६० प्रतिशत मतदान, संवैधानिक प्रक्रिया ‘लिक’ मा

६० प्रतिशत मतदान, संवैधानिक प्रक्रिया ‘लिक’ मा

निर्वाचनले ‘लिक’ बाहिर गएको संवैधानिक र राजनीतिक प्रक्रियालाई ताजा जनादेशसहित पुनः लिकमै फर्काएको छ।

काठमाडौं : जेन-जी आन्दोलनको बलमा विघटित प्रतिनिधिसभा निर्वाचन बिहीबार देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । केही छिटपुट घटनाबाहेक निर्वाचनमा जनताको उत्साहजनक सहभागिता देखिएको छ । निर्वाचन आयोगले करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक विवरण दिएको छ । यो निर्वाचनले ‘लिक’ बाहिर गएको संवैधानिक र राजनीतिक प्रक्रियालाई ताजा जनादेशसहित पुनः लिकमै फर्काएको छ । राजनीतिक र संवैधानिक अन्योलको अन्त्य गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढने कोशेढुंगाको काम पनि गरेको छ । 

भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै भदौ २३ र २४ को जेन-जी आन्दोलनको बलमा कांग्रेस–एमालेको दुई तिहाइ सरकार विस्थापित भयो । अन्तरिम सरकार गठन भयो । संवैधानिक प्रक्रिया बाहिरबाट जन्मेको सरकारलाई ६ महिनाभित्र चुनाव गर्ने म्यान्डेड दिइएको थियो । अनेक शंका,त्रास र अविश्वासबीच सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरेको छ । यद्यपि, विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन अन्तरिम सरकारका लागि चुनौतीपूर्ण थियो । निर्वाचन आयोगले शान्तिपूर्ण र उत्साहजनक रूपमा चुनाव सम्पन्न भएको कार्यवाहक  निर्वाचन प्रमुख  आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । छिटपुट  घटनाबाहेक निर्वाचनमा कुनै अप्रिय घटना  नभएको पनि  आयोगले जनाएको छ । 

देशभरबाट प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान आयोगको छ ।  आयोगका  कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विस्तृत विवरण संकलन कार्य जारी रहेको बताए । १  करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । जसमा महिला ९२ लाख ४० हजार १ सय ३१, पुरुष ९६ लाख ६३ हजार ३ सय ५८  र अन्य दुई सय मतदाता थिए । जसमा करिब ६०  प्रतिशतले मतदाता गरेको आयोगले जनाएको छ । २ सय ७५ स्थानका लागि निर्वाचन भएको हो ।  जसमा १ सय ६५ जना प्रत्यक्ष निर्वाचनमा आउनेछन् भने १ सय १०  जना समानुपातिक प्रणालीबाट आउने छन् ।  

मतदानका लागि तोकिएको समयभित्र मतदान केन्द्रमा प्रवेश गरेका केही केन्द्रहरूमा मतदानको कार्य जारी रहेको जानकारी सम्बन्धित निर्वाचन क्षेत्रबाट प्राप्त भएको छ । छिटफुट अवरोधका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक विवरणबाट समेत प्राप्त भएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए । 

मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रूपमा संकलन गरिएका छन् ।  कतिपय क्षेत्रमा शुक्रबार रातिबाटै  मतगणना  सुरु भएको आयोगले जनाएको छ । दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिँदै छन्। कार्यवाहक  प्रमुख आयुक्त भण्डारीका अनुसार जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम (पूर्वी भाग) का सम्पूर्ण मतपेटिका सम्बन्धित मतगणनास्थलमा  बिहीबार रातिसम्म  पुर्‍याउने लक्ष्य   आयोगको छ  भने संखुवासभा,सोलुखुम्बु, गोरखा र रुकुम (पश्चिम भाग),मनाङ तथा बाजुरा र हुम्लाका मतपेटिका शुक्रबार बिहानसम्म सम्बन्धित मतगणना स्थलमा पुर्‍याइने छन्।

प्रतिनिधिमूलक लोकतन्त्रको यस उत्सवमा सहभागी भई आफ्नो मताधिकारमार्फत प्रतिनिधि चुन्ने,कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा संलग्न हुने एवम् सरकार निर्माण तथा शासन सञ्चालनमा सहभागी हुने प्रक्रियालाई पूर्णता दिएकोमा सम्पूर्ण मतदातामा आयोगले धन्यवाद दिएको छ। २०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुई तिहाइको सरकारलाई अपदस्थ गरेको थियो।  आन्दोलनबाट कांग्रेस एमालेसहितको गठबन्धनको सरकार अपदस्थ भएपछि भदौ २७ गते सुशीला कार्की नेतृत्वको नागरिक सरकार बनेको थियो। यो सरकारले नै प्रतिनिधिसभा विघटन गरेको थियो। राष्ट्रपति  रामचन्द्र पौडेलले कार्की नेतृत्वको सरकारलाई फागुन २१ मा निर्वाचन गराउने एकमात्रै कार्यदेश दिएका थिए । कार्की सरकारले सफलतापूर्ण निर्वाचन गराउने कार्यदेश पूरा गरेर इतिहासमा नाम लेखाएको छ । कार्यदेश पूरा गरेको कार्की नेतृत्वको सरकारको प्रशंसा  पनि  भएको छ । 

  • निर्वाचन आयोगले करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक विवरण दिएको छ। 
  •     निर्वाचनले ‘लिक’ बाहिर गएको संवैधानिक र राजनीतिक प्रक्रियालाई ताजा जनादेशसहित पुनः लिकमै फर्काएको छ।
  •     विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन अन्तरिम सरकारका लागि चुनौतीपूर्ण थियो। 
  •     कतिपय क्षेत्रमा शुक्रबार रातिबाटै  मतगणना  सुरु भएको आयोगले जनाएको छ।
  •     शान्तिपूर्ण र उत्साहपूर्ण निर्वाचन भए पनि यसपटक मत भने कम खसेको छ। 

२०४६  पछिकै सबैभन्दा कम मतदान 

शान्तिपूर्ण र उत्साहपूर्ण निर्वाचन  भए पनि यसपटक मत भने कम  खसेको छ। आयोगको प्रारम्भिक  विवरणअनुसार ६० प्रतिशतमात्रै मतदान भएको छ । यद्यपि, जेन-जी पुस्ताको सहभागिताबीच भएको निर्वाचनमा धेरै नै मतदान हुने अपेक्षा थियो । हुन त,२०७९  सालको निर्वाचनमा ६१.६३ प्रतिशत मत खसेको थियो । २०७४ सालको चुनावमा ६८.६७ प्रतिशत मत खसेका थियो । २०१५ सालयताका चुनावमा सबैभन्दा कम मतदान यस पटक भएको छ । २०७९ को मंसिर ४  मा निर्वाचन भएको थियो । उक्त निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता थिए ।   

यो निर्वाचनमा ६१.४१ प्रतिशत अर्थात् १ करोड १० लाख ४७ हजार ३४ मत मात्र खसेको थियो।  जसमा नेपाली कांग्रेसले ८९,एमाले ७८, माओवादी केन्द्रले ३२, रास्वपाले २०,राप्रपाले १४, जनता  समाजवादी पार्टीले १२,नेकपा एकीकृत समाजवादीले १०,जनमत पार्टीले ६,नागरिक उन्मुक्ति पार्टीले ४,लोकतान्त्रिक समाजवादी पार्टीले ४,राष्ट्रिय  जनमोर्चा १, नेपाल मजदुर किसान पार्टी र आमजनता  पार्टीले १ तथा २ स्वतन्त्रले जितेका थिए ।  यो पटक खसेको मतमा ५.१९ प्रतिशत मत बदर भएको हो।

२०७४ साल मंसिर १० र २१ गते गरी दुई चरणमा  निर्वाचन  भएको थियो । निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता रहेका थिए ।  जसमा  ६८.६३ प्रतिशत अर्थात् १ करोड ५ लाख ८७ हजार ५ सय ७१ मत खसेको थियो । यो निर्वाचनमा एमाले सबैभन्दा ठूलो पार्टी बनेको थियो । नयाँ संविधान बनेपछि पहिलो आम निर्वाचनको लागि २ सय ६५  स्थान कायम गरेको थियो ।  जसमा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिट कायम गरिएको थियो।  एमालेले प्रत्यक्षमा ८०  र समानुपातिकमा  ४१ गरी १ सय २१ स्थान जितेको थियो । कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सिटमा विजयी हासिल गरेको थियो।  

एकीकृत माओवादी प्रत्यक्षमा ३६ र समानुपातिकतर्फ १७ गरी ५३ सिट जितेको थियो ।  राष्ट्रिय जनता पार्टीले प्रत्यक्षतर्फ ११ र संघीय समाजवादी फोरमले १० स्थान जितेका थिए। नयाँ शक्ति पार्टी, राप्रपा, राजमो, नेमकिपा र स्वतन्त्रमा १/१  निर्वाचित भएका थिए । २०७४ मा  त्यसबेला ५.१६ प्रतिशत मत बदर भएको थियो ।

दोस्रो संविधानसभाको निर्वाचन  २०७०  मंसिर ४  गते भएको थियो । १ करोड २१ लाख ४७ हजार ८ सय ३५ मतदाता छन् ।  जसमा  ७८.३४ प्रतिशत अर्थात् ९५ लाख १६ हजार ७ सय ३४  मत खसेको थियो । ६  हजार १ सय २५ उम्मेदवार थिए । जसमा कांग्रेसले सबैभन्दा धेरै सिट जितेको थियो ।  कांग्रेसले प्रत्यक्षमा १ सय ५ र ९१ गरी १ सय ९६ सिट जितेको थियो।  एमालेले प्रत्यक्षमा ९१ र समानुपातिकमा ८४ गरी  १ सय ७५  सिट जितेको थियो। 

माओवादीले प्रत्यक्षमा २६ र समानुपातिकमा ५४ सिट गरी ८० सिट जितेको थियो। राप्रपा  नेपालले समानुपातिकमा  मात्रै २४ सिट जितेको थियो।  मधेसी  जनअधिकार फोरम (लोकतान्त्रिक)ले १४,राप्रपाले  १३,मधेसी जनअधिकार फोरम नेपालले ८ जितेको छ । नेकपा मालेले ५, नेमकिपाले ४,राष्ट्रिय जनमोर्चाले ३, नेकपा एकीकृत ३,नेपाल  परिवार दल १, अखण्ड नेपाल पार्टी १, जनजागरण पार्टी १,खुम्बुवान राष्ट्रिय मोर्चा १,मधेस समता  पार्टी नेपाल १, नेपाली जनता दल १,समाजवादी प्रजातान्त्रिक पार्टी १ सिट जितेको थियो । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले १ र स्वतन्त्र ३ जनाले जितको थिए । २०७० मा ४.९६ प्रतिशत मत बदर भएको थियो । 

पहिलो संविधानसभाको  निर्वाचन २०६४ चैत २८  गते भएको थियो । १ करोड ७६ लाख ११ लाख ८ सय ३२ मतदाता थिए । जसमा ६१.७० प्रतिशत  अर्थात् १  करोड ८ लाख ६६ हजार १ सय ३१  मत खसेको थियो । कुल उम्मेदवार ३ हजार ५ सय ७८ उम्मेदवार थिए । जसमा सबैभन्दा ठूलो पार्टी तत्कालीन नेकपा माओवादी भएको थियो । माओवादीले १ सय २० प्रत्यक्ष र एक सय जना  समानुपातिक गरी २ सय २० सिट  जितेको थियो ।  ६ सय १  सदस्यीय संविधानसभामा कांग्रेसले ३७ प्रत्यक्ष र ७३ समानुपातिकसहित ११०, एमालेले ३३ प्रत्यक्ष र ७० समानुपातिकसहित १ सय ३  सिट जितेको थियो ।

मधेसी जनअधिकार फोरमले  ३० प्रत्यक्ष र २२ समानुपातिकसहित ५२ सिट जितेको थियो।  तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले प्रत्यक्षमा ९ र समानुपातिकमा  ११ सिट गरी १९ सिट जितेको थियो । राप्रपा र नेकपा मालेले ८/८ सिट जितेको थियो । नेपाल सद्भावना पार्टी,जनमोर्चा नेपाल र नेकपा (एकीकृत)ले ५/५ सिट जितेको छ ।  राप्रपा नेपालले ४ सिट जितेको थियो ।  राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनशक्ति पार्टीले ३/३ सिट जितेको थियो । त्यस्तै नेमकिपा, संघीय लोकतान्त्रिक  मञ्च,  नेपाल  सद्भावना पार्टी (आनन्दी देवी), राष्ट्रिय जनशक्ति पार्टी, नेपाली जनता दल, नेकपा (एकीकृत) २/२  सिट जितेको थियो । 

नेकपा (संयुक्त), दलित जनजाति  पार्टी, समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल,चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल,नेपाल लोतान्त्रिक समाजवादी  दल र नेपाल  परिवार दलले १÷१ सिट जितेका थिए।  स्वतन्त्रले २ सिट जितेको थियो । २०६४ को संविधानसभा निर्वाचनमा ५.१५ प्रतिशत मत बदर भएको थियो । 

२०५६ मा वैशाख २० र जेठ ३ गरी दुई चरणमा  निर्वाचन  भएको थियो । यो निर्वाचनमा १ करोड ३५ लाख १८ हजार ८ सय ३९ जना मतदाता थिए । जसमा ६५.७९ प्रतिशत अर्थात ८८ लाख ९४  हजार ५ सय ६६ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा ६ सय ३३ स्वतन्त्रसहित २  हजार २ सय ३८ जना  उम्मेदवार दिए ।  

२०५६ सालको निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याएको थियो। २०५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसले १ सय ११ सिट जितेको थियो । ७१ सिट जितेर नेकपा एमाले प्रमुख प्रतिपक्षी  दल भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले ११,नेपाल सदभावना पार्टी ५,संयुक्त जनमोर्चाले ५,नेपाल  मजदुर किसान  पार्टी १,संयुक्त जनमोर्चा १ सिट ल्याएको थियो । २०५६ हालसम्मकै कम अर्थात्, २.७५ प्रतिशत मत बदर भएको थियो । 

 २०५१ कात्तिक २९ गते मध्यावधि  निर्वाचन  भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद्  विघटन गरेपछि भएको यो मध्यावधि  निर्वाचनमा   १ करोड २३ लाख २७ हजार ३ सय २९ मतदाता  रहेका थिए ।  जसमा  ६१.८६ प्रतिशत मत खसेको थियो अर्थात्,७६ लाख २५ हजार ३ सय ४८ ले मतदान गरेका थिए । यो निर्वाचन क्षेत्रमा ३ सय ८५ स्वतन्त्रसहित १ हजार ४ सय ४२ जना उम्मेदवारी दिए । यो निर्वाचनमा एमालेले ८८ सिट ल्याएर पहिलो पार्टी भएको थियो । कांग्रेसले ८३,राष्ट्रिय प्रजातन्त्र पार्टीले २०,नेपाल मजदुर किसान पार्टीले ४,नेपाल सद्भावना  पार्टीले ३ र स्वतन्त्रले ७ सिट जितेकोे थियो । २०५१ को मध्यावधि चुनावमा ३.१६ बदर भएको  थियो । २०४६ सालको परिवर्तनपछि वैशाख २०४८ वैशाख २९  आमनिर्वाचन भएको थियो । यो आम  निर्वाचनमा १ करोड ११ लाख ९१ हजार ७ सय ७७ मतदाता गरेका थिए ।
 
जसमध्ये ६५.१५ प्रतिशत अर्थात् ७२ लाख ९२ हजार ८४ मत खसेको थियो। निर्वाचनमा २ सय १९ स्वतन्त्रसहित १ हजार ३ सय ४५ जना उम्मेदवार थिए।  यो निर्वाचन  कांग्रेस  १ सय १० सिटसहित बहुमत  ल्याएको थियो ।  २०५ सदस्यीय प्रतिनिधिसभामा एमाले ६९ सिट ल्याएर प्रमुख प्रतिपक्षी दल भएको थियो । संयुक्त जनमोर्चाले ९,नेपाल सदभावना  पार्टीले ६, राप्रपा (चन्द्र)ले ३,नेमकिपा र नेकपा (प्रजातान्त्रिक)ले २/२ सिट जितेको थियो ।  त्यस्तै राप्रपा (थापा)ले १ र स्वतन्त्र ३ जना विजयी भएका थिए । २०४८ सालको चुनावमा ४.४२ प्रतिशत मत बदर भएको थियो ।

पहिलो निर्वाचन ४२.१९ प्रतिशत मतदान 

२००७ सालमा  १०४ वर्षे  जहानियाँ  राणा शासनको अन्त्य भए पनि लामो समय निर्वाचन हुन सकेन ।  पहिलो आमनिर्वाचन २०१५ सालमा भयो ।  २०१५ साल फागुन ७ गतेदेखि ४५ दिनसम्म भएको निर्वाचनमा ४२ लाख ४६ हजार ४ सय ४८ मतदाता रहेका थिए ।  जसमा  करिब ४२.१९ प्रतिशतले मतदान  गरेका थिए । २८ वैशाख २०१६ वैशाख २८ गते आएको परिणाममा  आएको थियो ।  कांग्रेसले १ सय ९ सिटको लागि भएका निर्वाचनमा  दुई तिहाइ स्थानमा जितको थियो।  कांग्रेसले ७४ नेपाल राष्ट्रिय गोर्खा परिषद्ले १९ सिट,संयुक्त प्रजातान्त्रिक पार्टीले ५,नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ४,नेपाल प्रजा परिषद्ले ३ सिट जितेका थिए भने स्वतन्त्र उम्मेदवारले ४ सिट हात पारेका थिए।

‘सुरक्षा निकायको कार्यकुशलता देखियो’
null
कुनै हिंसाबिना देशभर चुनाव सम्पन्न हुनु धेरै सुखद पक्ष हो। यो निर्वाचन नेपालका लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उपलब्धि हो। निर्वाचन प्रक्रियामा सरकार, सुरक्षा निकाय, कर्मचारी, शिक्षक,राजनीतिक दल,नागरिक समाज तथा आम मतदाताको सक्रिय सहभागिता र योगदानले लोकतान्त्रिक संस्थाहरूको संस्थागत मजबुतीलाई पुनः पुष्टि गरेको छ।
नेपालमा पछिल्लो समय गैरदलीय सरकारको उपयुक्तता देखिएको छ भने सुरक्षा निकायहरूको भूमिकाले लोकतान्त्रिक प्रक्रियालाई थप विश्वसनीय बनाएको छ। विशेषगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देखाएको सुझबुझ,कार्यकुशलता र व्यावसायिकताले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्‍याएको  छ।
जनताबाट प्राप्त म्यान्डेटलाई शान्ति, समृद्धि र स्थायित्वतर्फ अघि बढाउने आधारका रूपमा व्याख्या गर्न सकिन्छ। राजनीतिक दलहरूको सुझबुझ,सुरक्षा निकायहरूको व्यावसायिकता र आम नागरिकहरूको उत्साहपूर्ण सहभागिता लोकतान्त्रिक संस्कृतिको परिपक्वताको सूचक हो। यस सफल अभ्यासले नेपालमा लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वासलाई अझ गहिरो बनाएको छ। आगामी दिनमा यो म्याडेन्टले नीति निर्माण, सुशासन र शासन प्रणालीलाई जनताको आकांक्षासँग जोड्ने अपेक्षा गरिएको छ। 
                                                                                                                          अभयराज जोशी
                                                                                                                 सुरक्षा तथा सुशासन विश्लेषक


    
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.