नेपाली नारीका पदचिह्न
हरेक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर महिलाहरूको अधिकार, समानता र सम्मानका लागि गरिएको संघर्षको स्मरण गर्ने दिन हो। यस वर्ष ‘सबै महिला र बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ जस्ता कुराले केवल औपचारिक प्रतिबद्धता होइन, व्यावहारिक परिवर्तनको आवश्यकता औंल्याउँछ। नेपाल जस्तो समाजमा, जहाँ इतिहासदेखि नै महिलाहरूले राष्ट्र निर्माणमा उल्लेखनीय योगदान दिएका छन्, यो दिवस उपलब्धि र चुनौती दुवैको गम्भीर समीक्षा गर्ने अवसर पनि हो।
इतिहासका ओझेलमा परेका नारी पदचिह्न : नेपाली इतिहास प्रायः पुरुषकेन्द्रित रूपमा लेखिएको भए पनि त्यसका पानाहरू पल्टाउँदा महिलाहरूको नेतृत्व र साहसका अनेक उदाहरण भेटिन्छन्। मध्यकालीन इतिहासमा उल्लेख गरिने द्वारिकादेवी ठकुरानी जस्ता महिलाले सामाजिक नेतृत्व र प्रशासनिक व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख पाइन्छ। त्यसैगरी, नेपालको एकीकरणकालीन इतिहासमा राजेन्द्रलक्ष्मी शाहको नेतृत्व उल्लेखनीय मानिन्छ। पृथ्वीनारायण शाहको निधनपछि उनले राज्य सञ्चालनको जिम्मेवारी सम्हाल्दै प्रशासनिक तथा सैन्य व्यवस्थापनमा सक्रिय भूमिका खेलेकी थिइन्। यसले नेपाली इतिहासमा महिला नेतृत्वको सम्भावनालाई प्रारम्भिक रूपमा नै प्रमाणित गरेको थियो। तर यथार्थ के हो भने इतिहास लेखनको परम्पराले महिलाहरूको योगदानलाई प्रायः ओझेलमा राख्यो। त्यसैले आज इतिहासलाई पुनः पाठ गर्दै महिलाको भूमिकालाई उचित स्थान दिनु पनि समयको माग हो।
आन्दोलन र परिवर्तनमा महिलाको भूमिका : नेपालका लोकतान्त्रिक आन्दोलनहरू महिलाको सहभागिताबिना अधुरा हुने थिए। १९५० को प्रजातान्त्रिक आन्दोलनदेखि १९९० को जनआन्दोलन र २०६२–६३ को ऐतिहासिक आन्दोलनसम्म महिलाहरू सडक संघर्ष, संगठन निर्माण र जनचेतना विस्तारमा अग्रपंक्तिमा देखिएका छन्। यी आन्दोलनहरूले केवल राजनीतिक परिवर्तन मात्र ल्याएनन्, यसले महिलाको राजनीतिक चेतनालाई पनि विस्तार गर्यो। महिला संगठनहरू सक्रिय भए, जसले शिक्षा, समान अधिकार र राजनीतिक सहभागिताका मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याए।
समकालीन राजनीतिमा महिला नेतृत्व : नेपालको संघीय लोकतान्त्रिक संविधानले राज्यका विभिन्न संरचनामा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। यसले राजनीतिमा महिलाको उपस्थिति उल्लेखनीय रूपमा बढाएको छ। यस सन्दर्भमा नेपालको राजनीतिक इतिहासमा विद्यादेवी भण्डारीको नाम उल्लेखनीय छ। उनी नेपालकी पहिलो महिला राष्ट्रपति बनेर राष्ट्रको सर्वोच्च संवैधानिक पदमा पुग्ने ऐतिहासिक उपलब्धि हासिल गरिन्। उनको नेतृत्वले नेपाली राजनीतिमा महिलाको उपस्थितिलाई प्रतीकात्मक मात्र होइन, ऐतिहासिक बनायो। त्यस्तै, अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारको नेतृत्व गर्दै महिला नेतृत्वको अर्को आयाम प्रस्तुत गरिन्। उनी प्रदेश सरकारको मुख्यमन्त्री बन्ने पहिलो महिलामध्ये एक हुन्, जसले प्रदेशस्तरको राजनीतिमा महिलाको सम्भावनालाई थप बलियो बनाइन्।
न्यायिक क्षेत्रमा सुशीला कार्कीको योगदान झन् उल्लेखनीय छ। उनी नेपालको सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश बनिन्। उनको कार्यकालले न्यायिक स्वतन्त्रता, विधिको शासन र संस्थागत मर्यादाका विषयमा व्यापक बहस जन्मायो। यस्तै, देश जटिल मोडमा रहेका बेलामा राष्ट्रको कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी उनै सुशीला कार्की नेतृत्वले सार्वजनिक रूपमा घोषणा गरेको समयमा नै निर्वाचन सम्पन्न गर्न सफल भइन्। स्थानीय तहको निर्वाचनपछि हजारौं महिला जनप्रतिनिधि निर्वाचित भएका छन्। उपप्रमुख, वडासदस्य तथा विभिन्न समितिहरूमा उनीहरूको सहभागिताले स्थानीय शासन प्रणालीलाई अझ समावेशी बनाएको छ। तर, निर्णय प्रक्रियामा उनीहरूको प्रभाव अझ सुदृढ हुनुपर्ने आवश्यकता भने अझै कायम छ।
प्रेरणाका शिखरहरू : नेपाली नारीको योगदान राजनीतिमा मात्र सीमित छैन। विभिन्न क्षेत्रमा उनीहरूले असाधारण उपलब्धि हासिल गरेका छन्। पासाङ ल्हामु शेर्पाको नाम यस सन्दर्भमा विशेष रूपमा स्मरणीय छ। उनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर नेपाली महिलाको साहस र आत्मविश्वासलाई विश्वमाझ स्थापित गरिन्। उनको सफलताले नेपाली महिलालाई सीमाभन्दा पर सोच्ने प्रेरणा दिएको छ। त्यसैगरी, शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यमशीलता र सामाजिक क्षेत्रमा पनि हजारौं महिला सक्रिय छन्। सामुदायिक स्वास्थ्य स्वयंसेविकादेखि उद्यमी महिलासम्म, उनीहरूको योगदानले समाजको आधारभूत संरचनालाई बलियो बनाएको छ।
उपलब्धि र चुनौतीको दोहोरो यथार्थ : नेपालमा महिलाको प्रतिनिधित्व र सहभागिता बढ्नु सकारात्मक संकेत हो। तर वास्तविक समानताको यात्रा अझै अधुरो छ। घरेलु हिंसा, बालविवाह, दाइजो प्रथा, कार्यस्थलमा हुने विभेद तथा साइबर हिंसा जस्ता समस्या अझै समाजमा विद्यमान छन्। ग्रामीण तथा पिछडिएका समुदायका महिलाहरू शिक्षा, स्वास्थ्य र आर्थिक अवसरबाट अझै वञ्चित छन्। त्यसैगरी, राजनीतिमा प्रतिनिधित्व बढे पनि वास्तविक शक्ति संरचना अझै पुरुषप्रधान रहेको विश्लेषण गरिन्छ। महिलालाई पदमा राखिए पनि नीति निर्माणको निर्णायक तहमा उनीहरूको प्रभाव अझै सीमित देखिन्छ।
समानताको दिशामा अबको कदम : नारी सशक्तीकरण केवल महिलाको अधिकारको मुद्दा मात्र होइन; यो राष्ट्रको समग्र विकाससँग जोडिएको प्रश्न हो। जब समाजको आधा जनसंख्यालाई समान अवसर प्रदान गरिन्छ, तब मात्र विकास दिगो र सन्तुलित हुन्छ। राज्यले महिलामैत्री नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। शिक्षामा समान पहुँच, सुरक्षित कार्यस्थल, आर्थिक अवसरको विस्तार तथा लैंगिक हिंसाविरुद्ध कडा कानुनी कार्यान्वयन आवश्यक छ। साथै सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउनु पनि उत्तिकै महत्त्वपूर्ण छ।
निष्कर्ष : अन्तर्राष्ट्रिय नारी दिवस २०२६ को नारा केवल घोषणामा सीमित रहनु हुँदैन। यसलाई व्यवहारमा रूपान्तरण गर्न राज्य, समाज र परिवार सबैको सामूहिक प्रयास आवश्यक छ। द्वारिकादेवी ठकुरानीदेखि पासाङल्हामु शेर्पा, विद्यादेवी भण्डारी, अष्टलक्ष्मी शाक्य र सुशीला कार्की जस्ता व्यक्तित्वसम्म आइपुग्दा नेपाली नारीको यात्रा साहस, संघर्ष र नेतृत्वको इतिहास हो। अब चुनौती भनेको यो इतिहासलाई निरन्तरता दिँदै समानता, सम्मान र अवसरले भरिएको भविष्य निर्माण गर्नु हो। जब प्रत्येक नेपाली छोरीले बिना भय आफ्नो सपना पूरा गर्ने अवसर पाउँछिन्, तब मात्र समतामूलक र समृद्ध नेपालको आधार वास्तवमै बलियो बन्न सक्छ।
प्रतिक्रिया दिनुहोस !