्वजनिक शक्ति वा पदको निजी लाभका लागि प्रयोग गरिएको अवस्था भनेर परिभाषित गरिन्छ। जसमा घुस, चुनावी धाँधली, पक्षपात, राज्य स्रोतको दुरुपयोग र नीतिगत निर्णयमा अनुचित प्रभावजस्ता गतिविधिहरू पर्छन्। जब राजनीतिक नेताहरू वा पदाधिकारीहरूले आफ्नो जिम्मेवारीभन्दा बाहिर गएर व्यक्तिगत लाभ खोज्छन्, तब जनताले अपेक्षा गरेको निष्पक्ष शासन कमजोर हुन्छ।

राजनीतिक भ्रष्टाचारले आम जनविश्वास घटाउँछ, संस्थागत संरचना कमजोर बनाउँछ, र लोकतान्त्रिक मूल्यहरूलाई हानि पुर्‍याउँछ । यसले सार्वजनिक स्रोतहरूको गलत वितरण गराउने भूमिका खेल्दछ जसले दीर्घकालीन विकासलाई अवरुद्ध पार्दछ। उदाहरणका लागि, चुनावमा मत किनबेच वा नीतिगत निर्णयमा ठूला व्यावसायिक समूहहरूको अनुचित प्रभावले जनताको आवाजलाई दबाउँछ।

राजनीति र भ्रष्टाचारबीचको सम्बन्धले के देखाउँछ भने जब सार्वजनिक पदलाई व्यक्तिगत लाभका लागि प्रयोग गरिन्छ, तब सुशासन र लोकतन्त्र दुवै कमजोर हुन्छन्। त्यसैले राजनीतिक प्रणालीमा पारदर्शिता, जवाफदेहिता र कानुनी शासन बलियो बनाउनु नै भ्रष्टाचार नियन्त्रणको प्रमुख उपाय हो। 

सार्वजनिक प्रशासन समाजको हितका लागि नीति निर्माण, कार्यान्वयन र सेवा वितरण गर्ने प्रमुख संयन्त्र हो, जसको उद्देश्य पारदर्शिता, जवाफदेहिता, कार्यक्षमता र नागरिकमैत्री शासन सुनिश्चित गर्नु हो। तर जब सार्वजनिक प्रशासनमा भ्रष्टाचार प्रवेश गर्छ, तब यी आधारभूत मूल्यहरू कमजोर हुन्छन्। यसले सेवाको गुणस्तर घटाउँछ, जनसन्तुष्टि न्यून बनाउँछ, स्रोतहरूको दुरुपयोग गराउँछ, र सुशासनलाई कमजोर बनाउँछ। दीर्घकालीन रूपमा यसले समृद्धि, स्थिरता र लोकतान्त्रिक मूल्यहरूलाई कमजोर बनाउँछ। त्यसैले सुशासन कायम राख्न सार्वजनिक प्रशासनमा पारदर्शिता, कानुनी शासन, प्रभावकारी निगरानी, र नैतिक मूल्यहरूको पालन अनिवार्य हुन्छ।

६. आगामी कार्यदिशाः मानिसले किन भ्रष्टाचार गर्न खोज्छ भन्ने विषयमा केही विश्लेषण प्रस्तुत गरेपछि, त्यसलाई नियन्त्रण गर्ने उपायहरू वा सिफारिसहरू उल्लेख गर्नु उपयुक्त हुन्छ। पहिलो भ्रष्टाचार नियन्त्रणका उपायमा कानुनी, नीतिगत तथा संस्थागत सुधारबाट यसको पहल सुरु गर्नु पर्दछ। भ्रष्टाचारविरुद्धका कानुनलाई स्पष्ट, कठोर र प्रभावकारी बनाउनुपर्ने, नियमनकारी निकायको अधिकार, स्रोत र क्षमता अझै बढाउनुपर्ने, उच्च तहमा हुने नीतिगत निर्णयहरूलाई स्पष्ट परिभषित गरि नीतिगत भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ।

यसैगरी द्वन्द्वको स्वार्थ वा हितसम्बन्ध मिसिएका विषयमा रोकथामका लागि निर्णयकर्ताले व्यक्तिगत वा दलगत लाभका आधारमा नीति बनाउन नपाउने व्यवस्था हुनुपर्छ र न्यायपालिकालाई स्वतन्त्र र छिटो निर्णय दिन सक्ने वातावरण सुनिश्चित गर्न जरुरी छ। यस्तै हाम्रोजस्तो प्रणालीमा प्रशासनिक तथा सेवा प्रवाहमा सुधार पनि महत्वपूर्ण उपाय हो।

ई–गभर्नेन्स प्रणालीमार्फत सरकारी सेवाहरूलाई डिजिटलाइज गरेर मानवीय सम्पर्क घटाउनुपर्ने, सार्वजनिक खरिद, नियुक्ति र बजेट वितरणमा पारदर्शी प्रक्रिया अपनाउनुपर्ने, खुला प्रतिस्पर्धा र अनलाइन प्रणाली प्रयोग गर्नुपर्ने आवश्यकता देखिन्छ। साथै पदाधिकारीहरूले आफ्नो सम्पत्ति विवरण नियमित रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्थाले पनि जवाफदेहीता सुनिश्चित गर्दछ।

सामाजिक तथा सांस्कृतिक हस्तक्षेपले दीर्घकालीन सुधारमा योगदान पुर्‍याउँछ। विद्यालयदेखि नै नैतिक शिक्षा, इमानदारी, सदाचार र सामाजिक जिम्मेवारीबारे पाठ्यक्रम समावेश गर्नुपर्छ। नागरिकलाई भ्रष्टाचार देखेमा उजुरी गर्ने संस्कारलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ। यसका साथै अनुसन्धानात्मक पत्रकारिता र नागरिक समाजको दबाबलाई सशक्त बनाउनुपर्छ, जसले भ्रष्टाचारविरुद्ध सामाजिक चेतना र दबाब सिर्जना गर्छ।

यस्तै अन्तर निकायगत समन्वय, सहकार्य, क्षमता विकास तथा प्रवर्धनात्मक सुधारलाई मजबुत बनाउनुपर्छ। व्यक्तिगत तथा संस्थागत स्तरमा सूचना आदानप्रदान, जानकारी विस्तार र अनुसन्धान क्षमताको विकास गर्नुपर्ने आवश्यकता छ। साथै प्रवर्धनात्मक कार्यक्रममार्फत नागरिक समाजलाई सक्रिय भूमिका खेल्न प्रोत्साहित गर्नुपर्छ, जसले भ्रष्टाचार नियन्त्रणमा दीर्घकालीन प्रभाव पार्छ।

र अन्तमा, मानिसले किन भ्रष्टाचार गर्छन् भन्ने प्रश्न स्वयम् बहुआयामिक छ। व्यक्तिगत स्वभाव, लोभ वा आवश्यकता, सामाजिक सम्बन्ध, परिवारको पालनपोषणको जिम्मेवारी र सांस्कृतिक मूल्यहरू सबैले यसमा भूमिका खेल्छन्। सहानुभूतिको कमी, आत्मकेन्द्रितता, अधिकारको दुरुपयोग, वा तुरुन्त सन्तुष्टि खोज्ने प्रवृत्तिले पनि व्यक्तिलाई अनैतिक बाटोतर्फ धकेल्छ।

त्यस्तै, आर्थिक कठिनाइ वा कम आयका कारण आवश्यकता पूर्ति गर्न पनि मानिस भ्रष्टाचारतर्फ आकर्षित हुन्छन्। मित्रता वा सामाजिक दबाबले अनैतिक कार्यलाई सामान्य ठान्ने प्रवृत्ति जन्माउँछ, जबकि कमजोर पालनपोषण वा अस्थिर सामाजिक–आर्थिक अवस्थाले नैतिक चेतनालाई कमजोर बनाउँछ। भ्रष्टाचार केवल व्यक्तिगत लोभ वा इच्छाको परिणाममात्र होइन, सामाजिक संरचना, सांस्कृतिक मूल्य, र संस्थागत कमजोरीसँग पनि यो गाँसिएको छ।

भ्रष्टाचार तथा नैतिकतामा देखिएको ह्रासको दीर्घकालीन प्रभावले सुशासनलाई कमजोर बनाउँछ, जनविश्वासलाई घटाउँछ र भविष्यको पुस्तामा अनैतिक व्यवहारलाई नै सामान्यीकरण गर्ने जोखिम बढाउँछ। त्यसैले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिगत नैतिकता, सामाजिक चेतना, र संस्थागत पारदर्शिता सबैलाई सुदृढ बनाउन आवश्यक हुन्छ।

भ्रष्टाचार र अनैतिक कार्यहरू हरेक समाजमा देखिने सामाजिक रोग हुन्। हामी यस सामाजिक रोगलाई विभिन्न दृष्टिकोणबाट हेर्छौं, विविध विचार र व्याख्या देखिन्छन्। कसैले यसलाई व्यक्तिगत लोभको परिणाम मान्छन् भने कसैले संरचनागत कमजोरी वा राजनीतिक इच्छाशक्तिको अभावको कारण ठान्छन्। तर जुनसुकै दृष्टिकोणबाट हेरे पनि, भ्रष्टाचार बढ्ने सम्भावना त्यस्ता समाजमा बढी हुन्छ जहाँ कानुनी शासन कमजोर छ, पारदर्शिता र जवाफदेहिता अभावमा छन्, शिक्षा र चेतना न्यून छ, तथा शक्ति र स्रोतहरू सीमित व्यक्तिहरू वा समूहहरूको नियन्त्रणमा छन्।

यसरी भ्रष्टाचार केवल व्यक्तिगत विषयमात्र नभई सामाजिक संरचनाको कमजोरी र नैतिक मूल्यहरूको ह्रासको प्रतिफल हो, जसले दीर्घकालीन रूपमा समाजको विकास र स्थायित्वलाई चुनौती दिन्छ। भ्रष्टाचार र नैतिकतामा हुने ह्रासलाई कुनै एउटा विषय वा एउटा कारकमात्र नमानी व्यापक दृष्टिकोणबाट सम्बोधन गरिनु आवश्यक छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.