‘अब मान्छे नमारिऊन्, देश पनि नजलोस्’

‘अब मान्छे नमारिऊन्, देश पनि नजलोस्’
दैलेखको दुल्लु नगरपालिकास्थित हनुमान आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै एक महिला र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित टाकुरेबाडीमा रहेको मतदान केन्द्रमा मतदान गर्दै एक वृद्ध  । हिक्मतबहादुर नेपाली
सुन्नुहोस्

उमेरले ७१ वर्ष पुगिन्। स्वास्थ्यले साथ दिएको थिएन। तर पनि सकिनसकी उनी बिहीबार दिउँसो मतदान केन्द्रमा पुगिन्। आफन्तको सहयोगमा उनले भोट पनि खसालिन्। सुर्खेतको बराहताल निवासी भद्रा नेपालिले मतदान केन्द्रबाट बाहिरिँदै गर्दा भनिन्, ‘मैले सकिनकसी भोट दिएकी छु, यसपालिको मेरो भोट खेर नजाओस्।’

भद्राले बिहीबार आफ्नो जीवनको आठौं पटक मतदान गरेकी हुन्। विगतमा भन्दा यस पटकको मतदानमा उनको अपेक्षा फरक छ। उनले भनिन्,‘विगतमा पनि धेरै पटक भोट दिएँ, त्यसबेला देशमा विकास होस् भन्ने अपेक्षा थियो। तर यसपालि देशमा कोही पनि मान्छे मारिने अवस्था नआओस्,अब देश पनि नजलोस्।’ यसपालिको निर्वाचनले देशमा स्थायी सरकार बन्नु पर्ने भन्दै उनले अब मान्छे मारिने र देश नै जल्ने अवस्थाको अन्त्य हुनुपर्ने बताइन्।

दैलेखको भैरवी गाउँपालिका–२ रावतकोटका ५० वर्षीय रामप्रसाद अधिकारीले पनि बिहीबार मतदान गरे। स्थानीय मष्टा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर उनले मतदान गरे। मतदान गरेर फर्किंदै गर्दा अधिकारीले भने,‘धेरै पटक भोट हालियो,तर हाम्रो भोटले न्याय पाउन सकेन। यसपालि पनि भोट दिएको छु,अब भने मेरो भोट खेर नजाओस्।’विगतमा भोट हाल्दा उनले गाउँमा भौतिक विकास, शिक्षा,स्वास्थ्य र रोजगारी उपलब्ध हुने अपेक्षा गर्थे। तर यो पटक उनको अपेक्षा भने फरक छ। यो पटकको निर्वाचनले देशमा दिगो शान्ति र राजनीतिक स्थायित्व दिनुपर्ने अपेक्षा उनको छ।

देशमा दुई तिहाइको सरकार हुँदा पनि सरकार ढल्ने अवस्था आएको भन्दै उनले भने,‘अब देशमा सुशासन कायम होस्,आन्दोलनको नाममा देश जल्ने अवस्था नआओस्।’यो पटकको मतदानपछि आफू देशमा शान्ति र राजनीतिक स्थिरता कायम हुनेमा आशावादी रहेको उनले सुनाए। अब जित्ने नेता र बन्ने सरकारले देशमै रोजगारी सिर्जना गरेर युवामा रहेको असन्तुष्टिलाई अन्त्य गर्नुपर्ने उनको सुझाव छ। देशमा सुशासन र रोजगारीको अवस्था सिर्जना गर्न सकेमा देश जल्ने र मान्छे मारिने अवस्था पनि नआउने उनी बताउँछन्।

यस्तै, वीरेन्द्रनगर वडा नं २ का श्यामलाल फौजामगरले बिहीबार पहिलोपटक मतदान गरे। २१ वर्षीय उनले देशमा सुशासन र रोजगारीका लागि मतदान गरेको बताए। ‘देशको मुख्य समस्या नै बेरोजगारी हो’ मतदान केन्द्रबाट बाहिरिँदै गरेको उनले भने,‘देशमा रोजगारीका अवसर नै भएनन्,अब बन्ने सरकारले हामीलाई देशमै बसेर काम गर्ने अवस्था ल्याउनुपर्छ।’ उनले आफ्नो जीवनको पहिलो भोट खेर नजाने विश्वास गरेका छन्। यस्तै दैलेखको डुंगेश्वर गाउँपालिका–२ निवासी ४० वर्षीया कृष्णा नेपाली यसपालिको भोटले देशमा समृद्धि आउने अपेक्षा गरिन्। ‘देशले अब कुनै पनि प्रकारको अशान्ति सामना गर्नु नपरोस्, सुशासन कायम होस्’उनले भनिन्।

दैलेखको भैरवी गाउँपालिका–५ डोक्राका ६३ वर्षीय कृष्णप्रसाद जैसीले भने,‘मैले आजसम्म ११ औं पटक मतदान गरेको छु,यो पटकको मतदानपछि देशमा शान्तिको कामना गरेको छु।’ उनले अब देशले कुनै पनि आन्दोलन र हिंसा थेग्न नसक्ने बताए। यस्तै जिल्लाकै डुंगेश्वर गाउँपालिका–२ की ५५ वर्षीया सरुपा नेपालीले यो पटकसहित पाँचौं पटक मतदान गरिन्। सरुपा भन्छिन्, ‘देशमा अब कुनै पनि आन्दोलन नहोऊन्,देश नै जल्नुपर्ने अवस्था पनि नआओस्।’स्वदेशमा रोजगारी नपाएर समस्यामा रहेका युवाहरूका लागि अब बन्ने सरकारले विशेष व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। 

मतदान केन्द्रमा भेटिएकी उनले अब जितेर जाने नेताले जनताका आधारभूत आवश्यकता परिपूर्तिमा ध्यान दिनुपर्ने बताउँछिन्। बिहीबार मतदानमा सहभागी अधिकांशले अब कसैले पनि राज्यबाट मारिनुपर्ने र आन्दोलनको नाममा देश नै जलाउने अवस्थाको अन्त्य हुनुपर्ने कामना गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.