धनुषा-३ मा रास्वपाको अग्रता, १ मा मतगणनामा अन्यौलता
जनकपुरधाम : प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत परिणामअनुसार निकै चर्चित धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झा अग्रस्थानमा छन् ।
हालसम्मको मत परिणाम अनुसार रास्वपाका झा १३ हजार ५०४ मत प्राप्त गरी अगाडि छन् भने नेपाली कांग्रेसका बिमलेन्द्र नीधि ३ हजार ७६४ मतका साथ दोस्रो स्थानमा छन् । त्यसैगरी नेकपा एमालेकी जुली कुमारी महतो १ हजार ५९९ मत प्राप्त गरी तेस्रो स्थानमा छिन् ।
यता, धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म मतगणना सुरू हुन सकेको छैन । रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज गरिए पनि मतपत्रमा चुनाव चिन्ह कायमै रहेको र खसेको मतलाई के गर्ने भन्ने विषयमा विवाद हुँदा मतगणना हालसम्म सुरु नै हुन सकेको छैन ।
निर्वाचन आयोगले रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेपनि मतपत्रमा चुनाव चिन्ह कायमै रहेपछि मतदान गर्नेहरूले उक्त चुनाव चिन्हमा पनि मतदान गरेका छन् । अब खसेको मतसंकेतलाई के गर्ने भन्ने विषयमा अन्यौलता हुँदा मतगणना सुरू हुन नसकेको निर्वाचन अधिकृत मनोज बरालले बताएका छन् ।
निर्वाचन अधिकृत बरालले निर्वाचन आयोगलाई पत्राचार गरि यस विषयमा निर्देशन माग गरेको छ र निर्देशन आएपछि मात्रै मतगणना प्रारम्भ हुने सूचना निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस !