टी–२० विश्वकप : आज तीन खेल हुँदै, को–को भिड्दै छन् ?
काठमाडौं : आइसिसी टी–२० विश्वकप अन्तर्गत शनिबार विभिन्न स्थानमा तीन खेलहरू हुँदैछन् । आजको खेलहरूमा आयरल्याण्ड र ओमान, इङल्याण्ड र स्कटल्याण्ड तथा न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै छन् । नेपाल रहेको ‘समूह सी’ मा आबद्ध दुई देश इङल्याण्ड र स्कटल्याण्ड आज दिउँसो ३ः१५ बजे कोलकातास्थित प्रसिद्ध इडेन गार्डेनमा भिड्दै छन् ।
प्रतियोगितामा अहिलेसम्म दुवै टोलीले मिश्रित नतिजा निकालेका छ । दुवै देशले दुई–दुई खेल खेल्दा समान एक खेलमा जित र एक खेलमा हार व्यहोरेका छन् । यद्यपि, नेट रनरेटका आधारमा स्कटल्याण्ड अंक तालिकामा इङल्याण्डभन्दा केही माथि छ । आजको खेलले यो समूहको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ ।
आजको पहिलो खेलमा समूह ‘बी’ मा रहेका आयरल्याण्ड र ओमानबीच प्रतिष्पर्धा हुँदैछ । श्रीलंकाको कोलम्बोस्थित एसएससी क्रिकेट मैदानमा बिहान ११ः१५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ बनेको छ ।
आफूले खेलेका अघिल्ला दुवै खेलमा हार व्यहोरेका यी दुई टोली आज पहिलो जितको खोजीमा मैदान उत्रने छन् । प्रतियोगितामा आफ्नो उपस्थिति बलियो बनाउन आजको खेल दुवैका लागि अनिवार्य जित्नुपर्ने दबाब छ ।
आजको तेस्रो तथा अन्तिम खेलमा दुई अपराजित टोलीहरू न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै छन् । विश्वकै ठूलो क्रिकेट रंगशाला, अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेललाई आजको सबैभन्दा प्रतिक्षित खेल मानिएको छ । न्युजिल्याण्ड र दक्षिण अफ्रिका दुवैले यसअघिका आफ्ना दुई–दुई खेलमा शानदार जित हात पारेका छन् ।
प्रतिक्रिया दिनुहोस !